शाहरुख खान, अहिलेको समयका सर्वाधिक सफल र लोकप्रिय कलाकार हुन् । विश्वव्यापी रुपमा उनको जुन स्तरको लोकप्रियता छ, त्यो दुर्लभ छ ।
दिल्लीका एक सामान्य युवा, जसको सपना आर्मीमा गएर देशको सेवा गर्ने थियो, उनी खेलकुदमा पनि अगाडि थिए र आफ्नो कलेजको हक्की टोलीको कप्तान थिए । तर एक दिन अचानक उनलाई चोट लाग्यो । त्यसपछि उनको खेल करियर समाप्त नै भयो।तर उनी शून्यलाई धेरै खास मान्छन्, किनभने शून्यले एउटा नयाँ सुरुवात दिन्छ। त्यसपछि उनले थिएटरमा अभिनय गर्न सुरु गरे र केही वर्षमै बने, बलिउडका सुपरस्टार। हो, हामी शाहरुख खानको कुरा गर्दैछौँ।
आज उनै सुपरस्टार शाहरुख खानको ६० औँ जन्मदिन, यस सन्दर्भमा उनको जीवन र करियरबारेको प्रेरक कथा प्रस्तुत गरेका छौ ।
१. प्रार्थनामा त्यो शक्ति छ, जसले जीवन बदल्न सक्छ
जब शाहरुख १५ वर्षका थिए, तब उनका बुबाको निधन भयो। त्यसपछि सन् १९९१ मा, जब उनी २६ वर्षका थिए, उनकी आमाको पनि देहान्त भयो।
शाहरुखले अनुपम खेरको शोमा बताएका थिए कि जुन दिन उनकी आमाले अन्तिम सास लिइन्, त्यस दिन उनी दिल्लीको बत्रा हस्पिटलको पार्किङमा बसेर प्रार्थना गरिरहेका थिए। कसैले उनलाई भनेको थियो कि यदि उनले लगातार प्रार्थना पढिरहे भने, आमालाई केही हुनेछैन।
शाहरुखले भने, ‘मलाई सय पटक प्रार्थना पढ्न भनिएको थियो, तर मैले सयभन्दा बढी पटक पढेँ। मलाई विश्वास थियो कि मेरो प्रार्थनाले आमालाई रोक्नेछ।’
तर, त्यही बेला डाक्टर आए र भने- “तपाईं आईसीयूमा जान सक्नुहुन्छ।” शाहरुखले बुझे कि अब आमाको अन्तिम समय आयो। उनी जान चाहँदैनथे, किनभने उनलाई लाग्थ्यो कि यदि उनले प्रार्थना जारी राखे भने आमा बचिहाल्नुहुन्छ, तर दिदी र परिवारले कर गरेपछि उनी भित्र गए।
शाहरुखले अगाडि भनेका थिए, ‘मलाई लाग्छ कि मानिस तब मात्र संसार छोड्छ, जब ऊ हरेक चीजबाट सन्तुष्ट हुन्छ, किनभने यदि त्यसो नभएमा, आमा-बुबाले बच्चाहरूलाई छोड्न सक्दैनन्।’ त्यसैले उनले आमालाई भने-‘यदि तपाईं जानुभयो भने म दिदीको हेरचाह गर्ने छैन, पढ्ने छैन, केही गर्ने छैन।’
उनले सोचिरहे, यदि आमालाई लाग्यो कि छोरा अझै अपूरो छ, तब सायद उनी रोकिइहाल्नुहुन्छ किरु तर सायद आमालाई भरोसा थियो कि शाहरुखले सबै सम्हाल्नेछन्। सायद यही प्रार्थना र अपूरो इच्छाले शाहरुख खानको जीवनलाई बदल्यो र उनलाई आज त्यो बनायो, जसको कल्पना सायद उनका आमा-बुबाले पनि गरेका थिए होलान्।
२. प्रेम सबैभन्दा ठूलो शक्ति हो, जोखिम मोल्नुपर्छ भने मोल्नुहोस्
शाहरुख खान र गौरीको प्रेम कथा यस कुराको प्रमाण हो, प्रेम संसारको सबैभन्दा ठूलो शक्ति हो र यो धर्म र सामाजिक स्तरभन्दा धेरै माथि छ।
सन् १९८४ मा, जब शाहरुख १९ र गौरी १४ वर्षकी थिइन्, दुवै दिल्लीको एउटा पार्टीमा भेटेका थिए र शाहरुखलाई पहिलो नजरमै गौरीसँग प्रेम भयो। उनीहरूको प्रेम कहानीमा धेरै समस्याहरू आए, विशेषगरी धर्म र परिवारबाट विरोधका कारण। एक पटक जब गौरी शाहरुखको अत्यधिक अधिकार जमाउने व्यवहारले दिक्क भएर मुम्बई गइन्, तब शाहरुख उनको पछि लागेर मुम्बई गए र अन्ततः दुवैले गोरेगाउँ समुद्री तटमा मेलमिलाप गरे।
गौरीको परिवारको अगाडि शाहरुख ५ वर्षसम्म हिन्दु बनेर रहे, तर जब सत्य बाहिर आयो, तब उनले धेरै समस्याहरूको सामना गर्नुपर्यो। गौरीको परिवारलाई मनाउनका लागि शाहरुखले धेरै प्रयास गरे। यस कारण दुवैले तीन पटक विवाह गर्नुपर्यो। पहिलो कोर्ट म्यारिज ९अदालती विवाह०, दोस्रो मुस्लिम रीतिरिवाज अनुसार निकाह र तेस्रो पञ्जाबी शैलीमा विवाह।
सन् १९९१ मा दुवैको विवाह भयो। आज, विवाहको तीन दशकभन्दा बढी समयपछि, उनीहरू न केवल बलिउडका सबैभन्दा बलियो जोडीमध्ये एक हुन्, एउटा सफल प्रोडक्सन कम्पनी ‘रेड चिलिज इन्टरटेनमेन्ट’ पनि चलाउँछन्। उनीहरूका तीन सन्तान आर्यन खान, सुहाना खान र अबराम खान छन्। शाहरुखको घरमा सबै धर्महरूको सम्मान छ र सबै चाडपर्वहरू मनाइन्छ।
३. साना कदमले ठूलो गन्तव्यसम्म पुर्याउँछन्
शाहरुखको करियरबाट हामी सिक्न सक्छौँ कि जीवनमा ठूलो सफलता हासिल गर्नका लागि सुरुवात साना पाइलाहरूबाट गर्नुपर्छ र जोखिम मोल्नु आवश्यक छ। शाहरुखले आफ्नो करियरको सुरुवात टिभी सिरियलबाट गरे। उनले फौजी १९८९, दिल दरिया १९८८ र सर्कस जस्ता टिभी शोहरूमा काम गरे। यी शोहरूमा आफ्नो दमदार प्रदर्शनपछि मात्र शाहरुखलाई फिल्महरूको प्रस्ताव आउन थाल्यो र सन् १९९२ मा उनले फिल्म दिवानाबाट बलिउडमा डेब्यु गरे।
त्यसपछि जब उनी फिल्ममा आए, तब उनले केवल हिरोको भूमिकाको पछि नलागि ‘बाजीगर’ र ‘डर’ जस्ता फिल्महरूमा नकारात्मक पात्रको भूमिका निभाए र बेग्लै पहिचान बनाए। फिल्म ‘डर’को समयमा सनी देओल एक स्टार थिए, जबकि शाहरुख नयाँ कलाकार थिए। उनले खलनायकको भूमिका निभाए, तर उनको शानदार अभिनयले उनको भूमिकालाई धेरै लोकप्रिय बनायो।
शाहरुख खानले सन् १९९४ मा ३९औँ फिल्मफेयर अवार्ड्समा फिल्म ‘बाजीगर’ का लागि सर्वश्रेष्ठ अभिनेता बेस्ट एक्टरको अवार्ड पाए। त्यही वर्ष ‘डर’ का लागि सर्वश्रेष्ठ खलनायकको लागि पनि मनोनीत भएका थिए। त्यस्तै, फिल्म ‘अंजाम’ १९९४ का लागि उनले सर्वश्रेष्ठ खलनायकको फिल्मफेयर पुरस्कार पाएका थिए।
४. आफ्नो क्षमतामा विश्वास गर्नुहोस्, संसारले मान्नेछ
जब शाहरुखले धेरै कम फिल्महरू गरेका थिए, तब पनि उनमा आत्मविश्वासको कमी थिएन। शाहरुखले आफैँ पत्रकार रजत शर्मालाई भनेका थिए कि जसरी तपाईं आफ्नो शो ‘आप की अदालत’ मा राजेश खन्नालाई लिएर आउनुभयो, त्यसरी नै मलाई पनि लिएर आउनुहोस्।
त्यसपछि जब रजत शर्माले शाहरुखलाई आफ्नो शोमा बोलाउने विचार गरे, तब उनको निर्माण टोली हिचकिचाइरहेको थियो। टोलीको भनाइ थियो कि अहिलेसम्म उनीहरूले राजेश खन्ना जस्ता सुपरस्टारलाई मात्र बोलाएका थिए र कुनै नयाँ कलाकारलाई बोलाउनु उनीहरूको शोको स्तरविपरीत हुन सक्छ।
यद्यपि रजत शर्माले शाहरुखलाई आफ्नो शोमा बोलाए। शो धेरै शानदार रह्यो र शाहरुखले सबै प्रश्नहरूको जवाफ ठूलो आत्मविश्वासका साथ दिए।
शाहरुखले पछि आफैँ रजत शर्मालाई बताएका थिए कि यस अन्तर्वार्ता पछि यदि उनका शुभचिन्तकहरूको संख्या ५ हजार थियो भने, त्यो बढेर ५ लाख भयो।
त्यस्तै, करियरको सुरुवातमा शाहरुखलाई उनको रूप (लुक्स) को आधारमा पनि मूल्याङ्कन गरियो। निर्माता विवेक वासवानीले सुनाएअनुसार जब उनी एक फिल्मको सिलसिलामा शाहरुखसँग हेमा मालिनीलाई भेट्न गएका थिए, तब हेमाले शाहरुखलाई ‘कुरूप’ भनेकी थिइन्। यद्यपि उनले शाहरुखलाई आफ्नो फिल्ममा कास्ट गरेका थिए।
शाहरुखले सन् २०२४ मा लोकार्नो फिल्म फेस्टिभलमा एक निर्देशकले उनलाई भनेको कुरा सुनाएका थिए, ‘तिम्रो सबैभन्दा आकर्षक कुरा यो हो कि तिमी धेरै कुरूप छौ। बाँकी सबै हिरो स्विस चकलेटजस्तो देखिन्छन्।’
शाहरुखले जवाफ दिएका थिए, ‘यदि म कुरूप छु भने, म खलनायकको भूमिका गर्छु।’
त्यसपछि उनले ‘डर’ जस्ता फिल्महरूमा नकारात्मक भूमिका निभाए, तर उनको अभिनय यति दमदार रह्यो कि यश चोपडा जस्ता फिल्ममेकरले भने- ‘तिमी नराम्रो देखिँदैनौ, तिमीले एउटा प्रेम कथा गर्नुपर्छ।’ यसपछि ‘दिलवाले दुल्हनिया ले जाएंगे’ आयो र शाहरुख रोमान्समा पनि छाए।
आज शाहरुख खान आफ्नो प्रभावशाली व्यक्तित्व र आत्मविश्वासका लागि चिनिन्छन्। उनको यात्राले प्रमाणित गर्छ कि यदि तपाईं आफैँमा भरोसा राख्नुहुन्छ भने, मानिसहरू के सोच्छन्, त्यसले फरक पार्दैन।
५. आफ्नो स्तरभन्दा ठूलो सोच्नुहोस्, तब सबै प्राप्त हुनेछ
शाहरुखको जीवनमा एउटा चीज स्पष्ट छ कि उनले सधैँ ‘आफ्नो स्तरभन्दा ठूलो सोच्नुपर्छ’ भन्ने सिद्धान्त अपनाएका छन्।
शाहरुखले सन् १९९७ मा आफ्नो फिल्म ‘यस बोस’ को सुटिङका क्रममा ‘मन्नत’ लाई पहिलो पटक देखे। त्यस समय यो बङ्गला ‘भिल्ला भियना’ को नामले चिनिन्थ्यो। समुद्रको किनारमा उभिएको यो बङ्गला उनको नजरमा बिल्कुलै सपनाजस्तो थियो।
यद्यपि चुनौती यो थियो कि एक सफल अभिनेता भए तापनि शाहरुखसँग यति ठूलो घर किन्नका लागि पर्याप्त पैसा थिएन। तैपनि उनले सोचे कि यदि उनले यो अवसर गुमाए भने, जीवनमा सधैँ कमीको महसुस भइरहनेछ। शाहरुखले यो बङ्गला गौरीको जन्मदिनमा उनलाई उपहार दिएका थिए। यद्यपि यसलाई किन्न सजिलो थिएन।
सन् २००१ मा, जब उनलाई यो बङ्गला किन्ने मौका मिल्यो, उनले हिम्मत देखाए र आफ्नो सपनालाई साकार पार्ने निर्णय लिए।
शाहरुखकी नजिककी शबीना खानले आफ्नो लेख ‘द एसआरके स्टोरी’ मा लेखेकी थिइन्, ‘जब शाहरुखले ‘मन्नत’ किने, तब उनीसँग केवल २ करोड रुपैयाँ थियो, जबकि बङ्गलाको मूल्य करिब ३० करोड रुपैयाँ थियो। बाँकी पैसा उनले ऋण लिएर दिए।’
तर अब समस्या थियो घर सजाउने। उनले एक इन्टेरियर डिजाइनरसँग सम्पर्क गरे, तर उनको शुल्क यति धेरै थियो, जसका कारण शाहरुखले गौरीलाई भने कि उनले आफैँ घरको इन्टेरियर डिजाइन गरून्। गौरीले यो चुनौती स्वीकार गरिन् र घरको हरेक कुनामा आफ्नो कलाको जादू छरिदिइन्। आज शाहरुखको घर ‘मन्नत’ को मूल्य २०० करोड रुपैयाँ भन्दा बढी छ।
६. बदलिँदो समयसँग तालमेल मिलाउन परिवर्तन आवश्यक छ
शाहरुख प्रविधिमैत्री छन्। साथै उनी कुनै पनि नयाँ परिवर्तनलाई अँगाल्नमा विश्वास राख्छन्। सन् १९९६ मा, शाहरुखले आमिर खानलाई एउटा ल्यापटप किन्न प्रेरित गरेका थिए। यति मात्र होइन, उनले आमिरलाई एउटा ल्यापटप उपहार दिए र त्यसलाई आफैँ सेटअप गरेर पनि दिएका थिए।
त्यस्तै, एक सफल अभिनेता भएपछि पनि सन् २००२ मा उनले आफ्नी पत्नी गौरी खानसँग ‘रेड चिलिज इन्टरटेनमेन्ट’ को स्थापना गरे। यो कम्पनीले फिल्महरूको निर्माण मात्र गर्दैन, तर वितरण, मार्केटिङ र भीएफएक्स जस्ता प्राविधिक सेवाहरू पनि प्रदान गर्दछ।
यसबाहेक शाहरुखले सन् २००८ मा कोलकाता नाइट राइडर्स (केकेआर) टोली किने र त्यसपछि क्रिकेटको अन्य लीगमा पनि लगानी गरे, जस्तै क्यारेबियन प्रिमियर लिगको ट्रिनबागो नाइट राइडर्स र अबू धाबी नाइट राइडर्स।
७. परिवार पहिले, बाँकी सबै पछि
शाहरुखका लागि परिवार सधैँ प्राथमिकतामा रहेको छ। उनी पहिले फिल्महरूमा काम गर्न चाहँदैनथे, तर आमाको निधनपछि उनी आफैँ फिल्म निर्माता विवेक वासवानीकहाँ गए र भने, ‘म तपाईंसँग फिल्म गर्नेछु।’
यसमा वासवानीले भने, ‘तिमी त फिल्ममा काम गर्न चाहँदैन थियौ।’ यसमा शाहरुखले भनेका थिए, ‘अब मलाई फिल्महरू गर्नुपर्छ, किनभने यो मेरी आमाको सपना थियो कि म सुपरस्टार बनूँ। अब म उनको सपना पूरा गर्नका लागि फिल्महरू गर्न चाहन्छु।’
उनले आफ्नो करियरको सुरुवाती सङ्घर्ष र सुपरस्टार बनेपछि पनि परिवारलाई कहिल्यै पछि छोडेनन्। करियरको बिल्कुल सुरुमै उनले सन् १९९१ मा गौरी खानसँग विवाह गरे र सधैँ उनलाई आफ्नो शक्ति बताए। शाहरुखले भनेका थिए, यदि उनलाई करियर र गौरीमध्ये कुनै एकलाई चुन्नुपरेमा, उनी गौरीलाई चुन्नेछन्।
उनको आफ्ना बच्चाहरू आर्यन, सुहाना र अबरामसँगको सम्बन्ध एकदमै मैत्रीपूर्ण छ। आमा(बुबाको निधनपछि उनले आफ्नी दिदी शहनाजको जिम्मेवारी सम्हाले र आज पनि उनी ‘मन्नत’ मा उनीहरूसँगै बस्छिन्।
८. उमेर एउटा संख्या मात्र हो, जोशरउत्साह नै वास्तविक शक्ति हो
सन् २०२३ मा शाहरुख खानले ५७ वर्षभन्दा बढीको उमेरमा पनि आफ्नो फिटनेस, ऊर्जा र एक्शन(हिरोको छविबाट यो प्रमाणित गरिदिए कि उमेर एउटा संख्या मात्र हो।
‘पठान’ का लागि शाहरुखले खतरनाक स्टन्टसका साथसाथै एउटा शानदार शरीर पनि बनाए, जसका लागि उनले दुई वर्षसम्म कडा मेहनत र आहारको पालना गरे। उनको यो रूपान्तरणले उनको एक्सन अवतारलाई अझ विश्वसनीय बनाइदियो।
९. हारेर जित्नेलाई बाजीगर भनिन्छ
शाहरुख खानको जीवन र करियर यस कुराको प्रमाण हो कि हारेर जित्नेलाई बाजीगर भनिन्छ। सन् २०१४ पछि उनको यात्रा सजिलो रहेन। ‘फ्यान’ २०१६ र ‘जब ह्यारी मेट सेजल’ २०१७ जस्ता फिल्महरूबाट उनलाई अपेक्षित सफलता मिलेन।
सबैभन्दा ठूलो झट्का सन् २०१८ को फिल्म ‘जिरो’बाट लाग्यो, २०० करोड रुपैयाँको बजेट भएको यस फिल्मले १९१.४३ करोड रुपैयाँ कमाएको थियो। जसपछि शाहरुखले फिल्महरूबाट ब्रेक लिने फैसला गरे।
तर जसरी सधैँ भनिन्छ, वास्तविक खेलाडी उही हो जो लडेर पनि उठ्छ र शाहरुखले यो गरेर देखाए। चार वर्षपछि सन् २०२३ मा उनले तीन फिल्मका साथ शानदार पुनरागमन गरे।
वर्षको सुरुवात ‘पठान’बाट भयो, जसले १ हजार ५० करोड रुपैयाँको कमाइ गरेर बक्स अफिसमा रेकर्ड तोड्यो र शाहरुखलाई फेरि ‘एक्शन हिरो’ को रूपमा स्थापित गर्यो। त्यसपछि ‘जवान’ आयो, जसले ‘पठान’ भन्दा पनि बढी सफलता हासिल गर्यो र ग्लोबल बक्स अफिसमा १ हजार १४८ देखि १ हजार १६० करोड रुपैयाँसम्म कमायो।
वर्षको अन्त्यमा ‘डन्की’ले पनि लगभग ४७०.६ करोड रुपैयाँको शानदार कमाइ गर्यो। चार वर्षको ब्रेकपछि जब धेरै मानिसहरूले उनको पुनरागमनलाई लिएर शङ्का व्यक्त गरे, तब उनले पठान र जवानजस्ता लगातार दुई ब्लकबस्टर फिल्महरू दिएर आलोचकहरूलाई चुप गराए।
१०. नकारात्मक व्यक्तिलाई शान्त दिमागले जवाफ दिनुपर्छ
शाहरुखलाई बलिउडका बादशाह केवल उनको अभिनयको कारणले मात्र भनिँदैन, तर उनको व्यक्तित्वको कारणले पनि भनिन्छ। उनको हास्यबोध ९सेन्स अफ ह्युमर० कमालको छ। उनीबाट नकारात्मक व्यक्तिलाई कसरी ह्यान्डल सामना गर्नुपर्छ भन्ने सिक्न सकिन्छ।
यसको उदाहरण सन् २०१६ को एउटा घटना हो, जब टीभीएफ को टोलीसँगको एक लाइभ सेसनका दौरान एक प्रयोगकर्ताले ठट्टा वा घृणामा शाहरुखलाई ‘छक्का’ भनिदिए। धेरैजसो मानिसहरू यस्तो स्थितिमा रिसाउँछन् वा जवाफ दिनबाट बच्छन्, तर शाहरुखले आफैँ त्यो कमेन्ट पढे र मुस्कुराउँदै जवाफ दिए-
‘म यति ठूलो छु कि चौक्का त हुन सक्दिनँ, न सिंगल छु मेरो साथी, छक्का नै हान्नेछु १’
शाहरुखको यो जवाफपछि छेउमा बसेका अभिनेता जीतेन्द्र कुमार र अभिनेत्री निधि विष्ट पनि उनको जवाफ सुनेर ताली बजाउन थाले।
११. जो परिवर्तन हुन चाहन्छ, त्यसका लागि हरेक समय सही छ
आफ्नो ५९औँ जन्मदिनमा शाहरुख खानले घोषणा गरेका थिए कि उनले धूम्रपान छोडे। शाहरुखले यो पनि बताए कि धूम्रपान छोडेपछि पनि उनलाई सास फुल्ने समस्या हुन्छ, तर उनलाई आशा छ कि समयसँगै यो पनि ठीक हुनेछ।
शाहरुखले स्पष्ट भनेका थिए कि उनी धुम्रपान छोड्ने विषयमा कसैका लागि रोल मोडल बन्न चाहँदैनन्। यो उनको निजी फैसला हो। उनले बताएका थिए कि उनले करिब ३० वर्षसम्म धेरै धूम्रपान गरेका छन्। उनी एक दिनमा १०० सिगरेट र ३० कप ब्ल्याक कफी पिउने कुरा पनि पहिले स्वीकार गरिसकेका छन्।
अन्तमा, यही भन्न सकिन्छ, शाहरुख खानको यात्रा दिल्लीका एक केटाको रूपमा सुरु भएको थियो र आज उनी न केवल देश, तर संसारकै सबैभन्दा ठूलो फ्यानबेस र स्टार फलोइङ भएका कलाकारहरूमध्ये एक हुन्। उनले ९० भन्दा बढी फिल्महरूमा काम गरेका छन्।
‘दिलवाले दुल्हनिया ले जाएंगे’ भारतीय सिनेमाको सबैभन्दा लामो समयसम्म चल्ने फिल्म बन्यो र ‘जवान’ हिन्दी सिनेमाको सबैभन्दा धेरै कमाइ गर्ने फिल्महरूमध्ये एक हो। शाहरुखलाई फिल्मफेयर, पद्मश्री र राष्ट्रिय पुरस्कार जस्ता धेरै सम्मानहरू मिलेका छन्।
जुन शाहरुखले कहिल्यै पहिलो कमाइको रूपमा ५० रुपैयाँ पाएका थिए, उही आज संसारकै सबैभन्दा धनी अभिनेता हुन्। हुरुन इन्डिया रिच लिस्ट २०२५ अनुसार शाहरुखको कुल सम्पत्ति १.४ बिलियन डलर ९लगभग १२,४९० करोड रुपैयाँ० छ। उनका पछि आर्नोल्ड, टेलर स्विफ्ट, सेलेना गोमेज र टम क्रूज जस्ता धेरै प्रसिद्ध सेलिब्रेटीहरू छन्।
उनको कथाले हामीलाई यो सिकाउँछ: कोही पनि जन्मदेखि स्टार बन्दैनन्, उनीहरू आफ्नो सङ्घर्ष, साहस र जोश र उत्साहबाट बन्छन्।
-एजेन्सीको सहयोगमा