मेस्सी, यमाल दुर्लभ तस्विरः काखदेखि मैदानसम्मको प्रेरक कथा – कथालिका

मेस्सी, यमाल दुर्लभ तस्विरः काखदेखि मैदानसम्मको प्रेरक कथा

  • कहिल्यै कल्पना नगरिएको एउटा तस्विर, जुन आज फुटबल इतिहासकै सबैभन्दा चर्चित स्मृतिमध्ये एक बनेको छ ।

सन् २००७, बार्सिलोना रंगशालाको एक ड्रेसिङ रुम, जहाँ एक २० वर्षीय लजालु खेलाडी पहिलोपटक पाँच महिनाको शिशुलाई काखमा लिइरहेको छ । त्यसपछि मुस्कुराउँदै उसलाई नुहाइदिन्छ । त्यो एउटा साधारण फोटोसुट थियो । एक ¥याफल जितेको सामान्य परिवार, एउटा विश्वप्रसिद्ध क्लब र एक सामाजिक अभियानको हिस्सा ।

१९ वर्षअघिको त्यो फोटोसुट र तस्विर

त्यतिबेला कसैले कल्पना पनि गरेको थिएन कि त्यही शिशु एक दिन विश्व फुटबलको अर्को उदियमान स्टार बन्छ, र ठीक १९ वर्षपछि त्यहीँ युवा खेलाडीसँग विश्वकप फाइनलको सबैभन्दा ठूलो रंगमञ्चमा आमनेसामने उभिनुपर्छ । त्यो युवा थिए लियोनल मेस्सी, र त्यो शिशु थिए लामिन यमाल ।

अहिले यही दुर्लभ तस्विर विश्वभर करोडौं फुटबल समर्थकका लागि केवल एक फोटो मात्र होइन, समयले लेखेको अद्भुत र रोचक कथा बनिरहेको छ । आज राति हुने विश्वकप २०२६ को फाइनलमा अर्जेन्टिनाका कप्तान मेस्सी र स्पेनका युवा सनसनी यमाल पहिलोपटक प्रतिस्पर्धात्मक खेलमा एकअर्का देशका विरुद्ध मैदान उत्रिदैछन् । ३९ वर्षीय मेस्सी सम्भवतः आफ्नो जीवनको अन्तिम विश्वकप खेल्दैछन् । १९ वर्षीय यमाल भने पहिलो पटक विश्वकपको मञ्चमा नयाँ सम्भावनासहित उत्रिएका छन् ।

एक तस्विर: जसले दुई पुस्तालाई एउटै फ्रेममा बाध्यो

तत्कालीन समयमा गरिएको त्यो फोटोसुट कुनै योजनाबद्ध अभियान थिएन । बार्सिलोनाको जर्सी प्रायोजक, क्याटालान पत्रिका स्पोर्ट र युनिसेफले संयुक्त रूपमा आयोजना गरेको परोपकारी अभियानअन्तर्गत केही परिवारलाई ¥याफलमार्फत छनोट गरिएको थियो । त्यही छनोटमा प¥यो यमालको परिवार । बार्सिलोनाको पहिलो टोलीका खेलाडीसँग फोटो खिच्ने अवसर उनीहरूले पाए । संयोग यस्तो बन्यो कि उनीहरूको जोडी मेस्सीसँग मिलाइयो । त्यतिबेला मेस्सी विश्व फुटबलका सुपरस्टार भइसकेका थिएनन् । उनी आफैं पनि भर्खरै आफ्नो यात्राको सुरुवात गरिरहेका प्रतिभाशाली युवा थिए ।

त्यो तस्विर खिच्ने फोटोग्राफर थिए जोआन मोनफोर्ट । अहिले पनि त्यो दिन उनी सम्झन्छन् । उनका अनुसार मेस्सी निकै शान्त र अन्तर्मुखी स्वभावका थिए । सानो शिशुसँग फोटो खिच्नुपर्ने भएपछि उनी केही असहज देखिएका थिए । उनलाई बच्चा कसरी समात्ने भन्ने नै थाहा थिएन । मोनफोर्ट सम्झन्छन्, “यति सानो बच्चासँग फोटो खिच्नु युवा व्यक्तिका लागि सहज हुँदैन । तर, लामिन निकै हँसिलो बच्चा थिए । उनकी आमा शीलाले धेरै सहयोग गरेको जोआन बताउँछन् ।

एक तस्विर: दुई महान् खेलाडीको सुरुवात

यमालका बुबा मुनिर नस्राउई मोरक्कोमा जन्मिएका थिए । आमा शीला एबाना इक्वेटोरियल गिनीकी हुन् । दुवै परिवारसँगै क्याटालोनियामा बसाइँ सरेका थिए । आर्थिक रूपमा निकै संघर्षपूर्ण जीवन बिताइरहेको उक्त परिवारका लागि त्यो फोटोसुट केवल एउटा मिठो सम्झना थियो । कसैले कल्पना गरेको थिएन कि त्यही शिशु केही वर्षमै बार्सिलोनाको इतिहासकै सबैभन्दा प्रतिभाशाली खेलाडीमध्ये एक बन्नेछ ।

वर्षौंसम्म त्यो तस्वीर एल्बमभित्र सीमित रह्यो । पछि यमालका बुबाले सामाजिक सञ्जालमा त्यसलाई “दुई महान् खेलाडीहरूको सुरुवात” भन्ने क्याप्सनसहित सार्वजनिक गरे । त्यसपछि संसारभर यो तस्वीर भाइरल भयो । त्यही बेला फोटोग्राफर मोनफोर्टलाई पनि आफूले काखमा देखेको बच्चा अहिले विश्व फुटबलको सनसनी बनेको थाहा भयो । उनले बीबीसी स्पोर्टसँग भनेका छन्, “यदि यो कथालाई फिल्ममा लेखिएको भए पनि मानिसहरूले विश्वास गर्ने थिएनन् ।”

एक युगको महान् खेलाडी, अर्को भविष्यको
विश्व फुटबलमा कहिलेकाहीँ केही क्षणहरू खेलभन्दा पनि ठूलो बन्छन् । मेस्सी र यमालको यो तस्वीर त्यस्तै दुर्लभ क्षण हो । एकातिर आफ्नो युगको सबैभन्दा महान् खेलाडी, अर्कोतिर भविष्यको सम्भावित सर्वश्रेष्ठ । एउटाले अर्कोको काखबाट यात्रा सुरु गरेको थियो । आज दुवै एउटै मैदानमा विश्व फुटबलको सर्वोच्च उपाधिका लागि भिड्नु खेल इतिहासकै सुन्दरतम् र अविस्मरणीय क्षण हुनेछ ।
बार्सिलोनाका समर्थक रहेका फोटोग्राफर मोनफोर्टका लागि यो खेल केवल विश्वकप फाइनल होइन । यो समयको एउटा पूर्ण चक्र हो । उनी भन्छन्, “उनीहरु दुई मध्ये कसलाई रोज्ने ? निर्णय गर्न पनि गाह्रो छ । मेस्सीले दोस्रो विश्वकप जितून् भन्ने चाहना पनि छ । यमालले नयाँ इतिहास रचून् भन्ने पनि छ । त्यसैले उनी हाँस्दै भन्छन्, “मेरो मन दुई टुक्रा भइरहेको छ ।’’

फुटबलले कहिलेकाहीँ केवल गोल, उपाधि र रेकर्ड मात्र जन्माउँदैन । उसले यस्ता कथाहरू पनि जन्माउँछ, जहाँ नियतिले वर्षौंअघि एउटा तस्वीरमार्फत भविष्यको संकेत गरिसकेको हुन्छ । १९ वर्षअघि एउटा युवा खेलाडीले एउटा शिशुलाई काखमा उठाएको दृश्य र आज त्यही शिशु विश्वकप फाइनलमा उसकै अगाडि उभिने कथानक जस्तो लाग्ने यथार्थ हामी सबैका लागि अनौठो, रोचक मात्र होइन, प्रेरणादायक पनि छ ।
–बीबीसीको सहयोगमा

 

२०८३, ३ श्रावण आईतवार ०९:०५
कथालिका नयाँ कथा
कथालिका