शास्त्रीय संगीत, १३औं शताब्दीदेखि मुसलमान र हिन्दु संस्कृतिको सम्मिश्रणबाट विकसित हुँदै आएको उत्तर भारतीय संगीत हो । हिन्दुस्तानी शास्त्रीय संगीत पनि भनिने यसमा सितार, सरोद, हार्मोनियम, तबलाजस्ता मुख्य बाजा र ध्रुपद, खयाल, ठुमरी, गजल, भजन, कब्बालीजस्ता गायनशैली पर्छन् ।
नेपालमा भने शास्त्रीय संगीत प्रति उति धेरै आकर्षण नभएको अनुमान गरिन्छ । तर, यलमाया केन्द्रले पाटनढोकामा आयोजना गरेको जनवादी गायक हेमराज आश्रमको शास्त्रीय गायनको उपस्थिति हेर्दा त्यस्तो गुञ्जायस थिएन । कारण शास्त्रीय गीत सुन्न हल दर्शक श्रोताको उपस्थितिले खचाखच भरिएको थियो ।
शास्त्रीय संगीत भनेको स्वरहरूको निश्चित विधि अनुसार राग–रागिनी गाउनु वा बजाउनु हो । लामो समयदेखि आश्रम पाठशाला मार्फत संगीत प्रशिक्षण समेत गर्दै आएका गायक आश्रमले कार्यक्रममा बाद्यवादनका साथ खयाल गायन प्रस्तुत गर्दा दर्शकदीर्घा नतमस्तक देखिए । उसो त गायक आश्रममा भने उत्साह र नर्मसको समिश्रण देखिन्थ्यो ।
यलमाया केन्द्र शास्त्रीय संगीतका लागि महत्वपूर्ण पल्याटफर्म भएको गायक आश्रमले बताए । यसले वर्षौदेखि नयाँ पुराना संगीतकार, गायकहरुलाई हरेक महिनाको २ गते यसरी मञ्चमा उतार्छ । जसले आजको आधुनिक समय र समाजमा शास्त्रीय गायनलाई नयाँ पुस्तासँग जोड्न महत्वपूर्ण कडीको रुपमा काम गरेको यलमाया केन्द्र, पाटनका संयोजक जीवन आले बताउँछन् ।
संगीत एक सार्वभौमिक विश्वव्यापी भाषा हो । त्यसमा शास्त्रीय संगीतको शक्ति र सामथ्र्य अलौकिक छ । यसमा पछिल्लो समय नयाँ पुस्ताको आकर्षण देखिन थालेको छ । शास्त्रीय संगीतलाई संगीत र जीवन साधनासँग जोड्न सक्ने हो भने त्यसले समाज र देशलाई कुनै न कुनै रुपमा पहिचान र जीवनको अर्थबोध दिइरहन सक्छ । यसबारेको विस्तृत रिपोर्ट भिडियोमा हेर्नुहोला ।