- प्रसूति पीडामा रहेकी महिलाले अस्पतालको ढोकामा पैसा नभएको बताउँदा सरकारी तथा निजी अस्पताल या राज्यको जरुर पहिलो कदम ‘पहिले पैसा ल्याउने होइन, पहिले आमालाई उपचार गरेर बचाउने’ हुनुपर्छ ।
तपाईँलाई लाग्छ कि उपचारको अभावले छटपटाइरहेको कोही गम्भीर विरामीलाई अस्पतालले पनि मुकदर्शक भएर रमिता हेर्छ ? अवश्य एक रति लाग्दैन । तर, दुर्भाग्य भन्नुपर्छ, पर्साको एक अस्पतालमा यही कारुणिक चित्कारको परिदृश्य अस्पतालले हेर्ने मात्र होइन, सुत्केरी हुन पुगेकी महिलामाथि गम्भीर खेलवाड गरेको घटना बाहिर आएको छ ।
रात छिप्पिदै थियो । राजविराजका सडकहरू सुनसान थिए । तर, एक महिला प्रसव पीडाले छट्पटाइरहेकी थिइन् । उनलाई अस्पताल चाहिएको थियो । डाक्टर चाहिएको थियो । एउटा सुरक्षित प्रसूति कक्ष चाहिएको थियो । फेरि उनी अस्पताल भन्दा दुर पनि थिएनन्, अस्पतालमै अर्थात् गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल पुगेकी पनि थिइन् ।
२५ सय रुपैयाँ नहुँदा नभएको उपचार
बिडम्बना भन्नुपर्छ, उनका लागि अस्पताल आफ्नो रहेन । आत्तिदै हतारिँदै अस्पताल पु¥याइएकी राजविराज नगरपालिका–१४ पर्साहीकी बबिता पासवानले अस्पतालको प्रसूति कक्षमा होइन, अन्ततः अस्पतालकै अगाडिको फुटपाथमा बच्चा जन्माउन बिबश बनिन् ।
अझ दुर्दान्त दृश्य त यो थियो कि अस्पतालकै अघि त्यो बच्चा जन्मिँदा समेत न कुनै न स्वास्थ्यकर्मीको निगरानी थियो, न अस्पतालको सेवा । पीडाले छट्पटाइरहेकी आमा, तनावमा रहेका श्रीमान् र सघाउन आएका आफन्त अस्पतालमै यो सबै भोग्न र हेर्न बिबश भएको उनका श्रीमान हरेराम पासवाले बताए ।
बबितालाई मंगलबार राति करिब डेढ बजेतिर प्रसव व्यथा सुरु भयो । श्रीमान् हरेराम पासवान र दुई जना आफन्त महिलालाई साथमा लिएर उनी सिटी रिक्सामा गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल पुगिन् । उनीहरुको अपेक्षा थियो–‘अस्पताल पुग्ने, स्वास्थ्यकर्मीले जाँच गर्ने र सुरक्षित रूपमा बच्चा जन्माउने ।’
तर, अस्पताल पुगेपछि उनीहरु थप असमञ्जसमा परेँ । बबिताका अनुसार प्रसूति विभागमा खटिएकी स्टाफ नर्सले पहिले अल्ट्रासाउन्ड, रगत र पिसाब परीक्षण गर्न भनिन् । त्यसका लागि करिब २ हजार ५ सय रुपैयाँ लाग्ने बताइएको उनको दाबी छ ।
आफूहरुसँग पैसा नभएको जानकारी दिँदा बाहिर जान, नत्र धकेलेर निकाल्ने चेतावनी दिएपछि अस्पताल भित्रबाट परिसरमा आएको उनले बताइन् । अहिले पैसा छैन, बिहान भएपछि जाँच गराउँछु, भर्ना गरिदिनुस्’ भन्दा पनि नसुनेको उनीहरुको आरोप छ ।
यसअघि आफ्ना तीन सन्तान सामान्य रूपमा जन्मिएकाले कुनै विशेष जाँच नगराएको बबिता बताउँछिन् ।
फुटपाथ बन्यो प्रसूति कक्ष
अस्पतालले भर्ना नलिएको दाबी गर्दै बबिता परिवारसहित बाहिरिइन् । उनी अस्पताल नजिकैको एउटा औषधि पसलअगाडि पुगिन् । औषधि पसलेलाई चिकित्सकसँग जाँच गराइदिन आग्रह गरिन् ।
‘बिहान डाक्टर आएपछि जाँच गराइदिन्छु, अहिले यहीँ बस्नुस्’ भन्ने आश्वासन पाएपछि उनी त्यहीँ बसिन् । तर समय बित्दै जाँदा प्रसव पीडा बढ्दै गयो ।
अब उनीसँग अस्पताल जानेभन्दा पनि बच्चा जन्माउने समयसँग जुध्नुबाहेक अर्को विकल्प थिएन । साथमा आएका महिलाले उनलाई सम्हाल्न थाले । श्रीमान् हरेराम असहाय बनेर उभिइरहे । त्यो क्षणमा उनीहरूका अगाडि राज्य थिएन, व्यवस्था थिएन, सुविधा थिएन ।
थियो त केवल एउटी महिलाको जीवन र जन्मिन लागेको एउटा बच्चा ।
केहीबेरपछि बबिताले त्यही फुटपाथमा छोरालाई जन्म दिइन् । बच्चा जन्मिए पनि बबिताको पीडा सकिएन । परिवारले सालनालसहितको नवजात शिशुलाई बोकेर अस्पताल लगे । तर आफूलाई त्यहाँ पनि सहज रूपमा उपचार नदिइएको बबिताको दाबी छ । उनका अनुसार आफू अस्पतालभित्रको खाली बेडमा सुत्न खोज्दा समेत स्वास्थ्यकर्मीले उल्टै हप्काइयो । अन्ततः उनी बच्चासहित घर फर्किइन् ।
अस्पताल भन्छ- बच्चा जन्मिएपछि मात्रै परिवार अस्पताल
यस घटनाबारे अस्पतालको पक्ष भने फरक छ । फ्रि हेल्थ सर्भिसका फोकल पर्सन मनोज देवले बबिता राति करिब २ बजे अस्पताल आएको र अस्पतालको २४ नम्बर बेडमा भर्ना भएको दाबी गरेका छन् ।
उनका अनुसार प्रारम्भिक परीक्षणपछि गर्भावस्थामा गर्नुपर्ने स्वास्थ्य जाँच नगराएको पाइएपछि चिकित्सक तथा स्वास्थ्यकर्मीले आवश्यक परीक्षणका लागि उनलाई ल्याबमा पठाएका थिए ।
तर, उनीहरू ल्याब गएर त्यतैबाट बाहिरिएको अस्पतालको दाबी छ । देवका अनुसार बिहान करिब ५ बजे बच्चा जन्मिएपछि परिवार अस्पताल आएको थियो र अस्पतालमै सालनाल काटेर आवश्यक प्रक्रिया पूरा गरिएको थियो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रञ्जितकुमार झाले पनि आफू काठमाडौंमा रहेको र सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि मात्र घटनाबारे जानकारी पाएको बताएका छन् । उनका अनुसार अस्पतालमा जाँचका लागि करिब ५ हजार रुपैयाँ लाग्ने भनिएपछि महिला बाहिर निस्किएर अस्पताल परिसरबाहिरै सुत्केरी भएको जानकारी आफूले पाएका छन् ।
घटनाबारे छानबिन गर्न समिति गठन गर्ने अस्पताल प्रशासनले जनाएको छ ।
स्वास्थ्य सेवा प्रणालीमाथि गम्भीर प्रश्न
फुटपाथमा बच्चालाई जन्म दिएको उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ ।
सार्वजनिक भएको भिडियोमा बबिता प्रसव पीडाले छट्पटाइरहेको देखिन्छ । वरिपरि उनका आफन्त छन् । उनीहरू सकेको सहयोग गरिरहेका छन् ।
केहीबेरपछि त्यहीँ बच्चा जन्मिन्छ । यसले नेपालको स्वास्थ्य सेवा प्रणालीमाथि गम्भीर प्रश्न खडा गरेको छ ।
पैसा नभएपछि के प्रसूति पीडा पनि रोक्नुपर्छ ? प्रसूति पीडामा अस्पताल पुगेकी बबिताले पैसाको अभावमा उपचार नपाउनुमा उनी, परिवारकै समस्या हो कि राज्य र प्रणालीको ? के अस्पतालमा कार्यरत नर्स, डाक्टर या अरु कर्मचारीको ?
राज्यले ‘निःशुल्क स्वास्थ्य सेवा’ भनेर घोषणा गरेको देशमा गरिब नागरिकको स्वास्थ्य अधिकारको वास्तविक अवस्था कस्तो छ ? यो घटनाले गम्भीर विषय उजागर गरेको छ । यो घटना केवल एउटा परिवारसँग मात्रै जोडिएको विषय होइन, हाम्रो स्वास्थ्य प्रणाली, व्यवस्थासँग जोडिएको छ ।
एउटी आमाले आफ्नो बच्चालाई सुरक्षित जन्माउन पाउनुपर्ने न्यूनतम अधिकारसमेत सुरक्षित नहुनु एक संवेदनशील विषय छ भने अर्कोतर्फ अस्पतालमा पैसा छैन भनेर कोही आउँदा अस्पताल नर्स, डाक्टरले के गर्ने भन्ने स्पष्ट व्यवस्था, निर्देशन केही छ कि छैन ? अस्पतालको दाबी सही हो कि बबिताको आरोप ? यो त अब छानबिनले स्पष्ट होला, हुनुपर्छ ।
सरकारी तथा निजी अस्पतालमा विपन्न तथा गरिब नागरिकका लागि निश्चित प्रतिशत बेड छुट्याउने कानुनी व्यवस्था नै छ । यो एउटा स्टाफ नर्स या स्वाथ्यकर्मीको व्यवहारको मात्रै कुरा होइन, अस्पतालको व्यवस्थापन, सञ्चालन र गरिब नागरिकको स्वास्थ्यमा पहुँचको हो । राज्यले दिएको अधिकार कार्यान्वयनको हो ।
प्रसूति पीडामा रहेकी महिलाले अस्पतालको ढोकामा पैसा नभएको बताउँदा सरकारी तथा निजी अस्पताल या राज्यको जरुर पहिलो कदम ‘पहिले पैसा ल्याउने होइन, पहिले आमालाई उपचार गरेर बचाउने’ हुनुपर्छ ।