सादा जीवन उच्च विचार, अचेल यो त एकादेशको कथा जस्तो बन्न थालेको छ । हामीले जसलाई आदर्श नेता र नेतृत्व मान्दै आएका छौ, उनीहरु न साधारण देखिन्छन्, न उच्च विचार भएका नै । केवल स्वार्थ समूहमा लिप्त या त्यसबाट ग्रसित भएकाहरु नै छरपष्ट देखिन्छन् ।
यही भिडमा साधारण जीवनशैली अपनाउँदै आएका महावीर पुन एकाएक शिक्षा तथा विज्ञान प्रविधि मन्त्री बने । मन्त्री बने पनि उनी साधारण जीवनशैलीमै देखिरहेका छन् । जसलाई मिडिया र युट्युवहरुले पछ्याइरहेका छन् ।
न कुनै सुरक्षाकर्मी, न सरकारी सवारी
शिक्षामन्त्री महावीर पुन श्रीमतीसँग पोखरामा सडकमा हिँडिरहेका तस्बिर भाइरल भइरहेछ । मन्त्रीले पाउने सुरक्षाकर्मी बेला बेलामा मात्रै देखिन्छ । सरकारी गाडी लगायत सुविधा बिना नै उनी हाफ पाइन्ट, टिसर्ट, ह्याट र सामान्य चप्पल लगाएर श्रीमतीसँगै सडकपेटीमा हिँड्छन् ।
अरू बेला जिल्लामा मन्त्री आउँदा अघि पछि प्रहरीको स्कर्टिङ र झण्डावाला गाडीमा मन्त्रीको सवारी हुन्थ्यो । दसैं मनाउन मंगलबार काठमाडौंबाट पोखरा हिँडेका महावीर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ट्याक्सी चढेर नदीपुर घर गए । उनका साथमा न कुनै सुरक्षाकर्मी थियो न सरकारी सवारी ।
पोखरामा सुरक्षाकर्मी पठाउन खोज्दा अस्वीकार
शिक्षामन्त्री पुन घर जाँदा आम मान्छे जसरी नै गए । पोखरा आइपुगेपछि उनलाई कास्की प्रहरीले मंगलबार साँझ नै सुरक्षा दिन खोजेका थिए । तर मन्त्रीले आफूलाई कुनै असुरक्षा नभएकाले सुरक्षाकर्मी आवश्यक नभएको बताए । ‘हामीले हिजो नै मन्त्री ज्युलाई सुरक्षाकर्मी पठाउन खोजेका थियौं, मलाई केही छैन पर्दैन भन्नुभयो,’ कास्की प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले भने, ‘उहाँले पर्दैन भनेपछि हामीले पनि पठाएनौं ।’
पोखराको सडकपेटीमा हिँडिरहेको मन्त्री पुनको भाइरल फोटो भने मंगलबार बिहानको थियो । उनी नदीपुरबाट श्रीमतीसहित न्यूरोड गए । अरू आम मानिस जसरी जान्छन्, त्यसरी नै उनी बजार निस्किए । त्यही बेला खिचिएको फोटो सामाजिक सञ्जालमा भाइरल भएको हो ।
अरू मानिसहरू आश्चर्यचकित भएको उनको सादगी तस्बिरबारे उनी आफू भने कुनै आश्चर्यमा मान्दैनन् । मन्त्री हुँदामात्र होइन, अरूबेला पनि यसरी नै आम मान्छे जसरी हिँडडुल गर्ने पुनका अनुसार त्यतिबेला उनी एटिएम गएका थिए । ‘विहान श्रीमती र म एटिएमबाट पैसा निकालौं भनेर गएको थिएँ, त्यही बेलाको फोटो हो त्यो,’ उनले भने, ‘यसमा आश्चर्य मान्नुपर्ने कुरा छैन ।’
प्रंशसा बढी, आंशिक ‘स्टन्ट’को आरोप
मन्त्री भएर पनि आम मान्छेझैं हिँड्डुल गरिरहेका पुनको लवाइखवाई र बोलीचाली पनि आम मान्छेकै जस्तो देखिएको भन्दै उनको धेरैले प्रशंसा गरेका छन् ।
मन्त्रीले पनि तडकभडक नगरी सादगी जीवन बाच्न सक्छ भन्ने उदाहरण पुनले दिइरहेका छन् । जसले मन्त्री हुँदा साथ तडकभडक र शक्ति आडम्बर प्रदर्शन गर्ने प्रवृत्तिले गतिलो प्रहार गरिरहेका छन् । यद्यपि, कतिपयले भने उनको यो साधारण जीवनशैली प्रति सस्तो लोकप्रियता स्टन्टको संज्ञा दिइरहेका छन् ।
चितवनमा दशैं
अहिले महावीर चितवन गइसकेका छन् । चितवनमा उनका बहिनी र भाइका परिवार बस्छन्। परिवारको जेठो भएकोले बहिनी र भाइका परिवारलाई टिका लगाइदिने उनले बताए । ‘मेरो बहिनी, भाइका परिवार सबै चितवनमा छन्, टीका लगाइदिउँ भनेर आएको हुँ,’ उनले भने, ‘भोलि पोखरा फर्केर शनिबार काठमाडौं जाने योजना छ ।’