दुर्लभ सफलताः नेपालमै तेस्रोपटक मिर्गौला प्रत्यारोपण – कथालिका

दुर्लभ सफलताः नेपालमै तेस्रोपटक मिर्गौला प्रत्यारोपण

  • तेस्रोपटक प्रत्यारोपण गर्नुपर्ने अवस्था भने अत्यन्तै दुर्लभ हुन्छ, प्राविधिक जटिलता, औषधीय चुनौती तथा दाता पाउन कठिनाइ हुने र जोखिम झनै बढी हुने हुँदा तेस्रो प्रत्यारोपण संसारमै सीमित मात्रामा हुने गरेको छ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले एकै व्यक्तिमा तेस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको छ।

केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले नेपालमै पहिलोपटक एकै व्यक्तिमा तेस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेर इतिहास रच्ने काम भएको बताए।

तेस्रोपटक प्रत्यारोपण निकै जटिल रहने भए पनि सफल भएकाले अब मिर्गौला प्रत्यारोपणका लागि नेपालमै सम्भव छ भन्ने उदाहरण स्थापित भएको उनले बताए।यही भदौ ९ गते सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तथा सांसद लक्ष्मणकिशोर चौधरीको तेस्रोपटक मिर्गौला प्रत्यारोपण सम्पन्न गरी उनलाई आज ‘डिस्चार्ज’ गरिएको डा. श्रेष्ठले जानकारी दिए।

१५ वर्ष अघि दोस्रोपटक सफल प्रत्यारोपणको त्यो जोखिम र चर्चा

२०६७ सालमा नेपालमा पहिलोपल्ट एकै व्यक्तिमा मिर्गौलाको दोस्रोपटक प्रत्यारोपण गरिएको थियो। अर्घाखाँची अर्घा गाविसका ४७ वर्षे धर्मराज पौडेलमा उनकी पत्नीको एन्टी थाइमोसाइड ग्लोब्युलिन (एटिजी) नामक महँगो र जोखिमपूर्ण प्रविधि प्रयोग गरेर दोस्रोपटक वीर अस्पतालमा प्रत्यारोपण सम्भव भएको हो। एकपटक प्रत्यारोपण गर्दै शरीरमा रोगसँग लड्ने कोष ९एन्टिबडी० चाहिने भन्दा बढी उत्पादन हुने भएकाले दोस्रोपटक मिर्गौला तत्काल नष्ट हुन सक्ने चिकित्सकको भनाइ थियो।

त्यसलाई रोक्ने एटिजीको प्रयोगले सबै कोष मारिदिएर ज्यानै जाने सम्भावना पनि हुन्छ। उच्च रक्तचापको पुरानो समस्याका कारण पौडेलमा एन्टिबडीको मात्रा बढी थियो।केही मिर्गौला रोग विशेषज्ञले नेपालमा सम्भव नहुने भन्दै भारत जान सुझाव दिए पनि खर्च अभावले सम्भव नभएको उनी गएनन्।

बेलायतमा लामो समय काम गरेर आएका वीरका प्रत्यारोपण विशेषज्ञ डा.पुकारचन्द्र श्रेष्ठसँग भेटेरै कुरा गरेपछि आफू जोखिम लिन तयार भए । यसै मर्ने अवस्था थियो, जे पर्ला भनेर आँट आयो, र तत्कालीन समयमा पहिलो पटक दोस्रो प्रत्यारोपण गरियो। जुन सफल पनि भयो र एक सातामा पौडेल स्वस्थ भएर घर फर्केका थिए ।त्यसपछि एटिजी प्रयोग गरेर वीर अस्पतालमा अरु पनि प्रत्यारोपण गरिएको थियो।

तेस्रो प्रत्यारोपण संसारमै सीमित

‘सामान्यतया मिर्गौला प्रत्यारोपण एकपटक सफल भए पछि लामो समयसम्म प्रत्यारोपित मिर्गौलाले काम गर्ने गर्दछ, तर इम्युनोलोजिकल अस्वीकार, संक्रमण, क्रोनिक अलोग्राफ्ट, नेफ्रोप्याथी लगायत विविध समस्याले मिर्गौला असफल हुन सक्ने सम्भावना रहन्छ। यस्तो अवस्थामा दोस्रो प्रत्यारोपण गरिन्छ, तर तेस्रोपटक प्रत्यारोपण गर्नुपर्ने अवस्था भने अत्यन्तै दुर्लभ हुन्छ’, उनले भने, ‘प्राविधिक जटिलता, औषधीय चुनौती तथा दाता पाउन कठिनाइ हुने र जोखिम झनै बढी हुने हुँदा तेस्रो प्रत्यारोपण संसारमै सीमित मात्रामा हुने गरेको छ। मैले बेलायतमा यस्तो जोखिमपूर्ण प्रत्यारोपण गरेको अनुभव भएकाले नेपालमा सम्भव भएको हो। अब हामी जटिल प्रत्यारोपणका लागि सक्षम छौँ।’

गैर–नातेदार बीच अंग साटासाट

चौधरीको पहिलो मिर्गौला प्रत्यारोपण भारतको लखनऊमा गरिएको थियो भने विसं २०७२ मा दोस्रो र हाल तेस्रो प्रत्यारोपण सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डा पुकारचन्द्र श्रेष्ठकै नेतृत्वमा गरिएको हो। चौधरीको तेस्रो प्रत्यारोपण ‘पेयर एक्सचेन्ज’ प्रणाली अन्तर्गत गैर-नातेदार बीच अंग साटासाट गरी गरिएको उनले जानकारी दिए।

नेपालमा एकै व्यक्तिमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण वीर अस्पतलमा डा श्रेष्ठकै नेतृत्वमा सन् २०१० मै सुरु भएको र तेस्रो प्रत्यारोपण भने अत्यन्तै दुर्लभ उपलब्धि भएको केन्द्रले जनाएको छ।प्रत्यारोपण केन्द्रले स्थापनाको १३ वर्षमा १ हजार ५०२ जनाको सफल मिर्गौला प्रत्यारोपण तथा ३५ जनामा कलेजो प्रत्यारोपण सम्पन्न गरिसकेको जनाएको छ।

‘आफ्नै देशभित्र गुणस्तरीय सेवा लिन पाउनु निकै खुसीको कुरा’

नेपालमै पहिलो पटक एकै व्यक्तिमा तेस्रो पटक मिर्गौला प्रत्यारोपण गराउने सुदूरपश्चिम प्रदेशका सांसद लक्ष्मणकिशोर चौधरी हुन् ।

प्रत्यारोपण गरिएको १२औँ दिनमा चौधरी शनिबार अस्पतालबाट डिस्चार्ज भएका टीकापुर नगरपालिका–५ कैलालीका चौधरी नागरिक उन्मुक्ति पार्टीका नेता हुन् । उनी २०७९ को प्रदेशसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ बाट निर्वाचित भएका थिए । दुई पटक मन्त्री समेत भइसकेका छन् ।

पहिला शिक्षा, स्वास्थ्य तथा खेलकुद मन्त्री भएका चौधरीले करिब डेढ महिनामा पदमा रहेका थिए । दोस्रो पटक उद्योग, पर्यटन तथा वन वातावरण मन्त्री रहेको उनी करिब ८ महिना पदमा रहे । मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएपछि आफूले पदबाट राजीनामा दिएको चौधरीले बताए ।

३३ वर्षको उमेरमा पहिलो पटक मिर्गौला फेल भएपछि सन् २००९ मा चौधरीले भारतमा गएर मिर्गौला प्रत्यारोपण गराएका थिए । त्यसपछि २०७२ सालमा राष्ट्रिय प्रत्यारोपण केन्द्रमै उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो । कोभिड–१९ संक्रमण, निमोनिया र फंगल संक्रमणका कारण दोस्रो पटक प्रत्यारोपण गरिएको मिर्गौला खराब भएको डा.पुकार चन्द्र श्रेष्ठको भनाइ छ ।

नेपालको सरकारी स्वास्थ्य संस्थामा तेस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गराउनु पाउनु निकै खुसीको कुरा भएको प्रदेशसभा सदस्य चौधरीले बताए ।आफूलाई शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको स्रोत, साधन र जनशक्तिप्रति पूर्ण विश्वास रहेकाले नै तेस्रो पटक पनि यहीँ प्रत्यारोपण गराएको उनले सुनाए । ‘हामी जनप्रतिनिधिले नै यहाँका सरकारी स्वास्थ्य संस्थाको सेवामा विश्वास नगरे कसले गर्ने ?,’ चौधरीले भने, ‘आफ्नै देशभित्र यो खालको सेवा लिन पाउनु निकै खुसीको कुरा हो ।’ भारतमा प्रत्यारोपण गर्दाको भन्दा यहाँको सेवामा कुनै कमी नभएको उनको भनाइ छ ।

राष्ट्रिय प्रत्यारोपण केन्द्रमा बिरामीको अत्यधिक चाप रहेकाले त्यो अनुसार अस्पतालको आफ्नै भवन लगायतका पूर्वाधार तयार गर्न आवश्यक भएको उनले बताए ।

२०८२, २१ भाद्र शनिबार १४:१४
कथालिका नयाँ कथा
कथालिका