आइफोन लुट्न आफ्नै साथीको ‘हत्या’ – कथालिका

आइफोन लुट्न आफ्नै साथीको ‘हत्या’

  • नौजवान तथा बालमनोविज्ञानको यो हदसम्मको आपराधिक मानसिकता कसरी उत्पन्न भयो ? मोबाइल चोरी, लुटपाट सम्मका घटना त भइरहेकै हुन्थ्यो, त्यही एउटा मोबाइलका लागि आफ्नै साथिको ज्यान लिने सम्मको घटनाले भने आजको समय र समाजमा सोचनीय तुल्याएको छ ।

जिल्लाको बडिगाड गाउँपालिकामा भएको घटनाको पछाडि दुर्दान्त कथात्मक दृश्य देखिएको छ ।

बडिगाड गाउँपालिका वडा नं. १ थानका १७ वर्षिय लजिन थापा केही दिनदेखि वेपत्ता भएका थिए । उनको खोजी गर्ने क्रममा ९ दिन पश्चात मृत अवस्थामा शव फेला परेको थियो ।

जन्मदिन मनाउन निस्केका थिए लजिन

गत साउन १ गते शुक्रबार साँझ सोही ठाउँका साथी अशिम वनको जन्मदिन मनाउन भनि घरबाट लजिन निस्किएका थिए ।
वनको जन्मदिन मनाउने भन्दै बोलाएका उनका साथीहरुले रातको समयमा रक्सी सेवन गरेका थिए । र, राति अबेर भएपछि घर पु¥याइदिने भन्दै एकान्त स्थानमा पु¥याई लजिनको साथबाट आइफोन खोसेर उनीमाथि प्रहार गरेको खुलेको छ ।

९ दिनसम्ममा मृतकको शव गलिसकेको अवस्थामा शनिवार भेटिएको थियो । अनुसन्धान कठिन भएपछि प्रदेश प्रहरी कार्यालय पोखराबाट पोलिग्राफ प्राविधिक र तालिमप्राप्त कुकुरसमेत ल्याउनु परेको थियो । ‘हामीले प्राविधिक र कुकुरको सहायताले पनि खोजी गरेपछि मात्र मनेखोलाको खोल्सामा शव भेटायौं,’ प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंले कथालिकासँग भने, ‘चप्पल, ज्याकेट लगायतका सामान फरकफरक स्थानमा लुकाइएको पाएपछि शव भेटाउन कठिन भएको थियो ।’ पोस्टमार्टमका लागि शव धौलागिरि अस्पताल ल्याइएको छ । चोटका प्रकृति र अन्य विवरण पोस्टमार्टमपछि खुल्नेछ ।

काठमाडाौं ठुलोबाबुसंग बसि साइपल कलेजमा अध्ययन गर्ने लजिन कक्षा ११ को परीक्षा सकेर नागरिकता बनाउने योजनासहित घर आएका थिए । उनको साथमा ठूलोबुबाले किनिदिएको आइफोन थियो । उक्त आइफोनमा साथीहरुले पटकपटक फोटो खिच्न खोज्ने गरेका थिए । लजिन बोमबहादुर थापा र देउमाया थापाका एक्ला छोरा हुन् । छोराको हत्या भएपछि परिवारमा अहिले रुवाबासी चलेको छ भने गाउँ नै शोकमा डुबेको छ ।

आइफोन ‘लुट्ने’ उद्देश्यले हत्या

थापाको प्रहरीको प्रारम्भ्कि अनुसन्धानबाट आइफोन मोबाइल लुट्ने उदेश्यले आफ्नै साथीबाट ‘हत्या’ भएको रहस्य खुलेको प्रहरीले जनाएको छ ।

हत्यापछि शव लुकाएका उनका साथीहरुले गलत स्थान बताइदिँदा प्रहरीले घटनाको ९ दिनपछि मात्र मृतकको शव फेला पारेको छ ।
मुक्का प्रहारबाट बेहोस भएका थापालाई ढुंगामुढाले हानेर हत्या गरेको र साथमा रहेको आइफोन लुटेको पक्राउ परेकाहरुले बताएको प्रहरी उपरीक्षक प्रसाईले बताए ।

‘अघिल्लो शनिबार बिहान ४ बजे घर फर्किने क्रममा रेम, ददि र लजिनबीच आइफोनको विषयमा झगडा भएको देखियो’ प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंले भने, ‘आइफोन लुट्ने क्रममा लजिनमाथि मुक्का र ढुंगा प्रहार भएको र त्यसपश्चात ज्यान गएको देखिन आएको छ,शव लुकाउन राति २५ मिनेट हिँडेर खोल्सामा फालेका रहेछन् ।’ शव फालेपछि प्रहरीले थाहा पाउँछ भनेर मृतककै साथमा मोबाइल राखिदिएको अनुसन्धानमा खुलेको छ ।

पक्राउ परेका ददी परियारले आफ्नो फोन नराम्रो भएकोले राम्रो फोटो खिच्नका लागि माग्ने गरेको पनि खुलेको छ । फोनमा साथीहरुको फोटोसमेत भेटिएको प्रसाईंले बताए ।

हत्या आरोपमा ४ जना पक्राउ

यसबारे जिल्ला प्रहरी कार्यालय बागलुङले आज पत्रकार सम्मेलनमार्फत् हत्यामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जानकारी दिएको छ । पक्राउ पर्नेहरुमा बडिगाड-१ का २० वर्षिय रेमबहादुर विक, सोही ठाउँका १९ वर्षिय सुदिप विक, जन्मदिन मनाउने १६ वर्षिय अशिम वन र अन्य १ जना नाम थर परिवर्तन गरिएका १५ वर्षिय बालक छन् ।

सम्पर्कविहिन भएका थापाको अवस्था पत्ता नलागे पनि व्यक्ति वेपत्ता पार्नेमा उनीहरु संलग्न भएको आशंकामा प्रहरीले ५ दिन अघि नै उनीहरुलाई पक्राउ गरेको थियो । अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेकोमा शनिवार मात्र शव भेटिएपछि प्रहरीले उनीहरुलाई कर्तव्य ज्यान मुद्दा लगाउने तयारी गरेको प्रहरी उपरीक्षक प्रसाईले बताए ।

प्रविधिको आकर्षण र आपराधिक मनोविज्ञान

बडिगाड घटनाको प्रारम्भिक अनुसन्धानबाट जे जस्तो तथ्य सार्वजनिक भएको छ । यो नेपाली समाजमा पछिल्लो समय बढ्दै गइरहेको प्रविधिको तीव्र विकाससँगैको आकर्षण र त्यससँग जोडिएको आपराधिक मनोविज्ञान भने डरलाग्दो छ । यस्तो मनोविज्ञान समाजमा भुसको आगो जस्तै फैलिँदो छ ।

प्रहरीको प्रारम्भिक अध्यन अनुसन्धान अनुसार नौजवान तथा बालमनोविज्ञानको यो हदसम्मको आपराधिक मानसिकता कसरी उत्पन्न भयो ? ‘आइफोन मोवाइन लुट्नेसम्म त भइरहेकै हुन्थ्यो, त्यही एउटा मोवाइलका लागि आफ्नै साथिको ज्यान लिने सम्मको घटनाले भयभित तुल्याएको छ,’ स्थानीय तथा सामाजिक राजनीतिक अगुवा राजिव घिमिरेले भने, ‘यस्ता घटना र प्रवृत्तिहरु दोहोरिन नदिन हामी सबै सचेत, सतर्क, गम्भीर र संवेदनशील हुनुपर्ने देखिन्छ ।’

 

 

२०८३, १० श्रावण आईतवार ०८:३२
कथालिका नयाँ कथा
कथालिका