- थोरै डर र अचम्मित हुँदै हेरिरहेकी ग्लोरियालाई हनी हन्टिङको दृष्य आखाँले कैद गरेर मन नअघाएको रहेछ । ‘कोही भिर मौरीको मह निकाल्नै भनेर आफ्नो ज्यानको बाजी लगाएर कुन हिम्मतले त्यस्तो भिरमा झुण्डिन सक्छ ? म यो सबै दृष्य हेरेर अचम्मित भइरहेकी छु,’ उनी भनिरहेकी थिइन्, ‘यो दृष्य मेरो लागि उत्कृष्ट दृष्य हो, मलाई अझै पुगेको छैन । अर्को पटक फेरी आउने छु ।’
अजंगको भिर, जहाँ न त राम्ररी उभिने, न खुट्टा टेक्ने ठाउँ थियो । भिर भन्दा तल आफ्नै तालमा एकनास बगिरहने भयानक खोला । भिरमा खुट्टा तल माथि भए ज्यान नै जान सक्छ । त्यही अप्ठ्यारो ठाउँमा मौरीको गोला झुण्डिएको छ । तर, यहाँ पुग्न सामान्य मुटुले पुग्दैन, दरिलो मुटु चाहिन्छ । स्थानीय खड्कबहादुर पुन एक दुस्साहसी दरिलो मुटु भएका रहेछन् । जसले त्यही डरलाग्दो भिरमा झुण्डिएर भिर मौरीको मह काढे ।
कास्कीको अन्नपूर्ण गाउँपालिका ७ मा पर्ने लान्द्रुकको भिरमा पुग्न गाउँबाट आधा घण्टाको ओरालो झर्नुपर्छ । उनी सँग भिर मौरीको मह काढ्न यथेष्ट सुरक्षाका सामाग्री थिएन । मौरीको टोकाईबाट बच्न खड्कबहादुरले सामान्य जालीवाला टोपी मात्र लगाए । त्यो पनि एक विदेशीले उनलाई उपहार दिएका रहेछन् । हुन त उनलाई मह काढ्ने समयमा सहयोग गर्ने अन्य सहयोगी नभएका होइनन् । तर, मह काढ्ने मुख्य व्यक्ति लान्द्रुकमा खड्कबहादुर एक्ला र विशेष रहेको स्थानीय बताउँछन् ।
यो गाउँ पर्यटकीय सुन्दर गाउँ हो । यहाँ पोखराबाट साढे २ घण्टामा पुग्न सकिन्छ । यो गाउँ हुँदै पर्यटक ट्रेकिङमा जान सक्छन् । यति मात्र होइन, स्थानीयको आत्मियता, सांस्कृतिक प्रस्तुति, यहाँबाट देखिने हिमालले मन लोभ्याउँछ । यो गाउँको परिचय यतिमै सीमित रहेन, हनी हन्टिङले परिचित हुँदै गएको छ । ज्यानको बाजी लगाएर गरिने हनी हन्टिङ धेरैका लागि साहसिक र अनौठो लाग्न सक्छ । हनी हन्टिङको दृष्य अवलोकनका लागि यहाँ आन्तरिक मात्र होइन, बाह्य पर्यटक पनि आउन थालेका छन् ।
नेपाली भन्दा यो दृष्य विदेशी पर्यटकका लागि रोचक बनिरहेको छ । हनी हन्टिङ फेस्टिबल आयोजना हुँदा यही कार्यक्रमका लागि भनेरै विदेशी पर्यटक लान्द्रुक पुग्ने गरेका छन् ।
पुजाआजा गरेर मात्र हनी हन्टिङ
भीर मौरीको मह निकाल्ने तौरतरिका शब्दमा जस्तो सहज भने छैन । गाउँले सबै एकजुट हुन्छन् । सिजनमा कुनै विशेष दिन पारेर त्यहाँका स्थानीयले मह काढ्छन् । यसका लागि सबैभन्दा पहिले पुजारीले विधिवत् रुपमा पुजा गर्नुपर्छ । कुनै समस्या नआओस्, दुर्घटना नघटोस् भन्नका लागि विधिवत् रुपमा पुजा गरिने पुजारी आनन्द पौडेलले बताए । पौडेल खड्कबहादुर बिरामी भए या उनलाई काम परेको अवस्थामा मह काढ्ने सहयोगी समेत हुन् । आनन्दका अनुसार भिरलाई फरक–फरक नाम दिइएको छ । नाम प्रायः गुरुङ भाषामा छन् । ‘बोक्से भिर, स्याल भिर, हुँ भिर, बन्चरे, कि फुँई लगायत नाम राखिएका छन्,’ पुजारी पौडेलले भने । पुजारी पौडेलका अनुसार मौरी काढ्ने बेलामा खोलाको आवाज र केही टाढा हुने भएकाले इसारामा काम गर्नुपर्छ ।
भिर मह नेपाली भन्दा विदेशीको रोजाई
भिर मौरी काढ्ने मुख्य व्यक्ति खड्कबहादुरका अनुसार अहिलेको समयमा पहिले भन्दा मह उत्पादन निकै कम छ । उमेरले ६१ वर्ष पुगेका उनले मह काढ्न थालेको २० वर्ष भइसक्यो । उनका अनुसार मह काढ्न सुरु गर्ने समयमा पहिले मह मुरीमा काढिन्थ्यो । अहिले भने ३÷४ लिटर मह समेत उत्पादन नहुने उनले बताए । ‘पहिले खेतबारी बाँझो हुँदैनथ्यो, फूल प्रशस्तै फुल्थे, मौरीलाई फूलको रसको कमी हुँदैनथ्यो’ खड्कबहादुर भन्छन्, ‘अहिले खेतबारी बाँझो छ, उनीहरुलाई रस प्रर्याप्त छैन, त्यसैले मह उत्पादन कम छ,’ भिर मौरीको मह नेपालीले प्रायः खोज्दैनन् । विदेशीको रोजाईमा पर्ने गरेको छ । बढी जस्तो दक्षिण कोरियालीले यो मह बढी माग गर्ने खड्कबहादुरको अनुभव छ । उनका अनुसार यो मह लिटरका आधारमा बिक्री गरिन्छ । वर्षमा २ पटक भिर मौरीको मह काढिने उनले बताए । ‘हरेक वर्षको जेठ र मंसिरमा मह काढिन्छ,’ उनले भने, ‘लिटरको ३ हजारदेखि ३५ सयसम्म पर्न आउँछ ।’
ज्यानकै बाजी लाएर अजंगको भिरमा जाने हिम्मत कसरी आउँछ ?
हनी हन्टिङ भइरहँदा केल्भिन केट रोमाञ्चक हुँदै हेरिरहेका थिए । खड्कबहादुर भिरमा झुण्डिएर मह काढिरहँदा आफ्नो क्यामराबाट उक्त दृष्य कैद गरिरहेका हुन्थे केल्भिन । भिर मौरीको मह काढ्ने विषयमा उनले वृत्तचित्र हेरेका रहेछन् । ‘हनी हन्टिङको वृत्तचित्र हेरेपछि मैले साथीलाई यो प्रक्रियाको बारेमा जान्न सोही ठाउँमा जाउँ भन्दै भिडियो पठाएँ । उसको ट्राभल एजेन्टसंग सम्पर्क थियो, सोही ट्राभल एजेन्सी मार्फत् हाम्रो दावासँग सम्पर्क भयो ।’ उनले भने, ‘मेरो साथी ५ पटक भन्दा धेरै यहाँ आइसकेको छ र उसलाई यहाँको अवस्थाबारे सबै थाहा छ । वृत्तचित्र भन्दा प्रत्यक्ष देख्न पाउँदा झनै खुसी र पृथक अनुभव भयो, एक किसिमले भन्दा म त अचम्मित भए ।’
ग्लोरियालाई यो सबै दृष्य हेरिरहँदा सपना हो कि जस्तो लागिरहेको थियो अनि कता–कता डर पनि । थोरै डर र अचम्मित हुँदै हेरिरहेकी उनलाई यो दृष्य आखाँले कैद गरेर मन नअघाएको रहेछ । ‘कोही भिर मौरीको मह निकाल्नै भनेर आफ्नो ज्यानको बाजी लगाएर कसरी त्यस्तो भिरमा झुण्डिन सक्छ ? म यो सबै दृष्य हेरेर अचम्मित भइरहेकी छु ।’ उनी भनिरहेकी थिइन्, ‘यो दृष्य मेरो लागि उत्कृष्ट दृष्य हो, मलाई अझै पुगेको छैन हेरेर । अर्को पटक फेरी आउने छु ।’
रेचललाई भने हनी हन्टिङको विषयमा केही जानकारी थिएन । लान्द्रुकमै पुगेपछि इटालीबाट आएकी एक जना पर्यटकले हनी हन्टिङको विषयमा जानकारी दिएकी रहिछिन् । इटालीकी साथीले यो विषयमा जानकारी दिए पछि उनलाई हनी हन्टिङ गरेको हेर्ने चाहना बढेको थियो । उनीसंग केही समय बाँकी थियो । त्यसैले आफ्नै आँखाले यो रोमाञ्चक दृष्य हेर्ने चाहना रेचलको पुरा भयो । ‘इटालीकी साथीले हनी हन्टिङको विषयमा कुरा राखेपछि म उत्सुक भएँ, त्यसैले यो दृष्य आफ्नै आँखाले कैद गर्न यहाँ आएँ,’ उनले भनिन्, ‘म यतिबेला अचम्मित भएकी छु, महकै लागि ज्यानको बाजी लगाएर त्यस्तो अजंगको भिरमा कसरी जाने हिम्मत जुट्न सक्छ ?’
भिर मह काढ्न नयाँ पुस्ता पनि अग्रसर
यहाँका स्थानीयले हनी हन्टिङका विषयमा कुनै तालिम लिएका छैनन् । अबको पुस्तामा चलिआएको भिर मौरीको मह काढ्ने सिप र प्रचलन पुस्तान्तरण नभई हराउने हो कि भन्ने चिन्ता छ । तर, अहिले गाउँकै स्थानीय तीन युवाले भिर मौरीको मह काढ्ने तरिका सिकिरहेका छन् । हनी हन्टिङ फेस्टिवल आयोजना गरेका आयोजक समिति सचिव कमल गुरुङ भन्छन्, ‘पछिल्लो समय भने स्थानीय अर्जुन गुरुङ, जयबहादुर पुन र जय पौडेलले सिकिरहेका छन्, यसले केही आशा जगाएको छ ।’ उनका अनुसार भिर मौरीको मह काढ्ने व्यक्तिको जीवन बिमा गराउने प्रक्रिया अहिले अगाडि बढिसकेको छ ।
मह बिक्रीबाट प्राप्त आम्दानी गाउँको विकासमा
अहिले सिकिरहेका तीन जना सिकारु मध्ये अर्जुन गरुङ पर्यटन व्यवसायी हुन् । त्यसैले, उनलाई हरेक सिजनमा मह काढ्ने फुर्सद हुँदैन । अर्जुन बाहेक अन्य दुई जनाले पनि सिजनमा मौका प¥यो भने आनन्द र खड्कबहादुरलाई पालो दिइरहेका हुन्छन् । ज्यानको बाजी लगाएर काढिने भिर मौरीको मह काढ्नेले बिक्री मार्फत् प्राप्त हुने रकम आफूले राख्न पाउँदैनन् । बिक्री मार्फत् आउने रकम गाउँमा हुने विकासको काममा प्रयोग गरिन्छ । तर मह काढ्ने खड्कबहादुर पुन, आनन्द पौडेलसहित सिकारु अन्य ३ जनालाई गुनासो छैन । उनीलाई गाउँको भलाईको लागि काम गर्दा सन्तुष्टि मिल्छ ।
भिरमा प¥याङको भर
भिर मौरीको मह काढ्न भने जस्तो सहज भने हुँदैन । एकपटक मह काढ्न कम्तीमा पनि ९ जनाको टिम आवश्यक पर्छ । मह काढ्ने व्यक्ति भिरमा सुरक्षा सामाग्री सहित झर्छन् । केहीले भिर भन्दा माथि बसेर मौरी भगाउन आगो बालेर मुस्लो दिन सहयोग गर्छन्, केहीले तल बसेर मह काढ्ने व्यक्तिलाई इशारा दिन्छन् । यति मात्रै होइन, मह काढ्ने मुख्य व्यक्तिले इशारामा मह काढिएको र त्यसलाई राख्न भाँडा आवश्यक परेको भन्दै इशारा दिएपछि डालो भिरमा झारिदिन्छन् । मह काढ्ने व्यक्ति भिरमा झुन्डिन भ¥याङ बनाइएको हुन्छ । जसलाई स्थानीय भाषामा प¥याङ भनिन्छ । प¥याङ बनाउँदा सामान्य निगालो भएर हुँदैन । यसका लागि मालिङ्गे निगालोको चोया र ठेउलीको काठ आवश्यक हुन्छ । एकपटक निर्माण भएको प¥याङ कम्तीमा २ वर्ष टिक्छ । यही प¥याङमा झुण्डिएर भिरमा गइन्छ । प¥याङ बलियो गरि नबनाइएको अवस्थामा व्यक्तिले ज्यानै गुमाउन सक्छन् । त्यसैले प¥याङ बलियो हुनु आवश्यक हुन्छ । प¥याङ कम्तीमा ३ जनालाई धान्ने गरि बलियो बनाउनुपर्ने हुन्छ । किनकि महको मात्रा र कतिसम्म मह काढ्न सकिन्छ भन्ने आधारमा प¥याङमा तीन जना सम्म जानुपर्ने अवस्था हुन सक्छ ।
पहिले मुखियाले एकलौटी झिक्थे, अहिले जनता झिक्छन्
स्थानीयका अनुसार विसं १८०० बाट लान्द्रुकको यो भीरमा मह काढ्न सुरु गरिएको थियो । उक्त भिरबाट भिर मौरीको मह काढ्न सुरु गर्ने व्यक्ति धनबहादुर गुरुङ थिए । स्थानीयका अनुसार धनबहादुर गुरुङले उक्त भिरबाट भिर मौरीको मह काढ्ने कार्य सुरु गरेपछि मात्रै पुस्तान्तरण भएको हो । मुखिया प्रथा हुने समयमा लान्द्रुक प्रथाबाट अछुतो थिएन । यो प्रथा कायम रहँदासम्म मुखियाले मह प्रयोग गर्थे । स्थानीयको मह काढ्ने काम मात्रै थियो । मह काढे बापत् मुखियाको मन पलायो भने थोरै पाउँथे । अरु मुखियाको हालीमुहाली चल्थ्यो । एकपटक लान्द्रुकमा भुमि सुधार आयोगको पदाधिकारी पुगेका थिए । त्यो बेला आयोगका पदाधिकारीले भिर मौरीको महका विषयमा जानकारी पाए । यो विषयमा जानकारी पाइसकेपछि आयोगका पदाधिकारीले लान्द्रुकका स्थानीयवासीसंग यो भिर कसले प्रयोग गर्छ भन्ने प्रश्न गरेछन् । प्रश्नको उत्तर कसैसंग थिएन ।
तर, कसोकसो र कताबाट हो, आयोगका पदाधिकारीले उक्त भिरमा हुने भिर मौरीको मह गाउँका मुखियाले एकलौटी रुपमा प्रयोग गर्ने र स्थानीयलाई नदिने सूचना प्राप्त गरेछन् । सूचना पश्चात् आयोगले मुखियासंग भिरको लालपुर्जा छ भने देखाउन भनेको तर मुखियाले लालपुर्जा देखाउन नसकेपछि उक्त भिर त्यहाँका स्थानीयले प्रयोग गर्ने अवसर पाएका थिए । पुजारी आनन्दका अनुसार भुमि सुधार आयोगका पदाधिकारीले स्थानीयलाई भिर उपभोग गर्न पाउने अधिकार प्रदान गरे पश्चात पनि मुखियाले २÷३ वर्षसम्म अटेर गर्दै एकलौटी प्रयोग गरेका थिए । ‘मुखिया खुसी भएमा थोरै पाउँथे, दुख त गथ्र्यौं, तर मह सबै मुखियाले राख्ने, हाम्रो काम मह निकाल्ने मात्रै हुन्थ्यो’ ७७ वर्षीया पुजारी आनन्दले भने । तर, पछि स्थानीयले विरोध गर्न थालेपछि मात्रै भिर र भिरमा उत्पादन हुने मौरीको मह लान्द्रुकवासीले उपयोग गर्ने अवसर पाएका हुन् ।
लान्द्रुकमा लाग्छ हनी हन्टिङ मेला
अहिले अवस्था र समय फेरिएको छ, भिर र भिरमा उत्पादन हुने भिर मौरीको मह लान्द्रुकवासीले उपयोग गर्न पाउँछन् । जति उत्पादन हुन्छ, उत्पादित महलाई बिक्री गरेर हुने आम्दानीलाई गाउँको विकास–निर्माणको कार्य र भलाइका लागि प्रयोग गरिन्छ । यसैलाई मध्यनजर गर्दै गाउँलाई आकर्षणको केन्द्र बनाएका छन् यहाँका स्थानीयले । मह काढ्ने प्रक्रिया, यसबाट हुने फाइदा लगायतका विषयमा जानकारी दिने उद्देश्यले केही वर्ष यता यहाँ हनी हन्टिङ फेस्टिवलको आयोजना गरिन्छ । जोखिमपूर्ण हनी हन्टिङका विषयमा जानकारी लिन विदेशी पर्यटकको रोजाई लान्द्रुक गाउँ बन्ने गरेको छ । पर्यटकीय गाउँ तथा पहिलेदेखि यहाँबाट विभिन्न स्थानमा ट्रेकिङ जान मिल्थ्यो । हाल हनी हन्टिङको विषय पर्यटकका लागि आकर्षणको विषय बनेको छ ।
मह गाउँ पुग्न सडककै सकस
हनी हन्टिङको विषय आन्तरिक तथा बाह्य पर्यटकका लागि रोचक विषय भए पनि अन्य गाउँमा जस्तै यहाँ केही समस्या भने यथावत् छन् । पर्यटकीय स्थान भए पनि यहाँ बाटोको समस्या भएको स्थानीयको गुनासो छ । लान्द्रुकदेखि घान्द्रुकसम्म निर्माण हुने भनिएको रिङरोड शीघ्र रुपमा निर्माण हुन सके केही सहज हुने लान्द्रुकमा रहेको ‘मायाज् गेस्ट हाउस’ का सञ्चालक हितमान गुरुङले बताए । ‘यहाँ पाहुना बाटोकै कारण आउन सकिरहेका छैनन्, बाटो छिटो बनिदिए राम्रो हुन्थ्यो,’ उनले भने । यो गाउँमा समेत अन्य गाउँमा जस्तै बसाइँ सराईको समस्या छ । खेतबारी बाँझै छन् । ‘५० प्रतिशत स्थानीयले बसाइसराई गरेका छन्, बसाइँ सराई र बाँदरको समस्याले अहिले खेतबारी बाँझै छन् ।’ हितमान भन्छन्, ‘पर्यटन व्यवसायले मात्रै यहाँका स्थानीय धानिएका हुन्, बाटोको समस्या समाधान हुन सकेको खण्डमा हामीलाई अझै सहज हुन्थ्यो ।’
हनी हन्टिङ ब्रान्ड: बसाइँ सराई रोक्ने प्रयास
हनी हन्टिङ फेस्टिबल २०७९ का सचिव कमल गुरुङका अनुसार लान्द्रुकमा १ सय १७ घर छन् । यो ठाउँमा विदेशी २ सय र नेपाली ३ सय जना पर्यटक राख्न सक्ने क्षमता छ । यहाँ २ समयमा बढी पर्यटक पुग्ने गरेका छन् । ‘वर्षको पहिलो सिजनका रुपमा वैशाख, असोज र कात्तिकमा बढी पर्यटक आउँछन् भने फागुन र चैत्रमा थेगि नसक्नु हुन्छन् ।’ कमल भन्छन्, ‘अरु बेला मन्दी लाग्छ, पर्यटकको आगमन नभएपछि आम्दानी सुख्खा हुन्छ ।’ यहाँका स्थानीयको अब एउटै उद्देश्य छ, जसरी हुन्छ हनी हन्टिङलाई ब्रान्डका रुपमा अगाडि बढाएर गाउँलाई बाह्य तथा आन्तरिक पर्यटकका लागि अझै आकर्षणको केन्द्र बनाउन स्थानीय प्रयासरत छन् । बसाइसराई गरेर नजाने स्थानीय जति एकजुट भएर लान्द्रुक गाउँ बनाउन लागेकाले सरकार र सरोकारवाला निकायको साथको अपेक्षा रहेको सचिव गुरुङ बताउँछन् ।