डार्लिङ हार्वरमा पिर बिसाउदै आमाहरु – कथालिका

डार्लिङ हार्वरमा पिर बिसाउदै आमाहरु

  • विकसित देशतिर पुगेका छोराछोरीको व्यस्त समयमा सघाउनका लागी पुग्ने गरेका बाआमाहरुले भोग्नुपरेको समस्याका बारेमा खासै सकस मान्दैनन् । शायद, आमाहरुले सवै पिर प्रशान्ततिरै बगाउदै छन्, डार्लिङ हार्वर तिरै बिसाउदै छन ।

म्याग्दी कुईने मंगलेकी सीता रेग्मी प्रशान्त महासागरसँग जोडिएको अष्ट्रेलियाको सिड्नी शहर छेउमा रहेको डार्लिङ हार्वरमा बसेर नेताहरुलाई सराप्दै थिइन् । देश विशेक भए त नातीनातिना किन परदेशमा हुर्किन्थे र भन्दै । न भाषा बोल्छन् न रहनसहन बुझ्छन न मैले बुझ्छु । उता लैनो भैसीको के हाल होला, घरका मान्छे भोकै होलान् कि खाईरा होलान् । छोरो र बुहारीको घर आउने जाने टुंगो छैन । कहिले मध्यराताँ मेला जान्छे कहिले भाले बाँस्ने बेला फर्किन्छे । हैन के हो के यो देश केही मेलोमेसो पाए छैन भन्दै मरुमुरिदै लामो सुस्केरा काढ्छिन् ।

आफनो गाँउ डोटीकी कहलिएकी पण्डितनी भविसरा एकाँबिहानै चाईनिजकाँ खाजा खान लगेर गए, सुँगुर र गाईका लाम्ताहरु देखेर झण्डै उल्टि गरिन, हत्त न पत्त बाटाँ निस्कीहाले । छेउमै भेटिएकी गैंडाकोटकी सुर कुमारीसँग लसुन र प्याज त आज सम्मन मुखाँ हालेँई छैन कुन थुतुनोले खान सक्नु ती लाम्ताहरु भन् त भन्दै पार्कतिर नातीनातिना चराउन जाँदा संगी सँग फतफताउदै थिइन् ।

ओपेरा हाउसको सिढीमा बसेर बटौलीकी मनमाया कान्छो छोरो यता आएर नि नसुध्रेको गुनासो देशतिरका बुढोलाई सुनाउदै थिइन् । ज्वाइँ छोरीलाई बल्लबल्ल रोईकराई गरेर ल्याएको कान्छो छोरोको उछिटो काट्दा–काट्दा मनमाया लामो सुस्केरा हाल्दै छेउछाउका संग डकस माने झै पनि गर्थिन् । छोरोको गुनासो गर्दा–गर्दै बुढोलाई नि धेरै जाँड खाएर नरल्लिन उर्दी पनि जारी गर्न थालिन् । तिमी पनि फेरी तीनपाने धोकेर नालीतिर गएर गुल्टेउला नि, होश गरे है मैले केही अनिको सुन्न नपरोस् । मेरो त के र ज्वाईँ छोरीको इज्जत फालौला फ्वाँकैमा ।

सिड्नी हार्वर ब्रीजको डिलबाट प्रशान्त महासागरको छाललाई एकोहोरो टोलाएर हेर्दै गरेकी काठमाण्डौकी सुनयना छालमै हराएकी छोरीको मधुरो आकृति सम्झदै रुँदै थिइन् । खाउखाउ लाउलाउ बेला कि छोरीलाई आफुमै समाहित गरेकी महासागरले उनको आँशुको व्यथा के सुन्थ्यो र त्यही नि मन बुझाउँदै थिइन्, पिर बिसाउदै थिइन् । छेउमा बसिरहेका छोरीका साथीहरुका आँखाहरु पनि उनको रोदन सँगै टिलपिलाई रहेका थिए । प्रशान्त महासागर सदाझै आप्mनै लयमा बगिरहेको थियो, सुनयनाको व्यथाको लहर भने बगाउन सकिरहेको थिएन ।

डुब्दै गरेको सूर्यको लालिमालाई हेर्दै पूर्व ३ नम्बरकी हरिकला छोरोले बर्षौ बित्दा पनि अष्ट्रेलियन पेपर पाउन नसकेर पिरमा थिइन् । छिमेकी नरदेविको छोरोले पाइसक्दा उनी भित्रभित्रै पाकिरहेकी कुरो उनको खुम्चेको निधारले बताइरहेको थियो । गाँउतिरका सबैै सिमेभूमे, देवीदेउतालाई सम्झदै कालो बोको चढाउने भाकल गर्दै गरेको उनको मसिनो आवाज सुनिन्थ्यो । छोराछोरीको मया न हो के देश के विदेश कलेजो खाने नै भयो बिचरी आमाको ।

पूर्व रुकुमकी भवीसरा र मटिहानीकी फुल्वा कुमारीको देखभेट डार्लिङ हार्वरको फेरिई चढ्दा भयो । चिसो सिरेटोले टाउको दुखाउदै गर्दा पहिलो चोटी महासागर देखेका र फेरिई चढेका यिनीहरुले निको महशुस गरेनन् । छोरा र छोरीको दिक्षान्त कार्यक्रममा आएका दुवै जना त्यसैत्यसै मख्ख थिए । एकअर्काले दुःख सुखका कुराहरु साटे, छरछिमेकका कुराहरु पनि काटे, देशको पिर पनि माने । आफुले दुःखजिलो गरे पनि छोराछोरीलाई यतै स्थापित गराउने कुरोमा मन मिल्यो । देश फर्केपछि मोवाइलमा सम्पर्क गर्ने बाचा गर्दै डार्लिङ हार्वरबाट दुवै जना छुटिए ।

अचेल सिड्नी र वरपरका सडकहरु, पार्कहरु, रेस्टुरेन्टहरु, समुन्द्रका छेउछाउहरु, रेलवे सेवाहरु, कलेजहरु र बिमानस्थलहरुमा बग्रेल्ती नेपाली युवायुवती र तिनका बाआमाको जमघट देख्न पाइन्छ । अष्ट्रेलियाका अन्य शहर र विभिन्न देशहरुमा पनि नेपालीहरुको अवस्था यस्तै छन् भन्ने सुनिन्छ । विकसित देशतिर पुगेका छोराछोरीहरुको व्यस्त समयमा सघाउनका लागी पुग्ने गरेका बाआमाहरुले भोग्नुपरेको समस्याका बारेमा खासै सकस मान्दैनन् । शायद, आमाहरुले सवै पिर प्रशान्ततिरै बगाउदै छन्, डार्लिङ हार्वर तिरै बिसाउदै छन ।

२०८२, ३ बैशाख बुधबार ०४:३९
कथालिका नयाँ कथा
कथालिका