- नेपालको एक मात्र सिकार आरक्ष रहेको ढोरपाटन र त्यस माथिको बुकी पुग्दा देखिने अनगिन्ती रंगीचंगी फूलहरुले यहाँ पुग्ने जो कोहीलाई सिंगो बुकी पाटन एक बगैँचा जस्तो लाग्छ ।
नेपालको एक सुन्दर पर्यटकीय गन्तव्य हो ढोरपाटन । हरेक ऋतुमा भिन्न-भिन्न स्वरुप र सुन्दरतामा देखिने ढोरपाटन र बुकीसँग जो कसैलाई मोहित र मन्त्रमुग्ध बनाउने सामर्थ्य छ । बर्खायाममा क्षणभरमै बादलुको घुम्टो भित्र लुक्ने र खुल्ने, फूलै फूलहरुको एक प्राकृतिक बगान हो ढोरपाटन र बुकी ।
एक बगैँचा जस्तो सिंगो बुकी पाटन
नेपाली शब्दकोष या संसारमा सबै भन्दा प्रियकर शब्द खोज्ने हो भने त्यो शब्द आमा होला । यसपछिको सम्भवतः अर्को प्रियकर, सुन्दर बिम्ब, कोमल र हृदयस्पर्शी शब्द हो फूल । आमा जस्तै फूलको पनि त के बयान गरी साध्य छ र ? संसारमा कति थरीका फूल छन् ? भुगोलको विविधता रहेको नेपालमै कति थरिका फूल फूल्छन् ? यसमा गहिरो खोज, अध्ययन आवश्यक छ ।
नेपालको एक मात्र सिकार आरक्ष रहेको ढोरपाटन र त्यस माथिको बुकी पुग्दा देखिने अनगिन्ती रंगीचंगी फूलहरुले यहाँ पुग्ने जो कोहीलाई सिंगो बुकी पाटन एक बगैँचा जस्तो लाग्छ । काठमाडौंबाट बुकी पुगेका टेक तामाङ ढोर र बुकी पाटनको सुन्दरताले लोभिएको बताउँछन् । ‘जता हेर्दा पनि सुन्दर हराभरा फूलहरु, मनोरम पाटनले मोहित बनाउँदो रहेछ,’ उनले भने, ‘तर, ढोरपाटन आउने पर्यटकलाई सहज र सुविधाजनक तबरबाट यात्रा गर्न गराउन आरक्ष कार्यालय, स्थानीय पर्यटन व्यवसायीले काम गर्नुपर्ने देखिन्छ ।’
नेपालमा ३१२ प्रजाति फूल
वनस्पति विभागले दिएको जानकारी अनुसार संसारभर पाँच हजार ३ सय ९ प्रकारका फूल फुल्छन् । जसमध्ये नेपालमा मात्र ३१२ प्रजाति पाइने गरेको हो । यसमध्ये गुराँस मात्र ३१ किसिमका फुल्छन् ।
फूल फुल्ने तीन सय भन्दा बढी, १३१ च्याउ तथा ढुसी, दुई वटा उन्यु र ३० वटा काई प्रजातिका वनस्पति नेपाल बाहेक अन्त पाइँदैन । ३७८ प्रजातिका वनस्पतिको वैज्ञानिक नाम नेपालसँग जोडिएका छन् ।
ढोरपाटनमा कति प्रजातिका फूल ? अनविज्ञ छ आरक्ष
ढोरपाटन र बुकी क्षेत्रमा मात्रै दर्जनौ प्रकारका फूलहरु फुल्छन् । हरेक ऋतुमा भिन्न भिन्न फूलहरु फुल्ने यस क्षेत्रमा कति थरिका फूलहरु फुल्छन् त ? यसबारे ढोरपाटन सिकार आरक्ष अहिले सम्म आफै अनविज्ञ छ ।
‘बुकी लगायत धेरै थरिका फूलहरु फुल्छन् तर कति थरिका फुल्छन् भनेर अहिले सम्म आरक्षले पनि अध्ययन गरेको छैन, अरु निकायबाट पनि अध्ययन नभएकाले ठ्याक्कै भन्न सकिने अवस्था छैन,’ ढोरपाटन सिकार आरक्ष कार्यालयका सूचना अधिकारी पशुपति अधिकारी कथालिकासँग भन्छन्, ‘तल्लो पाटन उपत्यकामा पाइने फूलहरु बुकी क्षेत्रमा भिन्न रङमा फुलिरहेका छन्, स्थानीय मगर समुदायले पुख्र्यौली रुपमा बिभिन्न नाम दिएका छन्, तर त्यसको एकिन वैज्ञानिक नाम पत्ता लगाउनु पर्नेछ । अहिले सम्म आरक्ष कार्यालयको तर्फबाट पनि यस विषयमा केही काम भएको रहेनछ, अरु स्थानीय र सरोकारवाला निकायबाट पनि अध्ययन अनुसन्धान भएको हामीलाई जानकारी छैन, अघिल्लो वर्ष केही सुरु गरेका छौ, अब अलि व्यवस्थित रुपमा अघि बढाउँछौ ।’
बुकी फूल हो कि घाँस ?
बुकी फूल हो कि घाँस हो रु धेरैलाई द्धिविधा छ । बुकी भनेको धेरै पहाडी ठाउँमा सेतो रङको फूल हुन्छ । जुन तिहारमा तोरण बनाउँदा, गाई पुजा गर्दा पनि प्रयोग गरिन्छ । तर, ढोरपाटन बुकी भने सेतो रङका अलावा पनि देखिन्छ । उसो त गाइवस्तु चरिचरणका लागि लैजाने भएकाले बुकी घाँस भन्ने अर्थमा पनि स्थानीयले लिन्छन् ।
बुकी फूल र घाँस दुवै भएको ढोरपाटन सिकार आरक्ष कार्यालयका सूचना अधिकारी पशुपति अधिकारी बताउँछन् । ‘यसको साझा रुपलाई बुकी पाटन भनियो, बुकी घाँस भनेको कुवा स्पेसिस भन्छ अंग्रेजीमा, यसमा सयौं प्रजातिहरु हुन्छन्, गाइबस्तुहरु चर्ने भनेको कुवास्पेसिस नै हो । अब ती सँगसँगै अरु भनेको ठाउँ अनुसार फुल्ने फूलहरु हुन् । विशेष गरेर जहाँ अलि मलिलो, चिस्यान छ, त्यहाँ बुकी फूल बढी फुल्छन्, भेडिगोठले मल हुने भएकाले फूलहरु राम्रो फुल्छ, अब अघिल्लो वर्ष लामो समय खडेरी प¥यो, बुकी फूल कम फुले ।’
तल्लो षेत्राम असोज कात्तिकमा फुल्ने फूलहरुलाई बुकी फूल भनिन्छ भने माथिल्लो क्षेत्रमा अहिलेको सिजनमा सयौं थरिका फूलहरु फुल्छन्, यी सबैलाई समष्टिगत रुपमा बुकी फूल भनिने अधिकारी बताउँछन् ।
फूलमा फोटो
चाहे ९,३५० फिटको उचाई देखि १८,०४० फिट उचाईको ढोरपाटन उपत्यका क्षेत्रमा फुलिरहेका बिभिन्न थरीका फूल हुन् या ४,८०० सय मिटर भन्दा बढीको उचाइमा रहेको जाल्पा ताल आसपास र त्यहाँ पुग्ने बाटोमा फुलेका फूलहरु हुन् । तिनै फूलहरुले सबै भन्दा बढी लोभ्याइरहेछन् आन्तरिक र बाह्य पर्यटक ।
फूलसँग सेल्फी खिच्नेदेखि त्यही फूलको पृष्ठभूमिमा घोडामा चढेर टिकटक, रिल बनाउने मानिसको यसवर्ष अत्यधिक भिड लागेको पर्यटन व्यवसायी जीवन पुन बताउँछन् । ‘ढोरपाटन उपत्यकादेखि माथि बुकी लेँक सम्म रंगीचंगी फूलहरु फुलिरहेका छन्, त्यसमा सबै भन्दा धेरै पर्यटकहरु भुलिरहेका छन्,’ पाखाथर होम स्टेका सञ्चालक समेत रहेका पुनले भने, ‘पाटन, भेडिगोठ, हिमालहरु पनि आकर्षणका विषय हुन् तर भूइँफूलहरुले नै धेरै पर्यटक तानिरहेका छन् ।’
फूल टिप्ने, किच्ने र फाल्ने प्रवृत्तिले मासिने खतरा
ढोरपाटन उपत्यका र माथि बुकीमा ढकमक्क फुलेका फूलहरुले जति सुन्दरता र पर्यटक बढाएका छन्, त्यति नै त्यहाँ पुग्ने पर्यटकले गर्ने लापरबाही र जथाभावी गतिविधिले ढोर र बुकी कुरुप बन्ने मात्र होइन, यस क्षेत्रको पर्यावरणमा समेत समस्या र संकट आउने केही परिदृश्य र चिन्ता समेत व्यक्त हुन थालेको छ ।
चौरीखर्क लगायतमा जथाभावी प्लाष्टिक, बोतल, सिसा फाल्ने र जथाभावी दिशापिसाव गर्दा बुकी पाटन फोहोर भएको छ भने प्लाष्टिक खाएर गाइ भैँसी भेडा बाख्राहरु मरेको गुनासो छ । ‘नेपालीहरु पनि पछिल्लो समय बिभिन्न स्थानमा घुमेको रमाएको देख्दा मलाई पनि जाउँ जाउँ लाग्यो तर एउटा दुःखको कुरा बाहिरबाट घुम्न गएकाहरुले फोहोर गरिदिएका कारण बिभिन्न समस्या र घटनाहरु देखिएका छन्’, प्रेम बुढाले भने, ‘हामी यस्ता पर्यटकीय गन्तव्यमा रमाउने मात्र होइन, आफ्नो कर्तव्य पनि निर्वाह गर्नुपर्छ ।’
‘फूल नामाकरणमा खोज अध्ययन र संरक्षणमा ध्यान’
ढोरपाटन र बुकीमा यात्रा गर्दा अनेकौं रङका फूलहरु पाइन्छन् । तर, ती फूलहरुको नाम न त यस क्षेत्रको संरक्षण गर्दै आएको ढोरपाटन सिकार आरक्षलाई छ, न त स्थानीयलाई नै सबै खालको फूलहरुको जानकारी छ । कतिपय फूलहरु तल उपत्यकामा एउटा रङको फुल्छ, त्यही फूल माथि बुकीमा अर्कै रङको फुल्छ ।
ढोरपाटन सिकार आरक्ष कार्यालयका सूचना अधिकारी पशुपति अधिकारीले बुकीको फूलहरुको अनुसन्धानका लागि भनेर छुट्टै बजेट बिनियोजन गरिएको नभए पनि त्यसमा काम गर्ने कथालिकाकर्मी सँग प्रतिबद्धता जनाए । ‘अहिले फूलकै अध्ययन गर्ने भनेर बजेट कार्यक्रम त केही छैन, फेरि पनि यो आरक्षको जिम्मेवारी हो,’ अधिकारी भन्छन्, ‘ढोरपाटन र बुकीमा पर्यटकको उपस्थिति बढेसँगै यसबारेमा चासोहरु देखिन थालेका छन्, जुन सकारात्मक कुरा हो, हामी पनि स्थानीय मगर समुदाय, विश्वकर्माहरु सँग समन्वय गरेर स्थानीय जात पहिचान गर्छौ, त्यसपछि वनस्पतिको वैज्ञानिक नामहरु क्रमशः पत्ता लगाएर दस्ताबेजीकरण गर्नेछौ ।’