गायकको जीवन: गीत जस्तै मिठास कि अन्धकार ? – कथालिका

गायकको जीवन: गीत जस्तै मिठास कि अन्धकार ?

  • उनको गीतले मायालाई नदेख्दा दिउँसै अन्धकार भएको भाव अभिव्यक्त गर्छ । के उनको जीवन पनि उस्तै अन्धकार छ कि उनले गाउँने गीत जस्तै श्रुति मधुर छ रु थापा न मधुर भन्न सक्छन्, न अन्धकार ।

हिउँचुलीमा लागेन घाम पनि
शुन्य लाग्यो रमाइलो गाम पनि
ए…सारंगीको तार
हो हो…मायालाई नदेख्दा दिउँसै अन्धकार

केही पुरानो तर, सदावहार छ यो गीत । लोक तथा दोहोरी गीतका भाकामा रम्ने जो कोहीलाई यो गीतको विषयमा जानकारी हुनुपर्छ । नयाँ पुस्तालाई केही पुरानो भाका लागे पनि यो गीत केही समय पहिलेको चर्चित लोक गीत हो । यो गीतले त्यो समयको मायाप्रेम र लोकदोहोरी गीतको संस्कारलाई झल्काउँछ । सञ्चारको माध्यम अहिलेको जस्तो नहुनु, गाउँघरमा खेतबारीमा काम गरेर थकान हुँदा संगै एक स्थानमा जम्मा भएर नाच्नु र गाउने परम्परा लगायतले गर्दा केही पहिलेसम्म लोक तथा दोहोरी गीतको छुट्टै पहिचान थियो ।

यो गीतले सर्वत्र चर्चा बटुले पनि सर्जक÷कलाकारको जीवन ठ्याक्कै त्यस्तो सुखद कहाँ हुन्छ र रु उकाली–ओराली, अनेकन आरोह अवरोह मान्छेको जीवनमा निरन्तर चलिरहन्छ । जसरी यो गीतका सर्जक तथा गायक कृष्ण थापा मगरको जीवनमा भयो । उनी कहिले चर्चाको शिखरमा रहे त कहिले स्वास्थ्य, घरायसी समस्या र जिम्मेवारीले कहिले गुमनाम जस्तो रहे ।

उनको गीतले मायालाई नदेख्दा दिउँसै अन्धकार भएको भाव अभिव्यक्त गर्छ । के उनको जीवन पनि उस्तै अन्धकार छ कि उनले गाउँने गीत जस्तै श्रुति मधुर छ रु थापा न मधुर भन्न सक्छन्, न अन्धकार ।

आफैलाई अपत्यारिलो लागेको संगीत क्षेत्र

थापाको जन्म तनहुँको भानु नगरपालिका–७ मा भयो । उमेरले ५८ वर्ष पुगेका उनलाई सानैदेखि गीत संगीतमा रुचि थियो । स्याङ्जा, तनहुँ लगायतको गण्डक क्षेत्र लोक तथा दोहोरी गीतका लागि प्रख्यात छ । कृष्ण पनि सोही क्षेत्रमा जन्मिएकाले लोकदोहोरी गीततर्फ सानैदेखि झुकाव थियो । घर परिवारमा नाच्ने, गाउने लगायतको मनोरञ्जनको क्षेत्रमा झुकाव र रुचि भएका अन्य सदस्य भने थिएनन् । यद्यपि नजानिदो तरिकाले उनले आफूले आफैलाई लोक संगीतको क्षेत्रमा समर्पित गरे । गाउँघरमा घाँस दाउरा गर्दा उनकै स्वर गुञ्जिन्थ्यो । स्वर राम्रो भए पनि विद्यालय तहसम्म कुनै मञ्चमा गएर गाएनन्, उनको मीठो स्वर वनजंगलमा घाँसदाउरा गर्दा र गाउँघरका कार्यक्रममा मात्रै सीमित थियो । एकदिन संगीत क्षेत्रमा लागेर गीत गाउँछु भन्ने समेत कृष्णले कहिले सोचेका थिएनन् । जीवन हो, जे नसोचेको हो, त्यही भइदिन्छ । उनी आफैलाई अपत्यारिलो लागेको संगीत क्षेत्रमा उनकै शब्दमा भाग्यले ल्याइदियो । अन्य पेसामा नलागेको पनि होइन । आर्थिक अभाव, पारिवारिक जिम्मेवारी लगायतले उनी वैदेशिक रोजगारका लागि बिभिन्न देशमा समेत गए । तर संगीतमा जस्तो उनको मन कतै अडिएन । ‘हाम्रो गाउँघर तिर मिश्रित समुदायको बसोबास छ, सबैभन्दा बढी मगर समुदाय छन्, समुदायमा हुने कौराहा, झ्याउेर लगायत गाएर हुर्किएँ, संगीतभन्दा टाढा जानै सकिन,’ उनले भने, ‘यही मेरो जीवनको अभिन्न अंग बन्यो, संगीत मेरो लागि नशा हो, रगतमा बगिरहेको छ ।’

गीत संगीतका क्षेत्रमा रुचि मात्र भएर हुँदैन, साधना, मेहनत उत्तिकै आवश्यक छ । झन् राजधानी बाहिर मोफसलमा बसेर यो क्षेत्रमा सक्रिय हुन्छु भन्ने चुनौतीपूर्ण विषय हो । मोफसलमा बसेर कोही सफल भएनन् भन्ने त होइन, तर केही कम छन् । जो कोहीलाई देशको राजधानी पसेर मेहनत र सफलता हासिल गर्न मन लाग्छ । भन्न त आफन्त, छिमेकी, साथीभाइ र गाउँलेले कृष्णले गाएको सुन्दा तिम्रो स्वर राम्रो छ, गीत गाएरै पनि राम्रो गर्न सक्छौ भन्दै हौसला दिन्थे । हौसलाले मात्रै संगीत क्षेत्रमा लागेर सफल हुने प्रयास गर्नु पक्कै सहज थिएन कृष्णका लागि । काठमाडौं आएर संगीत क्षेत्रमा लाग्नु र सफल हुनु पर्ने बाध्यता बीच उनको लागि फलामको चिउरा चपाउनु सरह भएको थियो । यो क्षेत्रमा लागेर गीत चर्चित भइरहँदा कृष्णले केही साथीभाइलाई चाहेर पनि भुल्न सक्दैनन्, जसले उनलाई साथ र हौसला अनि काठमाडौंको संघर्षमामा साथ दिए । ती मध्येका युक्त गुरुङ, राम थापा, बम बहादुर कार्कीहरुकै कारण सफलता हासिल गर्न सहयोग पुगेको कृष्ण बताउँछन् । ‘उहाँहरुकै साथ, सुझाव र सल्लाहकै कारणले मलाई यो क्षेत्रमा प्रवेश गर्न सहज भयो,’ कृष्ण भन्छन्, ‘उहाँहरुले मलाई गाली गरेरै भए पनि सिकाउनु हुन्थ्यो, तर वास्तवमा त्यो गाली थिएन, मेरो लागि जीवनको मार्ग थियो ।’

२०० गीतमा स्वर
अहिले जस्तो गीत रेकर्ड गरेर बजारमा ल्याउन त्यति सहज थिएन । संगीत क्षेत्रमा प्रवेश गर्न स्वर परीक्षा पास गर्नै पर्ने अनिवार्यता थियो । सोही कारण वि.सं २०४५ सालमा रेडियो नेपालबाट कृष्णले स्वर परीक्षा पास गरेका थिए । २०४८ सालमा रेडियो नेपालद्वारा आयोजित राष्ट्रिय लोक गीत प्रतियोगितामा प्रथम भएका कृष्णले सोचेको जस्तो उनको जीवनमा भएन । यो बीचमा उनले विभिन्न गीतको एल्बम बजारमा ल्याए । त्यो बेलामा सिडी र भिसिडीको जमाना थियो । उनको एल्बममा समेटिएका गीतले राम्रो बजार लिइरहेका थिए, एल्बम राम्ररी बजारमा बिकिरहेको थियो । उनको चर्चित गीतमा लाहुरे फुली पाते बुलाकी, लेक बेसी, जुनी जुनीलाई, सारंगीको तार, सालैजो, कौराहा लगायत छन् । कृष्णले छिटपुट गरेर करिब २ सय वटा लोक गीतमा स्वर दिएका छन् । उनी आफैंले गीतमा स्वर दिने मात्रै होइन, सर्जक पनि हुन् र लोकगीत लेख्छन् । कृष्णको लोक गीतका विषेशता भन्नु गाउँघरमा घन्किने लोक भाका हुन्, जसलाई सुन्दा जोकोही मोहित हुन्छन् । ‘हाम्रो पालामा अहिलेको जस्तो मनोरञ्जनका लागि अनेक माध्यम थिएनन्, गाउँघरमै गाइने लोक भाका थिए ।’ उनी भन्छन्, ‘त्यही घाँसदाउरा र घरका अन्य कामको क्रममा गाइने भाकालाई टपक्क टिपेर गीतका रुपमा ढाल्न सकिने भने हो श्रोताले मन पराइदिने रहेछन् ।’

लोक संगीतबाट गायब कि विश्राम ?

बाबा भारतीय सेनाबाट सेवा निवृत्त भएकाले परिवारमा त्यस्तो आर्थिक अभाव थिएन । कहिलेकाही जिम्मेवारीको भारीले थिच्दा समस्या भने हुने गथ्र्यो कृष्णलाई । यही आर्थिक अभाव र जिम्मेवारीको भारी पछि नेपाल प्रहरीमा भर्ती भए । पुलिसमा उनी लोक दोहोरी गीतकै कलाकारका रुपमा थिए, पुलिसकै जागिर भए पनि त्यस्तो दुःख र अप्ठ्यारो थिएन । तर, धेरै समय यो पेशामा टिकिरहन सकेनन्, कारण तलब न्यून थियो, परिवारको आर्थिक अभावलाई पूर्ण रुपमा पूर्ति गर्न सकेनन् तलबबाट । ‘त्यो बेलामा नेपाल पुलिसको तलब जम्मा ३ सय ६० रुपैयाँ थियो, मैले पनि त्यही तलब पाउने हो,’ उनी सम्झन्छन्, ‘त्यति तलबले परिवारको जिम्मेवारी कसरी उठाउनु रु कलाकारकै रुपमा थिएँ पुलिसभित्र पनि । तर तलब थोरै भएकाले धेरै समय बसिरहन सकिन ।’ नेपाल प्रहरीको जागिर ४ वर्षसम्म मात्रै गरे । यो बीचमा सांगीतिक क्षेत्रबाट उनी केही हराएको जस्तो समेत देखियो । ‘जीवनमा अनेकन समस्या आउने रहेछन्, मलाई पनि केही समय चुनौती र समस्याले घेरे,’ उनी भन्छन्, ‘तर लोक संगीतको क्षेत्रबाट गायब नै भएको होइन, केही विश्राम भने लिएको जस्तै भयो ।’

कृष्णको संगीत नशा

तलब थोरै भएपछि प्रहरीको जागिर छोडेका उनलाई आर्थिक अभाव, चुनौती र समस्याले छोडेनन् । त्यही समयमा श्रीमतीलाई विभिन्न रोगले समात्यो । श्रीमतीको उपचारका लागि उनले संघर्ष गर्नुप¥यो । अहिले कृष्ण आफैं नशा सम्बन्धी रोगबाट ग्रसित छन् । त्यसैले साँगीतिक क्षेत्रमा आफूले चाहेको जस्तो सक्रिय हुन सकिरहेका छैनन् । ‘श्रीमती र मेरो आफ्नै उपचार, छोरीको भविष्य निर्माण लगायत कारणले लोक संगीतको क्षेत्रबाट केही टाढा भएको जस्तो देखिएको छ,’ कृष्ण भन्छन्, ‘संगीत त मेरो नशामा बहन्छ, कसरी चट्टै छोड्न सक्छु र रु स्वास्थ्यमा केही सुधार भएपछि फेरी गीत सिर्जना गर्ने र गाउने रहर बाँकी छ ।’ घर व्यवहार श्रीमती र आफ्नो उपचार खर्च धान्न कृष्णलाई धौ–धौ प¥यो । अन्य समयमा आफ्नो घरपरिवार र व्यवहार सम्हालेर बसिरहेका थिए । तर सबैभन्दा बढी कृष्णलाई कोभिड महामारीको समयमा भयो । हुन त यो समयमा विश्व नै आक्रान्त थियो, कृष्ण यही समस्याबाट टाढा हुन सकेनन् । आर्थिक देखि स्वास्थ्यमा समस्या भएपछि उनलाई चुनौती थपियो । ‘कोभिडको समयमा नै हो मलाई झन् बढी नशाको रोगले च्यापेको,’ उनी भन्छन्, ‘त्यसपछि त झन् मेरो साँगीतिक यात्रा ठप्प जस्तै बन्यो ।’

पोखरामा एकल सांगीतिक साँझ

अहिले उनी बिस्तारै तंग्रिदै छन्, स्वास्थ्यमा क्रमिक रुपमा सुधार आइरहेको छ । आफूलाई संगीत क्षेत्रमा फेरी सक्रिय बनाउने कोसिस कृष्णले गरिरहेका छन् । ‘डाक्टरसंग सल्लाह लिएर औषधी नियमित रुपमा खाइरहेको छु,’ कृष्ण भन्छन्, ‘पहिलेभन्दा केही सुधार भएको छ, आशा गरेको छु, लोक संगीतको क्षेत्रमा सक्रिय हुन सकिएला ।’ यही बीचमा केही दिन अगाडि पोखराको सभागृह हलमा कृष्णको ‘एकल साँगीतिक साँझ २०८१’ कार्यक्रम गरियो । यो उनको दोस्रो एकल साँगीतिक साँझ हो । हजारौं दर्शक माझ कृष्णले आफ्ना १६ वटा गीत प्रस्तुत गरे । यो भन्दा अगाडि करिब एक दशक पहिले उनको एकल साँझ कार्यक्रम आयोजना गरिएको थियो । लामो समयपछि कुनै मञ्चमा प्रस्तुति दिएकाले होला उनी केही भावुक पनि देखिए । आँसुको ढिक्कासंगै लोक गीत प्रस्तुत गरेका कृष्णको स्वरमा कुनै फरकपन देखिएन, उही मधुर र मिठास बाँकी थियो कृष्णको आवाजमा । ‘छोरा मान्छे कठोर हुनुपर्छ, रुन हुन्न भन्छन् । तर म त भन्छु रुनु पर्छ र रुन पाउनुपर्छ ।’ भावुक हुँदै उनले भनेका थिए, ‘आँशुले मनका बेदना पखाल्छ, भारी भएको मनलाई हल्का बनाउन मद्दत गर्छ आँसु बहाउनुको अर्थ कमजोर हुनु पक्कै होइन ।’ नेपाल मगर साँस्कृतिक संघ कास्कीले कृष्णकै स्वास्थ्य उपचार तथा आर्थिक रुपमा केही सहयोग होस् भन्ने उद्देश्य सहित कृष्णको एकल साँझ कार्यक्रम आयोजना गरेको हो ।

उस्तै स्वर माधुर्यता, उस्तै सपना

कार्यक्रममा केही भावुक देखिए पनि आवाजमा उनले कुनै फरकपन ल्याएनन् । पहिलेकै अवस्थामा उनी फर्किएको भान भइरहेको थियो । उनलाई लाग्छ, फेरी पनि लोक संगीत क्षेत्रमा सक्रिय रुपमा लाग्न यो एकल साँझ कार्यक्रम एउटा खुड्किलो हो । स्वास्थ्य र घरयासी समस्या सहित चुनौतीका बीच घेरिएर केही समयदेखि लोक संगीतको क्षेत्रबाट आझेलमा परेका कृष्णलाई फेरी सक्रिय रुपमा अगाडि बढ्नु छ । ‘जीवनमा कुनै गुनासो छैन, पछाडि फर्र्किएर होइन, अगाडि बढ्दै भविष्य हेरेर संगीतको क्षेत्रमा धेरै काम गर्नु छ मैले,’ हर्षित मुद्रामा कथालिकासँग उनले भने।। यही क्षेत्रमा आफ्नो सम्पूर्ण जीवन व्यतित गर्न चाहन्छन् कृष्ण । स्वास्थ्यमा सुधार आइरहँदा उनमा गीत सिर्जना गर्ने आवाज दिने रहर फेरी पलाइरहेका छन् । संगीतलाई आफ्नो जीवन मान्ने कृष्ण संगीत क्षेत्रमा आफ्नो जीवन व्यतित गर्न चाहन्छन् । ‘यो दर्शकका लागि दोस्रो एकल साँझ कार्यक्रम भए पनि मेरो लागि फेरी एउटा नयाँ सुरुआत हो, लोक संगीतको क्षेत्रमा अगाडि बढ्ने भ¥याङ हो ।’ केही खुसीको भावसंगै उनी भन्छन्, ‘मेरो लागि जीवनको अर्को अध्याय सुरु भएको छ, यसलाई खेर जान दिन्न ।’

२०८१, २५ पुष बिहीबार ०८:११
कथालिका नयाँ कथा
कथालिका