हिम्मतिलो आमाः जसले यसरी खोसिन् चितुवाको मुखबाट सन्तान – कथालिका

हिम्मतिलो आमाः जसले यसरी खोसिन् चितुवाको मुखबाट सन्तान

एउटा सन्तान प्रति आमाको माया कति हुन्छ ? जसको कुनै ठोस र मात्रात्मक उत्तर नहोला । तर, यति चाही सहजै भन्न सकिन्छ कि आमाको माया निर्वाध, निस्वार्थ छ । अरु धेरै शब्द र बिभुषण सहित भन्न सकिन्छ । एक शब्दमा भन्दा अपरम्पार छ । र, उनीहरु यो निस्वार्थ माया गर्ने क्रममा आफूलाई बिर्सिन्छन्, सन्तानको सफलता र खुसीलाई आफ्नो सर्वश्व ठान्छन् । यसको पछिल्लो उदाहरण तनहुँको बन्दीपुर गाउँपालिकामा बालकलाई चितुवाको आक्रमण र उद्धारका लागि आमाले गरेको साहसिक प्रयास हो ।

जब पिढीमा खेल्दा खेल्दै बालकलाई चितुवाले लग्यो
बन्दीपुर गाउँपालिका–१ बानियाटारमा बुधबार साँझ साढे ५ बजे तिर तीन वर्षीय बालक घरमा खेल्दै थिए । यही क्रममा एक्कासी चितुवाको खतरानक आक्रमणमा परे । तीन वर्षीय सुलभ परियारलाई चितुवाले आक्रमण मात्र गरेन, खेल्दै गरेको अवस्थामा बच्चा लिएरै दौडिदै थियो । जतिबेला उनका आमा लक्ष्मी परियार (२६) घरायसी काम धन्दामै व्यस्त थिइन् । आँखै अगाडि छोरा माथिको आक्रमण र समाएर लगेको देखे पछि सुरुवात त उनी अत्तालिइन्, कराइन्, चिच्याइन् । तर, चितुवाले छोडेन सुलभलाई । अनि उनी चितुवालाई पछ्याउँदै दौडिए तिब्र गतिमा । चिच्याउँदै करिब १००, डेढ सय मिटर टाढा पुग्दा बल्ल छोरालाई चितुवाको मुखबाट खोस्न सफल भएको लक्ष्मीले कथालिकालाई बताइन् ।

‘मसँग बोल्ने कुनै शब्द छैन, आफुले जन्माएको हुर्काएको बच्चालाई मारिदिने भो भन्ने बाहेक दिमागमा अरु केही कुरा आएन, सुरुमा त हात खुट्टा गलिसकेको थियो, तत्काल आफ्नो सन्तानलाई चितुवाको मुखबाट कसरी उम्काउने भन्ने मात्रै सोचे,’ लक्ष्मीले कहालीलाग्दो दृश्यबारे बर्णन गर्दै भनिन्, ‘पछि पछि चिच्याउँदै, पछ्याउँदै कुँदे, नजिकै पुगे पछि बच्चा घाटीमा समाएर तिब्र गतिमा दौडेको चितुवा बच्चा छोडेर त भाग्यो । तर, छोराको घाटीमा प्वाल देखेर झस्किए, अहिले अस्पतालमा छौ, अब राम्रो होस् भन्ने कामना गरेर बसिरहेका छौ ।’ पिढीमा खेलिरहेको छोरालाई चितुवाले गरेको आक्रमण र उद्धारको क्षण सम्झिदाँ अहिले पनि झस्किने गरेको उनको भनाई थियो । अहिले लक्ष्मी सम्झिन्छिन्,–‘यदि त्यो बेला मैले हिम्मत गरेर चितुवाको पछि नकुँदेको भए छोरालाई गुमाउने रहेछु, त्यही एक साहसिक कदमले छोरालाई चितुवाको मुखबाट तत्काल खोस्न सके । अब उपचारमा राम्रो होस् भन्ने छ ।’

चितुवाको डरलाग्दो आक्रमणबाट श्रीमतिले हिम्मतका साथ पछ्याउने निर्णय गरेर भाग्यवश छोरालाई बचाउन सफल भएको सुलभका बुबा सुवास परियारले बताए । ‘भाग्यवश छोरालाई चितुवाको मुखबाट खोस्न त सफल भयौ तर, छोरा अहिले गम्भिर घाइते अवस्थामा भएकाले उत्तिकै चिन्तित पनि छौ,’ उनले भने, ‘घाटीमा दुवै तर्फ प्वाल परेको छ । ढाडमा पनि चोट छ ।’ सुलभको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

बाख्रा आक्रमण पछि बालक
चितुवाले स्थानीय हेमबहादुर रानाको बाख्रालाई आक्रमण गरेको थियो । त्यो थाहा पाए पछि गाउँलेको होहल्ला बिच भागेको चितुवाले पुनः गाउँमा पसेर सुलभलाई आक्रमण गरेको थियो । घरको पिँढीमा खेलिरहेका उनलाई चितुवाले तानेर लगे पछि गाउँभर त्रास पैदा भएको छ । घाइते परियारको बन्दीपुर गाउँपालिका–४ डुम्रे स्थित मोती हेल्थ क्लिनिकमा प्राथमिक उपचार पश्चात उनलाई थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगिएको सुवास परियारले बताए ।

चार वर्षमा १२ बालबालिकाको ज्यान गयो
केही महिनाअघि मात्रै बन्दीपुर गाउँपालिका–१ बोडिस्वाँराका प्रेम बगालेका ५ वर्षीय छोरा सुप्रिमको चितुवाको आक्रमणमा परेर मृत्यु भएको थियो । घरको आँगनमा दिदीभाई खेलिरहेको अवस्थामा चितुवाले आक्रमण गरेर लगेको थियो । लगत्तै खोजी गर्ने क्रममा घरभन्दा दुई सय मिटर माथी छापेली सामुदायिक वनमा बालकको शव भेटिएको थियो । सोही साता बन्दीपुर–४ टावरमा बाटो हिँड्ने क्रममा चितुवाको आक्रमण परी आठ वर्षीया बालिका रियाना थापा घाइते भएकी थिइन् भने बन्दीपुर गाउँपालिका–१ बाघदले शिखरडाँडामा पिँढीमा सुतिरहेका ३५ वर्षीय भीमलाल गरञ्जालाई चितुवाले आक्रमण गरेको थियो । स्थानीयका अनुसार पछिल्ला चार बर्षमा चितुवाको आक्रमणमा परेर तनहुँमा १२ जना बालबालिकाले ज्यान गुमाइसकेका छन् ।

२०७९, ९ भाद्र बिहीबार ०८:५७
कथालिका नयाँ कथा
कथालिका