- झट्ट हेर्दा र सुन्दा ‘पुतली नाच’ जति आकर्षक लाग्छ, उत्तिकै अश्लील र अस्वभाविक जस्तो पनि । ऐतिहासिक मानिएको यो नाचको सामाजिक, साँस्कृतिक महत्व, अर्थ भने आजको समय र समाजले खोज्नुपर्ने स्थानीय बताउँछन् ।
बागलुङ प्रकृति र संस्कृतिको एक अनुपम स्थल । जिल्लाको निसीखोला गाउँपालिका यसको एक रुप, निसीखोला–६ भल्कोटमा हरेक वर्ष माघ ३ मा नाचिने पुतली नाच ऐतिहासिक संस्कृतिको सुन्दर उदाहरण । झट्ट हेर्दा र सुन्दा जति आकर्षक लाग्छ, उत्तिकै अश्लील र अस्वभाविक जस्तो पनि । यो नाचको ऐतिहासिकता, साँस्कृतिक विविधताका हिसाबले अनेकन आयाम छ । यद्यपि, यसको सामाजिक, साँस्कृतिक महत्व, अर्थ भने आजको समय र समाजले खोज्नु र बुझ्नुपर्ने स्वयंम् स्थानीय बताउँछन् ।
सयौं वर्षको इतिहास
तत्कालीन बाइसे चौबिसे राज्यका सञ्चालनका दौरान राजा रानीको मृत्यु भएपछि स्थानीयले उनीहरुको स्मृतिमा पुतली नाच नाच्न थालेको स्थानीय नैनासिंह बुढा मगर बताउँछन् । बुढाका अनुसार माघ २ गते साँझ राजाको सम्झनामा पुतली बनाउने गरिन्छ ।
राजा, रानी र धाइमा गरी तीन वटा मूर्ति जस्तो पुतली बनाइन्छ । माघ ३ गते बालक, युवा र बृद्धहरु पुतलीको पहिरन गरेर बाजाको तालमा नाच्ने गर्छन् । माघ ३ गते भल्कोट गाउँबाट नाच्दै केही माथि पुग्ने र त्यहाँ बन्दुक पट्काउने, पुलतीलाई डोलामा डुलाउने र नाच्ने गरिन्छ । साँझ परेपछि खोलामा सेलाइन्छ ।
माघ २ गते साँझ पुतली बनाउन सुरु गरेदेखि ३ गते खोलामा लगेर नबगाउँदा सम्म स्थानीय युवाहरु डम्फु बजाउने, अश्लिल बोल्ने र कापै खेल्ने गर्छन् । माघ ३ गते विहानदेखि साँझ सम्म भने पुतली जस्तै बनेका मान्छेहरु नाच्छन् । उनीहरुले सनदारमा फेता, शरीरमा विभिन्न थरीका कपडा पहिरिएका हुन्छन् । पुतली जस्तै बनेका उनीहरु दिनभर नाच्छन् । जसलाई स्थानीयले ‘पुतली नाच’ भन्छन् ।
कथालिकासँगको कुराकानीमा बुढा थप्छन्– “नेपालमा सयौँ वर्ष अगाडि धेरै राज्य थिए, त्यसमध्ये भल्कोटमा पनि एउटा राज्य संचालनमा थियो, उनीहरुले जे सिकाए हामीहरुले पनि त्यही सिक्यौँ र अहिलेका युवाहरुलाई पनि त्यहीनै सिकाई रहेका छौँ, माघ २ गते साँझदेखि पुतली बनाउन सुरु भए देखि ३ गते साँझसम्म नाच्ने चलन छ ।”
‘भालुको पित्त’ देखाउने अचम्मको प्रचलन
नेपाली समाजमा सानो मन गर्नेहरु प्रति लक्षित गरेर भनिने चर्चित उक्ति छ, कस्तो भालुको पित्त जस्तो चित्त । यही यथार्थतासँग कुनै तात्विक सम्बन्ध र अर्थ छ छैन, तर बागलुङको निसीखोलाको पुतली नाच र मेलामा प्रतिकात्मक रुपमा भालुको पित्त देखाउने प्रचलन छ ।पुतली नाचसँगै गत माघ ३ गते ‘भालुको पित्त’ देखाइएको छ । दिनैभर पुतली जस्तै बनेर नाच्ने मानिसको बिचमा कापै खेल्ने १०,१२ जना युवाको टोली हुन्छ । उनीहरुले डम्फु, घाँडो लगायतका थोँत्रा भाँडा बजाउने गर्छन् । पुराना थाग्ना कपडा र मुखमा मुखुण्डो लगाएका हुन्छन् भने केहीले अनुहार देखाएका हुन्छन् ।
उनीहरु मध्ये एक जनालाई पुरानो घुम (भेडाको रौँबाट बनेको कपडा) फेरेर चिन्दै नचिनिने बनाइएको हुन्छ । त्यसलाई उनीहरुले ‘भालु’ भन्छन् । कापै खेल्नेहरुले त्यस भालुको यौनाङ्गमा खरानी र धुलो हाल्ने गर्छन् भने बेला–बेलामा उत्तानो पारेर अंग प्रदर्शन समेत गर्छन् । त्यसरी यौनाङ्ग देखाउनेलाई स्थानीयले ‘भालुको पित्त’ भन्ने गरेका छन् ।
देख्दा अस्वभाविक जस्तो लागे पनि यो वर्षौँदेखि गरिँदै आएको प्रचलनको रुपमा स्थानीयले सहज र स्वभाविक रुपमै ग्रहण गर्ने गरेका छन् । कापै खेल्नेहरुले होरे कापे होरे, देवी हाँस्दैनन्, उँभोबाट हात्ती आयो भेल लाएर… लगायत आजको समयमा सुन्न पनि अत्यन्तै असहज लाग्ने शब्द प्रयोग गर्ने गर्दछन् । यसरी अश्लिल शब्द बोल्दा देवीदेवता खुसी हुन्छन् भन्ने मान्यता रहेको स्थानीय ६६ वर्षीय मनबहादुर घर्ती बताउँछन् । “यस्तो खालको संस्कृति देख्दा बाहिरबाट आउने मान्छेलाई नराम्रो लाग्छ होला तर, यो ठाउँमा धेरै वर्ष पहिलेदेखि नै भालुको पित्त देखाउने गरिन्छ, अन्य समयमा यस्तो हुँदैन, जुन दिन पुतली नाचिन्छ, त्यही दिन मात्रै भालुको पित्त देखाउने गरिन्छ,” घर्तीले भने– “पहिले त अझै बढी चल्थ्यो, अहिले विस्तारै छाडापनमा कमी हुँदै गएको छ, भालु बनाएर यौनाङ्ग देखाउने मानिसको पहिचान भने हामी खोल्दैनौ ।”
पुतलीसँगै नाचिने ‘पट्टा नाच’
पुतली नाचसँगै माघ ३ गतेनै पट्टा नाच नाच्ने गरिन्छ । हातमा भाला तथा तरबार लिएर पुतली नाच्ने व्यक्तिहरुनै यो पट्टा नाच नाच्ने गर्छन् । तत्कालीन राजाका सिपाहीहरुले गर्ने तालिमलाई अहिले पट्टा नाच भन्ने गरिएको निसीखोला गाउँपालिका–६ का अध्यक्ष हेमबहादुर बुढा मगर (सूर्यमान)ले जानकारी दिए ।
बुढाका अनुसार पट्टा नाच्दा दुई तर्फ तरबार र ढाल राख्ने गरिन्छ र दुई जनाले त्यसलाई नचाउने गर्दछन् । तरबार नचाउँदा दुबैले एक अर्कालाई मार्न र आफू बच्न खोज्छन् । पुतली नाच्ने र तरबार नचाउने उनीहरु आफै गर्दछन् । पहिले पुराना ढाल तरबारको प्रयोग हुने गरेकोमा पछिल्लो समय काठलाई पट्टा बनाएर नाच्ने गरेको उनको भनाइ छ ।
संरक्षणमा स्थानीय युवाको अग्रसरता
बाइसे चौबिसे राजाको पालादेखि नाचिदै आएको पुतली नाचलाई यहाँका स्थानीयले संरक्षण गर्दै आएका छन् । पुतली जस्तै बनेर नाचिने यो नाच महङ्गो पनि मानिन्छ । थरीथरी रङका कपडा पहिरिएरका बालकदेखि वृद्धसम्मले पुतली बनेर नाच्छन् । युवा पुस्तामा पुतली नाच संरक्षण गर्ने चासो बढे पछि वर्षेनी नाचको रौनक बढ्दै गएको छ ।
भल्कोटमा मात्रै नाच्ने पुतली नाच उत्कृष्ट मौलिक संस्कृतिका रुपमा लिने गरिन्छ । पुतली नाचसँगै यस दिन कापै नाच, तरबार नाच र पट्टा नाच नाच्ने गरिन्छ । युवा पुस्ता विदेश पलायन र बजार झर्न थालेपछि लोप हुने अवस्थामा पुगेको पुतली नाच गाउँमा भएका युवाले संरक्षण गर्दै आएका छन् । मगर समुदायको पहिचानसँग जोडिएको नाचलाई संरक्षण गर्न स्थानीय सरकारसहित विभिन्न संघ संस्था पनि सक्रिय छन् ।
नाचको संरक्षण लागि तिलाचन युवा क्लव अग्रसरता लिएको छ । क्लवले पुराना पुस्ताबाट नयाँ युवालाई संस्कृति हस्तान्तरण गराउने कार्य गर्दै आएको छ । हरेक वर्ष गाउँमा नयाँ नाच्ने युवाहरु बढी छन् । सयौँ वर्ष पुरानो मानिने यो नाच कहिलेदेखि सुरु भएको एकिन नभए पनि बाइसे चौबिसे राज्य हुँदादेखि नाच्दै आइएको बुढापाको भनाइ छ । बाउ बाजेले नाच्दै आएको नाचलाई अहिलेसम्म संरक्षण गर्दै आएको स्थानीय ७७ वर्षीय भाजविर घर्ती मगरले बताए । “पुतली नाच मैले जान्ने हुँदादेखि नै नाच्ने गरिन्थ्यो, अहिले म सात दशक बढी भएँ, नाच्दै आइएको छ, हामी सानोसानो हुँदा बाउ बाजे नाच्थे, मैले त्यही देखेर सिकेको” घर्ती मगरले भने– “अहिलेका युवाहरुले पनि सिक्दै छन्, गर्दै छन्, यो संस्कृति कहिलेदेखि सुरु भएको भन्ने थाहा छैन, तर हाम्रा बाजेहरुले सयौँ वर्ष पुरानो हो भन्ने गर्थे ।
पुतली नाच संरक्षणमा गाउँपालिकाको चासो
पहिले झोलेमा रहेको पुतली नाच स्थानीय सरकार आएपछि बढी चर्चामा आउन थालेको छ । प्रचारप्रसारका कारण पश्चिम बागलुङ यो नाच निकै लोकप्रिय बन्दै गएको छ । पाँच वर्ष अगाडिको तुलनामा नाच हेर्न आउने दर्शकसमेत बढेका छन् । नाच हेर्नका लागि बागलुङका निसीखोलासहित तमानखोला, ढोरपाटन तथा गुल्मी, प्युठान, रोल्पा र रुकुमबाट हजारौँ दर्शक आउने गरेका छन् ।
मगर समुदायको पहिचानसँग जोडिएको पुतली नाच मौलिक संस्कृति भएको हुँदा पालिकाले वर्षेनी बजेट व्यवस्थापन गरेर व्यवस्थित गर्दै गएको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले बताए । गाउँपालिकाले पाका पुस्ताबाट युवा पुस्तामा कला र संस्कृति हस्तान्तरण गर्नका लागि प्रशिक्षण लगायतका काम गर्ने गरेको उनको भनाइ छ ।
“यस खालको नाच सायद नेपालमै छैन होला, हामी कला संस्कृतिका हिसाबले धनी छौँ, नयाँले नसिकेपछि लोप भएर जान्छ कि भन्ने चिन्ता त हुन्छनै यद्यपी समय–समयमा युवा पुस्तालाई सिक्न प्रेरित गरि रहेका छौँ” उनले भने– “गाउँपालिका यहाँका संघ संस्थालाई पनि कला संस्कृति संरक्षण गर्न सक्रिय बनाइ रहेको छ, बजेट विनयोजन गर्ने र अन्य पक्षलाई पनि ध्यान दिएका छौँ ।”
सयौं वर्षदेखि पुर्खजहरुले संरक्षण र निरन्तरता दिएको संस्कृतिलाई आत्मसाथ गर्नु र निरन्तरता दिनु सकारात्मक विषय हो । तर, यो नाचको आजको समयमा सान्दर्भिकता के कति छ रु परिष्कृत परिमार्जितको आवश्यकता छ कि छैन रु सामाजिक साँस्कृतिक पाटोबाट स्थानीय बिच बहस बिमर्श आवश्यक भने देखिएको छ ।