संकटमा सोरठी – कथालिका

संकटमा सोरठी

डम्मर बुढा मगर, बागलुङ

समय सापेक्ष नयाँ कुरालाई अँगाले पनि पुराना मौलिक कला संस्कृतिलाई लोप हुन नदिनेमा धेरेको जोड छ ।

बागलुङमा निकै प्रचलित नाँच हो ‘सोरठी नाच’ । यो नाच पश्चिम बागलुङको गलकोट, बडिगाड, निसीखोला क्षेत्रमा बढी प्रचलित छ । विशेष गरी तिहारमा नाचिने यो नाच विभिन्न मेला महोत्सवमा पनि देखाउने गरिन्छ । पछिल्लो समय युवा पुस्ताले चासो नदिँदा मौलिक सांस्कृतिक पहिचान बोकेको सोरठी लोप हुन थालेको छ ।

आधा दशक अगाडि सम्म बागलुङको प्रायः क्षेत्रमा जब तिहार सुरु हुन्छ, तब स्थानीय बुढापाका र युवाहरु मारुनी नाँच्न सुरु गर्थे । कुनै मेला, पर्व र गाउँमा विशेष कार्यक्रम हुँदा पनि उनीहरु नाच देखाउने गर्थे । तर, अहिले त्यस किसिमको नाँच यदाकदा मात्रै देख्न सकिन्छ । मेला महोसत्व र चाडपर्वमा पनि आधुनिक गीत संगीतमा नाच्ने प्रचलन बढेको छ ।

तिहारमा समेत विद्यार्थी, विभिन्न संघसंस्था र स्थानीयहरु पनि आधुनिक गीत संगीतहरु बजाएर नाच्ने प्रवृत्ति ह्वात्तै बढेको छ । अहिले गाउँ सहरमा तिहारको रौनकता सुरु भइसकेको छ । गाउँ सहर सबै तिर मौलिक गीत संगीत भन्दा पाश्चात्य संस्कृतिको प्रभाव बढी देखिने गरेको छ । यसले हाम्रा पुराना लोक संस्कृति र संस्कारलाई बिर्साउन थालेकोमा धेरैको चिन्ता छ ।

पहिले गाउँ घरमा बुढापाकाहरुले वर्षौदेखि नाँच्दै आएको सोरठी नाच अहिले खासै देखिदैन । युवा पुस्ताले पुराना लोक संस्कृतिलाई जगेर्ना गर्नुको साटो नयाँ पश्चिमा संस्कृतिलाई प्रश्रय दिन थालेको गनुासो छ । पुराना पुस्ताबाट नयाँ पुस्ताले मौलिक कला संस्कृति नसिक्दा सोरठी नाच हराउँदै गएको निसीखोला गाउँपालिका वडा नम्बर ४ का ७७ वर्षीया नरबहार घर्ती मगरले बताउनुभयो । मगरले आफूले १०/१२ वर्षको उमेरदेखिनै सोरठी नाच सिकेर नाँच्दै आएको तर अहिलेका युवाहरुले यस तर्फ चासो नदेखाउँदा हराउँदै गएको बताउनुभयो । उहाँले नयाँ पुस्तालाई सिकाउने कोसिस गर्दा पनि सिक्ने इच्छा नदेखाउने गरेको गुनासो गर्नुभयो ।

‘अहिलेका युवाहरुले पुराना कला संस्कृतिहरु सिक्नै चाहन्नन्, के–के गीतहरु सुन्छन्, गाउँछन्, तर पुराना गीत संगीतहरु त मनै पराउँदैनन्, हाम्ले सिकाउन खोजे पनि सिक्न चाहन्नन्,’ उहाँले भन्नुभयो ‘हामी मरे पछि त पुराना संस्कृतिहरु पनि हराउँछन् होला, यस्ता राम्रा संस्कृति हराउँदै गए, निकै दुःख लाग्छ, अहिलेका युवाले सिके त पछि सम्म पनि जिवित रहने थिए नि ।’
उहाँले सोरठी नाच मौलिक संस्कृति मध्येको विशिष्ट संस्कृति भएको भन्दै यसको संरक्षण गर्नका लागि युवा पुस्ता नै जागरुक हुनु पर्ने बताउनुभयो । घर्ती मगरले नयाँ पुस्ताले नसिके सम्म संस्कृतिहरु युगौँसम्म संरक्षण गर्न नसकिने भएकाले आधुनिकतासँगै पुराना संस्कार संस्कृतिलाई निरन्तरता दिन जरुरी रहेको बताउनुभयो ।

‘आधुनिक संस्कारलाई पनि समय सापेक्ष अँगाल्नु पर्दछ । पुराना संस्कार संस्कृतिलाई पनि निरन्तरता दिने हो भने मौलिक संस्कृतिको संरक्षण हुन्छ, नयाँलाई मात्रै आत्मसाथ गर्दै जाने हो भने त पुराना आफै हराएर जान्छन्,’ उहाँले भन्नुभयो ‘हाम्रो पालामा अहिलेको जस्तो ठूला–ठूला आवाज आउने गाना बजाना र माइकहरु थिएनन्, उति बेला त मादल बजाउने गाउँने नाँच्ने चलन थियो, त्यसले गर्दा पनि हामीले पुरानै संस्कृतिलाई निरन्तर दियौँ हाम्रो पालासम्म राम्रो प्रभाव थियो ।’

गलकोट नगरपालिका ९ का ७४ वर्षीय केहरसिंह छन्त्यालले पुस्ता हस्तान्तरण नहुँदा पुराना कला संस्कृति लोप हुने अवस्थामा पुगेको बताउनुहुन्छ । उहाँले पहिले–पहिले मेला पर्वमा पुराना परम्परासँग जोडिएका गीतहरु गाइने, पुराना नाचहरु नाच्ने गरेकोमा अहिले त्यस किसिमका गीत र नाचहरु सुन्न र देख्न समेत नपाइने बताउनुभयो । ‘हाम्रो बैंशमा मेला पर्व सुरु भयो भने सोरठी नाच्ने पुराना–पुराना गीतहरु गाउने गरिन्थ्यो, अहिले त्यस्ता गीत र नाचहरु विरलै देख्न, सुन्न पाइन्छ,’ उहाँले भन्नुभयो ‘अहिले त सुन्दा पनि उदेक लाग्ने खालका ¥याप हुन् कि झ्याप हुन्, त्यस्ता गीत पो सुनिन्छ, आफन्तसँग बसेर हेर्नै नमिल्ने नाङ्गो शरीर नचाउँछन्, यसले त हाम्रो संस्कृतिलाई फोहोर बनाएको छ, यस्तो देख्दा निकै दुःख लाग्छ ।’

२०७८, १३ मंसिर सोमबार १७:०९
कथालिका नयाँ कथा
कथालिका