‘सिण्डिकेट’ तोड्न स्वतन्त्र शंखघोष – कथालिका

‘सिण्डिकेट’ तोड्न स्वतन्त्र शंखघोष

नेपाली राजनीतिमा हाम्रा राजनीतिक दल र नेताहरु कति अवसरवादी, अपरिपक्व र उदासिन छन् भन्ने बुझ्न एमसीसी प्रकरण नै काफी छ । आफै सरकारमा, आफै सडकमा, पटक–पटक फेरिरहने बोली, सत्तामा रहँदा र सत्ता इतर रहँदाको एकै विषयमा अनेक अवतारले जनता आजित छन् । देशका लागि नभई सत्ता, स्वार्थ र अवसरका लागि जारी राजनीतिक दाउपेचले नेताहरुको असली हैसियत र अनुहार उदांगो भइसकेको छ । र त स्थानीय तहको निर्वाचन घोषणा भए पश्चात संसदीय राजनीतिमा रमाइरहेका दल र नेताहरुको ‘सिण्डिकेट’ तोड्न युवाहरुले स्वतन्त्र उम्मेदवारीको उद्घोष गर्न थालेका छन् ।

खराब पात्र र प्रवृत्तिको पुनरावृत्तिबाट आजित नेपालीजनका लागि युवाहरुको शंखघोष सकारात्मक खबर त हो तर, धेरै उत्साह र सम्भावनाको खबर बन्ने नबन्ने द्धिविधा भने व्याप्त छ । किनकि, हामीसँग यस्तो विगत छ, जुन विगतले वैकल्पिक शक्ति पनि पुरानै पात्र र प्रवृत्तिको पुनर्रावृत्ति हो भन्ने स्थापित भएको छ । अर्को तर्फ वैकल्पिक शक्तिको अभियान चलाएका रविन्द्र मिश्रले भने जस्तै नेपालीहरु मिनु हेर्छन्, हेर्छन् तर, अन्तिममा उही मःम खान्छन् अर्थात् वर्तमान सत्ता र इतरमा रहेका राजनीतिक दल र नेताहरुलाई गाली गर्छन्, गर्छन् तर चुनावका बेला उनीहरुलाई नै भोट हाल्छन् । यही प्रवृत्तिबाट नेपाली राजनीति र देश ग्रसित छ ।

कालो बादलमा चाँदीको घेरा
चौतर्फी निराशाका बाबजुद अहिले केही युवाले आगामी चुनावमा आफ्ना केही भिन्न सोच र एजेण्डा सहित स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । उनीहरुले जित्ने हार्ने विषय धेरै फरक दिन र दुरीको विषय हो । जसलाई कतिपयले लहड, सस्तो लोकप्रियताको लालसा या भाइरल बन्ने मोहको संज्ञा पनि दिइरहेका छन् । तर, बिभिन्न क्षेत्रमा फरक पहिचान बनाइरहेका युवाहरुको स्वतन्त्र उम्मेदवारीले नेपाली राजनीतिमा फरक बहस, चिन्तन र स्थानीय तहको विकासमा महत्वपूर्ण अर्थ निश्चित राख्ने त्रिभुवन विश्व विद्यालय राजनीति शास्त्र विभागका प्रमुख रामकृष्ण तिवारी बताउछन् । व्यवस्था बदलेर अवस्था बदल्ने बेलामा आफै मात्र बदलिने प्रवृत्ति मौलाएको बेला यस्तो हस्तक्षेपकारी अभियान नेपालमा अपरिहार्य भएको उनको भनाई छ । यो अहिलेको राजनीतिक दल भित्र र बाहिर दुबैबाट भएमा यसले एउटा नयाँ बहस आरम्भ हुनेछ । र बेथितिमा होइन, थिति र गतिमा समाज र देश चल्ने चलाउने अध्याय आरम्भ हुन सक्दछ ।

प्रदेश र केन्द्र सरकारका लागि दलीय प्रतिस्पर्धा भए पनि स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र छाड्नु पर्ने राजनीतिशास्त्री तिवारीको जोड छ । ‘स्थानीय तहको सरकार सबै भन्दा नजिकको सरकार हो, पार्टीको भन्दा पनि समुदायको नागरिक साथ, सहयोग, व्यवहारले यसको सफलता निर्दिष्ट गर्दछ,’ उनी भन्छन्, ‘पार्टीगत हिसाबमा आउँदा राजनीतिक पार्टीको झुण्ड अनुसार हुन्छ । उसले विकास पनि त्यही अनुसार गर्छ, सन्तुलित विकास हुँदैन, स्वतन्त्र रुपमा आउँदा त्यसले धेरै फराकिलो हिसाबले काम गर्न सक्छ ।’

तर, ब्लगर गणेश कार्की स्वतन्त्र उम्मेवदारीको आँट र अभियान चलाउनु सामान्य नभएको बताउँछन् । यद्यपि, स्थानीय निर्वाचनमा दल होइन, राम्रो व्यक्ति हेनुपर्ने उनको सुझाव छ । ‘राजनीति वा उम्मेदवारी बनेर महंगी घटाउँछौँ भन्नेलाई उत्पादकको लगानी कति हो ? र बिचौलिया छन् भने तिनले नाफाखोरी मच्चाइरहेको कति हो भन्ने थाहा हुनु पर्छ,’ उनी भन्छन्,‘गाउँ वा नगर, महागनर बनाउछु भन्नेहरुले त्यहाँको भुगोल, वास्तविक समस्या र समाधानको क्षमताका बारेमा जानकार हुनै पर्छ । त्यसका लागि व्यक्ति स्वयम् त्यही क्षेत्रमा बसेर देखे भोगेको हुनुपर्छ । आफू नै उम्मेदवार हुने हो भने यतिकुरा सोच्नै पर्छ । र, अरु कोही बन्दै छ भने, यीनै कुरालाई मतदानको आधार बनाउनै पर्छ ।’ नत्र अनावश्यक शक्ति, पैसा र समय खर्च मात्रै उनको कथन छ।

एक इञ्जिनियरको महानगर बनाउने सपना
एक ¥यापर र पेशाले स्ट्रक्चरल इन्जिनियर बालेन शाह काठमाडौं महानगरको मेयर बन्ने घोषणा गर्दा बखत सम्म धेरै मानिसले एउटा लहडको अनुक्रम मात्रै बुझेका थिए । तर, उनले काठमाण्डु बनाउने सपना, सोच र प्रष्ट भिजन मिडिया र सामाजिक सञ्जाल मार्फत जे जसरी बाँडे, त्यसले उनी प्रतिको क्रेज, विश्वास र भरोसा मात्रै एकाएक बढाइदिएन, उनको सिको गरेर स्वतन्त्र रुपमा स्थानीय तह निर्वाचनमा नेतृत्वका लागि उत्रिन प्रेरित ग¥यो ।

अहिले देशव्यापी लहर चलेको छ । हाल सम्म दर्जनौको संख्यामा पालिकादेखि वडा सम्म स्वतन्त्र उम्मेदवारी घोषणा गरेर चुनावी प्रतिस्पर्धा गर्न तयार देखिएका छन् । ‘आफ्नो गाउँ ठाउँ बदल्न अहिले युवाहरु उत्साहित भइरहेको पाएको छ, यसमा जति पनि स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गर्ने हुनुहुन्छ, उहाँहरु फरक पहिचान, सक्षम नै भएको पाएको छु’ बालेन भन्छन्, ‘अनुभवजन्य र आफ्नो पालिका राम्ररी अध्ययन नगरेकाहरुलाई पनि स्थानीय समस्या, आवश्यकता, जनसंख्या, मत, साक्षरताको अवस्था लगायतका यावत विषय बुझेर विश्लेषण गरेर लाग्न सुझाइरहेका छौ ।’

स्वतन्त्र उम्मेदवारी घोषणा गरेका बालेनलाई मूलधारका राजनीतिक दलदेखि साना दल सम्मले आफ्नो पार्टीका तर्फबाट चुनाव लड्न आग्रह गरिरहेका छन् । तर, यसलाई अस्वीकार गरेर अघि बढ्ने उनले बताए । ‘उम्मेदवारी घोषणा गरे पश्चात दलहरुबाट अफर त आइराछ । मैले तपाईको पार्टी भित्रै पनि बालेन होलान्, कसैलाई अवसर नदिएका होला, कति पहिचान नै गर्न नसकिएको होला भनेर जवाफ दिएको छु,’ उनी थप्छन्, ‘कुनै पार्टी या त्यस भित्रको समूहले समर्थन गर्न सक्छन्, तर म हिजो पनि स्वतन्त्र थिए, आज पनि स्वतन्त्र उम्मेदवार हुँ र भोली पनि स्वतन्त्र रहनेछु ।’

आफ्नो उम्मेदवारीले समाज बदल्न मात्रै नभई विकृत राजनीति बदल्न पनि टेवा पुग्ने उनको विश्वास छ । ‘मेरो उम्मेदवारीले राजनीतिक दलहरुलाई पनि सोच्न बाध्य बनाएको छ, राम्रो उम्मेदवार लिएर आउनु पर्छ, नत्र चुनाव जित्न कठिन हुने बताइरहेका छन्,’ उनले भने, ‘यसले दलहरु भित्र पनि राम्रो उम्मेदवारको खोजी हुने र निर्वाचनबाट राम्रा मान्छे आए राम्रो काम हुन सक्छ ।’ अघिल्लो निर्वाचनमा वैकल्पिक शक्ति प्रतिको आशा र विश्वासको मत पछिल्लो समय विवाद र विभाजनले ह्रास भइरहेको अवस्थामा यसको साइड इफेक्ट स्वतन्त्र उम्मेदवारमा पर्न सक्ने आँकलन छ । यद्यपि, बालेन आफू कुनै वैकल्पिक शक्तिको रुपमा नभई स्वतन्त्र रुपमा भएकाले महानगरवासीले मनन गर्ने बताउछन् ।

वर्षौदेखी निश्चित राजनीतिक दल र तीनको चुनाव चिन्हमा भोट हाल्ने ठूलो जनमतलाई आफ्नो कुरा बुझाएर मत जाहेर गर्ने अवस्थामा ल्याउन कठिन भए पनि असम्भव नभएको शाहको भनाई छ । ‘मानिसको दिमाग र मनमा बसेको कुनै पनि चिजलाई हटाउनु सामान्य कुरा होइन’, उनले भने, ‘दलले सधैैं जे भन्यो त्यही हुने भन्ने हुँदैन, हाम्रा सोच, सपना, काम गर्ने दृढताले ब्रेन वास गर्नुपर्नेछ, त्यो हामी गर्छौ ।’

काठमाडौंमा शिक्षा, स्वास्थ्य, ट्राफिक व्यवस्थापन, फोहोर व्यवस्थापन, धुलो धुवा नियन्त्रण आफ्नो मुख्य प्राथमिक एजेण्डा भएको बालेन बताउछन् । ‘शिक्षा,स्वास्थ्य भनेको आवश्यकता मात्र होइन, अधिकार हो । यसलाई त्यही किसिमले विकास र व्यवस्थित गरिनुपर्छ,’ उनले भने, ‘पहिले विकास होइन, व्यवस्थापनबाट काम सुरु गर्छौ, अनि विस्तारै विकासको मोडेल अघि बढाउने छौ ।’

अहिलेको दलिय व्यवस्था, नेता र प्रवृत्तिबाट समाज र देशको अपेक्षित परिवर्तन सम्भव नरहेको निष्कर्ष सहित स्वतन्त्र रुपमा चुनावी मैदानमा उत्रिने निर्णयमा पुगेको शाहको भनाई छ । उम्मेदवारी घोषणा सँगै काठमाण्डु बनाउने उनको आफ्नै सोच र सपनाको समेत सञ्चार माध्यम र सामाजिक सञ्जालमा राम्रै चर्चा छ । विकास मानिसको खुसी भएको मान्यता राख्ने उनी आफ्नो उम्मेदवारीको सबै भन्दा बलियो पक्ष आफू पढे लेखेको, युवा, सबैको भावना बुझ्न सक्ने कलाकार पनि भएको बताए ।

चुनाव जित्नेमा आशावादी बालेन भन्छन्, ‘विगतमा को कसले जिते र के गरे ? महानगरवासीको आँखा अघि प्रष्ट छ । मसँग काठमाण्डु बनाउने सोच, सपना, अठोट र दृढता छ । यसमा महानगरवासीले निश्चय पनि सोच्नेछन्, मनन गर्नेछन् । मुख्यतः मेरो उम्मेदवारीले नयाँ शिराबाट सोच्ने बहस गर्ने बातावरण समेत बनाउनेछ ।’

पोखराबाट एक लेखकको ‘अटेरी युवा अभियान’

गनेस पौडेल पोखरा महानगरपालिकाका मेयरका उम्मेदवार हुन् । उनले आफ्नो फेसबुक मार्फत उम्मेदवारी घोषणा गर्दै नयाँ अभियानमा होमिएको बताएका छन् । जुन अभियानलाई उनले ‘अटेरी अभियान’को संज्ञा दिएका छन् ।

यस अभियानका क्रममा अहिले देशव्यापी रुपमा स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ । ‘देश बनाउने राजनीतिले हो, राजनीतिक दलले नै हो, अटेरी अभियानले देश बनाउन सक्दैन,’ पौडेल भन्छन् ‘तर, हाम्रा राजनीति दल र नेताहरु ठीक भएनन्, कार्यशैली ठीक भएन, राजनीतिक दलले जे गरे पनि भयो, जस्तो मान्छे उठाइ दिए पनि भयो भन्ने सोच, प्रवृत्ति र अतिवादका बिरुद्ध अटेरी अभियान हो, मेरो उम्मेदवारी हो ।’

यसले पोखरा महानगरमा चुनाव जित्ने विषय त छँदैछ, त्यसका साथै राजनीतिक दलहरुलाई राम्रा उम्मेदवार उठाउन दबाब समेत हुनेछ । कमजोर या खराब पात्र उठायो भने पराजय भोग्ने दबाबले पनि राम्रा उम्मेदवार बन्ने र आफूले नजिते पनि पोखराले जित्ने अवस्था हुने उनी बताउछन् ।

पौडेल चर्चित ‘पैताला’ उपन्यासका लेखक हुन् । उनी भिन्न स्वभाव र शैलीबाट काम गर्नमा रुची र दक्षता राख्छन् । विकासका पूर्वाधार बन्नु मात्र विकास नभएको उनको तर्क छ । समाजमा निर्मित पूर्वाधार र त्यस मार्फत प्रदान गरिने सेवामा आउने समय सापेक्ष परिवर्तन बल्ल असली विकास भएको उनको भनाई छ । घृणित राजनीतिले नागरिक कति आजित छन् ? र उनीहरुले आफ्नो जागरण, चेतना र विवेक कसरी अभिमत जाहेर गर्छन् भन्ने परीक्षणका लागि पनि आफू मैदान उत्रिएको उनले बताए ।

अहिलेको चल्तीका राजनीतिक दल र नेताबाट अवाक भएका नागरिकहरुको अभिमत जाहेरका लागि आफ्नो उम्मेदवारी रहेको पौडेलको जिकिर छ । उम्मेदवारी घोषणासँगै उनले सुरु गरेको ‘अटेरी’ अभियानमा सहभागी हुन पोखरेली नागरिकलाई अपिल गरेका छन् । आफूजस्तै अटेरीहरू आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा उम्मेदवार बनाउने र दलका नाममा मनमौजी गर्दै आएकाको खिलापमा हस्तक्षेपकारी भूमिका खेल्नु आफ्नो मुख्य उद्धेश्य रहेको उनको भनाई छ ।

पोखरेली साहित्य, त्यसको एक महत्वपूर्ण पाटो बनेको ¥यान्डम रिडर्स, पोखरा विमानस्थल जनसरोकार समिति, मझेरी सहकारी लगायतमा नेतृत्वदायक भूमिका खेलेका पौडेल सँग पृथक पोखरा बनाउने सपना छ । पोखरा देशकै सुन्दर शहर हो । पोखरा तालै तालको शहर हो, तर ताल,नदी तटीय क्षेत्रका सबैजसो जग्गा अतिक्रमणमा छन् । पोखरी र चौताराको शहर हो । अहिले यहाँ पोखरी र चौतारा पाइँदैनन् । पोखरीको शहर भएकाले नाम पोखरा भएको हो । तर, अहिले यस्तो ऐतिहासिक र सांस्कृतिक सम्पदाहरु विकासका नाममा नाश गरिएका छन् । पर्यावरणमैत्री विकासमा ध्यान थाहा छैन । हिमाल जम्मा ३३ किलोमिटर मात्र टाढा भएकाले यहाँको प्रदूषणले गर्दा हिमाल सिधै प्रभावित छन् । अतः पोखरा संवेदनशील शहर भएकाले यी र यस्ता यावत विषयमा योजनाबद्ध विकासको सोच र एजेण्डा आफ्नो रहेको पौडेल बताउछन् ।

अघिल्लै निर्वाचनमा उम्मेदवारी दिने सोच भए पनि साहस नआएको पौडेलको स्वीकारोक्ति छ । साथीहरूले खर्च बढी हुने, नजित्ने लडाइँ किन लड्ने भन्ने जस्ता तर्क आए पछि खुम्चिएको तर अहिले आफ्नै अन्तरमनले अघि बढ्ने निर्णयमा पुगेको पौडेल बताउछन् ।
यसपटकको उम्मेदवारी राजनीतिक दल प्रतिको जन–वितृष्णाको प्रतिफल भएकाले उनीहरू र नागरिकलाई सचेत गराउन भएको उनको भनाई छ । राजनीति ठेकेदारीमा वा राजनीतिक दल कम्पनीमा रुपान्तरित भएकाले यसका बारेमा बहस चिन्तन मननका लागि स्वतन्त्र उम्मेदवारी रहेको पौडेल बताउँछन् ।

बिचको केही समय आफै स्वयम् वैकल्पिक राजनीतिमा समेत सक्रिय भए पनि परम्परागत प्रवृत्तिकै पुनरावृत्ति भएकाले अलग भएको उनको कथन छ । ‘खासका कम्युनिष्टहरू अर्थात् मार्क्सवादीहरू एमालेमा वा माओवादीमा भन्दा बाहिर बढी रहेको र लोकतन्त्रवादीहरू कांग्रेसमा भन्दा बाहिर धेरै रहेकाले दलिय समर्थन बिना पनि उम्मेदवारी दिने र जित्ने सम्भावना प्रशस्त छ,’ उनले भने, ‘वैकल्पिक राजनीतिको प्रस्थानबिन्दु विद्यमान व्यवस्थाकै उन्नत प्रयोगबाट गुणस्तरिय सेवा प्रवाह गरिनु हो ।’

अहिलेको स्वतन्त्र उम्मेदवारीमा दृढ रहने उल्लेख गर्दै पौडेलले कुनै दलले दलीय स्वार्थभन्दा माथि उठेर निःसर्त सहयोग गर्न सक्ने बताउछन् । स्थानीय तह निर्वाचनमा कुनै वाद वा विचार बोकेको राजनीतिक दलभन्दा पनि स्थानीय मुद्दाहरूसँग भिजेको, स्थानीय समस्या बुझेको, नागरिकका समस्या गुनासालाई तत्काल सम्बोधन गर्न सक्ने उम्मेदवार चयन अपरिहार्य भएको उनको भनाई छ ।
स्थानीय चुनावमा आफ्नो घोषणापत्र नै पृथक हुने उनको दाबी छ । ‘म आफ्नो एजेण्डालाई पुस्तकाकारमा तयार गर्नेछु, तर त्यो सशुल्क सहितको हुनेछ, यद्यपि यसबाट आफ्नो पैसा कमाउने मनशाय होइन, पीडिएफ भने नागरिकले निशुल्क पाउनेछन्,

म्याग्दीबाट ‘हामी सक्छौ, हामी गर्छौ’ अभियान

निराजन थापा यस्तो पात्र हुन्, जो लक्ष्य २०७९ लिएर आसन्न स्थानीय तह निर्वाचनका लागि केही वर्ष अघिबाटै कुँदिरहेका छन् । अहिले चुनाव घोषणा भए पछि उम्मेदवारी बन्ने लहड सुरु हुन लाग्नु अगावै भिन्न सोच र सपना लिएर चुनावी मैदानमा उत्रिने घोषणा गर्ने थापा केही साता अघि सम्म एक्ला पात्र थिए ।

स्वतन्त्र रुपमा म्याग्दीको बेनी नगरको मेयरमा चुनावी प्रतिस्पर्धामा उत्रिने शंखघोष गरेका निराजनसँग चुनावमा लड्नु र चुनौती छिचोल्नु त बाँकी नै छ, केही वर्ष अघि देखिनै उम्मेदवारी बन्ने अठोट राखेर अभियान चलाउनु, त्यसमै दृढ हुनु उनका लागि अहिलेकै समय पनि अग्नी परीक्षा बनिरहेको छ ।

निराजनका पिता नेकपा एमालेका (म्याग्दी जिल्लाबाट प्रत्यक्ष निर्वाचित) सांसद मात्र होइनन्, पार्टी केन्द्रीय सदस्य पनि हुन् । उनको छोरा हुनुको नाताले निराजनले आगामी चुनावमा मेयर उम्मेदवार बन्ने निर्णय लिनु निकै कठिन विषय हो । पहिलो त आफ्नै बुवाको राजनीति र उनको पार्टीलाई चुनौती दिँदै फरक निर्णय लिनु, दोस्रो दलिय सिण्डिकेटका बिरुद्ध फरक एजेण्डा र शैली सहित चुनावमा होमिन दृढ हुनु । अहिले पनि प्रत्यक्ष अप्रत्यक्ष दबाब भइरहे पनि आफ्नो अडानबाट पछि नहट्नेमा अडिग रहेको निराजन बताउँछन् । ‘म जस्ता युवाहरु राजनीतिको चरम घेराबन्दीमा छन्, बाजे जे थियो, बाउँ त्यही पार्टीको बन्नुपर्ने, बाउ जे छ, छोरी त्यही हुनुपर्ने सकिर्णताबाट समाज आक्रान्त छ,’ उनी भन्छन्, ‘ हामीले जे चाहेका थियौ,युग सुहाउँदो हिसाबले अघि बढेको छ त ? त्यसमा समस्या कहाँ छ ? परम्परागत रुपमा जुन विचारले बाँधेर राखेको छ, त्यसबाट कसरी मुक्ति लिने समिक्षा गर्नुपर्ने बेला आएको छ ।’

एक लामो राजनीतिक पृष्ठभूमी रहेको बाबुका छोरा भएर फरक अभियान सहित हिँड्दा दबाब भए पनि आफ्नो स्वतन्त्र अस्तित्वलाई बन्धक बनाउनु गलत हुन जाने उनको बुझाई छ । बुवा र मेरो बाबु छोराको सम्बन्ध छ । तर, व्यक्तिगत रुपमा हामी फरक फरक हौ । पिता र छोराको सोच, सपना फरक हुन सक्छ । बुवाले नपाएको शिक्षा, सोच सिकाई मलाई अवसर दिलाउनु भएको छ, साथी संगत जे जस्तो भयो, त्यसले पनि सोच्ने र निर्णय लिने कुरामा फरक पार्छ,’ उनले थपे । विकास, विचार, जागरण निर्माणका लागि दलीय आस्थाको जञ्जिर बहालवाला सांसदका छोराले तोड्ने हिम्मत गर्छ भने हामीले किन नगर्ने ? भन्ने सोच र सन्देशका लागि पनि आफूले उम्मेदवारी बन्ने अठोट गरेको थापाको जिकिर छ ।

धेरैले सोध्नुहुन्छ, “नजित्ने चुनाव किन उठ्नुहुन्छ ? उनी भन्छन्, “अनि मलाई लाग्दछ, “आखिर मर्नु नै छ भने किन बाँच्नु ? नबाँच्ने ? कोहि पनि ब्यक्ति सधैं जित्दैन्, र सधैं पराजित पनि हुँदैन् । चुनाव जित्नुभन्दा स्वतन्त्र र दृढतापूर्वक उम्मेदवारी खडा भएर बहसमा प्रवेश गर्नु महत्वपूर्ण हो । हैन र ?

अर्को मेरो आकांक्षा चाँहि कुनै पनि दलमा बर्षौ लागेर, नगरप्रमुखको उम्मेदवार हुने मानिससँग एउटै मञ्चमा बसेर बहस गर्ने हो । उसले भन्दा प्रष्ट, स्पष्ट र दृढतापूर्वक नगरबासीको आवश्यकता, सम्भावना र विकासका बारे बहस गर्ने हो । त्यो पनि भूमण्डलीकृत परिप्रेक्ष्यमा नगरहरू कस्तो हुनुपर्छ भन्ने मुख्य विषयबस्तुमा रहेर । हामी सक्छौं, हामी गर्छौं भन्ने मेरो मुख्य ध्येय हो ।

मैले संघीयता पछिको जनप्रतिनिधिको कार्यशैली हेरिरहेको छु । विकास अन्धाधुन्ध छ, प्रशंसाको भोक छ । ठोस समस्या पहिचान, योजनाबद्ध विकास समाधान छैन, महत्वकांक्षी सपना देखाएर त्यसमै रमाउने प्रवृत्ति बढेको छ । स्थानीय स्रोत साधनले नभ्याउने योजना बनाउने, भएका योजना, विकास पनि गुणस्तरिय नभई केबल देखाउने हिसाबले गरिएको उनको आरोप छ ।

म लामो समयदेखि विदेशमा छु । लम्जमवर्गकमा घुम्न जाँदा बच्चा खेल्ने ठाउँमा एउटा वाक्य लेखिएको देखेँ । त्यहाँ लेखिएको छ,–‘यो ती बच्चाहरुमा समर्पित छ, जो जन्मनै बाँकी छ ।’ यो पढेर धेरैबेर सोचमग्न रहे । के हाम्रो पालिकाले त्यसरी भोलिको पुस्तालाई सोचेर कुनै पनि योजनामा काम गरिरहेको छ त? अहिलेकै पुस्ताका नागरिकहरूका लागि त्यसो गर्ने ल्याकत नराख्ने हाम्रा स्थानीय या संघीय सरकारले भोलीको पुस्ताका बारे निश्चय पनि त्यस्तो गर्न सक्ने कुरो भएन । अब विकासको परिभाषा र प्रारूप बदल्नुपर्छ । सडक, भौतिक पूर्वाधार बाहेकको विकास पनि सोचौ । सबैले अपनत्व गर्ने, आफ्नो मतदातालाई भन्दा सबैलाई समेट्ने सोचको विकास गरौं ।

शैक्षिक प्रणालीमै समस्या छ । समूहमा काम गर्न कहिल्यै सिकाइएन । कक्षामा को प्रथम हुने, को दोस्रो हुने मात्रै केन्द्रित गरियो । जसका कारण अनुत्तीर्ण हुनु भनेको अपराध जस्तो ठान्न थालियो । म विदेशमा छु, म जस्ता विदेशिएका कैयन छन् । एक दिनमा हजार भन्दा बढी विमानस्थलमा विदेश जान लाइन लाग्छन् । तर, दुर्भाग्य विदेश गएकालाई फर्काउने तीनै तहका सरकारसँग कुनै योजना छैन । विदेशबाट फर्किन्छु भन्दा पनि किन फर्किने भन्ने आम सोच देखिने गरेको उनी बताउँछन् । स्थानीय सरकारकै पहलमा आफू निर्वाचित भएमा पाँच वर्षमा नगरपालिकाका डेढ सय जनालाई स्वदेश फर्काउने योजना रहेको उनले बताए ।

वर्षौदेखि राज गरिरहेका दलहरुको सिण्डिकेट तोड्न सहज नभएको उनी स्वीकार्छन् । विगतको निर्वाचनमा स्वतन्त्र उम्मेदवारले जितेका पनि छन् । तर, अहिले मेरो सामु चुनावमा उम्मेदवार बन्ने कुरा चुनौतीपूर्ण छ । तर, यसबाट हामी भाग्ने कि लड्ने र बदल्ने भन्ने कुरा हो । म लड्छु र बदल्न कोसिस गर्छु भन्ने विषयमा दृढ छु,’ थापाले भने ।

कैलालीबाट २१ वर्षीय भाटको नगरमा उम्मेदवारी

कैलालीका २१ वर्षीय उदय भाटले स्थानीय नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सम्भवतः मेयर पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने अहिले सम्मको उनी कान्छो पात्र हुन् ।

मेयर पद सामान्य पद र जिम्मेवारी पनि होइन, जो कुनै लहड या खेलाँचीमा पनि चल्न सकोस् । आगामी स्थानीय तहको निर्वाचनमा लम्की चुहा नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका भाट भन्छन्, ‘यो सामान्य कुरा होइन र हामी युवाले आँट, साहस गर्दा गर्नैै नसक्ने असामान्य कुरा पनि होइन, धेरै अध्ययन, अनुभव, सोच, विचार र सरसल्लाह गरेर चुनावी मैदानमा उत्रिने निर्णय गरेको हुँ ।’

स्थानीय स्तरमा समाजिक सेवामा समर्पित भाट अहिलेको राजनीति र नेतृत्वप्रति व्याप्त वितृष्णा बदल्नका लागि आफ्नो स्वतन्त्र उम्मेदवारी रहेको बताउछन् । उनी आफू मात्रै होइन, पालिकाका १० वटै वडामा स्वतन्त्र उम्मेदवारी खडा गर्ने गरी पहल अघि बढाएका छन् । ‘४,५ वर्षदेखि स्थानीय स्तरमा दुःखी, गरिब, असहायलाई सहयोग गर्न खटिइरहेको छु, स्थानीयको साह्रो गाह्रो अप्ठ्यारोमा जे सकिन्छ, सहयोग गर्न पहल र नेतृत्व लिएको छु,’ भाटले भने, ‘यो स्वयम्सेवी हिसाबले बाहिरबाट गरिएको नागरिकको जिम्मेवारी हो, कति मागेर मात्र समाजसेवा गर्ने ? अब राज्यको स्रोत साधन दुरुपयोग भइरहेको छ, त्यसकै सही सदुपयोग गरेर जनता र समाजको हितमा काम गरौ भन्ने हुटहुटीले स्वतन्त्र रुपमा उम्मेदवारी दिने निर्णयमा पुगेको हुँ ।’

युवाहरुमा राजनीतिबारे बढ्दो चरम निराशालाई चिर्दै फरक हिसाबबाट पनि जनता र सामाजिक हितमा कार्य गर्न सकिन्छ भन्ने सन्देशका लागि पनि अघि बढेको उनको भनाई छ । भाट सहितका युवाको अग्रसरतामा पालिकाको वडा नम्बर १ मा नमुना अध्ययन गृह सञ्चालन गरिएको छ । जहाँ चौधरी समुदायका विपन्न ७० जना बालबालिका निशुल्क अध्ययन गर्छन् । यसका लागि तीन कोठाको भवन र एउटा अक्षय कोष निर्माण गरेर पठन पाठन सञ्चालन गरिएको उनले बताए ।

पालिका भित्रका आधारभूत समस्या, गरिब, असहाय, अशक्तहरुका लागि तत्कालका लागि एम्बुलेन्स, पछि अस्पताल बनाउने, भ्रष्टाचारमुक्त समाज, युवाहरुलाई स्वरोजगार आफ्नो प्राथमिक एजेण्डा रहेको उनी बताउँछन् । यो समय समाजमा फरक सोच राख्ने व्यक्तिहरुको लागि मत मात्रै नभई सचेत नागरिकको मनको सर्वेक्षण गर्ने पनि अवसर भएकाले परीक्षणका लागि मैदान उत्रिएको भाटको भनाई छ ।

‘अब सुसंस्कृत राजनीति र समृद्ध समाज निर्माणका निम्ति मैदान उत्रिएकोे हुँ, सक्षम युवा राजनीतिको मैदानमा उत्रनुको विकल्प छैन,’ भाट थप्छन्, ‘यो बाटो अलिकति कठिन छ, पैसामा भोट किनबेच चल्छ, अनेकन बिकृति छ, म यसका बिरुद्ध अभियान चलाउछु, आफ्ना एजेण्डा जनतको माझमा राख्छु, जसले पालिकामा सकारात्मक तंरग पैदा गरोस् ।’

बागलुङबाट स्वंयमसेवी नर्सको मेयर उठ्ने घोषणा

नितु खड्का अध्ययन र पेशाले नर्स हुन् । ३० वर्षीया नितु बागलुङ नगरपालिकाको मेयरमा उम्मेदवार बन्ने घोषणा गरेकी छिन् ।
बागलुङ नगरपालिका साविक धौलागिरी अञ्चलको सदरमुकाम समेत हो । परिवर्तनको हुटहुटी सहित चुनावी मैदानमा उत्रिएकी खड्काले स्वतन्त्र उम्मेदवारी मार्फत चुनावको बाटो कठिन भए पनि अपरिहार्य बाटो रोजेको बताइन् ।

जागिरे र कोभिड कालमा स्वंयम्सेवी हिसाबले नर्सको भूमिकामा सक्रिय उनी पछिल्लो केही समय एकीकृत समाजवादीमा पनि सम्बद्ध भइन् । तर, राजनीतिक दल सबैजसोमा एकै खालको खराब प्रवृत्ति देखिएकाले आफूले फरक बाटो रोज्ने निर्णयमा पुगेको उनी बताउँछिन् ।

स्थानीय तहको चुनाव राजनीतिक दलबाट माथि उठेर जनता र स्थानीय विकास गर्ने सोच, दृढता बोकेको युवा आउनु पर्ने उनको भनाई छ । कुनै दलको बन्धनबाट नभई स्वतन्त्र भएर जनताको मतबाट निर्वाचित हुँदा अझ बढी काम गर्न सकिने उनी बताउँछन् ।

‘नागरिकले पनि पुरानै पात्र र पार्टीलाई भोट दिने परिपाटी अब तोडेर जान सक्नुपर्छ, तब मात्र विकास, परिवर्तनमा अनावश्यक राजनीति हुँदैन,’ उनी भन्छन्, ‘अब विकास चाहिएको हो भने स्वतन्त्र रुपमा काम गर्न चाहने युवाहरुलाई साथ दिनुपर्छ । यो अभियानमा गाह्रो अवश्य छ तर, परिवर्तन सम्भव छ ।’ आधा दर्जन बढी देशको भ्रमण गरिसकेकी उनी भाषण र अनावश्यक आश्वासन भन्दा पनि गर्न सकिने सम्भाव्य कुरा मात्र लिएर जनताका माझ जाने बताउछिन् । अहिले चुनावको तयारीका लागि नगरपालिकाका १४ वटै वडामा पुगेर आफ्नो घोषणापत्र र रणनीति तय गर्ने खड्काले बताइन् ।

२०७८, १२ फाल्गुन बिहीबार १०:५४
कथालिका नयाँ कथा
कथालिका