थकाली सभ्यताको उद्गम थलो घरपझोङ – कथालिका

थकाली सभ्यताको उद्गम थलो घरपझोङ

  • थकाली समुदायको प्रख्यात ‘थकाली खाना’ पहिला आँखाले खान्छ, त्यसपछि नाकले र अनि मात्र जिब्रोले स्वाद लिन्छ, र पेट पनि सन्तुष्ट हुन्छ ।

हिमाली क्षेत्र अनेक रहस्य, रोमाञ्चक, कौतूहल र जिज्ञासाको विषय रही आएको छ । श्वेत, कञ्चन, हृदयग्राही, र विकट हिमाल जति राम्रा देखिन्छन्, त्यति नै त्यहाँ पाइला टेक्नु खेल्नु दुरुह, कठिन र सङ्घर्षमय छ ।

समुद्रसँग जोडिएका देशका मानिसले समुद्रसँग गरेको सङ्घर्ष र अनुभूतिका साहित्य एवम् सिनेमा सिर्जना गर्छन् भने हिमालसँग जोडिएकाले पनि हिमालकै महत्व, हिमाली जीवन र त्यस्ता सङ्घर्ष र सौन्दर्य पक्षलाई उजागर गर्ने साहित्य र सिनेमा सिर्जना गर्नुपर्छ ।

हामीसँग पनि प्रकृतिले दिएको अपार हिमसम्पदा छ, र हाम्रो सिर्जनाको केन्द्रविन्दु पनि हिमाल हुनुपर्दछ ।

एकदिन अमृत भादगाउँलेको फोन आयो र उनले ‘घरपझोङ काव्ययात्रा’का लागि निम्तो गरेँ । उनी पत्रकार भए पनि वाङ्मयसेवी पनि हुन् र पोखराको मुटुसँग उनको मुटु जोडिएको छ । पोखरा बसाइका क्रममा उनले देखाएको सक्रियता र गरेका उज्याला कामहरूले पोखरेलीका मनमा प्रियसी सरह बसेको मलाई अनुभूति हुन्छ ।

लेखकः लक्ष्मण थापा
लेखकः लक्ष्मण थापा

उनीसँगै दमौलीका दोस्त सागर उदास पनि रहेछन् । उनले अमृतजीसँग फोन मागेर ‘तपाईं जानुपर्छ दाजु !’ भनेर थपथाप गरे । स्नेहपूर्वक गरेको आग्रहलाई नाइँनास्ति गर्ने त कुरै थिएन । तैपनि ‘म घरमा सल्लाह गरेर भरे जवाफ दिन्छु’, भनेर कुरा टुङ्ग्याएँ । घर हाम्रो शारीरिक मात्र नभै मानसिक, नैतिक र भावनात्मक आश्रयस्थल पनि भएकाले घरको अनुमति लिनु ईश्वरीय वरदान लिए सरह मलाई लाग्छ ।
बेलुकी श्रीमतीसँग सल्लाह गरेपछि दुवैलाई ‘म जानें भएँ’ भन्ने जानकारी गराएँ ।

काव्ययात्रा २०८३ असार १३ देखि १६ गतेसम्मको थियो । ‘कन्सेप्ट नेपाल’को संयोजनमा मुस्ताङको घरपझोङ गाउँपालिकाले आयोजना गरेको रहेछ । कन्सेप्ट नेपालको कन्सेप्ट नै लोभलाग्दो छ । यस संस्थाले पहिला पनि देशका स्वनामधन्य साहित्यकार, पत्रकार, फोटोग्राफर आदि लिएर देशका विभिन्न ठाउँको यात्रामा गएको समाचार सबैले थाहा पाएकै विषय हो । यस्तो यात्रामा सहभागिता जनाउने रहर त जो कोहीलाई हुने नै भयो । तर, सहभागी हुन पनि समयले जुराउनुपर्ने रहेछ । मलाई पनि यसपटक जुरेछ । म रोमाञ्चित थिएँ ।
महर्षिणां भृगुरहं गिरामस्म्येकमक्षरम् ।
यज्ञानां जपयज्ञोस्मि स्थावराणां हिमालयः ।।२५।।
श्रीमद्भागवत गीतामा भगवान श्रीकृष्णले ‘म महर्षिहरूमा भृगु हुँ, वाणीमा दिव्य ध्वनि ओंकार हुँ, समग्र यज्ञहरूमा पवित्र यज्ञ (संकीर्तन) हुँ, समस्त अचल वस्तुहरूमा हिमालय हुँ’ भन्नु भएबाट हिमालको महत्व आध्यात्मिक रूपमा पनि कति रहेछ भन्ने प्रस्ट हुन्छ । अझ देवाधिदेव महादेवको वासस्थल हिमाल नै हो भने पार्वती त शैलपुत्री नै हुन् । त्यसैले पौराणिक कालदेखि अहिलेसम्म हिमालको महत्व वर्णनातीत छ । यतिबेला म यस्तो शब्दातीत महत्व बोकेको हिमालभन्दा पारिका भू–भागमा काव्ययात्रामा जान पाउने भएपछि मन फुरुङ्ग त हुने नै भयो ।

यात्राको दिन बिहान झोलामा एकजोर लुगा र ईश्वरमणी अधिकारी, दीपक समीप, जीवनसागर र मेरो संयुक्त मुक्तक सङ्ग्रह ‘दामली अक्षर’ पन्ध्रसोह्र थान पनि कोचेँ । पहिला म जिरो किमीमा अवस्थित ‘न्यू एरा’ भन्ने अतिथि गृहमा पुग्नु थियो । पुग्दाखेरी बिहान रात्रीबसबाट ओर्लेका बाल्कुराम पुन र कल्पना पलक आफ्ना झोला नजिकै राखेर कुर्सीमा बसिरहेका थिए ।

पर्यटनकर्मी पुन र युवा साहित्यकार पलकसँग अभिवादन आदान प्रदान गरी म पनि बसेँ । साहित्यकार भूपिन चितवनबाट आउँदै थिए भने अरू काठमाडौँबाट ।

‘हामी एयरपोर्ट पुग्यौं, जहाजमा चढ्यौं, पोखरा एयरपोर्टमा झ¥यौँ’ भन्ने जानकारी आइरहेको थियो । कुराइ पट्यारलाग्दो भएकाले म उठेर अतिथि गृहको बाहिरपट्टि उभिएँ । पूर्वतिर एउटा ग्यारेजबाट च्याँसे केटो हातमा खुर्पा लिएर बाहिर निस्केर अगाडिका रुखका हाँगा छपाछप काट्न लाग्यो । अर्को भुस्तिघ्रे निस्केर सतर्कतापूर्वक यताउता हेर्न थाल्यो । केही दिन पहिला पस्र्याङतिर त्यसैगरी बाटो छेउको रुखका हाँगा काट्ने रुखमारालाई महानगरले पाँच हजार रुपैयाँ जरिवाना गरेको थियो । सायद त्यहीँ थाहा पाएर होला ती पर्यावरणद्वैषी आँखाहरूले चलाखी देखाएका । त्यो देखेर मेरो मन कटक्क खायो ।

अरु कुरा झैं कुराइको पनि अन्त हुनु स्वभाविकै हो । काठमाडौंबाट आउने जहाज अवतरण गरेको, भूपिन पनि पोखरा आइपुगी बुद्धचोकमा पर्खी बसेको र माइक्रो बसमा सबैजना आउँदै गरेका खबर शृङ्खलाबद्ध रूपमा आइरहेकाले हामी झोला बोकेर सडक किनारमा उभियौं ।

हामी न्यू एरा अघि थियौ । बस जिरो किमी चोकभन्दा माथि पुगेर रोकियो । दौडादौड गर्दै पुगेर बस समायौ । पूर्वपरिचित या अपरिचित सबैसँग अभिवादन आदानप्रदान भयो ।

‘पोखरामा त कस्तो गर्मी !’ कसैले आफ्नो निष्कर्ष प्रस्तुत ग¥यो । तर, यो बोली कसको हो, भन्ने मेसो पाइनँ । ‘यसपाली पोखरामा गर्मी भएकै छैन । चैतदेखि हरेक दिन पानी परेकाले शीतल भइरहेको छ,’ मैले पोखराको पक्ष लिएँ । हुन पनि असार महिनासम्म कुनै दिन या रात गर्मी भएको महसुस भएन । माछापुच्छ्रे, अन्नपूर्ण र अनेक हिमाल, तालतलैया र नदीले आफ्ना शीतल हातहरूले पोखरेलीका गाला थप्थप्याइरहेझै’ लागिरहेको थियो ।

  • मार्फा बजारको रमाइलो हेर्न निस्कियौँ । साँघुरा गल्ली र परम्परागत पसलहरू । कबड्डी सिरिज र जेरी सिनेमाको सुटिङपछि पर्यटक सङ्ख्या उल्लेख्य बढेको हुनुपर्छ । एउटा गल्लीको नामै ‘जेरी गल्ली’ रहेछ ।

पुरानो टुँडिखेल पुगेपछि बसवालाले केही मर्मत गर्नुछ भन्दै ग्यारेज अगाडि रोक्यो । बसभित्र राष्ट्रिय गानका रचनाकार व्याकुल माइला, भूपिन, दीपेन्द्रसिंह थापा, अभय श्रेष्ठ, शिवप्रकाश, प्रगति राई, राजकुमार गजुरेल, सुमन थापा ‘सङ्गम’, अनुपम रोशी समेत थिए ।
कोही बाहिर निस्के भने कोही गर्मी छ, भन्दै भित्रै बसे । उत्तरतिर माछापुच्छ«ेले आफ्नो अनुपम सौन्दर्यका रश्मीहरूको बिस्कुन पसारेका थिए । काहुँडाँडा, भलाम, हरिहरगुफा लगायत ठाउँ उज्याला र आकाश सफा भए पनि बादलका थुप्राहरू ठाउँठाउँमा जम्मा भएर साउती मार्दै थिए ।

उदासजी र भादगाउँले म्याग्दीमा भेटिने योजनामा रहेछन् । घुमन्ते बानीका दुवै सँगसँगै ढोरपाटन यात्रारत रहेछन् ।

समय भएपछि पेटका मुसा त छट्पटाउने नै भए । मुसालाई शान्त गर्नुपूर्व अमृत र सागरसँग भेट भयो । ‘यो मायालाई बाटैमा भेटियो, पानी खाने पियासै मेटियो’ उपनाम उदास भए पनि रमाइला छन् सागर । छिनछिनमा गाइरहन्छन्, नाचिरहन्छन् र रमाइरहन्छन् । तर, अहिले मुसा शान्त पार्नुछ । त्यसमा लागि ‘लामा भान्सा घर’ तम्तयार छ । यसका सञ्चालक रमाइला, सङ्घर्षशील र कर्मवीर रहेछन् । घरको सरसफाइमा मात्र नभई खानाको स्वादमा पनि कन्जुस्याइँ पाइएन । तृप्त भइयो ।

त्यहाँबाट हामी कालीगण्डकी तिरैतिर उत्तर लाग्यौँ । करिब ३ किलोमिटर गुडेपछि गलेश्वरधाममा पसेर महादेव दर्शन गर्नुका साथै पुजारी र सञ्चालक समितिका पदाधिकारीबाट जानकारी प्राप्त ग¥यौ । नेपाल देवभूमि, पुण्यभूमि भएकाले हरेक थुम र नदीका दोभान र त्रिवेणीमा तीर्थस्थल छन् । ती सबैसँग एउटा न एउटा कथा छन् ।

गलेश्वरबाट हामी अघि बढ्यौ । सुविधाजनक इभी गाडी भएकाले शरीरलाई कष्ट भएन । बाटोमा पर्ने आकर्षण भनेको रुप्से झरना हो । त्यहाँ सबैले मनमाफिक फोटो र टिक्टक खिचे । अहिले भूस्खलनले होला झरनाको नुर गिरेझैं अनुभूति भयो । कतै उपयोगिता ह्रास नियम पनि लागु भयो कि कुन्नि !

दृश्यावलोकनका लागि फलामे सिँढी र दृश्यावलोकनस्थल बनाउँदै रहेछन् ।
बाटोमा भारतीय पर्यटकको आवतजावत ठुलो देखियो । पोखरामा पनि भारतीय पर्यटक बढेर व्यवसायी गदगद भएका थिए । भारतीय र चिनियाँ पर्यटकलाई आकर्षण गर्न सकेमा नेपाली व्यवसायीले चिन्ता मान्नु नपर्ने रहेछ । संसारकै सबैभन्दा गहिरो गल्छीको बाटो हिँड्दाको रोमाञ्चक अनुभूति भारतीयले पनि गरिरहेछन् ।

पर्यटनकर्मीका भनाइ अनुसार भारतीयहरू सस्तोमा यात्रा गर्न चाहने पर्यटक हुन् । त्यो नराम्रो कुरा हो झै त मलाई लागेन है ! तर कतिपयले भारतीय पर्यटकप्रति गुनासो राख्दा रहेछन् । वास्तवमा यो तिनको व्यक्तिगत समस्या हो किनभने पर्यटक खुसी छन् र ‘अफसिजन’मा होटल खचाखच भरिएकाले व्यवसायी पनि खुसी छन् । अरू खुसी नभएर के फरक प¥यो र ?

हाम्रो पहिलो रातको बसाइ मार्फा गाउँको ‘रोयल मार्फा होटल’मा रह्यो । मेरो कोठा साथी अभय श्रेष्ठ रहेँ र यो साथ तीनै रात रह्यो । बेलुकी बिजुलीको उज्यालोमा मार्फा बजारको रमाइलो हेर्न निस्कियौँ । साँघुरा गल्ली र परम्परागत पसलहरू । कबड्डी सिरिज र जेरी सिनेमाको सुटिङपछि पर्यटक सङ्ख्या उल्लेख्य बढेको हुनुपर्छ । एउटा गल्लीको नामै ‘जेरी गल्ली’ रहेछ ।

मदिराप्रेमी साथीहरू उवाको रक्सी चाख्ने भन्न थाले । एउटा ‘नामालुम’ होटलमा पसियो । साथीहरु उसिनेको आलु, भट्ट र उवाको झोल मगाएर सेवन गर्न थाले । त्यसैबेला टुप्लुक्क घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन आइपुगे । चिनापर्चीसँग उनले हाम्रो कार्यक्रम र गाउँपालिकाको विषयमा जानकारी दिए ।

भोलिपल्ट बिहान अध्यक्षसमेतको उपस्थितिमा हामी मार्फा बजारका गल्लीगल्ली घुम्यौँ । हिमाली पोसाक पहिरेर आफूलाई हे¥यौँ । महिला साथीहरूले भने थकाली पहिरन लगाए ।

हामी त्यहाँका गल्ली र गुम्बामा घुम्यौँ ।
‘थकाली खाना पहिला आँखाले खान्छ, त्यसपछि नाकले र अनि मात्र जिब्रोले स्वाद लिन्छ र पेट पनि सन्तुष्ट हुन्छ’, थकाली खानाको लोकप्रियताको रहस्य उत्खनन गर्दै अध्यक्ष मोहनसिंहले थकालीका व्यावसायिक सफलताको कथा सुनाए ।

आफैँ जापानमा २५ वर्ष व्यवसाय गरी देशकै लागि केही गरौँ भनी फर्केर गाउँपालिका अध्यक्ष भएका लालचनले त्यहाँको पर्यटन, कृषि, उद्योग, यातायात र पर्यावरणका बारेमा आफ्नो धारणा राख्दै आगामी कार्यक्रमका बारेमा पनि जानकारी दिए ।

बिहानी खाजापछि हामी अध्यक्ष मोहनसिंह र उपाध्यक्ष जमुना थकालीसहित जिपमा कालीगण्डकी तरेर पूर्वतिर उकालो लाग्यौँ । हाम्रो गन्तव्य चिमाङ गाउँ थियो । अध्यक्ष र उपाध्यक्ष स्वयंले हाम्रो मार्गदर्शकको भूमिका निर्वाह गरेका थिए । उनीहरू हाम्रो साथसाथै हिँडेर वस्तुस्थितिका बारेमा जानकारी पाउँदा हामी गद्गद हुनु स्वाभाविकै हो ।

हामीले कालीगण्डकी तीरमा अनेक स्याउबगैँचा देखिरहेका थियौँ । स्याउ उत्पादनमा त मुस्ताङ प्रसिद्ध नै छ । त्यस्तै आलु, सागपात, लसुन, खुर्पानी, उवा र फापर पनि प्रसिद्ध उत्पादन हुन् ।

हामी चिमाङ गाउँमा पुग्दा त्यहाँको शान्त वातावरण, परम्परागत घर, नजिकै नीलगिरीको हिउँ पग्लेर झरेका झरनाले मोहित बनाए । अध्यक्षले त्यहाँको बाटोघाटो, कृषि उत्पादन, भण्डारण, सिँचाइ र पशुपालनका साथै जनजीवनकाबारेमा पनि प्रकाश पारे ।

गाउँ परम्परागत भए पनि आधुनिक सुविधाबाट वञ्चित रहेनछ । गाउँलेले पानी, बिजुली, टेलिभिजन, लुगा धुने मेसिन सबै सुविधा उपभोग गरिरहेका रहेछन् । गाउँको बाटोबाटै ढलानयुक्त कुलो बनाइ सिँचाइका लागि पानी बारीमा लगिएको रहेछ । हामी बारीका फलफूल र अन्य उत्पादन हेर्दै ओर्लिरहेका बेलामा एकजना किसान उक्लँदै गरेको देख्यौँ ।

उनी थिए, इन्द्रप्रसाद थकाली । उनीसँग भलाकुसारी गर्दा थाहा भयो, उनी पूर्व शिक्षक रहेछन् । मावि द्वितीय श्रेणीबाट अवकाश लिएका रहेछन् र पोखराको डेविज फलमा पनि घर जोडेका रहेछन् । अवकाशपछि कृषि कर्ममा लागेका रहेछन् । म पनि शिक्षकबाट निवृत्त भएकाले उनीप्रति भावनात्मक रूपमा जोडिन पनि पुगें । पछि बात मारौँला भनेर फोन नम्बर लिएँ ।

गाउँको फेदीमा छैरौ छहरा गुम्बा रहेछ । निकै पुरानो यो गुम्बा पनि अहिले उपेक्षित रहेछ, कारण बसाइँसराइँ । गाउँबाट मानिस पलायन भएपछि गाउँका चौतारा, पाटीपौवा, मन्दिर, गुम्बा, बारी, सबैसबै उपेक्षित भइरहेको देखिन्छ । यस गुम्बालाई गाउँपालिकाले मर्मतसम्भार गरिरहेको रहेछ । स्थानीयले छाडेर गाउँलाई गोल्ड स्मिथको ‘डिजर्टेड भिलेज’ बनाए पनि यी ठाउँको संरक्षण गर्न सके पर्यटन गन्तव्य थपिन सक्छन् ।

पोखराका छोरेपाटन, पृथ्वीचोक, हेमजा झैँ यहाँ पनि तिब्बती शरणार्थी शिविर रहेछ । शिविर कटेपछि छैरो छहरा देखियो । झरनाको कमाल के भने माथिबाट झरेको पानी माथि नै हराउने । यसको कारण तीव्र गतिले बहने हावाले पानी नै उडाइदिने रहेछ । यहाँको हावाको गति कति रहेछ भन्ने कुरा अनुभव पनि भयो । हामी उकालो बाटो चढ्दै कुछप तेरङ्गा गुम्बा जाँदै थियौं । वनस्पतिरहित तारेभिर सम्झाउने बाटोमा मोटर रोकेर अध्यक्षलगायत सबै ओर्लिए । म र अभय अल्छी मानेर भित्रै बसिरह्यौं । तर, हावाले मोटर त पल्टाउलाझैँ गरी हल्लाउन थाल्यो । छङ्गाछुर भिरमा पल्टिए बाँच्ने आशा शून्य थियो । हामी हामीभित्रको अल्छीको घाँटी निमोठेर मोटरबाट बाहिर निस्कियौँ ।

आफ्नो ज्यान त सबैलाई प्यारो नै लाग्दोरहेछ । अनाहकमा बहादुरी देखाउनु बुद्धिमत्ता थिएन भनी मन बुझाउन सकिन्छ ।
गुम्बा नाकको डाँडीजस्तो डाँडाको टुप्पो भिरमाथि पो रहेछ । त्यहाँको भिरालोपनले आङै सिरिङ्ग पा¥यो । नेपालमा अनगिन्ती डाँडा छन् र हरेक डाँडामाथि पुग्दा दैवी पराकम्पनले सर्लक्कै छोपेझैं लाग्छ ।

  • साहित्यमा लाग्नुको मज्जा यसैमा लाग्छ । कतै पञ्चेबाजा बजाएर स्वागत गर्छन् भने कतै खैँजडीमुजुरा बजाएर । मनमनै गमे,‘साहित्यकारलाई यत्तिको सम्मान त समाजले दिइरहेछ । फेरि पनि कतिपय साहित्यकार सरकारले वास्ता गर्दैन भनेर किन गुनासो गरिरहन्छन् !’

विदेशका अनेक डाँडा र पहाड़मा केके न छ भनेर पुग्दा कताकता नीरस, फिक्का र रुखा भएको आभास भएको छ । त्यसैले नेपाललाई देवभूमि र तपोभूमि भनिएको होला ! यतिखेर यहाँका ढुङ्गा उडाउने बतासले मुटु कमायो । उत्तरतिरको अपेक्षाकृत होचो डाँडामा सर्लक्क परेर बसेको ढुम्बातालको विहङ्गम दृश्य देख्दा उडेर गइहालौँ कि झैँ लागिरहेको थियो । तर, पँखेटा त थिएनन् । त्यसैले गुडेरै गइयो ।
बिहानदेखि घामले सिङ्गै आकाशको यात्रा गरिसक्न लागेको थियो र हामीले धर्तीको सानो टुक्राको । मुटु आकारको ढुम्बातालसँग जिस्किँदा चिसो बतास हामीसँग जिस्किरहेको थियो । तैपनि बतासको जिस्क्याइलाई बलजफती सहँदै इच्छानुसार फोटो खिच्ने, टिक्टक बनाउन र एक फन्को सेलरोटी बनाउने काममा कन्जुस्याइँ भएन ।

उपाध्यक्ष जमुना थकाली थापामगरको घरगाउँ ठिनीमा पुग्दा गाउँको मुखमै याक नाच नाँचेर गाउँलेहरू स्वागत गर्न आइपुगे । साहित्यमा लाग्नुको मज्जा यसैमा लाग्छ । कतै पञ्चेबाजा बजाएर स्वागत गर्छन् भने कतै खैँजडीमुजुरा बजाएर । मनमनै गमे,‘साहित्यकारलाई यत्तिको सम्मान त समाजले दिइरहेछ । फेरि पनि कतिपय साहित्यकार कसैले वास्ता गर्दैनन्, सरकारले वास्ता गर्दैन भनेर किन गुनासो गरिरहन्छन् !’ अचम्म लाग्छ !

टोलीले हामीलाई गाउँको बिचसम्म नाच्दै लगे र खाजाले स्वागत गरी बासको ठेगान दिए । जोडी उही हिजोकै थियौँ, अभय र म । आश्रयस्थल अलि पल्तिर । घरबेटी युवतीले हामीलाई डो¥याएर घर पु¥याइन् । परम्परागत थकाली घर । माटोको छतमाथि दुई कोठा रहेछन् । एउटामा शरीर बिसायौ ।

‘सर ! म समाजघरमा जान्छु । सबै मिलेर खाना पकाउँछौ । खान आठ बजेतिर आउनुहोला ।’ जाँगरिली न जाँगरिली देखिने पातली र ससानो जिउडालकी घरबेटी यति भनेर हिँडिन् ।

उनको बिहे गोर्खामा भएको रहेछ । दुई जनाबीच उतै लभ परेछ । के लाग्यो ? अहिले यतै घरजम गरेर स्कुल पढ्ने बाह्रतेह्र वर्षको छोरा बनाइसकेका रहेछन् । कृषक श्रीमान् चाहिँ बारीतिर रे । गाई पालेका रहेछन् । सायद घाँसपात व्यवस्थातिर लागे होलान् ।
हामी समाजघर पुग्दा होम–स्टे सञ्चालक महिला समूह खाना पकाइरहेको थियो । ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः ।’ भन्ने संस्कृत वाक्य मेरो मनमा आयो । सोचेँ, कति जाँगरिला होलान् यी नारी भर्खर हाम्लाई स्वागत गर्दै थिए, खाजा बाँड्दै थिए, आ–आफ्ना घरमा पु¥याएँ । अहिले खाना पकाउँदै छन् ।

खाना ख्वाइवरी भाँडा माझेर थन्क्याई घर पुग्ने कतिबेला होला ? फेरि भोलि बिहानै उठेर घरधन्दा गर्नु त छँदैछ । ठिकै हो नारी वास्तवमै गृहलक्ष्मी र सम्पन्नता एवम् सृष्टिका आधारस्तम्भ हुन् ।

खानापछि बेलुकी अभय र मैले कोठामा दुईचार थान काव्य वाचन पनि ग¥यौ । कवि भेट भएपछि कविताकै कुरा गर्ने हो । भोलिपल्ट बिहान उषारमण गर्ने क्रममा घरपझोङ किल्ला गयौ । वल्लो डाँडाबाट खोलामा झरेर फेरि उकालो चढेर डाँडाको टुप्पामा पुग्नु कम्ता मेहनत लाग्दैनथ्यो तर खानपानमा सतर्क रहने र योगाभ्यास गर्ने, उमेरमा पनि कम अभयलाई समस्या परेन र मलाई पनि केही गाह्रो लागेन ।
‘म बिहान बेलुकी हरेक दिन ‘होलबडी चेक’(हिँड्ने) गर्छु । त्यसैले ठिक छु ।’ मैले पार्से कुरा गरेँ । अभयले बुझेर हाँसे ।
यो घरपझोङ किल्लाकै ऐतिहासिक महत्वलाई जीवन्तता दिन गाउँपलिकाको नाम घरपझोङ राखे होलान् । म इतिहासको पनि विद्यार्थी भएकाले पुरातात्विक महत्वका वस्तुप्रति मोह छ ।

फर्कंदा स्याउबारीमा पसेर केही खुर्पानी टिप्यौ । चोरेको हैन नि ! फर्म मालिकले हार्दिकतापूर्वक स्वागत गरेका हुन् । पन्ध्र गतेको पहिलो गन्तव्य जोमसोमको जनहित माविमा रह्यो । विद्यालय परिसरमा पसेपछि मलाई पूर्वस्मृतिले ग्वाम्लाङ्गै छोप्यो । मैले बत्तिस वर्ष बिताएको छोरेपाटन माविलाई सम्झे । ती शिक्षक साथी, कर्मचारी र विद्यार्थीहरू कोलाज बनेर मभित्र हुँडलिन आइपुगे । आज हामी यहाँ राष्ट्रिय गानका सर्जक व्याकुल माइलासँग पुगेका थियौँ ।

विद्यार्थीसँग उभिएर व्याकुल माइलासँग हामीले पनि राष्ट्रिय गान गायौँ । कुनै दिन राष्ट्रिय गान गाएरै मेरो पनि कामको थालनी हुन्थ्यो । अहिले त्यो स्मृतिमा मात्र छ ।

त्यहाँबाट हामी मुक्तिनाथ सोझियौँ । मुक्तिनाथको उकालो यसपटक गाह्रो लागेन । किनभने नयाँ सिँढ़ी तेर्सातेर्सा थिए ।
भूपिन, अभय र म केहीबेर मन्दिरदेखि पूर्वमा रहेको विशाल मूर्तिको अघि बसेर आध्यात्मिक दर्शनका बारेमा गफ छाँट्यौं । उनीहरू दुवै एथिस्ट, म ईश्वरीय तत्व छ भन्नेमा विश्वास गर्ने अर्थात् अध्यात्ममा विश्वास गर्ने तर, सम्प्रदायलाई हेर्ने आफ्नै दृष्टिकोण छ झैँ लाग्छ ।
त्यहाँबाट फर्कंदा कागबेनीमा रोकिई काली नदी, अगाडिको नाङ्गा पहाड, ठाउँको मौलिकता अतिक्रमणकारी भवनहरू अवलोकन गर्दै भूस्खलन र बाढीको जोखिमबारे चिन्ता ग¥यौँ ।

दश, बाह्र वर्ष पहिला यहाँ पितृश्राद्ध गर्न आउँदाको अवस्था र अहिलेको अवस्थामा ठुलो अन्तर भेटियो । कङ्व्रिmटको जङ्गल धेरै बढेछ र बाढीको जोखिम अझै बढेको झँै लाग्यो । गज्जब कुरा त के भनें अनौठो दाह्रीकला भएका दार्शनिक झै बात गर्ने हँसिला शिवप्रकाशले यो भूगोललाई दोस्रो ‘ग्य्रान्ड क्यानन’ नाम दिएका छन् ।

जोमसोम बजारस्थित घरपझोङ गाउँपालिका भवनमा आइपुग्दा अध्यक्ष र उपाध्यक्ष त्यहाँ रहेछन् । अध्यक्षले नदी किनारमा लगेपछि हामी ‘स्टेच्यु’ झैं बन्यौ“ । किनभने मिल्किएका पत्थरलाई देशका कलाकार बोलाई ताछेर जीवन्त मूर्ति बनाइएका रहेछन् । भर्खरै बोल्छन् कि जस्ता मूर्ति अवलोकनपछि हामी अध्यक्षको दूरदृष्टि र कलाप्रियताको प्रशंसा गरेरै नथाक्ने अवस्थामा पुगेका थियौ ।
बेलुकी रात बिताउन स्याङ गाउँमा पुग्दा गोधूलि भइसकेको थियो । स्थानीय महिलाले टीका र फूलले स्वागत गरे ।

आजको सन्ध्या विशेष काव्य वाचन रह्यो । भूपिनको कविता ‘स्याउबाजे’ले गम्भीर बनायो । सागर उदास हल्काफुल्का मुक्तक र गीतले बसाई रोचक पार्न सिपालु छन् । आजको रात दीपेन्द्रसिंह पनि थपिएपछि तीनजनाले होमस्टे समूहकै अध्यक्षको घरमा बितायौ ।
बिहानी भ्रमणमा टासी लाखाङ र उर्गेन छ्योलिङ गुम्बा र आधुनिक पार्कमा पद्मसम्भवको दर्शन ग¥यौ । त्यसैबेला लामाहरू आइ ध्यान बस्न लागेको देखेपछि उनीहरूसँग सकिन्जेन ध्यान बस्ने लोभ पलायो र सुखासनमा बस्यौ“ । योग र ध्यानप्रति मेरो निकै रुचि छ । त्यसैले पाएको मौका किन गुमाउनु ?

झन् साधकका छेउमा बसेर ध्यान गर्न पाउनु सुन्दर अवसर पनि हो ।
नीलगिरि, च्याङ्फु हिमाल, कालीगण्डकी, ठिनी, स्याङ, जोमसोम, घरपझोङ किल्ला, ढुम्बातालको विहङ्गम दृश्यले मन पुलकित भयो ।
गाउँको सिरानमा रहेको फोला मन्दिरमा गई गाउँकी रक्षक देवीको दर्शन ग¥यौ“ । यसलाई गाउँको सिरान भने पनि डाँडाको त काखैमा हो ।
त्यस दिनको अन्तिम र औपचारिक कार्यव्रmम गाउँपालिकाको प्रेक्षालयमा पहिलो सेसन ‘जलवायुले पारेको असर र दिगो पर्यटन’ विषयमा भूपिनले सहजीकरण गरे । वक्ताका रूपमा गाउँपालिका अध्यक्ष मोहनसिंह र उपाध्यक्ष जमुना थकाली थिए ।
‘ग्लोबल वार्मिङ’ले पार्नसक्ने असरले पर्यटन र समग्र आर्थिक क्षेत्रमा पर्नसक्ने गम्भीर असरबारे चिन्ता व्यक्त भयो ।

हाम्रो काव्ययात्राको सबैभन्दा सुन्दर पक्ष भनेको जीवनभर निष्ठापूर्वक आफ्नो पेसा गरी आएका तीनजना भुइँमान्छे, सिलाई गरी जीविकोपार्जन गर्ने कुमारी नेपाली, काठको काम गर्ने मनप्रसाद बिक र आरन सञ्चालक साइला बिकलाई जनही दश हजार रुपैयाँसहित सम्मानपत्रले सम्मानित गर्ने उदाहरणीय काम भयो । यी शिल्पीहरूले जीवनमै यस्तो सम्मानको सपना देखेका थिएनन् । तर, यस्ता भुइँमान्छेलाई सम्मान गर्नुपर्छ भन्ने सत् विचार भादगाउँलेमै आउँछ । भुइँमान्छेको सम्मान गरी आत्मबल उकास्न कन्सेप्ट नेपालले गर्ने कामप्रति नतमस्तक हुन मन लाग्यो ।

अन्त्यमा, औपचारिक रूपमा कविता वाचन कार्यक्रम पनि भयो

बिदाइ हुनुपूर्व नभुलिने अर्को प्रसङ्ग पनि छ । त्यो हो, गाउँपालिकामै लेखा अधिकृत काम गर्ने मेरो प्यारो विद्यार्थी सुजित बराल र कोलेनिकामा कार्यरत सागर सुवेदीसँगको भेट । शिक्षक पेसाको सौन्दर्य र गरिमा नै यहीँ हो कि जहाँ गए पनि कोही न कोही विद्यार्थीसँग भेट भइहाल्ने ।

विद्यार्थीका रूपमा एउटा शिक्षकको पटकपटक पुनर्जन्म भइरहन्छ जस्तो लाग्छ, र यो पेसाप्रति गर्व पनि लाग्छ । अर्को गाउँपालिकाको तर्फबाट अध्यक्ष र उपाध्यक्षले एकेक झोला कोसेली थमाउनु । कोसेली के–के थिए त्यतिबेला मलाई थाहा भएन । छुच्चो जस्तो गरी हेरिहाल्न पनि भएन क्यारे !

२०८३, २२ भाद्र सोमबार ०४:३९
कथालिका नयाँ कथा
कथालिका