अविवाहित ध्यान बस्ने मुस्ताङको ‘कैह्योलोङ गुफा’ – कथालिका

अविवाहित ध्यान बस्ने मुस्ताङको ‘कैह्योलोङ गुफा’

  • थकाली भाषामा कैह्योलोको अर्थ बिहे नगरेको र ङलाई ओडार भन्ने गरिन्छ । बिहे नगरेका लामा ध्यान र तपस्या बस्ने ठाउँ भएकाले कैह्योलोङ गुफा नामकरण गरिएको थकाली बताउँछन् ।

नेपाली समाजका अधिक प्राचीन सम्पदाहरु अहिले बेवारिसे र जिर्ण अवस्थामा छन् । तिनको पहिले जसरी प्रयोग र लाभ त निकै कठिन छ । त्यसको संरक्षण, सम्बद्र्धन गरेर पर्यटकीय या अरु बिभिन्न किसिमले लिन सकिने लाभमा स्थानीय, स्थानीय सरकार र सरोकारवाला निकाय चुकिरहेका छन् ।

मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका-३ स्थित कैह्योलोङ गुफा प्राचिन कालको एक संग्रह हो । जसको यथोचित प्रचार प्रसारमा अहिले ओझेलमा छ । जोमसोमको प्रवेशद्वारमा रहेको स्याङ खोलाको किनारमा पर्ने कैह्योलोङ गुफा पूर्वाधार र प्रचारप्रसारको अभावमा सुनसान बनेको हो ।

स्याङखोलाको पुल भएर वार्षिक तीन लाख भन्दा बढी पर्यटक आवतजावत गर्ने मुस्ताङको कैह्योलोङ गुफा पुग्नेको सङ्ख्या नगन्यमात्रामा रहेको स्याङका बासिन्दा देवेन्द्र थकालीले बताए । ‘जोमसोमको प्रवेशद्वारमा भए पनि कैह्योलोङ गुफाको महत्व र विशेषताका बारेमा प्रचारप्रसारका साथै यहाँसम्म पुग्ने व्यवस्थित पदमार्ग नहुँदा ओझेलमा परेको हो’, उनले भने, ‘कैह्योलोङ गुफासम्म पुग्ने व्यवस्थित पदमार्ग र पर्यटन प्रवद्र्धनका कार्यक्रम गर्नसकेमा मुस्ताङमा आउने पर्यटकको बसाई लम्बाउन सकिने थियो ।’

ध्यान तपस्या बस्ने ठाउँ
स्थानीय प्रचलन अनुसार लामा बन्न ध्यान तपस्या अनिवार्य छ । जसमा सगुण ध्यान गर्नाले अणिमा आदि अष्ट सिद्घी प्राप्त हुन्छन् भने, निर्गुण ध्यानबाट समाधिको अवस्था प्राप्त हुने विश्वास छ ।

थकाली भाषामा कैह्योलोको अर्थ बिहे नगरेको र ङलाई ओडार भन्ने गरिन्छ । बिहे नगरेका लामा ध्यान र तपस्या बस्ने ठाउँ भएकाले कैह्योलोङ गुफा नामकरण गरिएको थकाली बताउँछन् ।

गुफाभित्र तीन वटा कोठा छन् । परापूर्वकालमा लामाहरूले खाना पकाउन र ध्यान बस्नका लागि प्रयोग गरेका सामग्रीहरू गुफामा अवलोकन गर्न पाइन्छ । स्याङखोलाको किनारमा रहेको पहाडको भित्तामा गुफा रहेको छ । स्याङखोलाको मोटरेबल पुलदेखि १० मिनेट पैदलयात्रा गरेपछि गुफामा पुगिन्छ ।

गुफा भित्र पनि घरमै बसेको आभाष

स्याङका पूर्ववडासचिव किरन सापकोटाले कैह्योलोङ गुफा मानव सभ्यताको विकाससम्बन्धी अध्ययन गर्नेका लागि खोजीको विषय बन्न सक्ने बताए । गुफाको बनोट र अवस्थिति देखेर अनौठो लागेको उनले अनुभव सुनाए । बाहिरबाट पहाडको बीचमा सानो प्वाल देखिए पनि भित्र पस्दा घरमै बसेको जस्तो महसुस हुने सापकोटाले प्रतिक्रिया दिए ।

जनकल्याण युवा क्लबले स्याङ खोलाको किनारबाट गुफासम्म पुग्ने करिब २० मिटर रेलिङसहितको पदमार्ग बनाइएको छ । स्याङखोलाको मोटरेबल पुलबाट गुफाको फेदीसम्म करिब पाँच सय मिटर पदमार्ग बनाउन आवश्यक छ । हाल खोलाको किनारै किनार हिडेर गुफामा पुग्नुपर्छ ।

पर्यटकको बसाई लम्ब्याउन सहयोगी

घरपझोङ गाउँपालिका–३ का वडा सदस्य वीरप्रसाद थकालीले जोमसोमको पुथाङ विमानस्थल, शिन्तामणि होटल, कैह्योलोङ गुफा, किचिथाङ झोलुङ पुल हुँदै स्याङ गाउँ जोड्ने छोटो दूरीको पदमार्गको परिकल्पना गरिएको जानकारी दिए । उक्त परिकल्पना अनुसार गाउँपालिकाले किचिथाङमा एक सय २० मिटर लामो झोलुङ्गे पुल, स्याङमा मनशान्ती पार्क निर्माण र स्याङखोलामा साउना बाथ सञ्चालन गरिएको उनले बताए ।

जोमसोमबाट शिन्तामणि होटल, किचिथाङको झोलुङ्गे पुल हुँदै स्याङ जोड्ने छोटो दूरीको पदमार्गले पर्यटकको बसाई लम्ब्याउने र पर्यटकलाई प्रकृतिमा रमाउन सहयोग पुग्ने उनको विश्वास छ ।

२०८१, ६ फाल्गुन मंगलवार ०७:२३
कथालिका नयाँ कथा
कथालिका