यस्ता छन् कास्कीका ‘दिलसरा प्रभावशाली मगर महिला’ – कथालिका

यस्ता छन् कास्कीका ‘दिलसरा प्रभावशाली मगर महिला’

संस्कार र संस्कृतिले भरिपूर्ण जाति र समुदाय मध्येको एक हो मगर । यस समुदायमा महिलाको स्थान तुलनात्मक रुपमा उच्च छ । अधिकांश घर परिवारका हरेक नीति, निर्णय उनीहरुमा निर्भर हुन्छ । यद्यपि, सामाजिक काम कार्यमा अग्रसर भने निकै कम मात्र देखिने गरेको छ । भलै समय र बदलिँदो व्यवस्था सँगै मगर समुदायका महिलामा पनि ठुलो जागरण र उभार आएको छ ।

सामाजिक काम, राजनीति, व्यापार व्यवसाय र अरु खुल्ला प्रतिस्पर्धामा पनि आफूलाई अब्बल सावित गरिरहेका छन्, उदाहरणीय र प्रेरक व्यक्तित्वको रुपमा स्थापित गरिरहेका छन् । यसको केही छनक मगर संस्कृतिमा आधारित चलचित्र ‘दिलसरा’ले सुरु गरेको ‘दिलसरा प्रभावशाली मगर महिला–२०८१’ मा पनि देखिएको छ । जसमध्ये कास्कीका केही मगर महिलाको संघर्ष र सफलताको कथा समेटिएको छ ।

१. कला पुन मगर (समाजसेवी)

नेपाली समाज यस्तो समाज हो, जहाँ महिलाको अस्तित्व पुरुष बिना हुँदैन भन्ने सोँच हुन्छ । अघि बढ्न लागेको खण्डमा नानाथरी कुरा काटेर खुट्टा तान्ने प्रवृत्ति आज पनि व्याप्त छ । यसका बाबजुद पनि कला पुन मगर यो समाजको अपवाद् र उदाहरणीय पात्र हुन् ।

कला पुन मगर

समाजसेवाको लामो यात्रामा उनको हिँड्ने पाइलामा काँडा नगडिएका होइनन् । त्यही काँडालाई पन्छाएर अगाडि बढ्न उनले प्रयास गरेकी छिन् र यो क्षेत्रमा अहिले अब्बल देखिएकी छिन् । बागलुङको काठेखोला गाउँपालिका–८ मा जन्मिएकी ४५ वर्षीय कला सन्तानको भविष्य सुन्दर बनाउने जिम्मेवारी सहित समाजसेवामा सक्रिय छिन् । मगर महिला संघ कास्की, मगर संघको महानगर सदस्य लगायतका संघसंस्थामा आवद्ध रहेकी कला अहिले आफ्नै समुदायका महिलाको लागि काम गर्छिन् ।

 

 

२. कृष्ण पुन मगर (समाजसेवी)

कृष्ण पुन मगर

४७ वर्षीया कृष्ण पुनमगरले सामाजिक कार्य गर्न बागलुङ–पोखरा मगर समाजको स्थापना भएदेखि सुरु गरेकी हुन् । यो समाजको स्थापना भएको १८ वर्ष पूरा भएको छ । संस्थाको स्थापनाकालदेखि आवद्ध रहेकी उनले १४ वर्षसम्म कोषाध्यक्षको रुपमा काम गरिन्, हाल संस्थाको सचिव छिन् । यो बाहेक उनले आफू जन्मेको गाउँकै प्राथमिक विद्यालयमा ७ वर्ष अध्यापन गरिन् ।

बागलुङको जैमिनी नगरपालिका–६ मा जन्मिएकी उनले समस्यामा परेका महिलालाई सहयोग गर्दै आइरहेकी छिन् । यो भन्दा अगाडि उनले कस्मेटिक र किराना पसल सञ्चालन गरेकी थिइन् । सामाजिक काममा केन्द्रित हुनु परेपछि उनको व्यवसाय भने बन्द भएको छ । यद्यपि, सामाजिक कर्मसँगै आत्मनिर्भर हुने विकल्प र व्यवसायबारे भने उनले योजनाा बनाइरहेकी छिन् ।

३. टोलमाया थापा मगर (शैक्षिक प्रशासन)

टोलमाया थापा मगर

स्याङ्जाको हरिनास गाउँपालिका-४ ढुंगेठाटीमा जन्मिएकी टोलमाया थापा मगर पोखरा विश्वविद्यालयमा वि.स २०५६ सालदेखि सह–प्रशासकको रुपमा कार्यरत छिन् ।

स्नाकोत्तरसम्मको अध्ययन पूरा गरेकी उनले नेपाल मगर विद्यार्थी संघ केन्द्रीय तदर्थ समिति गण्डकी अञ्चलको सदस्य, नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समिति गण्डकी अञ्चलको सदस्य, मगर भाषा प्रतिष्ठान कास्कीको जिल्ला सदस्यका रुपमा काम गरिसकेकी छिन् । शिक्षा क्षेत्रमा सेवा गर्दै आइरहेकी टोलमाया शिक्षा पुरस्कार–२०६९ तथा जर्जजोन शिक्षा पुरस्कारबाट सम्मानित भइसकेकी छिन् । मानविकी तथा सामाजिक शास्त्र संकायमा उच्चतम् अंक हासिल गरेकोमा विद्याभुषण ‘ख’ बाट पुरस्कृत भइसकेकी छिन् । टोलमायाले यो पुरस्कार राष्ट्रपतिबाट थापेकी हुन् ।

४. दिलाशा राना मगर (खेलाडी)

दिलाशा राना मगर

उमेरले भर्खर १५ वर्ष मात्रै पुगेकी दिलासा राना मगर ब्याडमिण्टन खेलाडी हुन् । हाल पोखराको सेण्ट म्यारिज स्कुलमा कक्षा १० मा अध्ययनरत उनको पुख्र्यौली घर तनहुँको दुलेगौंडा–४ हो ।

नवौं राष्ट्रिय खेलकुदमा १७ वर्ष मुनी उमेर समूहमा भएको ब्याडमिण्टन प्रतियोगितामा दिलासाले गोल्ड मेडल जितेकी थिइन् । यस्तै साउथ एसियन गेममा जुनियरतर्फ उनले ३ वटा मेडल प्राप्त गरेकी छिन् ।

 

५. फूलकुमारी थापा मगर (भाषा साहित्य)

फूलकुमारी थापा मगरको परिचय कुनै एउटा विधामा मात्रै सीमित छैन । तनहुँमा वि.स २०१६ सालमा जन्मिएकी उनले स्नातकसम्मको अध्ययन पूरा गरेकी छिन् । साहित्यकार समेत रहेकी उनको मगर भाषाको उपन्यास ‘इटन लेसा मास्टुङ कथा र व्यथा’, ‘कानुङ कुरा’ (संवाद) तथा नेपाली भाषामा विम्व–प्रतिविम्ब उपन्यास प्रकाशित भएको छ ।

फूलकुमारी थापा मगर

उनी मगर भाषाको पहिलो महिला उपन्यासकार समेत हुन् । उनका फुटकर कथा, कविता तथा लेखरचना पत्रपत्रिकामा प्रकाशित छन् । यी बाहेक फूलकुमारीले नेपाल मगर महिला संघ जिल्ला समिति कास्कीको मुखपत्र ‘रैंया’ को सम्पादन गरेकी छिन् ।

उनी नेपाल मगर महिला संघ कास्कीकी अध्यक्ष, नेपाल आदिवासी जनजाति महिला महासंघ समन्वय परिषद् कास्कीकी उपाध्यक्ष, नारी सेवा केन्द्र पोखराकी सचिव, नेपाल मगर लेखक संघ गण्डकी अञ्चलकी सल्लाहकार, लाङ्घाली मासिक पत्रिकाको संरक्षक लगायतका संस्थामा आवद्ध छिन् । मगर साहित्यको विधाबाट उनले धेरै पुरस्कार पनि प्राप्त गरिसकेकी छिन् ।

६. बिनु थापा मगर (मिस मगर-२०२३)

सुन्दरी प्रतियोगिता, जसको बारेमा नेपाली समाजमा व्यापक विवाद र बहस छ । बिनुलाई भने यस्ता प्रतियोगिताले जहिल्यै लोभ्याउँथ्यो । झन् मिस मगर भनिसकेपछि उनलाई भाग नलिइरहन मनले दिएन । कास्कीको लेखनाथ स्थित मझुवा घर भएकी २१ वर्षीया उनलाई प्रतियोगितामा भाग लिइसकेपछि जित्नैपर्छ भन्ने कहिले लागेन ।

बिनु थापा मगर

तर, मिस मगर–२०२३ को उपाधी उनले आफ्नो पोल्टामा पारिन् । उनको मनमा अझै धेरै जानकारी हासिल गर्नुपर्छ, परम्परा र संस्कृतिलाई जोगाउनुपर्छ भन्ने लागिरहन्थ्यो । यसका लागि उनलाई लाग्यो मिस मगर जस्तो राम्रो स्थान अरु हुन सक्दैन । सोही प्रतियोगितामा भाग लिएर उनले जितिन् । सुन्दरी प्रतियोगिता भन्दैमा नराम्रो र गलत सोच्न नहुनेमा उनको जोड छ ।

७. भीमसरा घर्तीमगर (कला-थाली नृत्य)

म्याग्दीका मगर समुदायको पृथक कला संस्कृति मध्येको एक हो थाली नृत्य । आकर्षक र मौलिक संस्कृतिको रुपमा रहेको यो नाच क्रमशः लोप हुँदै जाने खतरामा छ ।

भीमसरा घर्तीमगर

पुरानो पुस्तालाई नयाँ पुस्तामा हस्तान्तरण हुँदैन कि भन्ने चिन्ता छ । लोप हुन अवस्थामा पुगिसकेको यो नाच नाच्ने परम्परालाई जोगाउन केही व्यक्ति निरन्तर सक्रिय र समर्पित छन् ।

जिल्लाको मालिका गाउँपालिका–२ मा जन्मिएकी ५० वर्षीया भीमसरा घर्तीमगर एक हुन् । गाउँमा सानै उमेरबाट थाली नाच नाच्दै आइरहेकी उनलाई यो परम्परा लोप हुने अवस्थामा पुगेको देख्दा चिन्ता लाग्छ, त्यसैले त संरक्षण र प्रवद्र्धन गर्न लागिपरहेकी छिन् । यी बाहेक उनी लोकतान्त्रिक मगर संघ गण्डकी प्रदेश, संगीतकर्मी सघं लगायत संस्थामा आवद्ध छिन् । उनले आर्थिक अभावमा उपचारबाट बञ्चित व्यक्तिलाई रकम संकलन गरेर सहयोग समेत गर्दै आएकी छिन् ।

 

८. भीमकुमारी पुन (राजनीति)

भीमकुमारी पुन

पर्वतको जलजला घर भएकी भीमकुमारी पुन गर्बुजाले कास्कीलाई कार्य क्षेत्र बनाएको धेरै भइसक्यो । उनी नेपाल मगर संघ कास्की, जनजाति महासंघ कास्की, मगर संघको इकाई समिति, टोलकै आमा समूह, नागरिक परोपकार समन्वय संस्था कास्कीमा आवद्ध छिन् । उनको आवद्धता लेखनाथ उद्योग वाणिज्य संघ, पोखरा महानगरपालिकाको कार्यपालिका सदस्यका रुपमा छ ।

उनी केही वर्ष यता राजनीतिमा समेत सक्रिय छिन् । हाल उनी पोखरा महानगर पालिका वडा नं. २७ को जनप्रतिनिधि समेत हुन् । सामाजिक काममा लागिसकेपछि महिला होस् या पुरुष, आर्थिक रुपमा सवल हुनुपर्छ भन्ने उनको सोँच छ । त्यसैले उनले बि.बी हाइजेनिक फुड्स प्रा.लि नामक कम्पनी सञ्चालनमा ल्याएकी छिन् ।

९. मनसरा रोका मगर (समाजसेवी)

उनले कहिले सोचेकी थिइनन् घुम्नका लागि भनेर पोखरा आउँदा यतै रमाइलो लाग्छ र यतै बसिन्छ भन्ने । २०५३ सालतिर पोखरा अवलोकनका लागि भनेर आएकी उनले पोखरा छोडिनन् । रोल्पाको सुनछहारी गाउँपालिका वडा नम्बर ७ मा हो उनको घर । ४७ वर्षीय मनसराले गाउँघरमा हुँदा दुःख पर्दा सबैलाई सहयोग गर्थिन् ।

मनसरा रोका मगर

समय बित्दै गयो, उनको श्रीमान् पनि कोरिया पुगे । त्यसपछि भने घरको आर्थिक अवस्थामा परिर्वतन आयो, अनि आफ्नो समाजसेवाको भावलाई पूरा गर्ने तर्फ लागिन् ।

उनलाई लाग्छ, सामाजिक कामका लागि हिँडिरहँदा महिला आर्थिक रुपमा सक्षम हुनु जरुरी हुन्छ । त्यसैले उनले दुबोको माला बनाउने व्यवसाय सुरु गरिन् । यो व्यवसायबाट उनले सिजनमा मनग्य आम्दानी समेत गर्ने गर्छिन् ।

 

१०. युमाया पुन पचभैया (मानव–अधिकारकर्मी)

युमाया पुन पचभैया

युमाया पुन पचभैया मानवअधिकारकर्मीको रुपमा परिचित छिन् । पर्वत जन्मघर भएकी ४३ वर्षीया युमाया महिला मानवअधिकार रक्षक सञ्जाल कास्की, बाल तथा महिला सशक्तीकरण समाज नेपाल पोखरा, पाल्पाली समाज पोखरा लगायतका संस्थामा आवद्ध भएर काम गर्छिन् ।

विभिन्न संस्थामा काम गरिरहँदा उनलाई अहिले पनि महिलाले उचित भूमिका पाउन सकेका छैनन् भन्ने लागिरहन्छ । अन्य विषयमा कुरा गर्ने हो भने साक्षरताको हिसाबले सकारात्मक रुपमा महिला धेरै अगाडि बढिसकेको उनले पाएकी छिन् ।

११. सपना राना मगर (आयुर्वेद चिकित्सा)

सपना राना मगर

जन्म भारत तर घर स्याङ्जाको बिरुवा गाउँपालिका–८ स्थित तर्ले, जहाँ उनी हुर्किइन् । ४१ वर्षीया सपना राना मगरको पुरै परिवार स्वास्थ्य क्षेत्रमा आवद्ध छन् । पोखराको महेन्द्रपुल स्थित बास्तोलाथरमा रहेको सपना आयुर्वेद हस्पिटल पोखराकै सबैभन्दा पुरनो आयुर्वेद हस्पिटल हो ।

आफ्नै नाममा हस्पिटल सञ्चालनमा ल्याएका सपना आयुर्वेदको क्षेत्रमा लागेको २१ वर्ष पुग्यो । यो अवधीमा सपनाले धेरै स्थानमा स्वास्थ्य शिविर आयोजना गरिसकेकी छिन् । यीबाहेक उनी आयुर्वेद व्यवसायी संघ कास्की तथा लायन्स क्लबमा आवद्ध छिन् । क्लव लेवल र डिस्ट्रिक लेवलमा उत्कृष्ठ कार्य गरेको भन्दै सपनाले अमेरिकाको गभर्नरबाट २ पटक अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेकी छिन् । जुन नेपालीले प्राप्त गर्ने पहिलो अवार्ड हो ।

१२. सरिता सारु मगर (गायिका)

संगीत क्षेत्रमा सरिता सारु मगरले १७ वर्ष बिताइसकेकी छिन् । तनहुँको बन्दीपुर गाउँपालिका–१ मा ३६ वर्ष अगाडि जन्मिएकी यी गायिकाले यो क्षेत्रमा लागिसकेपछि गुमाउनु भन्दा बढी पाएकी छिन् । इज्जत, मान–प्रतिष्ठा, पहिचान लगायतका संगीत क्षेत्रमा लागिसकेपछि उनले पाएकी छिन् ।

सरिता सारु मगर

संगीत क्षेत्रमा लागिसकेपछि उनले देखेको कुरा भनेको मगर भाषाका गीत कम बनेका र गाइएका छन् । ‘अहिलेका पुस्ताले आफ्नो भाषा खासै जान्दैनन्, परिवार आफ्नो भाषामा नबोलिदिएपछि समस्या हुने रहेछ,’ उनले भनिन् ।

संगीत क्षेत्रमा लागेर जीवन जिउन सकिने उनले बुझिसकेकी छिन् । आफ्नै पेसा अन्तर्गत रहेको मगर संस्कृतिक संघ कास्कीको उनी अध्यक्ष समेत हुन् ।

१३. सर्मिला थापा मगर (खेलाडी)

सर्मिला थापा मगर

३८ वर्षीय सर्मिला थापा मगर एथ्लेटिक्स, ब्याडमिण्टन, ह्याण्डबल लगायत खेल लेख्ने खेलाडी हुन् । स्याङ्जाको चापाकोट नगरपालिका ५ सेखाममा जन्मिएकी उनले बच्चैबाट खेलाडी बन्ने सपना बुनेकी थिइन् ।

यी खेल खेलेर उनले विभिन्न मेडल तथा पुरस्कार जितेकी छिन् । यसका साथै सर्मिलाले नवौं राष्ट्रिय गेममा टिम म्यानेजरको भूमिका निर्वाह गरेकी छिन् । उनलाई लाग्छ, सरकारले उचित तालिम दिन सके खेलमा राम्रो भविष्य बनाउन सकिन्छ । उचित तालिम, समय अनुसारको तलब नहुँदा खेलाडी पलायन हुनुपर्ने अवस्था नेपालका आएको उनको बुझाई छ ।

१४. संगीता पुन मगर (समाजसेवी)

संगीता पुन मगर

नेपाल मगर संघ कास्कीमा संगीता पुन मगर भन्दा अगाडि महिलाले अध्यक्ष पदमा बस्ने सौभाग्य प्राप्त गरेका थिएनन् । उनी मात्रै कास्की जिल्लाको हाल सम्मकी एक मात्र महिला अध्यक्ष हुन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ मा जन्मिएकी ४६ वर्षीया संगीताले मगर संघमा आवद्ध हुँदा अध्यक्ष पदसम्म पुगौँला भन्ने सोचिनन् ।

अहिले मगर संघ कास्कीको पूर्व अध्यक्षको रुपमा परिचय दिन पाउँदा खुसी लाग्छ । कार्यक्रममा हिँडिरहँदा संगीताले महिलामा परिर्वतन देखेकी छिन् । घर बाहिर हिँड्न महिला आर्थिक रुपमा सबल हुनुपर्छ भन्ने सोचले उनले केही समयदेखि व्यवसायमा लागेकी छिन् । व्यवसाय बाहेक संगीता नेपाल मगर संघ गण्डकी प्रदेशको सचिव हुन् ।

१५. शान्ति श्रीस मगर (फेसन डिजाइनर,गायिका)

शान्ति श्रीस मगर

संगीत क्षेत्रमा शान्ति श्रीष मगर परिचित नाम हो । गीत–संगीतको क्षेत्रमा मात्रै होइन, शान्ति चर्चित फेसन डिजाइनर समेत हुन् ।

बाग्लुङमा जन्मिएकी ४२ वर्षीय सुन्दर गायिका शान्तिले थुप्रै गीत गाइसकेकी छिन् । ती मध्ये ‘फूल जस्तै मेरो जोवन’, ‘जुन तारा’, ‘गल्छी झरेसी’, ‘जाम हिँड साइला’ लगायतका गीत चर्चित छन् ।

गीत संगीत मार्फत उनी देश तथा विदेशमा हुने सांगीतिक कार्यक्रममा पनि सहभागी भइसकेकी छिन् । गीत–संगीत मात्रै नभएर फेसनमा उनलाई सानैदेखि रुची भएकाले व्यवसायका रुपमा अगाडि बढाएकी छिन् । यी बाहेक उनी सामाजिक कामलाई अगाडि बढाउन अन्य विभिन्न संघसंस्थामा आवद्ध छिन् ।

१६. सुधा थापा मगर (समाजसेवी)

सुधा थापा मगर

समाजसेवा गर्नु सहज काम होइन, त्यो पनि नेपाल जस्तो पितृसत्तात्मक सोच भएको समाजमा । स्याङ्जाको पुतली बजार नगरपालिका ७ मा जन्मिएकी ५३ वर्षीय सुधा थापामगरलाई समस्या भएन घर बाहिर काममा हिँड्न । परिवारले साथ र सहयोग दिए, त्यही साथले उनलाई सामाजिक काम गर्न बढी उत्प्रेरित ग¥यो ।

टोल, समाज, आफन्त लगायतका बीचमा उनले देखेकी छिन् महिलालाई कस्तो व्यवहार हुन्छ भन्ने । हाल उनी मगर समुदायका महिलाका लागि विभिन्न काम गर्दै आइरहेका छिन् । उनले नेपाल मगर संघ कास्कीको सबैभन्दा जेठो इकाइ समिति रामबजार इकाइको अध्यक्षको जिम्मेवारी सम्हालेकी छिन् ।

 

१७. सुनमाया आलेमगर (समाजसेवी)

सुनमाया आलेमगर

आदिवासी जनजाति मध्येको मगर समुदायमा अहिले परिर्वतन देख्छिन् सुनमाया । पहिलेको र अहिलेको अवस्था हेर्दा यो समुदायका महिलामा परिर्वतन आएकोे उनले अनुभव गर्छिन् ।

तनहुँको भिमाद नगरपालिका १ मा जन्मेकी उनी हाल पोखरास्थित मगर संघ चाउथे कदम मार्ग इकाई समितिको अध्यक्ष हुन् । यो समितिले मगर समुदायमा प्रचलित कौराहाको प्रवद्र्धनका लागि माहोल निर्माण गरेको छ । यो बाहेक सुनमायाले भाषा संरक्षणका लागि काम गर्दै आएकी छिन् ।

 

१८. ज्ञानीसरा राना मगर (समाजसेवी)

ज्ञानीसरा राना मगर

हाल पोखरा महानगरपालिका वडा नम्बर ११ मा बस्ने भएपनि ज्ञानीसरा रानामगर स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ५ सल्यानमा जन्मिएकी हुन् । उनी स्वास्थ्य क्षेत्रको व्यवसायसंग आवद्ध छिन् ।

यी बाहेक उनी महिला मानवअधिकार रक्षक सञ्जाल कास्की, नेपाल मगर संघ दिप इकाइ देखि महानगर, जिल्ला हुँदै प्रदेश समितिमा उनको आबद्धता रहेको छ । त्यस्तै मगर समुदायका महिलाको क्षमता अभिवृद्धिका लागि आयोजना हुने कार्यक्रममा उनले तालिम दिने गर्छिन् । यसका साथै महिलालाई आर्थिक रुपमा सबल बनाउनका लागि उनले चुरापोते तथा चप्पल बनाउने तालिम पनि दिँदै आइरहेकी छिन् ।

१९. इन्द्रकला थापामगर (व्यवसायी)

इन्द्रकला थापामगर

बाग्लुङको जैमिनी नगरपालिका–५ घर भएकी इन्द्रकला थापा मगर पोखराकी व्यवसायी हुन् । ३८ वर्षीय उनको जन्म भने भारतमा भएको हो । उनको पोखरामा हाल ‘रोयल साकुरा’ नाम गरेको रेष्टुरेन्ट तथा पार्टी प्यालेस सञ्चालनमा छ ।

कोरोना महामारी सुरु हुनुभन्दा केही महिना अगाडि सञ्चालनमा आएको पार्टी प्यालेसले त्यसको केही समयमा समस्या बेहोर्नुप¥यो । तर उनले हार मानिनन्, यो व्यवसायलाई जस्तै परिस्थितिमा भए पनि निरन्तरता दिइन् । कोरोना पश्चात अहिले धेरै नेपालीले आर्थिक मन्दीको समस्या झेल्नुपरिरहेको उनको बुझाई छ । व्यवसाय सँगै उनी लायन्स क्लवमा रहेर समाजका लागि काम गरिरहेकी छिन् ।

२०८१, १७ भाद्र सोमबार ०४:१२
कथालिका नयाँ कथा
कथालिका