पोखरा भित्रै उपेक्षित कास्कीकोट – कथालिका

पोखरा भित्रै उपेक्षित कास्कीकोट

  • बालीनाली लगाए पनि बाँदरले सत्यानास गरिदिन्छ । अरु आधारभुत आवश्यकता परिपुर्तिमा पनि स्थानीयलाई निकै सकस छ । यी र यस्ता समस्या समाधानको लागि पटक–पटक सम्बन्धित पक्षको ध्यानाकर्षण गराए पनि सुनुवाई सम्बोधन हुन सकेको छैन ।

कास्कीको पोखरा महानगरपालिका-२४ मा पर्ने वडा हो कास्कीकोट। गण्डकी प्रदेशको राजधानी पोखरा महानगरपालिका भित्रकै वडा कुनै दुर्गम क्षेत्र पो हो कि भन्ने भान स्थानीय बासिन्दालाई भइरहन्छ । भौतिक पूर्वाधार नपुगेको होइन तर, उचित शिक्षा, स्वास्थ्य लगायतको अभावले स्थानीयले कास्कीकोट छोडिरहेका छन् । कृषि क्षेत्रमा त्यस्तै समस्या छ । बालीनाली लगाए पनि बाँदरले सत्यानास गरिदिन्छ । अरु आधारभुत आवश्यकता परिपुर्तिमा पनि स्थानीयलाई निकै सकस छ । यी र यस्ता समस्या समाधानको लागि पटक–पटक सम्बन्धित पक्षको ध्यानाकर्षण गराए पनि सुनुवाई सम्बोधन हुन सकेको छैन। त्यसैले त ऐतिहासिक र पर्यटकीय क्षेत्र साथै पोखरा महानगर भित्रकै एउटा वडा भए पनि यहाँका स्थानीयलाई त्यस्तो लाग्दैन । बेला-बेला जनप्रतिनिधिसँग यहाँका स्थानीय गुनासो गरिरहन्छन् । महानगरभित्र पिछडिएको गाउँ जस्तो उनीहरुको नमिठो अनुभूति गरिहन्छन् । त्यसैले त बसाइँसराइको समस्या ब्याप्त छ । धेरै घर रित्तिएका छन्, खण्डहर बनेका छन् ।

२० वर्ष भन्दा पुरानो योजना, आजित स्थानीय

सोही ठाउँका स्थानीय बासिन्दा हर्कबहादुर नेपाली स्थानीय सरकारको एक घर एक धाराको अवधारणा आए पनि पोखराकै एक वडामा उक्त अवधारणा पूरा हुन नसकेको गुनासो गर्छन् । बेला–बेलामा पानीको पाइप फुटेर आफू सहितका स्थानीयलाई सकस हुने गरेको उनी बताउँछन् । खानेपानीको संरचना २० वर्ष भन्दा पुरानो भएर आफूहरुलाई समस्या भएको गुनासो गरिरहँदा समेत सम्बन्धित पक्षले समस्या समाधानमा ध्यान नदिएको उनेको गुनासो छ । ‘अहिले यहाँका स्थानीयले प्रयोग गर्दै आइरहेको खानेपानीको योजना २० वर्ष भन्दा पुरानो भइसक्यो, ठाउँ–ठाउँमा पाइप फुट्छ, समस्या लिएर सम्बन्धित पक्षकोमा जाँदा सुनुवाई हुँदैन,’ उनी भन्छन्, ‘खानेपानीको समस्या समाधानका लागि बजेट बिनियोजन भए पनि त्यसले पुग्दैन ।’

यी र यस्ता यावत जनसरोकारका विषयमा संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशले संसद सहयोग परियोजनाको सहकार्यमा बिहिवार पोखरा महानगरपालिका–२४ कास्कीकोटमा नागरिक सुनुवाई कार्यक्रम गरियो । जहाँ पोखरा महानगरपालिकामै पर्ने एउटा वडा भए पनि खानेपानी, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा भोगिरहको समस्या र राज्यका निकायबाट बेवास्ता भइरहेको सुनाए । खानेपानी, शिक्षा, तथा स्वास्थ्य र रोजगारीको सहजताका लागि पटक–पटक सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने प्रयास गरे पनि आफूहरुको गुनासोका विषयमा कुनै पनि पक्षमा जवाफदेहिता नदेखिएको बताए ।

घट्दै विद्यालयमा विद्यार्थी

कालिका मावि कास्कीकोटका प्रधानाध्यापक इश्वरीप्रसाद बस्ताकोटी शिक्षा क्षेत्रमा आफूहरुले समस्या भोगिरहेको बताउँछन् । आफूहरुले विद्यार्थीलाई आधुनिक प्रविधि अनुसार शिक्षा प्रदान गर्ने कोसिस गरिरहेको बताउँछन् उनी । तर, शिक्षकको अभाव रहेको उनको गुनासो छ । विषयगत शिक्षकको अभाव हुँदा विद्यालयमा सोचेको जस्तो सकारात्मक सुधार हुन नसकेको प्रधानाध्यापक बास्ताकोटीले बताए । वि.सं २०६६ सालबाट नै विद्यार्थीका लागि विद्यालयले निःशुल्क बस सञ्चालनमा ल्याएको थियो ।

अहिले आर्थिक अभावले नियमित रुपमा बस सञ्चालन हुन सकिरहेको छैन । ‘आर्थिक अभावले विद्यार्थीका लागि सहज होस् भनेर सञ्चालन गरिएको विद्यालयको बस अहिले सञ्चालनमा ल्याउन सकिएन,’ उनी भन्छन्, ‘आर्थिक रुपमा सवल भएर वा स्थानीय सरकारले सहयोग गरेको भए यो समस्या हुँदैनथ्यो होला, हामीलाई विद्यालयमा डिप्लोमा कक्षा सञ्चालन गर्ने ठूलो चाहना थियो, तर सकिएन ।’ प्रधानाध्यापक बास्ताकोटी बसाईं सराईको समस्याले गाउँका विद्यालयमा विद्यार्थीको संख्या घट्दै गइरहेको र यो विषयमा समेत सम्बन्धित पक्षले बेलैमा ध्यान दिनुपर्नेमा जोड दिन्छन् ।

बसाइँ सराई उच्च

स्थानीय विष्णुहरी शर्माले कास्कीकोटमा धेरै परिर्वतन देखेका छन् । तर, उनको गुनासो छ सोचेको र स्थानीयले चाहेको अनुसार सम्बन्धित पक्षले भौतिक पूर्वाधार निर्माण कार्य सम्पन्न गर्न सकेन । पोखरा महानगरको वडा हो भनेर आफूहरुले गर्व गर्नु बाहेक खुसी हुनुपर्ने ठाउँ नभएको उनको भनाई छ । महानगरकै वडा भए पनि बसाइँ सराईको समस्या व्यापक रहेको उनले दुखेसो गरे । ‘यो पनि पोखरा महानगर हो, तर बसाईसराई गर्ने परिवारको संख्या यहाँ उच्च छ ।’ उनी भन्छन्, ‘रोजगारीको अभाव, उचित स्वास्थ्य तथा शिक्षाको अभाव लगायतका कारणले हुन सक्छन्, यदि यो समस्याबाट छुट्कारा पाउने हो भने यस्ता समस्या समाधान हुनु जरुरी छ ।’ चित्रा सुवेदीलाई कास्कीकोट क्षेत्रमा कृषिलाई प्राथमिकता दिएर सम्बन्धित पक्षले कार्य अगाडि बढाउनुपर्नेमा जोड दिन्छन् । कृषि कास्कीकोटवासीको मेरुदण्ड भए पनि यस क्षेत्रमा भएका समस्या समाधान नहुँदा कृषि पेसाबाट कृषक नै आजित बनिसकेको उनको भनाई छ । चित्राका अनुसार कास्कीकोटका बासिन्दाको अर्को मुख्य समस्या भनेको बाँदर हो । बालीनाली लगाए पनि बाँदरले समस्या उत्पन्न गर्ने भएकाले कृषि पेसामा स्थानीयको रुचि घट्दै गएको उनले बताइन् । ‘महानगर र प्रदेश सरकारले पशुपंक्षी र बालीको बीमामा जोड दिएर कृषि पेसालाई प्राथमिकताका साथ महत्व दिनुपर्छ,’ उनी भन्छिन्, ‘कृषि क्षेत्रमा यो क्षेत्रका स्थानीयलाई आत्मनिर्भर बनाउने हो भने प्रदेश सरकारले बाँदर नियन्त्रणमा ध्यान दिनु जरुरी छ ।’

यता पोखरा २४ का वडाध्यक्ष भरत बहादुर अधिकारी महानगरपालिका र वडाले काम नगरेको भन्न नमिल्ने बताउँछन् । वडाका लागि सीमित बजेट आउने भएकाले सोचेको र आँटेका केही भौतिक पूर्वाधार निर्माणको कार्य सम्पन्न गर्न असहज भइरहेको उनको भनाई छ । सडक निर्माणका विषयमा स्थानीयले गुनासो गरिरहेको वडाध्यक्ष अधिकारीले बताए । ‘बाटोको विषयमा खास कुरा के हो भने, हामीले काम गरिरहेका हौं, तर ठेकेदार केही प्रतिशत काम गरेर बेपत्ता भइदिने वा बाटो निर्माणको काम अलपत्र छोडिदिने समस्याले गर्दा हामीले केही स्थानलाई जोड्ने सडक निर्माण कार्य सम्पन्न गर्न सकेका छैनौं,’ उनले भने, ‘यसका लागि हामी स्थानीय जनप्रतिनिधि प्रदेश सरकारको डेलिगेसनमा जाँदैछौं, यसमा तपाईंहरुले समेत साथ र सहयोग प्रदान गर्नुहुनेछ भन्ने मेरो आशा छ ।’ सडक निर्माणका लागि ठेक्का दिएको ठेकेदारसँग सम्झौता नतोडे सम्म काम अघि बढ्न नसक्ने उनले बताए । ठेकेदारलाई फेरी फर्काएर काममा लगाउन नसकेपछि सडक निर्माणको लागि आएको बजेट यत्तिकै राख्नुपर्ने बाध्यतामा आफूहरु रहेको वडाध्यक्ष अधिकारीले बताए ।

‘अब भाषण र कुरा मात्रै होइन काम पनि’

गण्डकी प्रदेशका प्रदेश सभा सदस्य प्रकाश बरालले आफूले कास्कीकोटको स्थानीयको माग पूरा गर्ने वातावरण निर्माण गरिदिने बताए । आफू स्थानीयले भोग्नु परिरेहेको समस्या सुनाउने स्थानमा रहेकाले पहल स्थानीयको माग पूरा गरिदिन पहल गर्ने उनको भनाई छ । ‘यहाँहरुको प्रतिनिधिका रुपमा मलाई तपाईंहरुले आफ्नो समस्या सुनाउनुभयो, तर मैले पनि सम्बन्धित पक्षलाई गएर यी विषयमा कुरा राख्ने हो,’ उनले भने, ‘सही स्थानमा कुरा राखिसकेपछि कास्कीकोटको समस्याको समाधान हुने छ भन्ने आशा छ ।’ दोस्रो आर्थिक वर्षको बजेट गएको भए पनि अझै तीन वटा आर्थिक वर्षको बजेट आउन बाँकी रहेकाले कास्कीकोटको हरेक समस्याको समाधान हुनेमा आफू विश्वस्त रहेको उनले बताए । कास्कीकोटले नेपालको इतिहास बोकेकाले पर्यटकलाई यो क्षेत्रमा ल्याएर कास्कीकोटको इतिहासका विषयमा जानकारी दिने उद्देश्य पूरा गरिने गण्डकी प्रदेशका प्रदेश सभा सदस्य बरालले बताए । अब भाषण र कुरा मात्रै नभएर काम गर्नुपर्ने अवस्था आएको उल्लेख गर्दै उनले स्थानीय बासिन्दाले गुनासो गर्नु नपर्नेृ अवस्था सिर्जना गरेर काम गर्नुपर्ने बताए । ‘कास्कीकोटका बासिन्दाले हामी पोखरेली नै भएर पनि अपहेलित भयौं, जनप्रतिनिधिले हामीलाई अपहेलित र अपमान गरे, हामीलाई बजेट न्यून भयो भन्न नपर्ने गरेर अब काम हुन्छ ।’ उनले भने, ‘यो मेरो प्रतिबद्धता भयो, म जनप्रतिनिधिको हिसाबले मात्रै होइन, आम नागरिकको हिसाबले बोलिरहेको छु, यहाँहरुले उठाउनुभएको हरेक समस्याको समाधान गर्ने मेरो कर्तव्य हो ।’

२०८१, १४ मंसिर शुक्रबार ०९:१९
कथालिका नयाँ कथा
कथालिका