- पोखरामा रहेको उद्योगमा अल्लोबाट झोला, कपडा लगायतका सामान बनाइन्छ । उत्पादित सामान अन्तर्राष्ट्रिय स्तरमा समेत निर्यात हुन्छ । उनले वार्षिक ५० देखि ६० लाख आम्दानी गरिरहेकी छिन् ।
पोखराको लेकसाइडमा हस्तकलाको व्यवसाय शुरु गरेको धेरै भइसकेको छ । आजभोलि उनको दिन त्यही पसलमा बसेर आन्तरिक तथा बाह्य पर्यटकको माग र चाहनालाई पूर्ति गर्दै बित्छ । कुनै बेला पसलमा विदेशी पर्यटक आएपछि के भनेका होलान्, कसरी उनीहरुको रोजाईका विषयमा जानकारी पाउने होला भन्ने चिन्ताले ग्रसित हुने उनी अहिले विदेशी पर्यटकसँग फरर्र अंग्रेजी बोल्छिन् र नेपालीलाई आफ्नै भाषामा हस्तकलाबाट बनेका झोला, कपडा लगायतका बारेमा जानकारी दिन्छिन् । सोचेकै थिइनन् उनले यो व्यवसायमा आफ्नो पाइला चालेर नेपाली महिलाको मेहनती हातले तयार गरेका सामग्री राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहसम्म पु¥याउँछु भन्ने । नेपालीमा एउटा उखान छ, ‘सपना के देख्नु उडी छुनु चन्द्र एक’ । बागलुङमा जन्मिएकी सुन्ती पुर्जा मगरको त सपना र केही उदाहरणीय कार्य गरेर समाजका अघि शिर ठाडो पारेर हिँड्ने आकांक्षा बाहेक केही थिएन । तर, जीवनको गोरेटो पार गर्दै जाँदा उनी जुन बाटो हिँडे, त्यही बाटो निरन्तर हार नखाएर अबचलित हिँडिरहिन् ।
रोकियो कक्षा ८ पढ्दामै पढाई
अहिले सुन्ती जुन सफलताका साथ अगाडि बढिरहेकी छिन्, त्यो सफलता उनले सजिलै प्राप्त गरेकी भने होइनन् । जीवनका अनेकन आरोह–अवरोह, अनगिन्ती त्याग, तपस्या र समर्पण छ । सुन्तीको संघर्षका कथा लामो र दुःखले भरिएको छ । दुःख र कष्ट भए पनि त्यसलाई जीवनको महत्व बुझाउने माध्यमका रुपमा लिएर अगाडि बढिरहेकी छिन् शुन्ती । लाहुरेलाई छोरी सुम्पिन पाएको खण्डमा भविष्य पूर्ण बन्छ भन्ने सोँच भएको त्यो समाज । हुन त हरेक आमाबाबाका लागि आफ्नो छोरीको भविष्य उज्ज्वल बनेको हेर्ने चाहना हुन्छ । अहिलेको जस्तो त्यो समयमा छोरीलाई आफ्नो इच्छा र चाहना अभिभावकका अगाडि राख्ने अनुमति हुँदैनथ्यो । आमाबाबाले भनेपछि सही होला भन्दै जबरजस्त मान्नुपर्ने अवस्था थियो । सुन्ती त्यही सोँच भएको समाजको सिकार बनिन् । कक्षा ८ पढिरहेकी थिइन्, अचानक उनको मागी विवाह भयो भारतीय सैनिकमा भर्ती भएका अशोक श्रीससँग । बिहे भन्दा अगाडि पढ्दै गरेकी उनको विवाह भएसंगै पढाई पनि रोकियो, उनले परिवारका सदस्यसंग पढाईलाई निरन्तरता दिन्छु भन्ने आँट गर्न सकिनन् ।
जब श्रीमानको लाहुरमै ज्यान गएको खबर आयो
सानै उमेरमा बिहे गरेकी उनलाई थाहा थिएन कि नियतीले उनको भाग्यमा अर्कै लेखेको छ भन्ने । बिहे भएको केही समयमा श्रीमान पल्टन फर्किएका थिए । समयले मागे जस्तै पढाईलाई बिट मारेर गृहिणी बनेर घर परिवारलाई सम्हालिरहेकी थिइन् । तर, यता बिहे गरेको ६÷७ महिनामा ड्युटीमा खटिएको स्थलमा ज्यान गुमाए उनका श्रीमानले । श्रीमानको निधन भएको धेरै पछि मात्रै थाहा पाएकी थिइन् शुन्तीसहित उनको परिवारले । त्यो बेलामा अहिले जस्तो टेलिफोन, सामाजिक सञ्जाल लगायतका माध्यम थिएनन् । समाचार पाउन चिठ्ठीकै भर पर्नुपर्ने बाध्यता थियो । श्रीमानको मृत्यु भइसकेपछि पल्टनबाट चिठी आएको थियो । ‘तर अंग्रेजीमा आएको चिठी मैले र परिवारले बुझ्न सकेनौं, उहाँको लडाईमा ज्यान गइसकेको भनेर थाहा पाउन सकेनौं,’ उनले भनिन्, ‘अरुलाई त जानकारी भइसकेको रहेछ, मलाई त थाहै दिएनन् ।’ चिठीबाट नभए पछि एकदिन घरमा अचानक गाउँतरिकै एक जना दाइ उनको घरमा झुल्किए । सोही गाउँले दाइले श्रीमान अशोकको अन्तिम निशानीको रुपमा खरानी लिएर आइसके पछि मात्रै उनले जानकारी पाइन् कि अब उनको श्रीमान यो संसारबाट बिदा भइसकेका छन् । उनलाई जानकारी भए अनुसार शुन्तीका श्रीमानको जम्मुकश्मिर र श्रीनगर भन्दा अझै भित्री सहरमा लडाईंमा परेर ज्यान गएको थियो ।
पीडा पीडा दिने त्यो बिर्सनलायक क्षण
त्यसपछि उनको जीवनको कायापलट हुन थाल्यो । भर्खर लाउँलाउँ खाउँखाउँ भन्ने उमेरमा एकल महिला हुनुको पीडा सायद भोग्नेलाई मात्रै थाहा हुन्छ, सुन्नेका लागि त एकछिन कठै बरा भनेर सान्त्वना दिने मात्रै हो । त्यसमाथि परिवार र समाजले महिलालाई दोष दिएर नानाभाँती भन्ने समय, अहिले जस्तो त्यति धेरै महिलाका लागि समाज खुल्ला भइसकेको थिएन । श्रीमान गुमाउनुको पीडा त छँदै थियो, उनले समाजको अनेकन कुरा सुन्नुप¥यो । सामुन्ने केही नभन्नेले उनलाई देखेपछि पछाडि अनेकन लाञ्छना लगाएको उनले भुलेकी छैनन् । ‘कसैले श्रीमान खाई भने, कसैले सुन्नै नसक्ने शब्द प्रयोग गरे,’ शुन्ती भन्छिन्, ‘समाजका ती तुच्छ बचन याद मात्रै गर्ने हो भने अहिलेसम्म यो मन चसक्क हुन्छ ।’ यस्तोमा उनका आमाबाबाले शुन्तीको हात छोडेनन्, समाजको कुरा सुनेर छोरीलाई एक्लै हुन दिएनन् । काजकिरियाको प्रक्रिया सकेपछि उनले त्यो घर छोडेर हिँडिन्, बाबाले उनलाई आफ्नै जन्मघर लिएर फर्किए ।
शुन्तीको संघर्ष यतिमा मात्रै सीमित भएन । देशमा संकटकालको समय, द्वन्द्व चर्किरहँदा आम नागरिक गाउँमा डरैडरमा बस्नुपर्ने बाध्यता थियो । धेरैले गाउँ छोडेर गइसकेका थिए, भएका पनि आज के हुन्छ, भोलि के हुन्छ भन्दै दिन काट्नुपर्ने अवस्था थियो । सोही समय गाउँमा भर्खर–भर्खर स्थापना भएका बोर्डिङ स्कुल बन्द गर्ने अभियान चलाइएको थियो देशभर । उनको परिवारलाई पनि अप्ठ्यारो हुन थाल्यो, शुन्तीका भाइहरुको पढाईमा असर पर्न थाल्यो । ‘विद्यालय बन्द हुने भएपछि असहज हुन थाल्यो, अलिअलि पेन्सन पनि पाएको थिएँ, त्यही पैसाले जग्गा किनेर पोखरामा बस्ने भनेर यता आएका हौँ,’ उनी भन्छिन्, ‘भाइहरुलाई पढाउने भनेर यहाँ आएको थिएँ, तर मेरो योजना अर्कै थियो ।’ खासमा शुन्तीको जीवनमा जे भयो, यसमा सायद भावीको लेखा थियो । अहिले पनि शुन्तीलाई आफ्नो जीवनप्रति कुनै गुनासो छैन । भावीले लेखेको कुरा मेटेर नमेटिने र भोग्नै पर्ने जस्तो उनलाई लाग्छ ।
जब उनले फेरि अर्को ठक्कर खाइन्…
संसार छोडेर जानेसँग पछि लागेर जान नसकिने रहेछ, जीवनलाई अगाडि बढाउनुपर्ने हुन्छ भन्ने शुन्तीले अहिले आएर राम्ररी बुझेकी छिन् । गाउँमा बस्ने स्थिति नभए पछि उनले जापान जाने सोँच बनाइन् । पेपर म्यारिज गरेर जान उनले उचित ठानिन्, जाने प्रक्रिया र कागजपत्र सबै मिलिसकेको थियो । एक वर्षको भिसा पनि आयो तर फेरी उनले ठक्कर खाइन् । जोसँग जापान जाने भनेकी थिइन्, उनी त्यही जापानमा जेल परे । ‘डान्सबारमा गएर, झगडा गरेर जेल परेका हुन् भन्ने सुनेँ, यो पटक मैले जोखिम उठाउन सकिन,’ उनले भनिन् । जापान जानका लागि कागजपत्र बनाउन काठमाडौं आउने क्रममा उनले अहिलेका जीवनसाथी बुद्धिबहादुरर पुर्जालाई भेटेकी हुन् । खासमा उनी जो सँग जापान जाने भनेकी थिइन् उसैको साथ थिए हालका उनका श्रीमान पुर्जा । काठमाडौं आउने जाने क्रममा उनको मनलाई यो केटा सबै कुरामा ठीक छ भन्ने लागिसकेको थियो । मनमनै अतीतमा जे भएपनि अबको भविष्य उहीसँग बिताउँछु । ‘उहाँ मलाई शालीन, भद्र र असाध्यै राम्रो व्यक्ति लाग्यो, त्यसैले सँगै जीवन बिताउँ भनेर उहाँलाई मैले सुरुआतमा प्रस्ताव गरेको हुँ,’ शुन्तीले भनिन् । त्यसपछि उनीहरुले २०६२ सालमा विवाह गरे ।
जीवनको अर्को अध्याय सुरु त भयो । अब कहाँबाट के सुरु गर्ने भन्ने उनीहरु दुवैलाई थाहा थिएन । बुद्धिबहादुर त्यतिबेला गाउँ–गाउँमा विद्युत विस्तार गर्ने क्रममा लघु जलविद्युत आयोजनामा काम गर्थे । लघु उद्योग विकास कार्यक्रमका प्रमुख डा.लक्ष्मण पुनले उनलाई काम गर्ने क्रममा नियालिरहेका थिए । डा.पुनले पुर्जा दम्पतिलाई नेपालमै बसेर केही उद्यम गर्नुपर्छ भन्ने प्रेरणा दिए । सोही प्रेरणाले उनीहरुले जुस बनाउने तालिम लिए । जुस बनाउँदै पुर्जा दम्पतिले म्याग्दीको बेनी, बागलुङ, पर्वत, कास्की लगायतका स्थान सहित मेला महोत्सवमा बिक्री गर्थे । ‘जुससहित गाउँमा उत्पादित अन्य खाद्यान्न बजारमा बिक्री गरियो, यसले हामीलाई मार्केटिङ बुझ्ने वातावरण सिर्जना ग¥यो,’ उनी भन्छिन् । खाने कुरा, त्यो पनि गाउँमा उत्पादन भएकाले बजारमा सजिलै बिक्री हुने गरेको उनले अनुभव सुनाइन् ।
पछि लघु उद्यमले खाने कुरा सहित अल्लो, ढाका लगायतका कपडा बनाउँदै लग्यो । खाना तथा जुसका परिकार सजिलै बजारमा बिक्री भए पनि अल्लोका कपडा बिक्री हुन सकेन । किनकी बजारमा अल्लोको कपडा चल्तीमा आउन सकेको थिएन । ‘कसैले अल्लाको कपडा देखे ओहो बोराको कपडाको सामान भन्दै जिस्काउँथे,’ उनले भनिन् । डा. पुनकै आग्रहमा उनीहरुले अल्लोको कपडा राखेका थिए पोखराको महेन्द्रपुलमा पसल सञ्चालन गरेर । त्यहाँ उनीहरुले एक वर्षसम्म आम्दानी गर्न सकेनन्, आर्थिक अवस्था झन् खस्कियो । ‘एक वर्षसम्म पसल राख्दा एउटा त आम्दानी शून्य जस्तै भयो,’ उनले भनिन्, ‘एकपटक श्रीमानका साथी पसलमा आएका थिए, उनीहरुले पसलमा भएको अल्लोको सामानलाई देखेर यति धेरै बिल्ला गरे कि उनीहरुको हाँसो रोकिएकै थिएन ।’ शुन्तीसँग त्यो बेलामा अल्लोको सामानलाई कसरी बिक्री गर्ने, कुन स्थानमा के बिक्री हुन्छ भन्ने कुनै जानकारी थिएन । त्यसैले आम्दानी भन्दा बढी लाखौँको घाटा बेहोर्नुप¥यो । अब केही हुन्छ कि भन्ने आशले पोखराकै सिर्जनाचोकमा पसल सञ्चालनमा ल्याए, त्यहाँ पनि लाखौँ घाटामा गयो ।
लेकसाइड सरेपछि…
डा.पुनकै आग्रहमा शुन्ती दम्पतिले पोखराकै पर्यटकीय क्षेत्र लेकसाइडमा हस्तकलाका सामानको पसल सञ्चालन गर्ने भए । तर, उनीहरुको पसलका लागि सटर पाउन हम्मेहम्मे प¥यो । पाइहाले पनि सुरुमै लाखौँ रुपैयाँ डिपोजिटका रुपमा जम्मा गर्नुपर्ने बाध्यता । ‘बल्लबल्ल पाइएको सटरलाई डिपोजिट दिन पैसा थिएन, कताबाट श्रीमानले मिलाउनु भयो ऋण खोजेर, अनि मात्रै अहिलेको यो पसल सञ्चालन गरेका हौं,’ उनी भन्छिन् । वि.स. २०६५,६६ बाट सुरु भएको हस्तकला सामानको पसलले अहिले उनीहरुलाई नाम र दाम दुवै दिएको छ । यही प्राप्त गर्न उनीहरुले अनेकौँ संघर्ष गरेका छन् । सुरु–सुरुमा पसलमा आएका विदेशी पर्यटकसँग अंग्रेजीमा कुरा गर्न नआउँदा शुन्तीले हैरानी खेपेकी थिइन् । अन्य पसलका सञ्चालकलाई डाकेर के भनेका छन् भन्थिन्, सहयोग माग्थिन् । तर, पछि उनीहरुले कमिसन माग्न थाले । ‘कमिसन दिनु भन्दा आफै सिक्छु भन्दै जानी–नजानी उनीहरुसँग कुराकानी गर्न थालेँ, अहिले अँग्रेजी ठीकै बोल्छु,’ उनी भन्छिन् ।
हस्तकलाका सामान विदेश निर्यात, लाखौ आम्दानी
हस्तकलाको व्यापार सुरु गरेपछि विस्तारै विदेशमा समेत सामानको माग हुन थाल्यो । माग धान्न नसकेपछि उनी आफैँले पनि उद्योग सञ्चालन गरेर सामान उत्पादन गर्न थालिन् । अहिले पोखरा १५ लक्ष्मीटोलमा उनको ठूलो उद्योग सञ्चालित छ, जहाँबाट अल्लोबाट बनाइने झोला, कपडा लगायतका सामान बनाइन्छ । अन्तर्राष्ट्रिय स्तरमा सामान निर्यात गर्दा उनले वार्षिक ५० देखि ६० लाख आम्दानी गरेकी छिन् । सबैभन्दा सामान अष्ट्रेलिया निर्यात हुन्थ्यो । तर, अहिले यो कमाईसँगै निर्यात गर्ने क्रम पनि घटेको छ । ‘कोरोना महामारी पछि विदेशमा सामानको माग घटेको छ । पुराना ग्राहकद्वारा आउने माग घट्यो, नयाँ ग्राहक बनाउन गाह्रो भइरहेको छ, तर कोसिस गरिरहेको छु,’ उनले भनिन् । देशकै कुरा गर्ने हो भने उनले म्याग्दी, बागलुङ, प्युठान लगायतका जिल्लामा महिलाहरुले तयार गरेको सामान आयात गर्छिन्, ताकि उनीहरुको आम्दानीको स्रोत होस् र आर्थिक रुपमा सबल बनुन् । यी बाहेक उद्योगका लागि कच्चा पदार्थ गाउँ–गाउँबाट मगाउँछिन् ।
नेपालमा उत्पादित सामानको प्रयोग नेपाली भन्दा बढी विदेशीले गरेको उनले यी वर्षमा अनुभव गरेकी छिन् । विदेशीले प्लास्टिकजन्य सामान प्रयोग बढी मात्रामा गर्ने र अल्लोको सामान बिरुद्ध नेपालीपनले बन्ने भएकाले उनीहरुले सामान मन पराउने गरेको उनको अनुभव छ । ‘बार्गेनिङ सबैले गर्छन्, तर अलि बढी त नेपालीको नै हुन्छ,’ उनले भनिन्, ‘नेपालमा उत्पादित सामानको प्रयोग गर्ने नेपाली धेरै कम छन् ।’ पहिले–पहिले अल्लोको सामान प्रयोग गरेको खण्डमा चिलाउँछ, एलर्जी हुन्छ भन्दै हाँसोका रुपमा लिइने सामान अहिले भने प्रयोगमा आउन थालेको उनले बताइन् । नेपालीको सोँच परिर्वतन भइरहेको छ । स्वास्थ्यको हिसाबले पनि हस्तकलाबाट बन्ने सामान उत्कृष्ट हुने उनको अनुभव छ । नेपालीलाई बुझ्न समय लागे पनि परिर्वतन सम्भव भएको उनी बताउँछिन् । ‘नेपाली कच्चा पदार्थबाट र नेपालमै बनेका सामान नेपालीले पनि खरिद र प्रयोग गर्न थालेका छन्, यो खुसीको कुरा हो,’ उनी भन्छिन्, ‘हिम्मत नहारेर काम गर्न सके नेपालमै आम्दानी गर्न सहज छ ।’