- ‘हाइअलर्ट’को सूचनापछि गत वर्ष दसैँ लगत्तैको बेमौसमी वर्षाले ठुलो विपद् निम्त्याएको थियो । जसमा कोशी प्रदेशमा मात्रै ४८ जनासहित देशभर ५२ जनाले ज्यान गुमाएका थिए । त्यसबेला पनि यस्तै खालको वर्षाको पुर्वानुमान गरिएको थियो ।
नेपालमा अबको ५ दिन भीषण वर्षा हुने प्रक्षेपण गरिएको छ ।
बंगालको खाडीमा विकसित शक्तिशाली न्यूनचापीय प्रणालीका कारण नेपालमा यही असोज ८ गतेदेखि १२ गतेसम्म अधिकांश भू–भागमा भीषण वर्षा हुने पूर्वानुमान गरिएको छ ।
देशमा ‘भारी’देखि ‘अति भारी’ वर्षाको सम्भावना
बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव बिहीवारदेखि नेपालमा देखिन सुरु भएको छ । यो प्रणालीको प्रभावका कारण अबको पाँच दिन देशमा ‘भारी’देखि ‘अति भारी’ वर्षाको सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ । जसले गर्दा जनधनको क्षति हुन सक्ने भन्दै सरकारले उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।
तर, देशका सबै ठाउँमा एकनासको पानी पर्ने सम्भावना छैन । कतिपय भूभागमा कम र केही स्थानमा अति भारीसम्म वर्षाको सम्भावना छ । हिमाली भेगमा बाक्लो हिमपातको पनि पूर्वानुमान रहेको विभागले जनाएको छ ।
अति भारी वर्षा भनेको कति ?
कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे ‘हल्का’ वर्षा भनिने विभागले जनाएको छ ।
कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति भारी’ वर्षा भनिने विभागको मापदण्ड छ ।
जिल्लागत रुपमा कहाँ-कहाँ पर्छ पानी ?
यो पूर्वानुमानअनुसार देशको पूर्वी र मध्य भागमा वर्षाको प्रभाव सबैभन्दा लामो र सघन हुनेछ । विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा लगातार चार दिनसम्म झरी पर्ने र भारी वर्षासमेत हुन सक्ने सम्भावना बलियो छ, किनकि यी क्षेत्रमा तीनवटै मोडेलको नतिजा मिलेको छ ।
मधेस र कर्णाली प्रदेशमा पनि दुईदेखि तीन दिनसम्म भारी वर्षाको सम्भावना छ । यद्यपि, सुदूरपश्चिम प्रदेशको मौसम भने अनिश्चित देखिएको छ, जहाँ विभिन्न मोडेलले शून्यदेखि चार दिनसम्म वर्षाको फरक–फरक पूर्वानुमान गरेका छन् ।
जिल्लागत रूपमा हेर्दा, असोज ९ र १० (सेप्टेम्बर २५ र २६) गते वर्षाको फैलावट देशभर नै उच्च विन्दुमा पुग्नेछ । यी दिनमा कोशी प्रदेशका ओखलढुङ्गा, भोजपुर, सङ्खुवासभास बागमतीको रसुवा, धादिङ, सिन्धुपाल्चोक, काठमाडौँ उपत्यका तथा गण्डकीका गोरखा, मनाङ र मुस्ताङका शतप्रतिशत भूभागमा वर्षा हुने अनुमान छ । मौसमविद्हरूले पूर्वसूचनाका रूपमा बुझेर सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन् ।
‘हाइअलर्ट’को सूचनापछि के भएको थियो गत वर्ष ?
गत वर्ष दसैँ लगत्तैको बेमौसमी वर्षाले ठुलो विपद् निम्त्याएको थियो । जसमा कोशी प्रदेशमा मात्रै ४८ जनासहित देशभर ५२ जनाले ज्यान गुमाएका थिए । गत वर्ष इलाममा मात्रै पहिरोका कारण ३७ जनाको मृत्यु भएको थियो ।
रौतहटको महेशपुरमा ३५८ मिलिमिटर र इलामको हिमाली गाउँमा ३३२.६ मिलिमिटरजस्ता कीर्तिमानी वर्षा रेकर्ड भएको थियो । त्यसबेला पनि यस्तै खालको वर्षाको पुर्वानुमान गरिएको थियो ।
यसपटक पनि पहिले नै जानकारी आइसकेकोले सरकारले सोहीअनुसार पूर्ववत योजना गर्नुपर्ने देखिएको छ । प्राकृतिक विपद् रोक्न नसकिए पनि सकेसम्म क्षति कम होस् भन्ने अभिप्रायले आवश्यक सचेतता अपाउनु पर्ने र राज्यका निकायहरुले पनि प्रभावकारी भूमिका खेल्न जरुरी छ ।
पूर्वतयारी र सतर्कताका निम्ति आह्वान
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले ‘भीषण’ वर्षा हुन सक्ने देखिएको छ । उनले पूर्वतयारी र सतर्कताका निम्ति आह्वान पनि गरेका छन् ।
“नेपालमा वर्षा जारी रहे पनि अहिलेसम्म ठूलो क्षति भएको छैन । तर, अर्को हप्ता ८–१२ असोज पूर्वदेखि पश्चिमसम्म धेरै स्थानमा भीषण वर्षाको सम्भावना देखिएकाले समयमै पूर्वतयारी र सतर्कता आवश्यक छ,” उनले भनेका छन् ।
चाडबाडको मुखमा हुन लागेको यो मौसमी फेरबदलले निम्त्याउन सक्ने बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै गत वर्षको विनाशकारी घटनाबाट पाठ सिकेर पूर्वतयारीमा जुट्नुपर्ने आवश्यकता देखिएको छ ।
नागरिक स्वयंम् यस अवधिमा सकेसम्म यात्रा नगर्ने, अध्यावश्यक कामले यात्रा गर्नै परे सम्भावित जोखिमबारे पूर्व आँकलन र सूचना लिएर मात्रै यात्रा गर्नुपर्नेछ भने सरकारी स्तरबाट समयमै सूचना प्रवाह गर्ने, जोखिमयुक्त बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने र राज्यका सबै अंगबिच यथोचित समन्वय कायम गरी पूर्वतयारीमा जुट्नु नै गत वर्षको विपद् र क्षतिको नियति दोहोरिन नदिने एकमात्र उपाय हो ।
यस्तो छ जोखिम न्यूनीकरणका लागि सरकारको तयारी
सम्भावित भीषण वर्षा र त्यसले निम्त्याउन सक्ने विपद्लाई ध्यानमा राख्दै सरकारले पूर्वतयारीलाई तीव्रता दिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विशेष सूचना जारी गर्दै आम नागरिक र सबै सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
प्राधिकरणले बाढी, पहिरो, गेग्रान बहाव र डुबानको जोखिम उच्च रहेकाले उक्त अवधिमा अत्यावश्यक कामबाहेक लामो दूरी र विशेषगरी रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
साथै, जोखिमयुक्त राजमार्ग र सडकहरूमा डोजर, एक्साभेटरजस्ता उपकरणहरू तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ । तीनवटै सुरक्षा निकाय, प्रदेश सरकार, स्थानीय तह र स्वयंसेवकहरूलाई प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भनिएको छ ।