नौमती बाजा संरक्षण गर्दै काठेखोला गाउँपालिका – कथालिका

नौमती बाजा संरक्षण गर्दै काठेखोला गाउँपालिका

काठेखोला गाउँपालिका–४ तंग्रामका सर बहादुर परियार नौमती बाजा बजाएरै जीविकोपार्जन गर्नुहुन्छ । परियारले गाउँ समाजमा हुने विहे वर्तन, चाडपर्व तथा मेला, महोत्सवमा बाजा बजाएर जीविका चलाउदै आउनु भएको छ । सरबहादुर मात्रै होइन, उहाँका दर्जन बढी अग्रज र अनुजले यही पेशाबाट परिवारको जीविका चलाइरहेका छन् ।

तर, पछिल्लो समय नयाँ पुस्तामा नौमती बाजा प्रतिको रुची कम हुँदा दलित समुदायमा बढी प्रचलित नौमती बाजा बजाउने संख्या घट्दो छ । नौमती बाजाको संरक्षण र यसका बाद्यवादकहरुलाई थप प्रोत्साहित गर्न नौमती बाजा समूहलाई काठेखोला गाउँपालिकाले एक/एक थान (पुरै सेट) नौमती बाजा उपलव्ध गराएको छ । दलित समुदायका नयाँ पुस्ता विदेश पलायन हुँदा बुढापाकाले मात्रै नौमती बाजाको संस्कृति धान्दै आएका छन् ।

तंग्राममा यस समूहलाई हैन, गाउँपालिका भित्रका अन्य ८ वटै वडाका नौमती पञ्चे बाजा समूहलाई एक÷एक सेट बाजा खरिद गरेर प्रदान गरिएको छ । नौमती बाजा समूह विहे, वत्रवन्धका साथै सुखद कार्यक्रममा शूभ कार्यका लागि बाजा बजाउने प्रचलन छ ।
पछिल्लो समय नौमती बाजामा सांस्कृतिक, सामाजिक हिसाबले महत्वपूर्ण भए पनि बजाउनमा नयाँ पुस्ताको चासो र इच्छाशक्ति नदेखिएकाले गाउँपालिकाले नौमती बाजा संरक्षण तथा दलित समुदायको जीवन स्तर उकास्नका लागि बाजा प्रदान गरेको काठेखोला गाउँपालिकाका कला संस्कृति तथा खेलकूद विकास समितिका संयोजक टिका संगम विकले बताउनुभयो । “खास गरी दलित समुदायको पहिचानको रुपमा रहेको नौमती बाजा संरक्षण हाम्रो पहिलो अभियान हो, दोस्रो आयआर्जनमा सहभागी गराई जीविकोपार्जनमा सहयोग गर्ने हो” विकले भन्नुभयो “बाजा संरक्षण गर्दै बाजा बजाएर गरिने आम्दानी बढाउनु गाउँपालिकाको दायित्व हो, त्यसैले कतिपयले बाजा अभावमा नौमती बाजा बजाउने कार्य छोडेको समेत पाइएका कारण नयाँ खरिद गरेर प्रदान गरेका छौं ।”
आधुनिक समाज, तयारी गीत, प्रविधिको प्रयोग, कोरोनाले जर्बजस्त रोक लगाएको भिडभाडजन्य गतिविधि जस्ता कारण पुस्ता हस्तान्तरण नहुँदा नौमती बाजा बिस्तारै लोप हुँने अवस्थामा पुगेपछि पालिकाले नौमती बाजा संरक्षण अभियान थालेको संयोजक विकको भनाई छ ।

काठेखोला गाउँपालिकाका ८ वटै दलित समुदयाका बाजा समूहलाई बाजा सेट प्रदान गर्न गाउँपालिको १० लाख बजेट बिनियोजन गरेको थियो । दलित समुदायको बाजाका रुपमा रहेको नौमती बाजा लोप हुन थालेपछि गाउँपालिकाले नौमती बाजा संरक्षणका लागि दलित समुदायका बाजा बजाएरै जीविकोपार्जन गर्नेहरुलाई नौमती बाजा प्रदान गरे पछि स्थानीय बाजा समूहमा आवद्ध सबै उत्साहित भएका छन् ।
गाउँपालिकाले गत आर्थिक वर्षमा प्रत्येक वडामा नौमती बाजा खरिद गर्न एक लाख १८ हजार बजेट बिनियोजन गरेको थियो । अहिले प्रत्येक वडाका एक/एक बाजा समूहले नयाँ नौमती बाजा खरिद गरेर बजाउन थालेका छन् ।

गाउँपालिकाले बाजा संरक्षणका लागि नयाँ बाजा खरिद गरिदिएको काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापाले जानकारी दिनुभयो । “गाउँपालिकामा लेखानीको बाजा समूहले बाजा माग गरेका थिए, उनीहरुको मागलाई अध्ययन गर्दा सबै वडामा यसको आवश्यकता महुसुस गरियो” गाउँपालिका अध्यक्ष थापाले भन्नुभयो “बाजा संरक्षणका लागि नौमती बाजा खरिद प्रदान गर्न कला संस्कृति तथा खेलकुद समतिलाई दियौ, उक्त समितिले बाजा समूह छनौट गरी काम समेत गरिसकेको छ, यसले नौमती पञ्चे बाजाको संरक्षणका साथै समाजमा पछि पारिएको दलित समुदायको आयआर्जन र उत्थानमा समेत यस कार्यक्रमले टेवा पुग्ने अपेक्षा गरेका छौ ।’ आगामी दिनमा बाजा संरक्षणका लागि बाजा बजाउने तालिम समेत दिने गाउँपालिकाको योजना छ ।

दलित समुदायले वर्षौदेखि अँगाल्दै आएको यो संस्कृति पछिल्लो समय अन्य जाति र समुदायका मानिसले समेत व्यावसायिक रुपमा बजाउन थालेका छन् ।

२०७८, १४ मंसिर मंगलवार ०६:०६
कथालिका नयाँ कथा
कथालिका