‘हेभिवेट’ नेताः जो चुनावमा पराजय बेहोरे – कथालिका

‘हेभिवेट’ नेताः जो चुनावमा पराजय बेहोरे

हुन त चुनावमा हार जित स्वभाविक विषय हो । लोकतन्त्रको सुन्दर पक्ष पनि यही हो । स्वस्थ प्रतिस्पर्धा गर्ने, जित्नेले पाँच वर्ष सरकार या संसदमा इमान्दार र जनउत्तरदायी भएर भूमिका निर्वाह गर्ने र हार्ने पक्षले असल प्रतिपक्षको भूमिका निर्वाह गरेर खबरदारी गर्ने हो । तर, यसपटकको निर्वाचनमा पनि हेभिवेट भनिएका शीर्ष केन्द्रीय नेताहरु नै पराजय बेहोर्न बाध्य भएका छन् ।

हार्नुका पछाडि नेता स्वयंम्को पात्र र प्रवृत्तिजन्य समस्या र कारण त छ नै, त्यस बाहेक मतदाताको नयाँ अपेक्षा, नयाँ अनुहार, नयाँ उत्साहका लागि अरु प्रतिस्पर्धी अब्बल ठान्नु पनि छ । पटक पटक बिजेता बनाउँदा पनि अपेक्षित काम गर्न नसकेको विगत पनि छ । यसका साथै, पार्टी भित्रै र चुनावी गठजोड गरेका दलहरु बिचको घात प्रतिघात पनि कारक देखिएको छ ।

शंकर पोखरेल महासचिव, नेकपा एमाले
पोखरेल नेकपा एमालेका महासचिव हुन् । जो अबको पार्टी नेतृत्व सम्हाल्ने सम्भावित नेताको रुपमा उदाएका थिए । उनी दाङ क्षेत्र नम्बर २ बाट बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रहेकी माओवादी नेतृ रेखा शर्मा सँग जम्मा १ सय ९२ मतको झिनो मत अन्तरले पराजित भए ।

देव गुरुङ महासचिव, माओवादी केन्द्र
सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ पनि पराजित भए । प्रतिनिधिसभा सदस्यतर्फ लमजुङबाट गुरुङ एमाले उपमहासचिव पृथ्वीसुब्बा गरुङसँग पराजित भएका हुन् । उनी ३ हजार १ सय मत अन्तरले पराजित भए ।

कृष्ण सिटौला पूर्व महामन्त्री, नेपाली कांग्रेस
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला यसपटक पनि पराजित भएका छन् । झापा क्षेत्र नम्बर ३ बाट राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन प्रतिनिधिसभा सदस्यमा पुनः विजयी भएका छन् । एमालेसँग चुनावी तालमेल गरी झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका लिङदेनले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई ३ हजार २७६ मतान्तरले हराएका हुन् । सिटौला सत्तारूढ गठबन्धनका साझा उम्मेदवार थिए ।

कमल थापा केन्द्रीय अध्यक्ष, राप्रपा नेपाल
मकवानपुर–१ मा राप्रपाका दीपक सिंहले जित हासिल गरे । उनको यो जित अप्रत्यासित हो । राप्रपा नेपालका अध्यक्ष रहेका कमल थापा र गठबन्धनका साझा उम्मेदवार रहेकी कांग्रेसकी महालक्ष्मी उपाध्यय डिनालाई पराजित गरेका हुन ।

उपेन्द्र यादव केन्द्रीय अध्यक्ष जनता समाजवादी पार्टी
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पराजित भए । नेकपा एमालेसँग गठबन्धन गरेर उमेदवारी दिएका यादव जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पारजित भएका हुन् ।

ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष नेकपा एमाले
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि पराजित भए । काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेलसँग उनी पराजित भएका हुन् ।

ओनसरी घर्ती नेतृ माओवादी केन्द्र
माओवादी केन्द्रकी नेता ओनसरी घर्ती पनि पराजित भइन् । काठमाडौं क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट उमेदवार उनी राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमसँग पराजित भएकी हुन् ।

रवीन्द्र मिश्र वरिष्ठ उपाध्यक्ष राप्रपा नेपाल
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पनि पराजित भएका हुन । काठमाडौं क्षेत्र नम्बर–१ बाट पराजित भएका हुन । नेपाली कांग्रेसका उमेदवार प्रकाशमान सिंहसँग पराजित भएका हुन ।

पम्फा भुसाल नेतृ माओवादी केन्द्र
माओवादी केन्द्रका उपमहासचिव तथा ऊर्जामन्त्री पम्फा भुसाल पनि पराजित भइन् । उनी ललितपुर क्षेत्र नम्बर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार तोसिमा कार्कीसँग पराजित भएका हुन् ।

रामकुमारी झाँक्री सचिव नेकपा एकीकृत समाजवादी
नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्री पनि पराजित भएकी छन । उनी प्रतिनिधिसभा सदस्यतर्फ गुल्मी २ बाट एमाले सचिव गोकर्ण विष्टसँग पराजित भएकी हुन् ।

लक्ष्मणलाल कर्ण नेता लोसपा
लोसपा नेता लक्ष्मणलाल कर्ण पनि पराजित भएका छन् । उनी पर्सा १ मा जसपाका प्रदीप यादवसँग पराजित भए ।

महेश बस्नेत युवा नेता, नेकपा एमाले
एमालेका चर्चित नेता महेश बस्नेत पनि पराजित भएका छन् । प्रतिनिधिसभा सदस्यतर्फ भक्तपुर क्षेत्र नम्बर २ बाट बस्नेत नेपाली कांग्रेसका दुर्लभ थापासँग पराजित भएका हुन् ।

विरोध खतिवडा सचिव नेकपा एकीकृत समाजवादी
नेकपा एकीकृत समाजवादी सचिव तथा पूर्वमन्त्री विरोध खतिवडा पनि पराजित भए । खतिवडा मकवानपुर क्षेत्र नम्बर २ बाट आफ्नै राजनीतिक चेला एमालेका युवा नेता महेश बर्तौलासँग पराजित भएका हुन् ।

राजन भट्टराई युवा नेता, नेकपा एमाले
एमालेका नेता राजन भट्टराई पनि पराजित भए । उनी प्रतिनिधिसभा सदस्यतर्फ काठमाडौं क्षेत्र नम्बर ४ बाट पराजित भएका हुन् । उनी कांग्रेस महामन्त्री गगनकुमार थापासँग पराजित भएका हुन् ।

भीमसेनदास प्रधान नेता नेपाली कांग्रेस
कांग्रेसका नेता भीमसेनदास प्रधान पनि पराजित भए । उनी प्रतिनिधिसभा सदस्यतर्फ काठमाडौं क्षेत्र नम्बर–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालसँग पराजित भएका हुन् ।

लेखराज भट्ट सचिव नेकपा एमाले
एमालेका सचिव लेखराज भट्ट पनि पराजित भए । प्रतिनिधिसभा सदस्यतर्फ कैलाली ४ बाट कांग्रेसका नेता वीरबहादुर बलायरसँग पराजित भएका हुन् ।

जीवनराम श्रेष्ठ नेता, एकीकृत समाजवादी
एकीकृत समाजवादीका नेता तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ पनि यो चुनावमा परािजत भए । उनी निवर्तमान सांसद रहेको क्षेत्र काठमाडौं ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठसँग पराजित भए ।

रामवीर मानन्धर पूर्वमन्त्री
एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उमेदवारी दिएका निवर्तमान सांसद रामवीर मानन्धन पनि पराजित भए । पूर्वमन्त्री मानन्धर राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीसँग पराजित भएका हुन् ।

 

२०७९, ८ मंसिर बिहीबार ११:१२
कथालिका नयाँ कथा
कथालिका