छोरा छोरी काम खोज्दै विदेश, कामदार खोज्दै अभिभावक – कथालिका

छोरा छोरी काम खोज्दै विदेश, कामदार खोज्दै अभिभावक

काम गर्ने उमेरका युवा गाउँ, बस्तीमा छैनन् । युवा नभए पछि यसपालिको श्रीपञ्चमी पर्वमा श्रमिक वरण गर्न पाइने छाँटकाट छैन । यसले मिथिला क्षेत्रका किसानहरु चिन्तित देखिन्छन् । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–६ किसाननगरका पाका किसान भीष्मकुमार खड्काको छोराछोरी काम खोज्दै बाहिर जाने आफूहरु भने गाउँमा कामदार नपाएर हैरानी खेप्नुपर्ने बिडम्बना झेलिरहेको गुनासो गर्छन् ।

“घरका छोराछोरी हामी लेखपढ भएका हलो जोतेर बस्दैनौँ भनेर जागिरमा गए, वरपर काम गर्ने श्रमिक पाइन छाडियो”, उमेरले ७ दशक काटेका खड्का भन्छन्, “आफ्ना हातपाउ गले, अब खेती गरेर भकारी भरौँला भन्ने नसोचे भयो ।” काम गर्ने श्रमिक नपाएर दिक्क हुनुभएका खड्काले अब जग्गा ठेक्का, बटैया दिने वा बेच्ने विकल्पमात्र देख्न थालिएको छ ।

हलो जोत्ने, कुटो कोदालो चलाउने, गाईभैँसी चराउने र अन्य कृषि कार्यका लागि आइपर्ने काम गर्ने श्रमिक ९मजदुर० माघ शुक्ल श्री पञ्चमीकै दिन अघिल्लो एक वर्षका लागि कुरा पक्का गरेर वरण गर्ने मिथिला परम्परा रहि आएको छ । यसै दिन कृषि ज्यावल वर्षभरि मर्मत सम्भार गर्ने ९हलो ठोक्ने, कुटो कोदालोे र हँसिया, कँचिया उध्याउने र बिँड ठोक्ने० कामका लागि लोहार (कृषि) ज्यावल मर्मतसम्भार गर्ने मिथिलाको खास जाति विशेष०को कुरा टुङ्ग्याउने गरिए पनि यसपालि बस्तीमा कृषि कार्यका श्रमिक र लोहार नभेटिएपछि श्रमिक र लोहार वरण गर्न नपाइएको बर्दिबास–९ पशुपतिनगर–४ का ८० वर्षीय किसान नथुनी महतो बताउछन् ।
मिथिला परम्परामा श्रीपञ्चमीका दिन श्रमिक र लोहारको पारिश्रमिकको आपसी सहमतिमा टुङ्गो लागेपछि किसानले दुवैलाई अबिर टीका लगाएर मिष्ठान्न भोजन गराई दक्षिणा दिएर वरण गरेपछि उनीहरू अघिल्लो एक वर्षका लागि काममा बाँधिएको भन्ने मानिन्छ । परम्पराले यसै दिन श्रमिक र लोहारको टुङ्गो लगाउने भने पनि गाउँ बस्तीका नयाँ पुस्ताका युवा रोजगारीका लागि भारतको पञ्जाव र अन्य अरब राष्ट्रतिर गएपछि काम गर्ने मान्छे पाउन नसकिएको जिल्लाकै लोहारपट्टी नगरपालिका–६ का किसान चन्देश्वर मण्डल बताउँछन् ।

“माघ लागेदेखि नै बस्तीमा श्रमिक खोजेको खोज्यै छु, यसपालि पनि श्रीपञ्चमी पर्वमा श्रमिक पुज्न पाइने छाँट छैन”, महोत्तरी भङ्गाहा नगरपालिका–४ रामनगरका ५० वर्षीय किसान गङ्गाराम महतो दिक्दारी भावमा भन्दै थिए, “अब हरेस खाएँ, आउँदो वर्षलाई मजदुर पाउने आश म¥यो ।” गत वर्ष पनि श्रीपञ्चमी पर्वमा श्रमिक पुज्न नपाइएको बताउने महतो अब खेती गरेर केही गरौँला भन्ने जाँगर पनि मरेको गुनासो गर्छन् । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रको परम्परामा श्रीपञ्चमी पर्वका दिन कृषि कार्य गर्न अघिल्लो एक वर्षका लागि कृषि श्रमिकको टुङ्गो गरेर पुज्ने परम्परा भए पनि यसपालि गाउँ–नगर बस्तीमा कृषि श्रमिक नपाइएपछि महतो यसरी चिन्ता व्यक्त गरिरहेका छन ।

श्रीपञ्चमी पर्व किसानका लागि एक वर्षसम्म काम गर्ने श्रमिकको वरण गर्ने मिथिला क्षेत्रको खास पर्व हो । श्रमिकलाई खुशी पार्न नयाँ लुगा, मिष्ठान्न परिकारका खाना र दक्षिणाको मेसो मिलाउन किसान आफ्नो सामथ्र्य भित्र रमाएरै लाग्ने चलन छ । तर, पर्वको मुख्य पाटो श्रमिक नै नपाएपछि किसानमा पर्वको रौनक देखिँदैन । “के पर्वमा रमाउनु ? वरण गर्ने श्रमिक नै नभेटेपछि घरमा पर्वको के खुशी भित्रन्छ र ?”, महतो निराश मुद्रामा भन्छन् । यसपालि यही आउने आइतबार श्रीपञ्चमी पर्व परेको छ ।

महतो जस्तै उनकै छिमेकी हरिदेव साहले पनि वसन्त पञ्चमी समेत भनिने माघ शुक्ल पञ्चमीका दिन अघिल्लो वर्षका लागि श्रमिक पुज्न पाउनुहुने छाँट छैन । आफ्नै र छिमेकका बस्तीमा श्रमिक खोज्दा अहिलेसम्म नपाएको साहको भनाइ छ । “हाम्रा वरपर मुसहर र बाँतर जाति समुदाय कृषि कार्यका लागि पोख्त मानिन्छन्, तर ती बस्तीमा अब बूढाबूढी र पाका उमेरका महिलामात्र भेटिन्छन्”, साहले भने, “लगातार तीन वर्ष भयो श्रीपञ्चमीमा श्रमिक पुज्न पाइएको छैन ।” कृषि कार्यका पोख्त मानिने मुसहर र बाँतर युवा रोजगारीका लागि भारतको हरियाणा र पञ्जाव जान थालेपछि यहाँ कृषि श्रमिक पाइन छाडेको साहसहितका किसान बताउँछन् । अब श्रीपञ्चमी पर्वमा श्रमिक पुज्ने ९वरण गर्ने० परम्परा त्यत्तिकै हराएर जाने साहको भनाइ छ ।

कृषि कार्यका श्रमिक नपाइएपछि बिघौँबिघा खेतबारी अब बाँझै बस्न थालेका छन् । “गर्ने कोही नभएपछि के गर्नु ? आँखाभरि बाँझो जग्गा हेरेर मन कुड्याइँ बस्नुपरेको छ”, भङ्गाहा–३ का ७५ वर्षीय किसान रुपनारायण सिंह थारू बताउँछन् । दुई दशक अघिसम्म घरमा श्रीपञ्चमी पर्वका दिन हलो, कोदालो चलाउने, गाईभैँसी चराउने, घाँस काट्ने र अन्य खेती कार्यका लागि आपूmले वर्षेनी पाँच–सात जना श्रमिक पुज्ने गरेको झलझली सम्झनुभएका थारू क्रमशः यो क्रम घट्दै गएर पछिल्ला पाँच वर्षयता मान्छे नै नपाएको बताउछन् ।

खासगरी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरिने यस पर्वलाई कृषि पर्वका रूपमा मनाइने मिथिला परम्परा अब श्रमिक भेट्टाइन छाडेपछि स–साना नानीलाई अक्षराम्भ गराएर मनाउनेमा मात्र सीमित हुँदै गएको जिल्लाका बुद्धिजीवी बताउँछन् । “खेतीपाती नै मुख्य व्यवसाय भएपछि कृषि श्रमिकको चाँजोपाँजोसँग जोडिएको श्रीपञ्चमी किसानका लागि खास पर्व बन्नु त स्वाभाविक नै भयो”, माध्यमिक विद्यालयको प्रधानाध्यापकबाट सेवा निवृत्त भई खेतीपातीमा लागेको भङ्गाहा–७ मेघरोलका ६५ वर्षीय चन्द्रनारायणसिंह थारू भन्छन्, “मैले सात–आठ वर्षमै हार खाएँ, मान्छे भेटिँदैनन् के गरौँ ?”, सेवा निवृत्त भएर घर आउँदा मज्जाले खेतीपाती गर्छु भन्ने रहर श्रमिक नै नपाएर मर्दै गएपछि अब विस्तारै जग्गा बेच्दै व्यापारतिर डोरिन लागेको थारू बताउछन्।

मिथिलामा श्रीपञ्चमी पर्वमा किसानले कृषि ज्यावललाई धोइपखाली पूजा पनि गर्दछन् । यसरी पूजा गरिएका ज्यावल टिकाउ हुने मैथिली जनविश्वास छ । खेतीपातीसँग सम्बन्ध जोडिएको यो पर्व अब विस्तारै ‘मिथिलामा हराउँदै गएको परम्परा’ भनेर पछिल्लो पुस्तालाई भन्ने, सुनाउने दिन नजिकिएको मिथिला संस्कृति र परम्पराका ज्ञाता जलेश्वर नगरपालिका–६ बखरीका बासिन्दा साहित्यकार महेश्वर राय बताउछन् ।

२०७८, १८ माघ मंगलवार ०५:१६
कथालिका नयाँ कथा
कथालिका