ढोरपाटन बुकीः एक भर्जिन गन्तव्य – कथालिका

ढोरपाटन बुकीः एक भर्जिन गन्तव्य

  • धेरैलाई ढोरपाटन उपत्यका नै आकर्षक गन्तव्य लाग्छ । तर, ढोरपाटन माथि रहेको बुकी यो भन्दा बढी लोभलाग्दो छ । बुकी पुग्ने पर्यटकका लागि गोठ-स्टे (गोठ बास) समेत सञ्चालन गरिएको छ ।

अजङ्गका अग्ला आकर्षक पहाड, त्यही पहाडको शिरमा टक्क अडिएका समथर भू–भाग । चारै दिशा सुन्दर हरियाली । उत्तरतिर सेताम्य हिमाल । टाढा–टाढा छरिएर रहेका भेडीगोठ । भेडा र बाख्राका बथानले ढपक्क ढाकिएको बुकी यस सिजनमा हेर्न लायक छ ।

नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन यसै पनि चर्चित छ । त्यसमाथि आन्तरिक तथा बाह्य पर्यटकको बढ्दो आगमनले यसको प्रचारले व्यापकता पाइरहेका छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण ढोरपाटन धेरैको आकर्षक गन्तव्यको रोजाईमा पर्छ ।

बुकीमा बाक्लिदै पर्यटक

ढोरपाटनसँगै पछिल्लो समय बुकी पनि पर्यटक आकर्षणको केन्द्र बन्दै गएको छ । एक दशक अगाडिसम्म बर्खायाममा भेडा र भेडीगोठले भरिने बुकी क्षेत्रमा अहिले पर्यटकको चहलपहल बढ्न थालेको छ । गत वर्षसम्म बुकी जाने पर्यटक निकै कम थिए ।

बुकी पुगेका आगन्तुक पर्यटक मार्फत त्यहाँको भिडियो र तस्बिर आम सञ्चार माध्यम र सामाजिक सञ्जालमा व्यापक भए पछि धेरैको ध्यान तानिरहेको छ । बागलुङको उच्च पहाडी क्षेत्र पर्ने बुकी निकै मनमोहक छ । प्रचारप्रसारको अभावमा ओझेलमा परेको बुकी पछिल्लो समय पर्यटक पुग्न थालेपछि व्यापक प्रचार प्रसार हुन थालेको छ । जसका कारण एकै महिनामा सयौँ आन्तरिक पर्यटक बुकी पुग्ने गरेको स्थानीय सन्देश थापाले बताए । गत असारदेखि हालसम्म ८० समूहका करिब ५ सय पर्यटकलाई आफूले मात्रै बुकीमा बास दिएको उनको भनाइ छ ।

बुकीमा यति धेरै पर्यटक जालान् भन्ने लागेको थिएन तर, नपत्याउँदो तरिकाले पर्यटक दिनदिनै बुकी हिँडिरहेका छन् । शुक्रबार र शनिबार सबैभन्दा बढी पर्यटक बुकी जान्छन् ।

बुकीमा बर्खामा चहलपहल, हिउँदमा सुनसान

अहिले ढोरपाटन पुग्ने पर्यटक बुकीमा पुग्न चाहान्छन् । दशक अगाडिदेखिनै ढोरपाटन उपत्यका क्षेत्रमा फाट्टफुट्ट पर्यटक पुगे पनि अहिले वर्षेनी हजारौँको संख्यामा आउने गरेका छन् ।

ढोरपाटन उपत्यका समुन्द्री सतहदेखि करिब २९ समय मिटरको उचाई पर्छ । ढोरपाटन उपत्यकादेखि बुकी पुग्न पैदल यात्रा गर्नुपर्छ । पैदल यात्रामार्फत बुकीमा तीनदेखि पाँच घण्टामा पुग्न सकिन्छ । २९ सयदेखि ४५ सय मिटरको उचाइमा रहेको बुकी क्षेत्र गोठालाको बास स्थान हो । यहाँ सयौँको संख्यामा गोठालाहरु अस्थायी गोठ बनाएर बसेका हुन्छन् । उनीहरुको हजारौँ भेडाबाख्रा, गाईभैँसी हुन्छन् ।

बर्खाको समयमा बढी चहलपहल हुने बुकी क्षेत्र हिउँदमा भने सुनसान हुन्छ । बर्खायाममा बुकी पुग्ने पर्यटकले सुन्दर दृश्य, हरियाली, उच्च पहाड, पाटन, खर्क, दर्जनौँ हिमश्रृंखलाको दृश्यावलोकन गर्न सक्छन् भने नजिकबाट गोठालाको जनजीवन अनुभूति गर्न सक्छन् ।

बुकी पुग्ने पर्यटकका लागि गोठ-स्टे

बुकीमा गर्पाछेडा, दहखर्क, टीकाधारा, राजवन, स्याचुन, फुर्से देउराली, फागुने देउराली लगायत थुप्रै ठाउँ पर्छन् । बुकी पुग्ने पर्यटक गोठालाको गोठमा बास बसेर फर्किने गरेका छन् ।

यसवर्ष देखि बुकी पुग्ने पर्यटकका लागि लक्षित आफूले गोठ-स्टे (गोठबास) सञ्चालन गरेको थापाले कथालिकालाई बताए । बुकीमा टाढा–टाढाबाट पर्यटकहरु पुग्ने र त्यहाँ बास बस्नका र खानाको व्यवस्था नभएकाले गत असार २९ गतेदेखि गोठ–स्टे सञ्चालन गरेको थापा बताउँछन् । बुकी पुग्ने पर्यटकले हरिया पाटनहरु, गोठालो जीवन, धौलागिरी, माछापुछ्रे, पुठा हिमचुली, चुरेन, गुर्जा अन्नपूर्ण हिमश्रृङ्खला अवलोकन गर्न सक्ने स्थानीय बताउँछन् । बुकी चढ्ने सिजन जेठदेखि कात्तिक पहिलो साता सम्म उपर्युक्त हुन्छ ।

तस्बिरः सन्देश थापा, ढोरपाटन

बुकी त ढोरपाटनवासीको पशु चरन क्षेत्र पनि हो । यो ठाउँ निकै मनोरम छ । अहिले अधिकांश पर्यटक ढोरपाटन उपत्यका पुग्छन्, घुम्छन् र फोटो भिडियो खिचाउँछन् । यदि साँच्चिकै ढोरपाटन घुम्ने र रम्ने हो भने बुकीमा एक पटक पुग्नै पर्ने स्थानीय बताउँछन् । ‘गत वर्षसम्म खास्सै मान्छे आउँदैनथे, फाट्टफुट्ट आएका पर्यटकले भिडियो र फोटो खिचेर जानु भयो, ती भिडियो र फोटो भाइरल भएपछि अहिले बुकीमा आउनेहरुको निकै चाप बढेको छ,’ ढोरपाटन उपत्यका होटल व्यवसायी संघका अध्यक्ष जीवन पुनले भने ।

बुकी चढ्दा लेक लाग्ने जोखिम

कार्तिकदेखि चिसो बढ्ने हुँदा जेठसम्म बुकी सुनसान हुन्छ । गोठाला पनि बेसी झर्ने हुँदा पर्यटक पनि बुकी उक्लिदैनन् । अध्यक्ष पुनका अनुसार पछिल्लो समय ढोरपाटन आउने पर्यटकको रोजाइमा बुकी पर्न थालेको छ । पाँच वर्षदेखि ढोरपाटन उपत्यकामा आउने पर्यटकको संख्या बढेको छ । पोहोर सालदेखि त बुकीमा समेत जान थालेको उनको भनाइ छ । बुकी चढ्ने पर्यटकलाई लेक लाग्ने हुँदा स्थानीयले नै प्राथमिक उपचारका बिधि सिकाउने गरेका छन् । शहर र बेँशीबाट आएकाहरुलाई एकै पटक बुकी नचढ्न सुझाउने गरेको पुन बताउँछन् । यसै बर्खा लागे सँगै सयौँको संख्यामा पर्यटक बुकी उक्लिएको उनले बताए ।

‘बुकी घुम्न र रमाउनका लागि निकै सुन्दर छ तर त्यहाँ जाँदा धेरै कुरामा ख्याल राख्नु पर्छ,’ अध्यक्ष पुनले भने, ‘चार÷पाँच घण्टा यात्रा गर्नुपर्छ, यात्रा गर्दा लेक पनि लाग्न सक्छ, अति आवश्यक सामानहरु छुटाउनु हुँदैन, अब ढोरपाटन उपत्यकामा आउने धेरै पर्यटक बुकी पुग्ने देखियो, हामीलाई पनि पर्यटकको आगमनले धेरै खुसी बनाएको छ ।’

देशकै उत्कृष्ट र आकर्षक पर्यटकीय गन्तव्यको अवसर

ढोरपाटन नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार पर्यटनको उत्कृष्ट पर्यटन गन्तव्य हुँदै हो । त्यसमा बुकीको पर्यटकीय सम्भावनालाई यथोचित रुपमा अवसरमा बदल्न सक्ने हो भने यस क्षेत्रले मात्र नभई सिंगो गण्डकी प्रदेश र देशले उल्लेख्य लाभ लिन सक्नेछ ।

तस्बिरः सन्देश थापा, ढोरपाटन

गलकोटबाट घुम्न आएकी समिता अर्गेजाले बुकी निकै मनमोहक रहेको बताइन् । ढोरपाटन उपत्यकादेखि पाँच घण्टाको यात्रा गर्दा सुरुवातमा दुःख र थकानको आभाष भए पनि बुकी पुग्दा स्वर्णिम आनन्दको अनुभूति भएको बताइन् ।

अर्गेजाको चार जनाको समूह सहित गएकी थिइन् । बुकी पुग्ने ठाउँ–ठाउँमा सूचना बोर्ड राखिदिए बाहिरबाट आउने पर्यटकलाई ठाउँ पहिचान गर्न सहज हुने उनले बताए । ढोरपाटनसँगै बुकी क्षेत्रको प्रचार प्रसार गर्न सके देशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्नेमा दुई मत नभएको उनी बताउँछन् ।

२०८१, ११ भाद्र मंगलवार ११:११
कथालिका नयाँ कथा
कथालिका