पूर्वी चीनमा एकजना ७१ वर्षीया हजुरआमाले नदीमा हामफालेका युवकको ज्यान जोगाएको विषय अहिले सामाजिक सञ्जालमा निकै प्रशंसाको विषय बनिरहेको छ । आत्महत्याको प्रयासस्वरुप एक पुरुषले नदीमा हाम फालेका थिए । तर ती हजुरआमालाई ३० वर्षका व्यक्ति नभइ कुनै बालक नदीमा खसेको अनुभूति भयो ।
उनी पनि तत्काल नदीमा हामफालिन् । यो विषय अहिले चीनमा निकै चर्चामा छ ।
एन्हाइ डेलीका अनुसार, जुलाई १३ मा ती पुरुष पुलको रेलिङमा चढेर सोझै अनहुई प्रान्तको सुइक्सी काउन्टीको नदीमा हामफालेको हल्ला फैलियो । कपाल सेतो भएकी सेवानिवृत्त लिउ डेफाङ पुल नजिकै साथीहरूसँग कुराकानी गरिरहेकी थिइन् । त्यही बेला ‘मानिस पानीमा खस्यो’ भनेर कसैले चिच्याएको उनले सुनिन् ।
प्रकाशित समाचारअनुसार लिउ तुरुन्तै नदीको किनारतिर दौडिइन् र आफ्ना जुत्ता फुकालिन् । उनले नजिकैकी एक महिलाले फ्याँकेको ज्यान जोगाउने ट्युब समातिन् र बिना कुनै हिचकिचाहट पानीमा हामफालिन् ।
“मैले सुरुमा यो सानो बच्चा होला भन्ने ठानेकी थिएँ, त्यसैले म निकै चिन्तित भएँ । जब म पौडी खेल्दै उनी नजिक पुगेँ र उनको हात समातेँ, तब मात्र मैले थाहा पाएँ कि उनी त ३० वर्षका पुरुष रहेछन्,“ रिपोर्टका अनुसार लिउले सम्झिइन् । ती पुरुष स्पष्ट रूपमा बाँच्न चाहँदैनथे । उनले लिउको पकडबाट उम्कने प्रयास गरे, तर लिउले उनलाई बलियोसँग समातिराखिन्।
गहिरो भएको क्षेत्रमा उनीहरूले केही समय संघर्ष गरे । लिउले पछि मात्रै त्यसबेला आफू निकै थाकेको बताएकी थिइन् । तर, लाइफबायको मद्दतले, उनले ती पुरुषलाई किनारसम्म तान्न सफल भइन् । भाइरल भिडियोमा हिलोमा उभिएका दुई स्थानीय बासिन्दाले ती पुरुषलाई सुक्खा जमिनमा तानेको देखाइएको छ ।
ती पुरुष सुरक्षित रहेको कुरा निश्चित गरेपछि, लिउ आफ्नो नाम नभनी चुपचाप घटनास्थलबाट बाहिरिइन् ।“उद्धार प्रक्रिया झन्डै २० मिनेट चल्यो । यो मेरो लागि ठूलो कुरा थिएन । मेरो परिवारले मेरो चिन्ता लिनेछन् भन्ने डरले मैले उनीहरूलाई यसबारे केही भनिनँ,“ लिउको भनाइ उद्धृत गर्दै भनिएको छ ।
प्रहरी प्रशासनले ती परोपकारी व्यक्तिको खोजी सुरु गर्यो । प्रहरीले उक्त घटनाको भिडियोहरू सार्वजनिक गर्यो, नजिकैका सडकका सीसीटीभी क्यामेराहरू जाँच गर्यो र सर्वसाधारणसँग जानकारी माग्यो । १० घण्टाभित्रै, ती भिडियोहरूले सामाजिक सञ्जालमा निकै प्रशंसनीय टिप्पणीहरू प्राप्त गरे ।
भोलिपल्ट मात्र लिउका जेठा दाइले भाइरल भिडियोहरूमा आफ्नी बहिनीलाई चिने र प्रहरीलाई सम्पर्क गरे, जसले लिउलाई चर्चाको केन्द्रमा ल्यायो।तर, उनका दाइ उनको सुरक्षाप्रति बढी चिन्तित थिए, लिउले भनिन् । “मेरो दाइले मलाई कडा गाली गर्नुभयो । उहाँले भन्नुभयो, ’तिमी ७० वर्ष कटिसक्यौ । अरूलाई बचाउन नदीमा हामफाल्ने हिम्मत कसरी गर्यौ रु तिमीले परिणामको बारेमा किन सोचिनौँ रु,“ लिउले भनिन् । र, उनकी छोरीको पनि यस्तै चिन्ता रहेको थपिन् ।
ती ७० वर्ष नाघेकी वृद्धा फिटनेस प्रेमी हुन्, र विशेष गरी योगमा कुशल छिन् । अवकाश पाएपछि उनले आफैं पौडी खेल्न सिकेकी थिइन् ।
आफ्नो ज्यान लिने प्रयास गरेका ती पुरुषलाई सान्त्वना दिँदै लिउले भनिन्, “जस्तोसुकै कठिनाइ पनि एक दिन समाप्त हुन्छ । जीवन जत्तिको महत्त्वपूर्ण केही पनि छैन । सजिलै हार नमान्नुहोस् ।”