पर्यटन सहकारीः महाविरको सोच, स्थानीयको अग्रसरता – कथालिका

पर्यटन सहकारीः महाविरको सोच, स्थानीयको अग्रसरता

  • म्यागासेसे पुरस्कार बिजेता महाविर पुनको अगुवाइमा सामुदायिक घरबास सहित स्थानीय सामुदायिक बिद्यालयका निजी स्रोतका शिक्षकलाई तलब खुवाउन चौरी पालन गर्ने गरिएको थियो । अहिले यसलाई थप व्यवस्थित गर्दै समग्र समुदायलाई लाभ मिल्ने अभिप्रायले पर्यटन सहकारी स्थापना गरिएको हो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खोप्रा लेक, स्थानीय विविधता र विशेषताले त परिचित छ नै । यसका साथै म्यागासेसे पुरस्कार बिजेता महाविर पुनको नामले यो गाउँलाई चिन्नेहरु पनि धेरै छन् । यस क्षेत्रमा नेपालमै पहिलो पटक बेतारे इन्टरनेट सञ्जालबाट पुनले स्थानीयलाई प्रविधिसँग जोडेका थिए ।

दुर्गम तर, सम्भावना र अवसरले भरिपूर्ण गाउँको विकासका लागि ६० को दशक सेरोफेरोमै महाविरले सामुदायिक घरबास, प्रविधिको पहुँच, पदमार्ग पहिचान र प्रवद्र्धनमा पहलकदमी लिएका थिए । जसका कारण अहिले अन्नपूर्ण-धौलागिरी सामुदायिक पदमार्ग हुँदै यात्रा गर्ने पर्यटकले यस क्षेत्रमा चहल पहल छ ।

त्यस समयमा स्थानीय दुई सामुदायिक विद्यालय सञ्चालन, स्थानीयलाई आयआर्जनसँग जोड्ने उद्धेश्य राखेर सामुदायिक घरबास, चौरी पालन लगायतका कार्य गरिएको थियो । घरबास, चौरी पालनबाट भएको आम्दानीबाट अन्नपूर्ण गाउँपालिका-५ पाउद्धारमा हिमाञ्चल मावि र पाउद्धार माविमा कार्यरत निजी स्रोतका शिक्षकहरुलाई तलब उपलब्ध गराइएको थियो । यद्यपि, पछिल्लो केही वर्ष यता भने प्रभावकारी बन्न सकेको थिएन ।

यसलाई ध्यानमा राख्दै कार्यक्रमलाई थप व्यवस्थित, समग्र समुदायलाई लाभ मिल्ने अभिप्रायले पाउद्धार पर्यटन सहकारी स्थापना गरिएको हो । जसले दुरको गाउँमा पर्यटन मार्फत् स्थानीयलाई प्रत्यक्ष लाभ मिल्ने सोच र सपना बोकेको छ । यो गाउँ र क्षेत्रमा अन्य सहकारी भए पनि पर्यटन सहकारी पहिलो र पृथक अभियान भएको स्थानीय बताउँछन् ।
यो अन्नपूर्ण गाउँपालिकामा पहिलो पटक दर्ता भएको पर्यटन सहकारी हो ।

दैनिक ७० पर्यटकलाई आतिथ्यता र आवास
पर्यटन सहकारीले अहिले मूख्यतः पर्यटकीय गाउँ खोप्रामा सञ्चालित घरबासलाई थप व्यवस्थापनका साथ होटलको रुपमा सञ्चालनमा ल्याएको छ । म्यागासेसे बिजेता महाविर पुनको सोच र स्थानीयको अग्रसरतामा अन्नपूर्ण गाउँपालिका ५ पाउद्धारमा हिमाञ्चल मावि र पाउद्धार माविको निजी स्रोतका शिक्षकको तलब खर्च जुटाउन सञ्चालन गरिएको सामूदायिक घरबासलाई गत वर्षदेखि पर्यटन सहकारी मार्फत विस्तार र थप व्यवस्थित गरिएको हो । पहिले घरबासमा बनेका संरचनाको मूल्यांकन गरेर सहकारीले रकम विद्यालयको कोषमा जम्मा गरिदिने र होटललाई सहकारी मातहत सञ्चालन गर्न दिइएको छ ।  पहिले २५/३० जना क्षमतामा अहिले भौतिक संरचना, सेवा सुविधा थप गरेर क्याम्पिङ सहित होटलमा दैनिक ६० देखि ७० जनासम्म राख्न सक्ने बनाइएको छ ।

३,६६० मिटरको उचाइमा रहेको खोप्रा लेकबाट अन्नपूर्ण, धौलागिरी, माछापुच्छ्रे, मनास्लु रेञ्जका दर्जनौँ हिमाललाई नजिकबाट नियाल्न सकिन्छ । खोपारादेखि खयर सम्मको हरियाली पाखा, रंगीविरंगी फुल, चरन क्षेत्रमा रहेका भँेडा र चौरीले पर्यटकको मन बहलाउँछ ।

समग्र समुदायलाई लाभ मिल्ने आशा
सहकारीले पर्यटकलाई थप आकर्षित गर्न नयाँ पदमार्ग तय गर्ने तयारी समेत छ । पर्यटनको लाभ समग्र समुदायमा पु¥याउन नयाँ अवधारणामा होटल सञ्चालन गरिएको पाउद्धार पर्यटन सहकारी संस्थाका अध्यक्ष राजेश तिलिजा पुन बताउँछन् । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहेका पुनसँगको बिभिन्न चरणको छलफल पश्चात स्थानीयलाई प्रत्यक्ष लाभ मिल्ने गरी पर्यटन सहकारी बनाएर त्यसबाटै कार्य गर्ने गरी अघि बढेको  उनको भनाई छ । ‘महाविर पुन जीले विद्यालय सञ्चालनका लागि सामूदायिक घरबासको अवधारणा अनुसार धेरै वर्ष पहिले देखि सञ्चालनमा ल्याउनु भएको थियो, यद्यपि, पछिल्लो समय यसमा प्रभावकारी तबरबाट काम हुन सकेको थिएन, सीमित व्यक्ति मात्र लाभान्वित हुने अवस्था बिद्यमान बन्न थालेको थियो,’ अध्यक्ष पुनले भने, ‘त्यसपछि हामीले सामूदायिक घरबासलाई बरु टेण्डर गरेर चलाउ, १०,२० लाख भए पनि आम्दानी हुन्छ भन्ने प्रस्ताव महाविर ज्यूलाई राख्यौ, कम्पनी मोडेलमा सीमित व्यक्ति हुने भएकाले अरु विकल्प खोजौ भन्नुभयो, पछि स्थानीयलाई प्रत्यक्ष लाभ हुने गरी सहकारी मोडेलबाट चलाउ भनेर उहाँले प्रस्ताव गर्नुभयो र पाउद्धार पर्यटन सहकारी बनाएर काम अघि बढाइरहेका छौ ।’ यो सहकारी स्थापनाको मुख्य उद्धेश्य स्थानीयलाई आयआर्जनमा प्रत्यक्ष परोक्ष जोडेर आयस्तर बढाउने हो ।

महाविर पुनले कम्पनी मोडेलमा सीमित व्यक्तिले लाभ लिने भएकाले सहकारी मोडेल अघि सारिएको बताउँछन् । ‘पहिले स्थानीय स्तरको फरक आवश्यकता, बाध्यताका बिच काम सुरु गरिएको थियो, समय, समाजको सोच बदलिँदै आयो,’ पुनले भने, ‘अब समय सापेक्ष थप व्यवस्थित र प्रभावकारी रुपमा के कसरी अघि बढाउन उपर्युक्त र व्यवहारिक हुन्छ भन्ने विषयमा धेरै कुराकानी, छलफल भयो, यसक्रममै सबै समुदाय शेयर सदस्य बने बनाएर लाभान्वित हुने अवसर भएकाले पर्यटन सहकारी बनाउने कुरा फाइनल भयो ।’
शेयर सदस्यबाट प्राप्त हुने लाभका अतिरिक्त होटलमा पनि स्थानीयले नै उत्पादन गरेका अर्गानिक उपभोग्य बस्तुको प्रयोग गर्ने गरिएको छ । जसबाट प्रत्यक्ष लाभ स्थानीयले उठाउने अवसर पाएका छन् । सहकारी मातहतमै अहिले डेढ सय चौरी छन् । यो हेर्न पालनका लागि दुई जना कर्मचारी राखिएको छ भने होटलमा ६ जना शेयर सदस्यबाट तलबमा कर्मचारी राखिएको छ ।

पैसा नभएकाले श्रम गरेर शेयर सदस्य
पाउद्वारका स्थानीयको ७५ लाखको शेयर पूँजीबाट सुुरुवात गरिएको सहकारीमा अहिले ९० भन्दा बढी शेयर सदस्य छन् भने १ करोड भन्दा बढीको पूँजी पुगेको छ ।
स्थानीयबासीले रु.२५ हजारदेखि २ लाख सम्म सहकारीमा शेयर लगानी गरेका छन् । गाउँका सबै घरधुरीलाई सहकारीमा समेट्न र लगानीको अवसर दिन गरि छुटेका स्थानीयलाई समेत लगानी गर्न आह्वान गरिएको सहकारीले जनाएको छ । ‘हामीले सहकारी स्थापना गर्दा सुरुमा न्युनतम ५० हजार शेयर रकम बनाएका थियौ, यो स्थानीयबाट धेरै भयो भन्ने गुनासो पछि २५ हजार बनायौ’, अध्यक्ष तिलिजाले भने’, यसमा पनि पैसा हाल्न समस्या भएकालाई होटलमै काम गर्ने र त्यसबापतको ज्याला पारिश्रमिक शेयरमा जम्मा गर्ने विकल्प राख्यौ, यस अनुसार शेयर सदस्यको संख्या बढ्ने क्रम जारी छ ।’

जलबिद्युत आयोजनादेखि धुवारहित होटल
पाउद्धार पर्यटन सहकारीको उद्धेश्य र लक्ष्य बृहत छ । होटल सञ्चालन त एक काम हो । अरु अनेक उद्धेश्य पनि सहकारीले लिएको छ । जसमा दुई करोड रुपैयाँ लागतमा ५० किलोवाटको धोर्सेखारे लघुजलबिद्युत आयोजना निर्माण सहकारीको अर्को ‘ड्रिम प्रोजेक्ट’ हो । यसबाट दुर्गममा बिद्युतको सहज पहुँचदेखि धुवा रहित होटल बनाउने सहकारीको लक्ष्य छ । यहाँ आउने पाहुना पर्यटकलाई नबिर्सिने सम्झना कोशेली दिन याकको सुकुटी तयार गर्ने सोच पनि सहकारीको भएको अध्यक्ष तिलिजा बताउनुहुन्छ । ‘यो सिजन नमिलेर केही कठिनाई भएको छ, अहिले यो ठाउँमा हिउँ छ, चौरी तल झारिन्छ, भदौ असोजमा मात्र याकको सुकुटी दिएर पठाउन सकिन्छ,’ उनले भने, ‘अरु पनि फरक स्वाद, शैली केके हुन सक्छन्, हामीले सोचिरहेका छौ, पर्यटन सहकारीलाई हरेक कामका हिसाबले देशमै नमुना बनाउने लक्ष्य छ ।’

२०७९, २६ श्रावण बिहीबार ०८:४४
कथालिका नयाँ कथा
  •  खोलामा बगेर गइरहेछ ‘भोटको नुन’

    खोलामा बगेर गइरहेछ ‘भोटको नुन’

    • पोखरा
    मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ तेताङका ७३ वर्षीय थर्चेन गुरुङले ३० वर्षअघिसम्म नर्साङखोला किनारमा रहेको खानीको…
  •  खानीमा अल्झेको आशा

    खानीमा अल्झेको आशा

    • पोखरा
    सिसाखानी, पाण्डवखानी, छापाखानी, लाम्मेलाखानी, राङ्खानी, भुङ्खानी, खोलाखानी, फलामखानी लगायत थुप्रै खानीका नाम छन् ।पहिले खानी…
कथालिका