- पेट र पढाइमा एउटा छान्नुपर्ने बाध्यताकोबिचमा हुर्केकी सीता वादी पहिलो पटक संसदीय यात्रा त तय गरिनन् नै, अझ त्यसमा सिंगो मन्त्रालयको बागडोर सम्हाल्ने सुन्दर अवसर पनि प्राप्त गरेकी छिन् ।
नदी किनारका अस्थायी बस्ती, खुला आकाशमुनि बितेका कैयन वर्ष, र ‘आफ्नो’ भन्ने जमिनसमेत नहुँदा झेल्नु परेको बग्रेल्ती दुःख र पीडाका फेहरिस्तहरु । यिनै यथार्थसँग जुध्दै आएको वादी समुदाय, दलितभित्रकै सबैभन्दा पछि पारिएको समुदाय । तर, यसबेला समयले नयाँ मोड लिएको छ । यही समुदायबाट दृढतापूर्वक उठेकी सीता वादी आज संसद हुँदै सरकारको मन्त्रीको रुपमा बागडोर सम्हाल्ने स्थानसम्म पुगेकी छिन् । यो केवल सीता वादीको व्यक्तिगत सफलता मात्र होइन, नेपाली समाज र राजनीतिमा आएको परिवर्तन र इतिहासको मोड पनि हो ।
गरिबी र अभावमा बितेको बाल्यकाल
सुर्खेतको झुप्रा खोलाको बगरमा बालुवा चालेर जीविकोपार्जन गर्ने वादी समुदायकी सीता वादी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेकी छिन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक सांसद बनेकी थिइन् । २९ वर्षीया सीता वादी दलित महिला क्लस्टरबाट सांसद बनेकी थिइन् ।
उनी मन्त्री बनेसँगै पहिलो पटक देशको सर्वोच्च थलोमा सीमान्त वादी समुदायको प्रतिनिधित्व भएको छ । उनी २०५२ सालमा वीरेन्द्रनगर–११ को अस्थायी बस्तीमा जन्मिएकी थिइन् । छुवाछूत र सामाजिक बहिष्कारको तीतो अनुभवबीच हुर्किएकी उनले बाल्यकालमा गरिबी र अभावमा बितेको थियो ।
१२ वर्षमा विद्यालय टेकेकी सीता
सीताले बल्ल १२ वर्षको किशोर वयमा एक सामाजिक संस्थाको सहयोगमा विद्यालय टेक्ने अवसर पाइन् । उनले हातमुख जोड्ने कि पढ्ने भन्ने द्वन्द्व र दुबिधाबीच आफ्नो अध्ययनलाई अघि बढाएको बताउँछिन् । ‘पेट र पढाइमा एउटा छान्नुपर्ने बाध्यताकोबिचमा हुर्केकी हुँ । पछि एउटा संस्थाले पढ्ने अवसर दिएका कारण मात्र आज यहाँसम्म पुग्ने अवसर पाएकी छु,’ उनले भनिन् ।
आफ्नो समुदाय सधैं किन पछाडि पारिन्छ र संविधान अनुसारको समानता व्यवहारमा किन लागू गरिँदै भन्ने प्रश्नको उत्तर खोज्न उनले राजनीतिशास्त्रमा स्नातकोत्तर सम्मको अध्ययन पूरा गरेकी छन् । अब पढेको र भोेगेको विषयलाई राज्यको तहबाट सम्बोधन गर्ने भूमिकामा आएको उनको भनाइ छ ।
‘मैले राजनीति पढ्नु संयोग होइन । म जान्न चाहन्थेँ, किन हाम्रो समुदाय सधैं पछाडि पारिएको छ ? किन संविधानमा लेखिएको समानता हाम्रो जीवन व्यवहारमा देखिँदैन ? यो मेरो समुदायको अस्तित्व खोज्ने असल प्रयास थियो,’ उनले भनिन्् । पत्रकारिता र सामाजिक कार्यमा सक्रिय रहने क्रममै रास्वपाको राजनीतिमा जोडिएको उनले बताइन् ।
‘हामीले भोगेका दुःख र उपेक्षा अबको पुस्ताले भोग्न नपरोस्’
मन्त्रीका रुपमा पदभार ग्रहण गर्ने क्रममै सीता भावुक देखिइन् । उनी आफ्नो विगतको दुःख, संघर्ष सहित परिवार सम्झेर भावुक बनेको उनको प्रतिक्रिया छ । अलि आकस्मिकता जस्तो पनि भएकाले केके गर्ने भनेर राम्रो तयारी गर्न नपाएको तर अब योजनावद्ध रुपमा काम गर्ने उनको भनाइ छ ।
विशेषतः अहिले पनि महिला हिंसा, चेलिबेटी बेचबिखन जस्ता समस्या बिद्यमान भएको यसमा नीतिगत रुपमा र भएका नीति नियमको प्रभावकारी कार्यान्वयनमा ध्यान दिइने उनको योजना छ । ‘मैले र मेरो समुदायले, नेपाली दिदीबहिनीहरुले जे जस्तो उपेक्षा र दुःखहरु भोगे, त्यो अबका दिनमा भोग्न नपर्ने गरी काम गर्न पहल र प्रयास गर्छु’, वादीले कथालिकासँग भनिन् ।
वादी समुदायका अगुवा हिक्मत वादी कर्णालीको बादी सीताको संसद र सरकारको नेतृत्वमा भएको उपस्थितिलाई ऐतिहासिक कदम भएको बताउँछन् । ‘हाम्रो समुदायबाट सांसद बन्ने सीता पहिलो व्यक्ति हुन्, अब संघीय संसद्मा पछि पारिएका वर्गको आवाज उनले सशक्त रुपमा उठाउनु पर्ने जिम्मेवारी र चुनौती छ,’ उनले भने । इतिहासमै पहिलो पटक वादी समुदायको एक महिलालाई आएको अवसरलाई यथेष्ट रूपमा सदुपयोग गर्न जरुरी रहेको उनले बताए ।