‘बहकाव’मा बिथोलिएको जिन्दगी – कथालिका

‘बहकाव’मा बिथोलिएको जिन्दगी

  • पछिल्लो तीन वर्षमा निहारिका र शिवराजले तनावपूर्ण सम्बन्धमा जे जस्तो भोगाई बाँचे । त्यो सबै बिर्सनलायक छ । यति हो कि त्यसबाट पाठ सिकेर अबको बाँकी जीवन राम्रो बनाउने बाहेक अरु विकल्प सोच्नु र खोज्नु दुवैका लागि दुखद हुनेछ ।

‘कुमारी आमा’ अर्थात् निहारिका राजपुतले न्याय नपाएको भन्दै २७ साउन २०७९ मा राष्ट्रपति भवन शीतल निवास अगाडि आत्मदाहको प्रयास गरिन् । महोत्तरीको जलेश्वर नगरपालिका–८ की २१ वर्षीय सोनाल कुमारी सिंह (निहारिका राजपुत) दिउँसो ट्याक्सी चढेर शीतल निवास पुगेकी उनले सडकमै आफ्नो जीउमा पेट्रोल छर्केर आगो लगाउन लाग्दा सुरक्षार्थ तैनाथ प्रहरीले तत्कालै उद्धार गरेका कारण अप्रिय घटना हुनबाट जोगियो ।

यसको कारण थियो उनको कोखमा जुन बच्चा थियो, त्यसको पिता धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ महेन्द्रनगरका आफ्ना प्रेमी शिवराज श्रेष्ठ भएको उनको आरोप र दाबी थियो । भलै शिवराजले त्यसलाई इन्कार गर्दै आएका थिए ।

काठमाडौंको बसन्तपुर डबलीमा आमरण अनसनमा बसिन् । महोत्तरीको जलेश्वर नगरपालिका-९ की सोनालीकुमारी सिंह ‘निहारिका’ यसअघि पनि न्यायको माग सहित कैयन दिन सम्म अनसन बसिन् ।बच्चाको डिएनए जाँच गर्नुपर्ने, बलात्कारीलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने, बच्चाको लालनपालन, हेरचाह, स्वास्थ्योपचार, शिक्षाको सुनिश्चितता गर्नुपर्ने लगायतका माग राखिरहिन् ।

सरकारसँग ५ बुँदे सहमति भएपछि अनसन तोडिन् । फेरि सरकारले आफूसँग भएको सहमतिको पालना नगरेको भन्दै उनी अनसन बसिन् । सरकारले वार्ता र सहमति मार्फत अनसन तोडायो । यही अनुक्रममा उनको दाबी अनुसार डिएनए आरोपित युवकसँग मिलेको खबर आयो । जसले उनको वषौदेखि उठाउँदै आएको न्यायको माग पुरा हुने परिवेश बन्यो ।

जब डिएनए रिपोर्ट मिल्यो
राष्ट्रपति कार्यालय अगाडि आत्मदाहको प्रयास, पटकपटकको गिरफ्तारी र अनशनपछि सरकार उनको मागका खातिर केही गम्भिर बन्यो । निहारिका शिवराजलाई बलात्कार आरोप लगाउँदै आन्दोलनरत थिइन् । शिवराजले भने बच्चा आफ्नो नभएको दाबी गर्दै आएका थिए ।

तर, निहारिकाको माग बमोजिम बच्चा र शिवराजको डीएनए परीक्षण भयो । १८ कात्तिकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको बच्चा र शिवराजको डीएनए नमूना मिल्यो । डीएनए मेल खाए पछि निहारिकाको लामो लडाईँले भिन्न रुप लियो । उनको आन्दोलन, लडाइँलाई गलत दृष्टिकोणबाट हेर्नेहरुले समेत श्रेष्ठलाई हदैसम्मको सजाय हुनुपर्ने निहारिकाले माग गरिरहेकी थिइन् ।

चामत्कारिक मिलापत्र र ‘कोर्ट म्यारिज’
‘बलात्कार’ आरोपित शिवराज र ‘कुमारी आमा’ बनेकी निहारिका बिच यति वादविवाद, छताछुल्ला आरोप प्रत्यारोप भयो कि जसमा कुनै मिलन विन्दुको सम्भावना देख्ने सायदै थिए । तर भनिन्छ नि, प्रेम र युद्धमा हर कुरा जायज हुन्छ । शिवराज र निहारिका बिचको प्रेममा पनि युटर्न भएको छ । र एक अर्कालाई अपराधी करार गर्न निरन्तर प्रयासरत दुई बिच अदालतमै मिलापत्र मात्र होइन, ‘कोर्ट म्यारिज’ नै भएको छ । यही साताभित्र सामाजिक परम्परा अनुसार मन्दिरमा पनि विवाह गर्ने तयारीमा उनीहरु छन् ।

जबकि डिएनए मेल खाएसँगै आइतबार मात्रै जिल्ला अदालत, धनुषामा निहारिकाले अंश मुद्दा दिएकी थिइन् । तर, सोमबार जिल्ला अदालत, धनुषामा न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम निहारिकाले शिवराजसँग मिलापत्र गरेकी छन् ।

‘म र नाबालक छोरा समेतलाई इज्जत अनुसार खान, लाउन, औषधोपचार खर्च, छोराको पढाइ लेखाइ खर्च तथा पिता पतिको हुने कर्तव्य निर्वाह गर्छु भनेर विपक्षीले स्वीकार गरेकाले म पनि एकासगोलमा श्रीमान श्रीमतीको रुपमा नै बस्ने गरी फिराद दाबी छाडेको’, मिलापत्रमा उल्लेख छ ।

‘बहकावमा लाग्दा दुःख पाइयो’
दुबै जनाले पुरानो खराब विगत बिर्सेर नयाँ शिराबाट जीवन अघि बढाउन लागेको बताउँछन् । ‘पहिले नै मिलेको भए दुवै जना र घरपरिवारले पनि यति दुःख, तनाब र बेइज्जत भोग्नु पर्थेन । तर, दुवै जना अर्काको बहकाउमा लाग्यौं’, शिवराज भन्छन्, ‘सायद उमेर अवस्थाले पनि हामी परिपक्व थिएनौं । मिलाउने भन्दा पनि दुवैतिर उचाल्ने र बिगार्ने मान्छेहरुको पछि लाग्यौ, यसको ढिलै भए पनि हामीले महुशुस गरेर मिलेर बाँकी जीवन व्यतित गर्ने निर्णयमा पुगेका छौ ।’

जिल्ला अदालतमा कानुनी रुपमा विवाह भइसकेको र अब परम्परा अनुसार विहे गर्ने तयारीमा रहेको निहारिकाले बताइन् । पहिलेका सबै खराब अतितहरु बिर्सेर नयाँ ढंगले जिन्दगी बिताउन दुवै जना तयार भएकाले नयाँ परिस्थिति र सहमति बनेको उनको भनाई छ ।

डिएनए रिपोर्ट पछि जब शिवराज युटर्न भए
निहारिका र शिवराज बिच सिधा सम्पर्क र संवाद टुटेको वर्षौ भइसकेको थियो । फोन, फेसबुक, ह्वाट्सअप लगायतमा पनि शिवराजले निहारिकालाई ब्लक हानिदिएका थिए ।

यद्यपि, सम्बन्ध बिग्रे पनि शिवराजको मोबाइल नम्बर निहारिकाको मोवाइलमा सुरक्षित थियो । अघिल्लो साता निहारिकाकी छोरा विआनले मोबाइल खेलाउने क्रममा ह्वाट्सएपमा शिवराजको नम्बर डायल भएछ । त्यो पनि भिडियो कल नै ।

जो सँग श्रीमान र बाबुको परिचय र पहिचानका लागि वर्षौदेखि लडिरहेको छ, उही पात्र शिवराज छोरासँगको भिडियो कलमा देखेपछि निहारिकाले तथानाम गाली र आक्रोश व्यक्त गरिन् । प्रहरीमा फेरि उजुरी गर्ने धम्की समेत दिइन् । तर, शिवराजले आफूले कल नगरेको र एकपटक आफ्नै फोन डिटेल हेर्न भने ।

आफ्नै मोवाइलबाट फोन गएको पाए पछि निहारिका केही हच्किइन् । सायद डिएनए समेत मिले पछि शिवराजलाई आफ्नो कमजोरीको गहिरो महुशुस भएकाले होला । त्यही क्रममा शिवराजले निहारिकालाई भेटका लागि प्रस्ताव गरे । सुरुमा भेटका लागि अस्वीकार गरेको तर दुई मिनेट मात्र भए पनि छोरालाई प्रत्यक्ष हेर्न चाहेको शिवराजले बताए पछिको भेटमा मिलेर जाने अध्याय सुरुवात भएको निहारिका बताउँछिन् ।

प्रेम सम्बन्धमा यसरी भएको थियो ब्रेकअप
तीन वर्ष अघि प्लस टु पढ्न जनकपुरधाम आएकी निहारिकाको शिवराजसँग चिनजान भयो । निहारिका र शिवराज बिच छोटो समयमै गहिरो प्रेम सम्बन्ध बस्यो ।

एकदिन शिवराजले निहारिकाको गर्धनमा एउटा ट्याटु देखे पछि त्यसले दुई बिचको सम्बन्धमा ब्रेकअप मात्र भएन, मुद्धा अदालत सम्म पुग्यो । निहारिकाले त न्यायका लागि आत्मदाह सम्मको प्रयास गरिन् । जतिबेला ब्रेकअप भयो, त्यतिबेला निहारिकाको गर्भमा एक महिनाको बच्चा थियो । निहारिकाको धेरैतिरबाट गर्भ तुहाउन दबाव आइरह्यो । तर, उनले बच्चा जन्माइन् र बच्चाको न्यायका लागि कानूनी लडाइँ सुरु गरिन् ।

सुरुमा धनुषाको महिला प्रहरी सेलमा निहारिकाले श्रीमान् श्रीमतीको रुपमा आफ्नो सम्बन्ध कायम गरी पाउँ भन्दै निवेदन दिइन् । पटक पटकको छलफलमा शिवराजले अस्वीकार गरे पछि निहारिकाले ६ कात्तिक २०७६ मा बन्धक बनाएर बलात्कार गरेको आरोप सहित जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दिएकी थिइन् । यो मुद्धा पछि उच्च अदालत सम्म आइपुग्यो । सरकारी निकायले अनुसन्धान र अदालतले न्याय निरुपणमा ढिलाई गरे पछि उनी पटक पटक अनसनदेखि अनेकन दबाबमुलक आन्दोलन गर्दै आएकी थिइन् ।

अब सुखद बितोस् निहारिका-शिवराजको जीवन
पछिल्लो तीन वर्षमा निहारिका र शिवराजले तनावपूर्ण सम्बन्धमा जे जस्तो भोगाई बाँचे । त्यो सबै बिर्सनलायक छ । यति हो कि त्यसबाट पाठ सिकेर अबको बाँकी जीवन राम्रो बनाउने बाहेक अरु विकल्प सोच्नु र खोज्नु दुवैका लागि दुखद हुनेछ । त्यसैले, अहिले जे जस्तो चामत्कारिक रुपमा तनावपूर्ण सम्बन्धको सुखद पुर्नमिलन गरेका छन् । त्यसमा पारिवारिकदेखि सामाजिक रुपमा अझै पनि अनेकन तानाबाना बुन्न, सुनाउन, सुनिन सक्छ । त्यसलाई पुर्णतः बेवास्ता गरेर छोरालाई प्रेम सम्बन्धको सुन्दर उपहार सम्झेर बाँकी जीवन सुखद रुपमा बिताउन यो जोडिलाई सफलता मिलोस्, भोलिको पुस्ताले यो जोडिको उतारचढावपूर्ण जिन्दगीबाट सकारात्मक पाठ र प्रेरणा लिन सकोस् ।

२०७९, २० माघ शुक्रबार ०६:४५
कथालिका नयाँ कथा
कथालिका