चिनु गुरुङः झ्यालबाट सपना देखे, सफलताबाट ‘संसार’ – कथालिका

चिनु गुरुङः झ्यालबाट सपना देखे, सफलताबाट ‘संसार’

  • जुन बेला छोरी–बुहारीले घर बाहिरको काम गर्ने अनुमति बिरलै हुन्थ्यो । त्यही बेला आत्मनिर्भरताको हुटहुटीले भारतको मद्रासमा पुगेको बेला झ्यालबाट चिरिचट्ट महिलालाई देखेपछि सौन्दर्यताको आकर्षण र बोध भयो । त्यससँगै सिकेको सिपले नेपाल फिरे पछि सफलता र खुशी दियो ।

स्याङजाको दरौं जन्मघर, कर्मघर चाही सिरुबारी । लाहुरेको छोरी अनि लाहुरेकै बुहारी । सामान्यतः उनलाई खान लाउनको अभाव खड्किएन जीवनमा । तर, चिनु गुरुङलाई आफ्नो जीवनमा आफ्नै कर्म र त्यसले दिने परिचय र खुशीको अभाव भने खड्किरहन्थ्यो । परम्परागत अवस्था, जमाना, प्रचलन र समाज जे जस्तै भए पनि स्वयंम् आत्मनिर्भर हुनुपर्छ भन्ने कुराले मनमा घर बनाउँथ्यो । चिनुलाई आफ्नो बाबाले सुनाउँथे–‘चिनु बच्चा हुँदा सधैं कैंची चलाउँथिन्, हँसिया पाए कपाल काटिहाल्ने, नङ फाल्ने । घरमा भएको एउटा कैंची गाउँभरीका स्थानीयको कपाल काटेर घर आइपुग्थयो । त्यो कैंची भेटेपछि बाबाको दाह्री–जुंगा काट्न तम्सिन्थ्यो ।’ त्यो बेला आगोको कोइला राखेर चलाउन मिल्ने आइरन थियो उनको घरमा । धेरैको घरमा नहुने भएकाले आइरन गाउँभरी डुलेर घरसम्म आइपुग्थ्यो । ‘त्यो आइरन लिएर बाबा तपाईंको अनुहारलाई आइरनले चाउरीपन हटाउनुप¥यो भन्थे रे,’ चिनुले त्यसबेलाको किस्सा हाँस्दै सुनाउँछिन् । बाल्यकालमा कैची चलाउने, कपाल मिलाउने उनै चिनु सौन्दर्यकलाका कारण चर्चा र सफलताको चुलीमा छिन् । ‘अहिले उनी जुन पेसा र व्यवसायमा आवद्ध छु, त्यसको मैले बच्चैदेखि संकेत देखाएकी रहेछु,’ उनी भन्छिन् ।

सुन्दरी देखेर संयोगले जुराएको सौन्दर्य व्यवसाय

अहिले ५२ वर्षिया चिनुलाई सबैले कार चढेको र प्रगति गरेको देख्छन् । यो प्रगति र सफलता प्राप्त गर्न उनले अथाह संघर्ष र त्याग गरेकी छिन् । कक्षा ९ पढ्दापढ्दै विवाह भयो, धेरै अध्ययन गर्ने मौका पाइनन् । विवाह पछि केही समय अध्ययन गरिन् र एसएलसी पास गरिन् । आजको दिनसम्म आइपुग्न उनले त्यो बेलाको समाजसंग लडेकी छिन्, जुन बेला छोरी–बुहारीले घर बाहिरको काम गर्ने अनुमति बिरलै पाउथे । आत्मनिर्भर बन्नु भनेको महिलाका लागि ढुंगा चपाउनु सरह कठिन थियो । सौन्दर्यताको क्षेत्रमा भविष्य बनाउने भन्ने त सोच्ने अवस्थै थिएन । चौतर्फी नकारात्मकता हाबी थियो । महिलाले नक्कल गरेको मात्रै देखेमा नानाथरी कुरा काट्ने प्रवृत्ति व्याप्त थियो । सानैदेखि सौन्दर्यतर्फ झुकाव भए पनि यसलाई पेसाकै रुपमा अगाडि बढाउँछु भन्ने उनलाई लागेको थिएन । विवाह भएपछि सासुससुराले लाहुरेको श्रीमती, अब तिमीले सिलाई बुनाई सिक्नुपर्छ भनेपछि उनले केही समय सिकिन् । तर, उनको इच्छा र चाहना भने फरक थियो, सिलाइ बुनाईलाई निरन्तरता दिन सकिनन् ।

भनिन्छ नि, भगवानले तँ आँट, म पु¥याउँछु भन्छ रे । चिनुको जीवनमा त्यस्तै भइदियो । भारतीय सैनिक श्रीमानले उनलाई पल्टन भारतको मद्रास लिएर गए । मद्रासमा श्रीमान आफ्नो ड्युटी जान्थे, कसैसंग बोल्नु थिएन, झ्यालबाट नियालेर बस्नु दैनिकी थियो । यसरी नियालिरहँदा उनले एकजना महिलालाई देख्थिन्, जो चिटिक्क परेर गइरहेकी हुन्थिन् साडीमा, ठाइकट कपाल काटेकी महिलाको सौन्दर्य देखेर चिनुलाई लोभ लाग्थ्यो । छिमेकीलाई महिलाको विषयमा सोधिन्, महिलाको नाम गीता गुरुङ थियो, उनी भारतको दार्जलिङकी थिइन् । उनी ब्युटी पार्लर जाने गरेको चिनुले जानकारी पाइन् । ‘मैले छिमेकीलाई ती महिलासंग भेट गराइदिन आग्रह गरेँ,’ उनले भनिन्, ‘उहाँलाई देखेपछि यो सौन्दर्य व्यवसाय प्रति मोह झन् बढ्यो, मेरो प्रेरणाको स्रोत उहाँ नै हो ।’ उनलाई सिलाइ बुनाईको सीप काम लाग्यो, सिलाईबुनाई सिकाउँदा भएको आम्दानीले चिनुले पार्लर सिकिन् । गीतासँग चिनुले ६ महिना पार्लर सिकेर ९ महिना भोलेन्टियर गरेकी थिइन् ।

मद्रासको सिप, पोखरामा व्यवसाय

भारतमा सौन्दर्य सम्बन्धी ज्ञान लिएको केही समयमा उनी पोखरा आइन् । सिकेर मात्रै भएन, सिपको प्रयोगबाट आत्मनिर्भर बन्नुपर्छ भन्ने हुटहुटी थियो । सोही हुटहुटीले चिनुलाई पोखराको पृथ्वीचोकमा रहेको ‘कामना ब्युटी पार्लर’सम्म पु¥यायो । त्यहाँ पुगेर ब्युटीपार्लरकी सञ्चालिकासँग कुरा गरेर उनले ३ महिना भोलेन्टियरका रुपमा काम गरिन् । ‘३ महिनापछि आफैं पार्लर सञ्चालन गर्छु भनेर तयारी गर्दा सोही पार्लरकी सञ्चालिकाले यही किनेर चलाउनुस् भनिन् ।’ पार्लर खरिद गर्न परिवारबाट चिनुले ३० हजार पाइन्, अनि सोही पार्लरलाई ‘गुरुङ ब्युटी पार्लर’ नाम जुराउँदै उनको सौन्दर्य व्यवसायको सुरुआत भएको हो ।

 

आफ्नै व्यवसाय सुरुआत त गरे तर, चिनुलाई सहज भएन । ‘सुरुमा एक हप्तासम्म ग्राहक आएनन्, बोहनी समेत भएन,’ उनले भनिन्, ‘पछि ग्राहक आउनु भए पनि अनुहार लुकाएर आउने, थ्रेडिङ गरेर कपाल काटे पनि पछ्यौरीले लुकाएर जाने अवस्था बिद्यमान थियो ।’ सुरुको महिनामा चिनुले २५ सय कमाई गरेकी थिइन् । यो व्यवसाय पूर्ण उकास्न उनलाई २,३ वर्ष लाग्यो ।

कर्मचारी नपाए पछि ट्रेनिङ सेन्टर

व्यवसाय उकासिन थालेपछि उनलाई कर्मचारीको अभाव हुन थाल्यो, कर्मचारी खोज्दा कतै पाइएन । अनि ट्रेनिङ सेन्टरको रुपमा पार्लरलाई अगाडि बढाइन् । आफूले भारतमा सिकेर आएकाले उनलाई अन्य महिलालाई तालिम प्रदान गर्नु असहज भएन । त्यो समयबाट सौन्दर्य सम्बन्धी तालिम प्रदान गरिरहँदा अहिले पोखरामा ९५ प्रतिशत सौन्दर्य व्यवसायी चिनुकै विद्यार्थी छन् । ‘भारतबाट जे सिकेर आएको थिएँ, त्यही ज्ञान विद्यार्थीलाई सिकाएँ,’ उनी भन्छिन् । २०६२ सालबाट भने ट्रेनिङ सेण्टर मात्र होइन, केही उद्देश्य थप गरेर चिनुले एकेडेमीमा रुपमा अगाडि बढाएकी हुन् । उनलाई सफलताको स्वाद चाख्न १० वर्ष लाग्यो । चिनुले अहिले ‘गुरुङ ब्युटी एकेडेमी’ र ‘गुरुङ ब्युटी पार्लर’ गरेर २ वटा कम्पनी आधिकारिक रुपमै दर्ता गरेर सञ्चालन गरिरहेकी छिन् । ‘गुरुङ ब्युटी पार्लर’ले ग्राहकको सेवा गर्छ भने ‘गुरुङ ब्युटी एकेडेमी’ ले व्यवसायी उत्पादन गर्छ ।

त्यो बेलाको समयमा ३० हजारको लगानीमा सञ्चालन भएको व्यवसायमा अहिले करोडौंको लगानी छ । ट्रेनिङ सेन्टर हुँदा र एकेडेमी भइसकेपछि हजारौं स्वरोजगार बनेका छन् । सिप सिकेर विदेश जान चाहनेले उनको एकेडेमीमा तालिम लिन आउँछन् । अन्तर्राष्ट्रिय रुपमा चिनुको एकेडेमीबाट प्राप्त गरेको सर्टिफिकेटले मान्यता पाउँछ । कुनै समय यस्तो थियो, महिला पार्लरमा आइसकेपछि बदनाम हुनुपथ्र्यो, परिवार र समाजलाई पाइला पाइलामा जवाफ दिनुपथ्र्यो । चिनुले कुनै दिन पार्लर आएको आफ्नो ग्राहकलाई उनको श्रीमानले सबैको अगाडि तँ नक्कल पार्न आएको भन्दै कपालमा समातेर लगेको प्रत्यक्ष देखेकी छिन् । ग्राहक आउँछन् कि भनेर झ्यालतर्फ हेरेर बस्दै गर्दा दिन बित्थ्यो । आम्दानी नहुँदा घरको जिम्मेवारी कसरी पूरा गर्ने, आफ्नो रुचिको पेसा व्यवसाय त्याग्नुपर्ने पो हो कि भन्ने चिन्ताले चिनुलाई सताउँथ्यो । त्यसमाथि सन्तान भइसकेका थिए, उनीहरुको जिम्मेवारी पूरा गर्न सक्दिन कि पिर हुन्थ्यो चिनुलाई । अहिले नेपालीको सौन्दर्यको विषयमा परिवर्तन आएको उनले अनुभव गर्छिन् ।

उनले पोखरामा सौन्दर्य क्षेत्रलाई पेसाका रुपमा छनौट गर्दा जम्मा ३ वटा पार्लर सञ्चालनमा थियो । पछि उनले व्यवसायलाई विस्तार गर्दै तनहुँको दुलेगौँडा, पोखराको भाटभटेनी, पृथ्वीचोक, महेन्द्रपुल र बगरमा गुरुङ ब्युटीपार्लरको शाखा सञ्चालन गरेकी थिइन् । अहिले सबै शाखाको लामो समय नेतृत्व गरेर अन्य व्यवसायीलाई स्वामित्व प्रदान गरिसकेकी छिन् । ‘पृथ्वीचोकमा रहको पार्लर १८ वर्ष चलाएर स्वामित्व हस्तान्तरण गरेको हुँ, अन्य शाखा ४/५ वर्ष चलाए पछि स्वामित्व हस्तान्तरण गरेँ,’ चिनुले भनिन् । व्यावसायिक रुपमा अगाडि बढ्दै जाँदा यो क्षेत्रमा प्रवेश गर्नेको संख्या वृद्धि हुँदै गयो । कुनै बेला महिलाले मात्रै गर्ने पेशा व्यवसाय भनेर चिनिने यस क्षेत्रमा अहिले पुरुषको संख्या पनि उल्लेख्य छ । चिनुका अनुसार पोखरामा उनकै एकेडेमीमा तालिम लिएर व्यवसायका रुपमा यो क्षेत्रमा प्रवेश गरेका पुरुष ५ प्रतिशत छन् । चिनुकै नेतृत्वमा पुरुष सौन्दर्यकर्मीको संस्था ‘युथ सलोन एशोसियसन’ स्थापना भएको थियो, जसमा जति पनि ५ प्रतिशत छन्, उनीहरुको आवद्धता छ ।

तालिमबाट शहरमा सर्वत्र स्वरोजगार

आफ्नो व्यवसायको निरन्तरताले अहिले चिनु विभिन्न संघ संस्थामा आवद्ध छिन् । सौन्दर्यकर्मी सम्बन्धी जति पनि संघसंस्था छन्, चिनुकै नेतत्वमा स्थापना भएका छन् । सौन्दर्यकर्मी भएर काम गरेको लामो समय पछि चिनु पोखरा उद्योग वाणिज्य संघको ३२ औं निर्वाचनमा उपमहासचिवमा विजयी भएर एक कार्यकाल काम गरेकी छिन् । यो भन्दा अगाडि सौन्दर्य क्षेत्रबाट उद्योगीका रुपमा संघमा अन्यले नेतृत्व सम्हालेका थिएनन् । कुनै संस्थाको संरक्षक वा संस्थापक अध्यक्ष भनेर चिनिदा जति खुसी लाग्छ, त्यो भन्दा खुसी उनलाई सौन्दर्य पेसालाई इज्जत दिने व्यक्ति भनेर चिनिन पाउँदा खुसी लाग्छ । चिनु पछाडि यो क्षेत्रमा धेरैको प्रवेश त भएको छ, तर एकेडेमी सञ्चालन भएको उदाहरण छैन । ‘केहीले ट्रेनिङ सेन्टर सञ्चालन गर्नुभएको छ, एकेडेमीकै रुपमा व्यवसाय अगाडि बढाउने छैनन्’ उनी भन्छिन् । प्रतिस्पर्धा, क्षेत्रगत रुपमा अध्ययनको कमी लगायतका कारणले यो क्षेत्रलाई व्यवसायकै रुपमा अगाडि बढाउनेको संख्या वृद्धि हुन नसकेको उनको अनुभव छ । कोभिडको समयमा उनलाई पनि अफ्ठ्यारो परिस्थिति सिर्जना भएको थियो । उनले १६ जना रहेको कर्मचारीको संख्या ८ मा झारेकी थिइन्, तर मेहनत र परिश्रमको दममा आफू र आफ्नो व्यवसायलाई उकास्न सकिन् ।

कास्की मात्रै होइन, अन्य जिल्लामा चिनुका विद्यार्थी स्वरोजगार बनेका छन् । कास्की सहित छिमेकी जिल्ला स्याङ्जा, पर्वत, बागलुङ, तनहुँ, मुस्ताङ, मनाङ लगायतका जिल्लाबाट चिनुको एकेमेडीमा तालिम लिएका छन् । हाल ब्यूटीपार्लर एसोशियसन कास्कीमा मात्रै करिब ९ सयदेखि १ हजार व्यवसायी आवद्ध छन् । उनीहरुले समयअनुसार परिमार्जन गरेर यो व्यवसायलाई जीविकोपार्जनको माध्यम बनाएका छन् । यीमध्ये धेरै जना यही पेसामा आश्रित रहेको चिनुको भनाई छ । ‘पोखरामा ९५ प्रतिशत सौन्दर्यकर्मी मेरै एकेडेमीमा तालिम लिएर आत्मनिर्भर बनेका छन्,’ उनी भन्छिन् । केही समय यता यो क्षेत्रमा पुरुषको आकर्षण बढ्दै गएको उनले देखेकी छिन् । धेरै महिलाले सौन्दर्य पेसामार्फत् परिवारकै जिम्मेवारी पूरा गरिहेका छन् । ‘धेरै मेहनत, थोरै लगानीमा सञ्चालन गर्न सकिने पेसा हो,’ उनी भन्छिन्, ‘यही पेसाबाट महिलाले परिवारको जिम्मेवारी निर्वाह गरेका छन्, उनीहरुको परिवार मज्जाले चलिरहेको छ ।’

सुरुवाती संघर्षको त्यो सकस, यो सफलता

नेपालीमा एउटा चर्चित उखान छ, ‘बलेको आगो मात्रै तापिन्छ ।’ चिनुको जीवनमा यो उखान ठ्याक्कै मेल खान्छ । व्यवसायको सुरुआतमा संघर्ष गरिरहँदा धेरैले साथ दिएनन्, केही रकमका लागि विश्वास नगरिदिँदा उनले अनेकन हण्डर खानुप¥यो । तर, अहिले उनीहरु चिनुको सफलताको गुणगान गाएर थाक्दैनन् । ‘मेरो लागि यस्ता-यस्ता शब्द प्रयोग भएका छन्, ती शब्द हामी जस्ताले सहजै सुन्न र उच्चारण गर्नै सक्दैनौ,’ उनी भन्छिन् । सहयोग नपाउँदा गहना बेचेर व्यवसायमा लगानी गरेको उनले भुलेकी छैनन् । यति मात्रै होइन, संस्थागत रुपमा आफ्नो व्यवसायलाई दर्ता गर्न प्रशासनमा जाँदा सहयोग नपाएको उनीसंग तितो अनुभव छ ।

केहीलाई चिनुको सुझाव छ, देखेको र सुनेकै आधारमा व्यवसायमा हात नहाल्नुस्, आफैंले खटेर काम गर्न सक्नुपर्छ । चिनु अहिलेसम्म पार्लरमा आएका ग्राहकलाई भ्याएसम्म आफैं सेवा प्रदान गर्छिन् । ‘यहाँ कसैको देखेकै आधारमा व्यवसायमा हात हाल्छन्, अनि लगानी डुबको देखेको छु ।’ उनी भन्छिन्, ‘आफैं नखटिएर स्टाफको मात्रै भरमा व्यवसाय चल्दैन, अर्को धैर्यता हुनुपर्छ, सफलता केही दिनमा प्राप्त गर्न सकिने विषय होइन ।’ चिनुलाई आफ्नो एकेडेमी वा त्यो भन्दा अगाडि ट्रेनिङ सेन्टरमा सिकेका विद्यार्थी स्वरोजगार बनेर आत्मनिर्भर बनेको र अन्यलाई सीप सिकाएको देख्दा खुसी लाग्छ । अनि सोच्छिन्, सायद अन्यलाई सिप सिकाएर थोरै भएपनि राम्रो काम गरिरहेको छु । ‘अहिले महिला होस् वा पुरुष, आत्मनिर्भर हुनु जरुरी छ, सीप सिकौं, हार नमानेर अगाडि बढौं, अनि सफलता पाउन सकिन्छ ।’ खुसी अनुहार बनाउँदै चिनु भन्छिन् ।
नोटः यो श्रृंखला अष्ट्रेलियन सरकार वैदेशिक मामिला तथा व्यापार विभागको द एशिया फाउण्डेसन नेपालसँगको साझेदारीमा सञ्चालित स्थानीय सरकार सबलीकरण कार्यक्रमको “नेतृत्वमा महिला” पहल अन्तर्गत पर्दछ।

२०८१, ८ पुष सोमबार ११:०४
कथालिका नयाँ कथा
कथालिका