निमेषमै अस्ताए अठार – कथालिका

निमेषमै अस्ताए अठार

  • धावनमार्गबाट जहाजले टेकअफ लिएको २० देखि २२ सेकेन्डमा जहाज हेर्दाहेर्दै दाहिनेतर्फ मोडिएर त्रिभुवन विमानस्थलकै भुइँमा बजारिन पुग्यो । त्यस लगत्तै विमानमा आगो लाग्यो ।

सौर्य एयरको विमान दुर्घटनामा १८ जनाले ज्यान गुमाए । सीआरजे ७ रजिस्ट्रेसन–(एनएएमई) जहाज बिहान ११ बजेर ११ मिनेट जाँदा काठमाडौँ विमानस्थलबाट पोखराका लागि उडेको थिविमान थियो ।

दुई क्याप्टनेसहित कुल १९ जना सवार रहेकोमा १८ जनाको मृत्यु भएको प्राधिकरणले पुष्टि गरिसकेको छ । यो दुर्घटनामा क्याप्टेन मनिषरत्न शाक्य घाइते छन् । उनको उपचार केएमसी अस्पतालमा भइरहेको छ ।दुर्घटनाको समयमा मौसम सफा नै थियो । अन्य कुनै पनि वाह्य कारणले जहाजमा अवरोध आएको देखिएको छैन । जसले गर्दा दुर्घटना अझ रहस्यमय बनेको छ ।

विमानमा सवार कर्मचारी अमित मान महर्जन, सागर आचार्य, दीलिप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम विन्दुकार, नवराज आले,राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडाको पनि मृत्यु भएको छ । आरिफ भने यमनका विदेशी नागरिक हुन् ।

उड्ने बित्तिकै दुर्घटना

सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमै बुधवार दुर्घटनामा प¥यो । विमानस्थलबाट उड्न बित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको छ । जहाज उड्ने बित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन भएको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्राधिकरणका अनुसार यो जहाजको टावरसँग अन्तिम संवाद ‘क्लियर फर टेकअफ’ थियो । जुन एयर ट्राफिक कन्ट्रोलरले जहाज उडाउन पाइलटलाई दिने आदेश हो । धावनमार्ग-०२ (कोटेश्वरतर्फ) बाट जहाजले टेकअफ लियो । अर्थात् जहाज उड्यो । त्यसको २० देखि २२ सेकेन्डमा जहाज ढलपल–ढलपल गर्न थाल्यो र हेर्दाहेर्दै दाहिनेतर्फ जहाज मोडियो र भुइँमा बजारिन पुग्यो ।

जो दुर्घटनामा बाँचे

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा एक मात्र ३७ वर्षीय क्याप्टेन मनीष शाक्यको घाइते अवस्थामा उद्दार गरियो ।

जहाजका क्याप्टेन शाक्यलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले दुर्घटनाको करिब २० मिनेटमा उद्दार गरेर अस्पताल पु¥याएका थिए । उनको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । आइसियू (सघन उपचार कक्ष) मा राखेर शाक्यको उपचार गरिएको चिकित्सकहरूलाई उदृत गर्दै अस्पताल प्रशासन स्रोतले जनाएको छ ।

आइसियू लैजानुअघि क्याप्टेन शाक्यले सामान्य कुराकानी गरेका थिए । शाक्यको आँखा, टाउको, खुट्टा लगायतका भागमा चोट लागेको छ । केही समयअघि टाउकोको सिटी स्क्यान गरिएको छ । रिपोर्ट आउन बाँकी छ, अस्पताल स्रोतले भन्यो । अहिलेसम्मको अवस्था हेर्दा शाक्यको स्वास्थ्य अवस्था त्यति खतरायुक्त भने छैन ।

मस्तिष्कको सुन्नाइ र चोटको अवस्था केही समय निगरानी गरेपछि थप जानकारी दिन सकिने अस्पतालले जनाएको छ । सौर्यको ९ एन(एएमईरसीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान दुर्घटनामा परेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि रनवे ०२ तर्फबाट उडेको जहाज रनवे २० नजिकै पूर्वतर्फ दुर्घटनामा परेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

एकै परिवारका तीनको मृत्यु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा एकै परिवारका तीन जनाको मृत्यु भएको खुलेको छ ।

एयरलाइन्सका प्राविधिक मनुराज शर्मा, उनकी श्रीमती प्रिजा खतिवडा र उनीहरूका छोरा अधिराज शर्माको मृत्यु भएको हो। प्रिजा ऊर्जा मन्त्रालयमा काम गर्थिन् ।

सौर्य एयरलाइन्सले विवरणमा खतिवडा र उनका छोरालाई पनि कम्पनीकै कर्मचारीको रुपमा देखाए पनि उनीहरू यात्रु रहेको खुलेको छ । नागरिक उड्डयन प्राधिकरणले विमान दुर्घटनामा परी अधिराज शर्मा (बालक)को मृत्यु भएको पुष्टि गरेको छ ।

मर्मत सम्भारका लागि उडेको विमान आफै दुर्घटनामा

सौर्य एयरलाइन्सको पोखरामा नियमित उडान थिएन । त्यसैले सुरुवातमा विमान दुर्घटनामा सौर्यको नभइ अरु नै कम्पनीको विमान दुर्घटना भएको खबर बाहिरियो । तर, एकैछिनमा दुर्घटनामा सौर्य एयरको विमान परेको तथ्य सार्वजनिक भयो । मर्मत सम्भारका लागि आफ्नै कर्मचारी लिएर पोखरा जाँदै गरको विमान दुर्घटनामा परेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी प्रवक्ता जशोदा रेग्मीले बताइन् । विमान कम्पनीले नियमित मर्मत सम्भार (सर्भिसिङ)का लागि बुधवारदेखि एक महिनालाई ‘ह्याङ्गर’ उपलब्ध गराइदिन निवेदन दिएको थियो । सोही बमोजिम दुर्घटना भएको जहाज ‘सी चेक’का लागि पोखरा उडान भरेको थियो ।

विमानमा ‘ए’देखि ‘डी’सम्म गरेर चार प्रकारका मर्मत हुन्छन् । ‘सी चेक’ हरेक डेढदेखि दुई वर्षको अवधिमा विमानका पार्टपुर्जाको सूक्ष्म मर्मत गर्ने कार्य हो । यसमा विमानमा भएका वायर, प्रणाली र संरचनाहरू निरीक्षण गरिन्छ । विमानको बाहिरी भाग, तरल पदार्थको स्तर, पाङ्ग्रा, ब्रेक, इन्जिन, ल्यान्डिङ गियरसहित सबै विद्युतीय प्रणाली परीक्षण गरिन्छ । यदि कुनै सामग्री मर्मत मात्र गरेर नहुने भए त्यसलाई फेरिन्छ । यो जाँच गर्न एकदेखि चार हप्तासम्मको समय लाग्छ ।

२१ वर्षदेखि सेवारत विमान दुर्घटना

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको सौर्य एयरलाइन्सको ९ एन–एएमई जहाज २१ वर्ष ४ महिना उडिसकेको विमान भएको खुलेको छ । बम्बार्डियर सीआरजे २०० सिरिजको यो जहाज क्यानडाको मोन्ट्रियलमा बनेको हो ।

सुरुमा अमेरिकाको एट्लान्टिक कस्ट एयरलाइन्सले मे २००३ मा किनेको यो विमानको स्वामित्व अगस्ट २००४ मा अमेरिकाकै इन्डिपेन्डेन्स एयरले लिएको थियो । जुन २००७ सम्म इन्डिपेन्डेन्स एयरले उडाएको यो विमान त्यसपछि नाइजेरियाको एरिक एयरले किन्यो । एरिकपछि अप्रिल २००८ मा दक्षिण अफ्रिकाको साउथ अफ्रिकन एक्सप्रेसको स्वामित्वमा पुग्यो ।

करिब १० वर्ष साउथ अफ्रिकन एक्सप्रेसले उडाएको यो विमान जनवरी २०१७ मा अमेरिकाका लिजिङ कम्पनी एरोलिजले किन्यो । मार्च २०१७ मा सौर्य एयरलाइन्सले यसलाई खरिद गरेर नेपाल ल्याएको थियो । सौर्यले यो विमान उडाउन थालेको ६ वर्ष भइसकेको थियो । सौर्यले लिएपछि यसको कलसाइन ९ (एन–एएमई) राखिएको थियो ।

२०८१, ९ श्रावण बुधबार ११:०४
कथालिका नयाँ कथा
कथालिका