छोरी बेडमा,आमा उपचार खर्च अभावमा छटपटिदै – कथालिका

छोरी बेडमा,आमा उपचार खर्च अभावमा छटपटिदै

  • म्याग्दीको मालिकाकी २२ वर्षीया थमकुमारी रोकालाई उपचार खर्च नभए पछि आइसियू कक्षबाट वार्डमा सारिएको छ । आमा चन्द्रकली भन्छिन्, ‘बिरामी कुरुवाहरुबाट प्राप्त सहयोगले खर्च चलाइरहेका छौ, छोरी बेडमा छटपटाइरहेकी छिन्, हामी उपचार खर्च नभएर छटपटाइरहेका छौ ’

घाउले छियाछिया भएको शरीर यताउता चल्मलाउन खोजिरहन्छिन् । आँखाले सारा संसार नियाल्ने कोसिस पनि छ उनको । तर, म्याग्दीको मालिका गाउँपालिका ३ पात्ले घर भएकी २२ वर्षीया थमकुमारी रोका मगरको न शरीर चल्छ, न आँखाले खुल्ला संसार चियाउन सक्छिन् ।

सम्भवतः थमकुमारीलाई दायाबाट बाया र बायाबाट दाया तर्फ शरीर फर्काउन मन लागिरहन्छ । यो भाव र भाषा स्वास्थ्यकर्मीले पनि बुझ्न मुश्किल छ । यद्यपि, उनकी आमा चन्द्रकली पुनमगरले भने सजिलै भेउ पाउँछिन् । आखिर जन्म दिएर हुर्काएकी आमा न परिन् । जो सन्तानका हरेक दुःख पीडालाई उनीहरुले व्यक्त गर्न नसके पनि आँखा, हाउभाउ र अनुहारबाटै काफी बुझिदिन्छिन् ।

त्यसैले छोरीले चलाउन नसकिरहेको शरीर सकिनसकी फर्काइदिन्छन्, घाउमा लागे दुख्छ भन्ने हेतुले आमाले बडो सचेतताका साथ फर्काउन सघाउछिन् । अनि हेर्छिन् एक तमासले छोरीको आँखा र अनुहार । पोखरामा रहेको गण्डकी मेडिकल कलेजको एक बेडमा देखिएको यो दृश्यले धेरैलाई पिरोलिरहेछ ।

हस्पिटलको सर्जरी वार्डमा २२ वर्षीय थमकुमारी आफ्नो जीवनमा केवल बाँच्न अस्पतालमा संघर्षरत छिन् । आमा र श्रीमान साथमा रहेर उनलाई ढाडस दिइरहेका छन् ।

भिरमा घाँस काट्दा लडेर गम्भीर घाइते
थमकुमारी हरेक दिन जस्तै वैशाख २६ गते पनि भिरमा घाँस काट्न गएकी थिइन् । दर्जनौ पल्ट भिर पहरामा घाँस काटेकी ओमकुमारीका लागि यस दिन कालो दिनको रुपमा आयो । घाँस काट्ने क्रममा उनी भीरबाट लडेर गम्भीर घाइते भइन् । थपमकुमारीको टाउकोमा गम्भीर चोट लाग्यो । घरमा उनको ५ वर्षीय छोरा र ८ महिनाकी छोरी छिन् । भिरबाट लडेर घाइते भएपछि छोराछोरीलाई ओमकुमारीका सासु ससुराले हेरिरहेका छन् ।

उपचारसँगै उपचार खर्चको चिन्ता
गम्भीर चोट लागेको छ, उपचार के कसो हुने होला भन्ने चिन्ता परिवार र आफन्तलाई छ नै । त्यो भन्दा ठुलो चिन्ता थमकुमारीकी आमा चन्द्रकली र श्रीमान् विकललाई उनको उपचार खर्च कसरी जोहो गर्ने भन्ने समस्याले सताएको छ । श्रीमान् विकल रोकामगर गाउँमा नै काठको काम गर्थे । काठको काम नपाउँदा दिनहरु यत्तिकै बिताउथे । माइती र श्रीमानको पनि आर्थिक अवस्था कमजोर भए पछि यतिबेला ओमकुमारी गण्डकी मेडिकल कलेज पोखरामा उपचार र त्यसको खर्चको दोहोरो मारमा छिन् ।

खर्च नभए पछि आइसियू कक्षबाट सारियो वार्डमा
सुरुमा उनीहरुले म्याग्दी दरबाङ प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा उपचार गराएका थिए । त्यहाँ उपचार सम्भव नभएको र अप्रेशन नै गर्नुपर्ने भएपछि उनलाई पोखराकै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि रिफर गरेर पठायो । त्यहाँ गम्भीर बिरामीको उपचारका लागि आइसियू कक्षको अभाव भएकाले गण्डकी मेडिकल कलेजमा रिफर गरिदियो । गण्डकी मेडिकल कलेजमा एकदिन थमकुमारीलाई आइसियूमा त राखियो तर, पैसाको अभावमा उपचार गर्न सक्ने अवस्था नभए पछि अहिले उनको सोही अस्पतालको सर्जरी वार्डमा उपचार भइरहेको छ । आइसियूमा राखेर उपचार गर्नुपर्ने अवस्था भए पनि पैसा नभएकाले आफुहरुकै आग्रहमा सर्जरी वार्डमा सारिएको आमा चन्द्रकली बताउँछिन् ।

आर्थिक रुपमा कमजोर भए पनि श्रीमतीको उपचारका लागि विकलले केही रकमको जोहो गरेका थिए । २५ हजार जोहो गरेकोमा थमकुमारीलाई एम्बुलेन्समा ल्याउँदा नै उनको १२ हजार खर्च भयो । ओमकुमारीकी आमाले पनि यताउता ऋण खोजेर ३० हजार जति ल्याएकी थिइन् । त्यो रकम पनि उपचारका क्रममा सकियो । अहिले ओमकुमारीकी आमा र श्रीमान दुवैलाई उनको उपचार खर्च कसरी गर्ने भन्ने चिन्ताले सताइरहेको चन्द्रकलीको गुनासो छ ।

अस्पतालकै बिरामीका कुरुवाको सहयोग
ओमकुमारीको अनुहार, घाँटी, टाउको र दाहिने हातमा चोट लागेको छ । तर, उपचारका लागि रकमको अभाव मुख्य समस्या बनिदियो । त्यसैले उनीहरुले शनिबार अस्पतालमा रहेका बिरामीका आफन्तबाट नै केही सहयोग मागेर खर्च टारे । ‘आर्थिक अभाव भयो, उनको राम्रोसंग उपचार हुन सकिरहेको छैन । के गर्ने के नगर्ने भएको छ ।’ निराश भावमा ओमकुमारीका श्रीमान विकलले भने, ‘पैसा नभएपछि अस्पतालमा भएका बिरामीका आफन्तबाट नै केही रकम जम्मा गरेर अहिले उपचार गराइरहेका छौं, अब के गर्ने ? केही सोच्न सकिरहेको छैन ।’

चन्द्रकली छोरी थमकुमारीको अनुहार हेरेर एकनास टोलाइरहन्छिन् आमा भनेर बोलाउँछिन् कि भन्ने आशले । उनको अनुहारमा न चैनको निद्रा छ, न त छ भोक । भिरबाट लडेकाले थमकुमारीको अनुहार पुरै सुन्निएको छ, आँखा समेत खोलेर हेर्न सक्दिनन् । ‘दिदी बिरामीको आँखामा पानीले भिजाएर पातलो कपडाले पुछिदिनुस्,’ नर्स सुझाउँछन् । चन्द्रकली छोरीले आँखा खोल्न सक्छिन् कि भन्ने आशले आँखामा आफ्नै पछ्यौराले पानी भिजाएर पुछिरहेकी हुन्छिन् । छोरीको उपचार गरेर सञ्चो बनाउन पाए हुन्थ्यो भन्ने उनको आश त छ, तर पैसा छैन, के गर्ने कसो गर्ने उनले पनि पत्तो पाएकी छैनन् । ‘यहाँ ल्याएपछि एकदिन मात्रै आइसियूमा राख्न सक्यौं, त्यही दिन १४ हजार सक्कियो’ यति भनि नसक्दै उनी भक्कानिए, र केहीबेर पछि सम्हालिँदै भनिन्, ‘आइसियूको एकरात बसेको बेडको ६ र औषधिको ८ हजार लाग्यो, अनि उपचार गर्ने चाहना हुँदाहुँदै आर्थिक अभावले हामीले नै छोरीलाई आसियूमा राखेर उपचार गराउन सकेनौं, खर्च जुटाउन नसके पछि सर्जरी वार्डमा सार्न बिबश भयौ ।’

उपचारमा सहयोग गरिदिन आमा र श्रीमानको याचना
गत वैशाख २७ गते थमकुमारीलाई भर्ना गरेको भए पनि आर्थिक अभावमा आइसियूमा राखेर उपचार गराउन नसकेकोमा चन्द्रकलीलाई थकथकी लागिरहेको छ ।

छोरीको उपचारको लागि आर्थिक अभाव भएपछि उनले सबैसंग सहयोगको लागि अपिल गरेकी छिन् । ज्वाइँ सामान्य ज्यालामजदुरी गर्ने, आफूहरु पनि आर्थिक रुपमा विपन्न भएको बताउँदै चन्द्रकलीले उपचारका लागि सहयोग गरिदिन आग्रह गरेकी छिन् । थमकुमारीको भिरबाट लडेर टाउकोमा गम्भीर चोट लागेकाले अप्रेशन गर्नुपर्ने डाक्टरले बताएका छन् । तर, रकमको अभावले उनीहरुको परिवारलाई समस्यामा परेको छ । ‘उपचारमा ठ्याक्कै कति खर्च लाग्छ ? अप्रेशन गर्नुपर्ने भनेका छन्, डाक्टरले पनि भन्नु भएको छैन,’ उनले भनिन्, ‘हामीसँग अहिले साथमा कत्ति पनि पैसा छैन, छोरी बेडमा छटपटाइरहेकी छिन्, हामी उपचार खर्च नभएर छटपटिरहेका छौ, धेरैलाई उपचारमा सहयोग गरेको खबर सुन्थ्यौ, अब त्यही याचना र आशा मात्र बाँकी छ । नत्र भगवान भरोसा भनेर बस्नुपर्ने भयो ।’

चन्द्रकलीले आफ्नो छोरीको ज्यान बचाउनका लागि आफुले गरेको पुकार याचना सबै सहयोगी मनबाट प्राप्त हुने आशा व्यक्त गरे । ओमकुमारीको उपचारका लागि सहयोग गर्न चाहनेले ९८६४३७६१६१ मा सम्पर्क गरिदिन उनको आग्रह छ ।

२०८०, ३१ बैशाख आईतवार १८:४५
कथालिका नयाँ कथा
कथालिका