भोजपुरका भूपाल राईको परिचय अनेक छन् । सीमान्तकृत समुदाय र गाउँको आवाजलाई लामो समयदेखि बुलन्दित गर्दै आएका राइ अब्बल कवि, लेखक र गीतकारका रुपमा स्थापित छन् । उनका ‘सुम्निमाको तश्वीर’ (२०५३), ‘दाजै, कविता गाउँमै छ’ (२०५७), ‘सीमान्त सौन्दर्य’ (२०६७) र ‘आगोले जन्मोत्सव मनाउँदैन’ (सन् २०१५) कविता संग्रह प्रकाशित छन् । ‘विम्ब’, ‘मारुनै’, ‘नौलखा’, ‘मट्टीको कसम’ आदि गिती एल्बम पनि प्रकाशित छन् । उनै कवि राईसँग कथालिकाका लागि प्रधान सम्पादक दिल शिरीषले गरेको गाउँ संवादको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छः–
दाजै, के कविता अझै गाउँमै छ ?
अहिले कविता गाउँमा छैन, शहर झरेको छ । उसलाई पुँजिवाद लागेको छ । दुई दशक अघिसम्म जतिखेर मैले त्यो कविता लेखे, छापे, त्यतिञ्जेलसम्म वरको रुखमा वर पाक्थ्यो । हामी वर झारिदिने काग दाइको प्रतिक्षामा हुन्थ्यौँ । कवितामा त्यसै भनेको छु । तर, अहिले कोही काग दाइको प्रतिक्षामा हुँदैनन् । उनीहरु वर खाँदैनन् । ग्रोसरिमा गएर स्याउ खान्छन् । या रेष्टुराँमा छिरेर पिज्जा अर्डर गर्छन् । कविता शहर झरेको छ । ऊ शहरमा आफूलाई बेचेर मल्टिमलमा रेवनको चश्मा किन्छ ।
तपाईले यो कविता लेख्दा थुप्रै चिज गाउँमै छोडेर आएको उल्लेख गर्नुभाथ्यो, ती छोडेका चिजहरु अहिले पनि छन् ?
हो, त्यतिखेर धेरै चिज गाउँमा थिए । ती सबै चिज मैले गाउँमै छाडेर आएको हो । अहिले पनि केही चिज त गाउँमा अवश्य छन् तर हराउँदै गएको मूल्यका साथ । यतिखेर म गाउँमा छाडेर आएका केही केही चिजलाई शहरमा भेट्छु । तिनीहरु गाडी चढेर शहर झर्छन् । अचानक शहरमा भेट्दा म कतिलाई चिन्दछु, कतिलाई चिन्दिन ।
तत्कालीन समयमा खासमा गाउँहरुको सौन्दर्यता, मौलिकता, विशेषता के कस्तो थियो ?
यसको सांकेतिक उत्तर मलाई लाग्छ, पहिलो प्रश्नमै पनि आइसकेको छ । दाजै, कविता गाउँमै छ भन्ने कवितामा मैले कतैतिर दिदी बहिनी डाँडाको उल्लेख गरेको छु । यो ठाउँ भोजपुरबाट उधो धरानतिर झर्दा पिखुवा खोलाको किनारमा पर्छ । कहावत छ,–परदेश गएर धेरै समय नफर्किने माइतीको यादमा रुँदै रुँदै पर्खिरहने दुई चेलीका प्रतिक हुन् ती जोर डाँडा । त्यसैले परदेश जाने अनेक माइतीहरुले हिँड्ने बेला चेलीले लगाई दिएको सयपत्री माला त्यही डाँडामा छोडेर हिँड्ने गर्थे । मलाई लाग्छ, यतिखेर ती दुई दिदी बहिनी डाँडामा सम्भवतः गाडी कुदिरहेको होला । अथवा, गाडी नपुगे पनि अब त्यही बाटो भएर हिँड्ने माइतीहरु कोही भेटिदैनन् । कोही नहिडे पछि अब त्यहाँ माला कसले छाड्ला ? ती दुई दिदी बहिनी डाँडाको त्यो कालातित मूल्य र आस्था अब कसको छातिमा बाँच्ला ।
अहिले हेर्दा गाउँघरमा के कस्तो परिवर्तन, बदलाव देखिन्छ ?
गाउँ अहिले बदलिएको छ । तर, यो आशा र कामना विपरित छ । गाउँ अहिले हिँड्दैन, ट्याक्टर चढ्छ । डल्ला फोर्दैन, डोजरले फोरेको पाखा हेरेर रमाउँछ । ऊ अक्सर छेउको बजारमा भेटिन्छ । बियर र कोका कोला पिइरहेको हुन्छ । खेत खन्दैन । बोराको चामल ओसार्छ । गाउँ अहिले श्रम र उत्पादन गर्नु नपर्ने तर मीठो खानु पर्ने दलाल पूँजिवादको इमान्दार कारिन्दा भएको छ । गाउँ भनेको जीवन, पर्यावरण र श्रमको समुच्चय हो । यी तीनै चिज अहिले गाउँबाट हराएको छ, जुन गाउँको हित विपरित छ ।
अहिले गाउँ, त्यहाँ बस्ने मानिसहरुको मनोविज्ञान कस्तो पाउनुहुन्छ ?
भौतिक रुपले गाउँ, गाउँमै देखिए पनि ऊ अचेल गाउँमा हँुदैन । ऊ गाउँमै रहेर पनि काठमाण्डौको टुँडिखेलमा साकेला नाँच्छ । टुँडिखेलमै ल्होसार मनाउँछ । माघी मेला भर्छ । यो एक किसिमले मानवीय बिस्तार र स्थानान्तरणको विकसित प्रकृया हो । यसलाई गलत करार गर्न खोजेको हैन । तर, अचेल गाउँ बर्खे दहमा माछा मारिरहेको, बेँसिको खेवा, लेकाली गोठको सपना देख्दैन । ऊ थोरै प्वाँख पलाउने वयमा पुग्न साथ अरबमा भेडा चराइरहेको सपना देख्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जेट चढिरहेको कल्पनामा डुब्छ । पुँजिवादी बजार संस्कृतिको ठाडो हस्तक्षेप र राज्यको उदासिनताले गाउँलाई सपना त देखाउने बनायो तर त्यहाबाट गाउँ लोप हुन थाल्यो । अचेल गाउँ, बजार र शहरको वर्णशंकर मनोविज्ञानबाट संक्रमित छ ।
अहिले त गाउँहरु, गाउँ जस्तो रहेन भन्ने छ, यसमा तपाई धारणा ?
भनिसकेँ गाउँ भनेको मौलिक जीवन पद्दती, पर्यावरण र श्रमको एकमुष्ट बिम्ब हो । यी सबै कुरा ह्रास भए पछिको गाउँ कस्तो हुन्छ ? कल्पना गरौँ । अचेल गाउँ डोजरे विकासको भाष्यले मातिरहेको अवस्था छ ।
गाउँ शहर छि¥र्यो, ढिडो, गुन्द्रुक अर्गानिक खानामा शहरिया आकर्षित हुन थाले, गाउँले चाही शहरका जंक फुड, आयातित खानामा रमाउन थाले । यसलाई स्वभाविक कि कुन रुपमा बुझ्ने ?
गाउँले सधैँ ढिडो गुन्द्रुक नै खानु पर्छ भन्ने त हैन । तर, यो पहिले गाउँको ब्राण्ड थियो । अहिले ढिडो गुन्द्रुक पनि शहर झरेको छ । शहरमा खास खास रेष्टुराँ र भोजनालयको ब्राण्ड बनेको छ । पँुजिवादले यस्तै गर्छ । एउटाको ब्राण्ड अर्कोमा सार्छ । अर्कोको स्वाद अझै अर्कोमा लाद्छ । यसले कसको मौलिकता के हो अलमलमा पार्छ । माथी नै सङ्केत गरिसकियो गाउँ अचेल संक्रमणकालमा छ । यो कालमा हुने यस्तै हो ।
गाउँ, गाउँ जस्तो रहेन या नरहने चिन्ता राख्दै गर्दा शहरको आधारभुत सुख सुविधा, अवसर, सम्भावनासँग त गाउँ जोडिनु स्वभाविक हो । यसमा पनि कति सम्म, कसरी भन्ने विषयमा सरकार, सरोकारवाला, स्वयम् स्थानीयको ध्यान पुगे जस्तो लाग्छ ?
आधारभुत सेवा सुविधा, विकास र अवसरको पँहुच गाउँमा अवश्य पुग्नु पर्छ । यसमा दुई मत हुने कुरै भएन । यसैको लागि हामी सबै लडिरहेकै पनि हौँ । तर, चिन्ता के भने गाउँमा मोटर गुड्दै गर्दा छेउमै उभिरहेको मेरो कविताको त्यो वरको रुख चैँ बँच्यो कि बँचेन भन्ने हो ।
गाउँमा न मान्छे (युवायुवती) रहने, न मौलिकता रहने जस्तो अवस्था छ । शहर र परदेशिने होड छ, खेतबारी बाझा बनिरहेछन् । यही अवस्थाले हामीलाई भोलि कहाँ पु¥याउँला ?
गाउँ भनेको मानिस मात्रै बस्ने थलो हैन । सँग सँगै संवेदना र सामुहिकताको अभ्यास बाँच्ने थलो पनि हो । शहरमा एउटै घरभित्र दस परिवार डेरामा बस्छन् तर ती दुइटै कुरा शहरमा भेटिदैन । मान्छेका ती दुई कुरा मरे पछि गाउँ पनि गाउँ रहदैन । हामी क्रमशः रोबोट पथमा अग्रसर हुनेछौँ ।
गाउँ त कि दशैं तिहार आउँदा कि त भुकम्प, कोरोना आउँदा संकटमा मात्र जाने प्रवृत्ति देखिन्छ । यस्तो प्रवृत्तिले गाउँँले आफ्नो पहिचान, परिचय, मौलिकता कसरी जोगाइ राख्ला त ?
यही कुराले आशा जगाउँछ कि अझै कतै गाउँ बाँकी छ । कोरोनाकालमा मानिसहरु प्रायः सबै गाउँ फर्के । किन फर्के ? किनभने गाउँमा जीवनको सुरक्षा छ । किनभने गाउँको पर्यावरण जीवनमैत्री छ । गाउँको मूख्यः बिशेषता या मौलिकता यही हो जसलाई जोगाएर हामीले मानव जीवनको आयु लम्ब्याउनु छ । गाउँ भनेको असुबिधा र अविकासको परिचायक हैन, जीवनको परिचायक हो भनेर सम्झिनु पर्छ ।
तपाईहरुको किराती संस्कार अनुसार मानिस मरे पछि उसको चिहानमा बिरुवा रोप्ने चलन रहेछ । तपाईको भाईको दिवंगत पछि चिहान माथि कदमको रुख रोप्नुभएको थियो । अहिले कत्रो भएको होला ?
किराँती संस्कारमा मृत मान्छेको एक चिहान बराबर एक रुख रोप्ने चलन छ । यो भनेको परोक्ष रुपमा किराँतीहरुमा रहेको पर्यावरणिय चेतनाको सांस्कृतिक अवशेष हो । चिहान खन्दा धस्किएको माटोसँगै भूक्षय नहोस् भन्ने चेतनाले रुख रोप्ने गरिएको हो । सोही अनुसार मेरो भाइको चिहानमा पनि कदमको रुख रोपिएको थियो । तर, त्यो रुख अहिले कस्तो छ या ढलिसक्यो भन्न सक्ने स्थिति रहेन । किनभने म त्यहाँ नपुगेको धेरै वर्ष भो ।
यो रुख रोपेको बाटो तपाईको आमा त हिँड्नै नसक्नु भएको विषय यहाँले नै एक लेखमा उजागर गर्नुभएको छ नि ?
भाइको चिहान र कदमको रुख भन्ने संस्मरणात्मक आलेखमा त्यो सन्दर्भ लेखेको थिएँ । भाइको मृत्युपछि आमाले त्यो बाटो कहिल्यै हिँड्नुभएन । त्यहाँ नहिडी नै उहाँले सदाको लागि गाउँ छाड्नुभयो । दुःखको कुरा, अहिले आमा आफै कदमको रुख भइसक्नुभयो ।
गाउँघरमा यस्ता मिथकहरु कैयन छन्, कति त नयाँ पुस्ताले बिर्सिसके । अब गाउँघरको ऐतिहासिक सम्पदा, संस्कृति, महत्वपूर्ण मिथकहरु कहिले सम्म रहलान् ? यसको आयु छोटिएको ठान्नुहुन्छ तपाई ?
दुःखको कुरा, मैले मेरो कविता सँगै छाडेर आएका कतिपय मिथकहरु अब दुरुस्तै छैनन् । कति त मरिसकेका छन् । मिथक मर्नु भनेको मानिसमा मानविय तत्व कम हुँदै जानू हो । तर मैले परिकल्पना गरेको मान्छे कम मान्छे हैन । पूर्ण मान्छे हो । इतिहास बेगरको मान्छे के कल्पना गर्न सकिन्छ ? मलाई त यस्तो कल्पनाले नै डर लाग्छ ।
अब गाउँ, गाउँ जस्तो बनाउन तीन तहको सरकार, सरोकारवाला र स्थानीय नागरिकले के गर्नुपथ्र्यो ? हामी कहाँ चुकिरहेका छौ त ?
गाउँ दुई ठाउँमा चुकेको छ । एक, पँुजिवादी बजार संस्कृतिको अन्धाधुन्द नक्कल । दुई, विकासको बिनासकारी भाष्यमाथिको प्रश्नहिनता ।
अब गाउँको सौन्दर्यता, मौलिकता, सम्भावना, अवसर जोगाउन या समय सापेक्ष विकास गर्न केके गर्न सक्नुपर्छ ?
पहिलो कुरा त विकासको मानवद्वेषी अवधारणा नै बदल्नु पर्छ । दोस्रो, मान्छेभित्र गाउँको मानवतावादी चेतना जोगाइराख्नु पर्छ ।