धरानको कृति पुरस्कार दुई बागलुङेको कृति ‘मध्यको उज्यालो’ र ‘लाहुरेनी सौन्दर्य’लाई – कथालिका

धरानको कृति पुरस्कार दुई बागलुङेको कृति ‘मध्यको उज्यालो’ र ‘लाहुरेनी सौन्दर्य’लाई

  • यसपटकको पुरस्कारको रोचक संयोग, पुरस्कृत कृतिहरुका दुबै सर्जकको जन्मभूमि बागलुङ हो ।

वर्षेनी प्रदान गरिदै आएको ‘विमल गुरुङ कृति पुरस्कार’ भूपिन खड्काको कृति ‘मध्यको उज्यालो’ र जुनु रानाको कृति ‘लाहुरेनी सौन्दर्य’लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।

धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालय व्यबस्थापन समितिको बुधबार बसेको बैठकले खड्का र रानाको निबन्ध कृतिलाई संयुक्तरुपमा प्रदान गर्ने निर्णय गरेको हो । यसपटकको पुरस्कारको रोचक संयोग, पुरस्कृत कृतिहरुका दुबै सर्जकको जन्मभूमि बागलुङ हो ।

पुरस्कार राशी नगद दुई लाख रुपैया, ताम्रा पत्र रहेको छ । विमल गुरुङ कृति पुरस्कारका लागि स्वदेश र विदेशका लेखक, कवि साहित्यकारहरुले लेखेका नेपाली भषाका ५२ कृति प्राप्त भएको र निर्णयक मण्डलले पहिले श्रेष्ट १० कृति छनौट गर्दै अन्तिममा तिनै कृतिहरु मध्ये यसपटक दुई निबन्ध कृतिलाई संयुक्त रुपमा विमल गरुङ कृति पुरस्कार प्रदान गर्ने घोषणा गरिएको पुस्तकालयका उपाध्यक्ष प्रदीप मेन्याङ्बोले बताए ।

पुस्तकालयका अध्यक्ष पूर्णवहादुर गुरुङका अनुसार दुवै कृतिका सर्जकहरुलाई यही कात्तिक १९ गते पुस्तकालयको भवनमा आयोजना हुने विमल गुरुङको ५५ औं जन्मजयन्ती तथा ३५ औं राष्ट्रिय कविता महोत्सवको अवसरमा पुरस्कार र ताम्रपत्र प्रदान गरिने छ । उक्त अवसरमा पत्रकार तथा कवि प्रदीप मेन्याङ्बोद्धारा सम्पादित संयोजित ‘विमल गुरुङका प्रतिनिधि कविताहरु’ कविता संग्रहको पनि लोकापर्ण गरिने सचिव चन्द्र गुरुङले बताए ।

उक्त अवसरमा पुस्तकालयले यसअघि छनौट गरेका उत्कृष्ट १० कविता मध्येबाट विजेता तीनजनालाई पनि पुरस्कार प्रदान गरिने अध्यक्ष गुरुङले बताए । कवितामा प्रथम, द्धितिय र तृतीयलाई क्रमशः नगद २१ हजार रुपैया, १८ हजार रुपैया र १७ हजार रुपैया, मेडल र प्रमाणपत्र प्रदान गरिने पुस्तकालयका संचालक समितिका सदस्य राज माङ्लाकले बताए । कविता महोत्सवमा विमल गुरुङ स्मृति पुस्तकालयले यो बर्षको युवा प्रतिभा सम्मान राष्ट्रिय समाचार समिति (रासस)का सुनसरी प्रतिनिधि संगिता राई (स्वर्णिम)लाई प्रदान गर्ने पनि निर्णय गरेको छ ।

२०८३, १२ कार्तिक बुधबार १५:०४
कथालिका नयाँ कथा
कथालिका