कथालिकाको एक वर्षः विश्वासको जग – कथालिका

कथालिकाको एक वर्षः विश्वासको जग

कथालिका सुरुवात गर्दा न त हामीसँग ठुलो लगानी गर्ने सामन्थ्र्य थियो, न त प्रयाप्त स्रोत, साधन । न त थियो राजधानीमा सामाजिक सम्बन्ध, न त थियो व्यावसायिक घरानाहरुमा सिधा पहुँच । थियो त केबल नेपाली पत्रकारितामा केही नयाँ र फरक अभ्यास गर्ने हुटहुटी, इमान्दार प्रयास, मोफसलको पत्रकारिताका केही अनुभव । मुख्यतः कथालिका मार्फत समाचारमा पुरा नहुने नलेखिएका कथाहरु खोज्ने तिब्र प्यासन थियो।

यही पवित्र सोचबाट सुरुवात भएको कथालिका आरम्भको आज एक वर्ष पुरा भएको छ । यो एक वर्ष कथालिकाका लागि संघीय राजधानीमा बसेर फरक धारको पत्रकारितामा अनेकन सिकाई र बुझाईमै बित्यो भन्दा अत्युक्ति नहोला । अर्को शब्द र अर्थमा भन्दा कथालिकाले अकथित कथाहरु लेख्ने मुख्य उद्धेश्यलाई विस्तारै आफ्नो परिचय र पहिचान बनाउन थालेको कुराले हामी उत्साहित छौ ।

देश, समाज र जीवनका कथाहरु गहिरिएर सोध, खोज गर्ने अभिष्ट बोकेर आउँदा हामी उत्साहित मात्र थिएनौ । हामीसँग संघीय राजधानीको ठुलो ठाउँमा ठुलो भय थियो । यही कतै हराउँछौ, बिलाउँछौ र छोटो समयमै लक्ष्यबाट च्युत हुनुपर्छ कि भन्ने सन्त्रास यदाकदा थियो । दोस्रो वर्षगाठमा लाग्दै गर्दा अब हामीलाई कथालिकाको लयवद्ध यात्रा र भविष्यमा आत्मविश्वास थपिएको छ । कथालिका र यसले पस्केका केही लामा तर खोजिनु पर्ने, लेखिनु पर्ने समाचार कथाहरु प्रति पाठक र बिज्ञापनदाता लगायतमा विश्वासको जग बसाल्न सफल भएका छौ । त्यो पनि दिग्गज व्यक्तिहरुबाट प्राप्त विश्वास, प्रतिक्रिया र सुझावले हामीलाई खुशी र जिम्मेवारीबोध दुवै तुल्याएको छ ।

हामीले कथालिकाको शुभारम्भमै भनेका थियौ-‘हामी हतारको पत्रकारितामा होइन, कथालिलाई न त ब्रेकिङ समाचारको हतारो हुनेछ, न त कुनै नेताको भाषणको समाचार कभरेजको चिन्ता ।’ ‘सनसनीपूर्ण’ वा ‘भाइरल’ वा भीड वा सस्तो लोकप्रियतामा होइन, चौतर्फी निराशा, नकारात्मक सोच, चिन्तन हाबी भएको नेपाली समाजमा थोरै भए पनि आशा, सम्भावना, सकारात्मक सोच, गहन सामग्री खोज, चिन्तन, उत्प्रेरणा जागृत गर्ने एक अभियान हो । छिटो होइन, केही ढिलो तर गहन खोज, अध्ययन, चिन्तन मनन योग्य समाचार सामग्री शव्द, दृश्य र अडियो प्रकाशन गर्दै आएका छौ । यस अभियानमा गएको एक वर्षमा यहाँहरुबाट प्राप्त अभुतपूर्व साथ, सहयोग र सद्भावका लागि कथालिका परिवार कृतज्ञ छ ।


आजको भिड र भाइरलको दुनियाँमा कथालिकाको केही पृथक सोच, अन्वेषण, खोज सहितको समाचार सामग्रीले कति स्थान र बजार पाउँछ रु यसको हिसाब किताब नगरी देशमा खोजमुलक, गहन, संवेदनशील, सिर्जनशील सोच र शैलीका समाचार सामग्री सहितको पत्रकारिताको मूल्य स्थापित गर्ने मिसनमा छौ । यही अनुक्रममा पहिलो वार्षिकोत्सवसँगै कथालिका सञ्चालन संस्था प्याराग्राफ नेपालले कथालिका नेपाल नामक म्यागाजिन (हरेक अकं विशेषांक) प्रकाशन गर्न लागेको सुखद खबर समेत यहाँहरुमा बाँड्न चाहन्छौ । आगामी दिनमा कथालिका डिजिटल पोर्टल र म्यागाजिन मार्फत प्रिय पाठक र दर्शकका लागि स्तरिय र संग्रहणीय नयाँ स्वाद र शैलीका सामग्री पस्कन आवश्यक सुझाव सल्लाह र साथ मिल्ने विश्वास छ । गहन विषय, गम्भीर सवालहरुको खोज, अध्ययन सहितको पत्रकारिता प्रवद्र्धनमा अविचलित लागिरहने कथालिका परिवार प्रतिवद्धता व्यक्त गर्दछ ।

२०७९, १ माघ आईतवार ०५:१९
कथालिका नयाँ कथा
कथालिका