जहाँ विमानस्थल छ, विमान छैन – कथालिका

जहाँ विमानस्थल छ, विमान छैन

धावनमार्ग कालोपत्रे गरिएको बागलुङको बलेवा विमानस्थल ।

  • बागलुङको बलेवा, ढोरपाटन, गोरखाको पालुङटार र मनाङको हुम्डे विमानस्थल लामो समयदेखि बन्द छन् । केही विमानस्थल सञ्चालन गर्न धावनमार्ग लगायतका काम अघि बढाइए पनि आशातीत प्रगति देखिएको छैन ।

बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा आउन नसक्दा राज्यको करोडौँ लगानी प्रतिफलविहीन बनेको छ । मुलुकका केही विमानस्थल निर्माणमा तदारुकता देखिए पनि तिनको सञ्चालन र दिगोपनामा भने सम्बद्ध पक्षको ध्यान नपुग्दा अलपत्र छन् । ती कतिपय विमानस्थल सञ्चालनमा नआउँदै जीर्ण बनेका छन् भने बनेका संरचनाको उचित संरक्षण र रेखदेखको पर्खाइमा रहेको पाइएको छ ।

गण्डकी प्रदेशका चार विमानस्थल बन्द

नेपाल नागरिक उड्डयन प्राधिकरणको पछिल्लो प्रतिवेदन अनुसार गण्डकी प्रदेशका चार विमानस्थल बन्द छन् । बागलुङको बलेवा, ढोरपाटन, गोरखाको पालुङटार र मनाङको हुम्डे विमानस्थल लामो समयदेखि बन्द छन् । केही विमानस्थल सञ्चालन गर्न धावनमार्ग लगायतका काम अघि बढाइए पनि आशातीत प्रगति देखिएको छैन । लामो समयदेखि बन्द रहेका ती विमानस्थल पुनः सञ्चालनमा ल्याउन धावनमार्ग कालोपत्रेलगायत पूर्वाधार निर्माणमा करोडौँ लगानी भएको छ ।

सरकारले बलेवा, हुम्डेलगायत बन्द रहेका विमानस्थललाई प्याराग्लाइडिङ, स्काइडाइभिङलगायत साहसिक खेलस्थलका रूपमा विकास गर्ने लक्ष्य लिए पनि त्यसले पनि सार्थकता पाउन सकेको छैन । प्राधिकरणले पाँच वर्षअघि आठ करोड २४ लाख रुपियाँ खर्चेर बागलुङ नगरपालिका–१४ स्थित बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रे गरेको थियो । विसं २०२२ मा बनेको उक्त विमानस्थल पोखरा–बागलुङ सडक बनेपछि २०४८ मा बन्द भएको थियो । २६ वर्षपछि २०७४ चैत ९ गतेदेखि पुनः सञ्चालनमा ल्याइएकोमा फेरि पनि निरन्तरता पाउन सकेन ।

स्थानीय तहले बोझ थाम्न नसकेपछि बन्द

१९ सिट क्षमताका जहाजमा १२ भन्दा कम यात्रु भए बागलुङ नगरपालिकाले भार बेहोर्ने गरी नागरिक उड्डयन प्राधिकरण, विमान कम्पनी र नगरपालिकाबिच सम्झौता भएको थियो । पछि यात्रु पनि घट्ने र नगरपालिकालाई आर्थिक बोझ पनि थपिँदै गएपछि विमान सेवा बन्द हुन पुगेको हो । प्राधिकरणले विमानस्थलको सात सय मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्ग कालोपत्रे गरेको छ । जसमा साना तथा मझौला जहाजले उडान भर्न सक्छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित परामर्शदाता समूहले केही वर्षअघि बलेवा विमानस्थलको स्थलगत अवलोकनसमेत गरेको थियो ।

धावनमार्ग, टावर र भौतिक पूर्वाधारको अवलोकन गरेपछि उक्त अध्ययन समूहले टावर नियन्त्रण गर्ने कर्मचारी, विमान कम्पनी र यात्रु भएमा जनुसुकै बेला विमानस्थल सञ्चालनमा ल्याउन सकिने औँल्याएको थियो । नगरपालिकाका उपप्रमुख राजु खड्काले विमानस्थलको वैकल्पिक प्रयोग गर्ने विषयमा चर्चा चले पनि कुनै ठोस योजना बन्न नसकेको बताए । नियमित उडानको सुनिश्चित, भाडादर समायोजन र विमानस्थलसम्म पुग्ने सडक स्तरीय हुन सकेमा विमानस्थल चलाउन सकिनेमा स्थानीय जनप्रतिनिधि विश्वस्त छन् ।

मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा रहेको हुम्डे विमानस्थलको धावनमार्ग कालोपत्रे भएको पनि डेढ दशक बित्न लाग्यो । प्राधिकरणले विसं २०६९ मा नौ करोड रुपियाँ खर्चेर हुम्डेमा विमानस्थलको धावनमार्ग कालोपत्रे गरेको थियो । धावनमार्ग कालोपत्रे भएपछि २०७६ भदौमा समिट एयरको विमानले सो विमानस्थलमा परीक्षण उडान गरेको थियो ।

परीक्षण उडान सफल भएपछि नियमित उडान हुनेमा आशावादी रहेका मनाङवासीमा अहिले त्यो उत्साह पाइँदैन । गाउँपालिकाका अध्यक्ष कान्छा घलेले विमानस्थल सञ्चालनमा पहल गरिए पनि वायुसेवा कम्पनीले रुचि नदेखाएको बताए ।

मनाङमा सडक पुगेपछि विमानस्थल बन्द

२०३९ देखि २०६८ सम्म नियमित सञ्चालनमा रहेको विमानस्थल त्यसयता बन्द रहेको अध्यक्ष घलेले बताए । यसबिच धावनमार्ग कालोपत्रेदेखि अन्य पूर्वाधारमा लगानी गरिए पनि त्यो त्यसै खेर गएको छ । मनाङमा सडक आउनुअघि स्थानीयवासी जहाजबाटै आवतजावत गर्ने गर्थे । विसं २०६९ मा मनाङ सदरमुकाम चामेमा सडक पुगेपछि विमानस्थल बन्द भएको थियो ।

गोरखाको पालुङटार नगरपालिकाका प्रमुख विवश चिन्तनले पालुङटार विमानस्थलको स्तरोन्नति गरी सञ्चालनमा ल्याउने सरकारको योजना अलपत्र परेको बताए । पालुङटार विमानस्थललाई हवाई तालिम केन्द्र वा अन्य कुनै वैकल्पिक प्रयोगमा ल्याउनु उपयुक्त हुने उनको भनाइ छ । काठमाडौँ–पोखरा जोड्ने पृथ्वी राजमार्ग स्तरोन्नति भइरहेकाले यस क्षेत्रमा सडक यातायात सेवा नै बढी प्रभावकारी हुने देखिएको उहाँले बताउनुभयो । मुग्लिङ–पोखरा सडक अहिले चार लेनमा विस्तार भइसकेको छ । काठमाडौँ–मुग्लिङ सडक स्तरोन्नतिको चरणमा छ ।

विमानस्थलको धावनमार्ग गौचरणमा परिणत

२०१८ सालमा सञ्चालनमा आएको पालुङटार विमानस्थल २०३५ सालदेखि बन्द छ । पृथ्वी राजमार्ग बनेपछि उक्त विमानस्थल बन्द भएको थियो । देशको एक मात्र सिकार आरक्ष रहेको बागलुङको ढोरपाटन उपत्यकामा रहेको ढोरपाटन विमानस्थल पनि दशकौँदेखि बन्द छ । विमानस्थलको धावनमार्ग गौचरणमा फेरिएको छ । विमानस्थल क्षेत्रलाई घेराबार गरेर सुरक्षित भने गरिएको छ । प्राधिकरणका अनुसार पूर्वाधारतर्फ हुम्डेमा १० करोड, पालुङटारमा सात करोड, बलेवामा १२ करोड र ढोरपाटन विमानस्थलमा दुई करोड रुपियाँ खर्च भएको छ ।

२०८३, १२ श्रावण मंगलवार १२:१४
कथालिका नयाँ कथा
कथालिका