भर्चुअल भैलोः डिजिटल दान – कथालिका

भर्चुअल भैलोः डिजिटल दान

  • बिभिन्न देशबाट युट्युवमा सार्वजनिक भर्चुअल भैलो हेरेर अहिले पनि दान सहयोग गर्ने क्रम जारी नै छ ।

विधिवत रुपमा तिहारको आगमन र रौनकता सन्निकट छ । उज्यालो पर्वका रुपमा मानिने तिहारको नेपाली समाजमा सामाजिक, साँस्कृतिक, आर्थिक लगायत बहुआयामिक महत्व र अर्थ छ । बडादशैं मान्न पुख्र्यौली थातथलो पुगेका अधिकाशं तिहार मानेर मात्रै कार्यक्षेत्रमा फर्कने योजनामा छन् । कार्यक्षेत्रमा फर्किएकाहरु पनि कति फेरि घर गाउँ फर्किने योजनामा छन् भने कतिले यही नजिकिँदो तिहारलाई उत्सवमय बनाउने मात्र होइन, सिर्जनशील र सामाजिक कर्मका साथ तिहारलाई थप रंगीन बनाउने अभियानमा छन् । केही वर्ष अघि संगठित बागलुङ कलाकार समाज यसको एक उदाहरण हो । समाज पवित्र उद्देश्य बोकेर तिहारको अवसरमा भर्चुअल र भौतिक दुवै माध्यममा देउसी भैलो अभियानमा छ ।

ग्लोबल भिलेज, भर्चुअल भैलो

यतिबेला सिंगो विश्व एउटा गाउँ (ग्लोबल भिलेज) बनिसक्यो । प्रविधिको तिव्रतर विकास र डिजिटल दुनियाँले भौतिक दुरीको आम मानिसहरुमा खासै गुञ्जायस छैन । आजको समयमा विकसित डिजिटल प्रविधि अनुसार अपडेट नभए २१ औं शताब्दीको ‘निरक्षर’ बन्ने खतरा छ । बागलुङ कलाकार समाजले समय र प्रविधिको यही गतिशीलतालाई आत्मसाथ गर्दै तिहारको छेकोमा भर्चुअल भैलो शुरु गरेको समाजका अध्यक्ष वसन्त थापा बताउँछन् । उनका अनुसार समाजले गत कात्तिक ६, ८ र १० गते गते पहिलो र दोस्रो संस्करणको भर्चुअल भैलो खेलिसकेको छ । जुन लोक संगीतमा पृथक पहिचान बनाएको ‘सारंगी संसार’को युट्युव च्यानलमा सुरक्षित समेत छ ।

भर्चुअल भैलो, डिजिटल दान कुनै बेला अस्वभाविक,अपत्यारिलो, हासिमजाक र कल्पनाको विषय थियो, अहिले त्यो स्वभाविक, अपरिहार्य विकल्प र माध्यम बन्न थालेको छ ।यस भर्चुअल भैलोले यसवर्षको तिहारमा बिभिन्न उद्देश्य लिएर आर्थिक संकलनका निमित्त देउसी भैलो खेल्नेहरुका लागि समेत नयाँ रचनात्मक माध्यम देखाइदिएको छ ।

डिजिटल दानबाट उत्साहित बागलुङे

समाजले ‘भर्चुअल भैलो क्यू आरमा दान, स्मार्ट दानवीरलाई हाम्रो सम्मान’ नारा दिएको छ । ‘एक त हामी समाज बनाए पनि संस्था क्रियाशील अवस्थामा थिएन, यसलाई जगाउने अहिलेको उपर्युक्त अवसरको रुपमा उपयोग गर्नुपर्छ भन्ने लाग्यो’, अध्यक्ष थापाले भने, ‘सुरुवातमा भर्चुअल भैलो गरौं भन्दा धेरैलाई पत्यार लागेको थिएन । म आफै पनि के हुन्छ भन्ने संशय र भयमा थिए । तर, दुई संस्करणबाट उत्साहजनक साथ, सहयोग मिल्यो, हामी उत्साहित छौ ।’भर्चुअल भैलोको असफलताको धेरैमा संशय देखे पछि आफ्नो टिमका कलाकारलाई पहिले एउटा परीक्षण अभ्यासको रुपमा हेरौं भनेर प्रस्ताव राखेको अध्यक्ष थापाले सुनाए । ‘दुनिया स्मार्ट र भर्चुअल भइसकेछ, अहिलेको हाम्रो दुई संस्करणको भैलोले पनि यसलाई थप पुष्टि गरेको छ,’ उनले कथालिका सँग भने ।

प्रारम्भिक तथ्यांक अनुसार अहिले बागलुङ जिल्लाका २ सय ५० बढी कलाकार छन् । जसमध्ये १ सय ५० भन्दा बढी त संघीय राजधानी काठमाडौंमै व्यवसायिक रुपमै कलाकारितामा सक्रिय हुनेहरु रहेको समाजले जनाएको छ । एउटै भेग भुगोलको भावना अनुसार समाज जन्मिएको र पहिलो पहल प्रयासमा भर्चुअल भैलो गरिए पनि यो सफलता उन्मुख रहेको समाजका सदस्य कलाकार दुर्गा बिरहीले बताए ।

भर्चुअल भैलो १० लाख बढी संकलन

हुन त तिहारको यमपञ्चक शुरु हुन अझै केही दिन बाँकी नै थियो।तर, बागलुङ कलाकार समाजले गत कात्तिक ६ गते देखि नै भर्चुअल भैलो प्रारम्भ ग¥यो । जसले कतिपयले समाजको उद्देश्य, सोच र प्रयास राम्रो भए पनि केही हतारो गरेको प्रतिक्रिया दिए । ‘यही कार्य तिहारको पहिलो दिनबाट शुरु गरेको भए अझ सुनमा सुगन्ध थपिन्थ्यो,’ कलाप्रेमी बिराज थापाले भने ।

बागलुङ कलाकार समाजको भने यसमा आफ्नै तर्क छ । अध्यक्ष थापा भन्छन्, ‘खासमा तिहार सुरु भएपछि खेलेको राम्रो त हो, फेरि पनि राम्रो उद्देश्य सोच लिएर गर्दा खासै फरक पर्दैन भन्ने हो, यसमा हामी मौलिकता सहितको भैलो भएकाले केही पूर्व तयारी गर्नुपर्ने थियो, जसलाई हामीले आजको भर्चुअल दुनियाँमा भर्चुअल भैलो नाम दिएर विश्वभर रहेका दानवीर, शुभेच्छुकहरुलाई हाम्रो सहयोग सहकार्यको संस्कृति, सद्भाव र परम्परासँग जोड्न उपयोग गरेका हौ ।’

हिजोको समाज जस्तो थियो, आज त्यस्तो छैन । हिजोका मानिस जति सहयोगी, सरल र कोमल हृदयका थिए, आजका छैनन् भन्दा अत्युक्ति नहोला । यसो हुनुका पछाडि लामो कोरोना कहर, विश्वभर सिर्जित आर्थिक मन्दी लगायतले मानिसलाई केही अनुदार बनाइरहेको छ । यस हिसाबले अहिले आर्थिक संकलनका अभियान उति साह्रो प्रभावी देखिएका छैनन् । तर, समाजले सञ्चालन गरेको भर्चुअल भैलोमा विश्वका बिभिन्न देशबाट उत्साहजनक स्मार्ट दान प्राप्त भइरहेको समाजका सह–कोषाध्यक्ष कलाकार देवी घर्ति बताउँछिन् । ‘विश्वभरबाट स्वतस्फुर्त सहयोग दान आइरहेको छ, अहिले सम्म १० लाख भन्दा बढी संकलन प्राप्त भइसकेको छ,’ घर्तिले कथालिकासँग भनिन् ।यसपटकको भर्चुअल र भौतिक भैलोबाट २० लाख बढी संकलन गर्ने लक्ष्य राखिएको छ । बिभिन्न देशबाट युट्युवमा सार्वजनिक भर्चुअल भैलो हेरेर अहिले पनि दान सहयोग गर्ने क्रम जारी नै छ । यसले लक्ष्यको नजिक पुग्न सक्ने घर्तिले बताइन् ।

लोपोन्मुख कला, संगीत संरक्षण र मानव सेवा

भैलोबाट संकलित रकमबाट कल्याणकारी कोष खडा गर्ने समाजको योजना छ । जसबाट भोलिका दिनमा बागलुङ सहित नेपालका लोपोन्मुख पुराना मौलिक गीतहरुको पुनः स्वरांकन, दृश्य सहित उत्थान,संरक्षण गर्ने र मानव सेवाका अनेकन आयाममा काम गर्ने अध्यक्ष थापाले बताए । ‘अहिलेको भर्चुअल र भौतिक उपस्थितिमा हुने भैलोमा पनि हामी मौलिक भाका र नाच सहित प्रस्तुत भइरहेका छौ, जसलाई धेरैले साथ र धन्यवाद दिइरहनु भएको छ,’ थापाले भने, ‘अब संकलित रकमबाट पनि मौलिक कला संगीतको प्रवद्र्धन संरक्षण गर्ने र मानव कल्याणका कामहरु गर्नेछौ ।’

भैलो सँगै अब बागलुङ कलाकार समाजलाई एक रहर लाग्दा संस्थाको रुपमा अघि बढाउने थापाले योजना सुनाए ।

२०८१, ९ कार्तिक शुक्रबार १४:३६
कथालिका नयाँ कथा
कथालिका