मछिन्द्र शाक्यः जो डिजिटल जमानामा हस्तकलामै जीवन लेख्छन् – कथालिका

मछिन्द्र शाक्यः जो डिजिटल जमानामा हस्तकलामै जीवन लेख्छन्

सूचना प्रविधिको विकासले हरेक क्षेत्रलाई सहज र सरल बनाउँदै गएको छ । गाउँदेखि सहरसम्म जताततै डिजिटल प्रबिधिको प्रयोग भइ रहेको छ । प्रविधिको विकासले अधिक क्षेत्रलाई सहज बनाएको त छनै तर पुराना कला संस्कृतिलाई भने गुमनाम हुने अवस्था पु¥याएको छ । हरेक व्यक्तिले आधुनिक प्रबिधिको प्रयोग गरेर कामकाजलाई सहज बनाएका छन् भने आर्थिक आयआर्जनको माध्यमलाई पनि थप व्यवस्थित र सहज बनाएका छन् ।

बागलुङमा एउटा यस्तो व्यक्ति छन् जो आधुनिक प्रविधिको प्रयोग बिनै आफ्नै मौलिक कलालाई निरन्तरता दिई जीविकोपार्जन सहज रुपमै गरेका छन् । उनी हुन् मछिन्द्र प्रसाद शाक्य । शाक्यले बागलुङ बजारमा विगत ३० वर्षदेखि चित्र कोरेरै जीवनयापन गरि रहेका छन् । सानैदेखि चित्र कोर्ने, पेन्टिङ् गर्ने कार्यमा रुचि राख्ने शाक्यले अन्ततः कला व्यवसाय नै रोजे ।

आफ्नै बाबा पदमप्रसाद शाक्यबाट चित्र कोर्न सिका शाक्यले अहिलेसम्म अनगिन्ती तस्बिरहरु कोरे, पेन्टिङ् गरे । वि.सं. २०४९ सालदेखि व्यवसायीक रुपमा चित्र कोर्न थालेका शाक्यलले सबैभन्दा सुरुमा तत्कालिन राजा महेन्द्र शाहको तस्बिर कोरेका थिए । त्यससँगै उनले विभिन्न देवि देवता र प्रकृतिको तस्बिर कोर्ने गरेका थिए । शाक्य अहिले उमेरले ५५ वर्ष भए तर उनको जोस जाँगर भने युवाको जस्तै छ । उनी चित्र कोर्ने, ब्यानर लेख्ने साइनबोर्ड र लेख्ने लगायतका कला सम्बन्धि काम निरन्तर गरि रहेका छन् ।

सुरुमा टिनको पातामा चित्र गर्ने गरेका शाक्यले पछि–पछि कपडा, लगायत विभिन्न वस्तुहरुमा पेन्टिङ गर्न सुरु गरेका थिए । ब्यानर र साइनबोर्ड लेख्न आफ्नो साथीबाट सिकेका शाक्यले चित्रहरु भने आफ्जै कोर्न सक्थे । अहिले पनि चित्र कोर्ने, ब्यानर र साइनबोर्ड लेख्न र वाल पेन्टिङको काम दैनिक जसो गर्दै आएका छन् । वि.सं. २०४६ सालमा बीए पास गरेका शाक्यले अरु जागरि पनि गर्न सक्थे । तर उनी त्यस तर्फ चासो देखाएनन् । उनी आफ्नै कलालाई व्यवसायको रुपमा विकास गरे ।

शिक्षण पेसा छोडेर कला व्यवसाय
शाक्यले वि.सं. २०४५ सालमा शिक्षण पेसा पनि अङ्गाले । त्यो पेसाले पनि उनलाई सन्तुष्टि मिलेन । मालिका माविमा २ वर्ष शिक्षण पेसा गरेपछि उनी काठमाडौँ छिरे । उनी वि.सं. २०४६ सालमा बीए पास गरेपछि माथिल्लो तहको पढाईका लागि २०४७ साल तिर काठमाडौँ छिरेका शाक्यले त्यहाँ विभिन्न आरोहअवरोहहरु पार्नु पर्नु प¥यो ।

त्यसै सिलसिलामा आर्थिक अभावका कारण शाक्य एक एक्सपोर्ट कम्पनीमा काम सुरु गरे । त्यस समयमा पनि आफूले निकै समस्या भोग्नु परेको अनुभव शाक्यले सुनाए । त्यस बखत ठेलागाडामा सामान ओसारपसार समेत गरेको उनको अनुभव छ । त्यसपछि उनी बागलुङ फर्किएर कला व्यवसाय सुरु गरे ।

९०० बाट व्यवसाय सुरु
काठमाडौँबाट गाउँ फर्किएपछि शाक्यले २०४९ सालमा बागलुङमा अन्तर आर्ट खोले । त्यसबेलादेखि सुरु भएको शाक्यको व्यवसायीक कला व्यवसाय अहिले पनि उत्तिकै उर्जाका साथ संचालनमा छ । ९०० रुपैयाँबाट व्यवसाय सुरु गरेका शाक्य अहिलेसम्म करोडपति बनि सकेका छन् । आफ्नै कलामा रमाउने शाक्यलाई घर्किँदो उमेरले केही फरक नै पारेको छैन ।

‘बुबाले ९०० रुपैयाँको बेञ्च र टेवल ल्याई दिनु भयो, त्यही बेञ्च र टेवलबाट सुरु गरेको व्यवसाय अहिलेसम्म चलि रहेकै छ,’ शाक्यले भन्नुभयो ‘जहिलेसम्म हातले कलम र मसी समात्न सक्छ त्यसबेलासम्म यो व्यवसाय चल्नेछ, अरु जस्तो दुःख छैन, जतिबेला गरे पनि भयो, आफ्नै हिसाबले काम गर्न पाइन्छ, कसैको दबाव सहनु परेन ।’

शाक्यको यही पेसाबाटै दुई छोराले उच्च शिक्षा हाँसिल गरि रहेका छन् । जेठो छोरो अहिले अध्ययनकै लागि अष्ट्रेलिया पुगेका छन् । परिवारको जीविको पार्जनसँगै शाक्यले बागलुङ बजारको सिर्जनाटोलमा पक्की घर समेत बनाएका छ । दुई छोरा र श्रीमतिसहित पाँच जनाको परिवार खुसी साथ जीवन निर्वाह भईरहेको शाक्य बताउँछन् ।

‘अरु पेसामा चासो दिइएन, अहिले ३० वर्ष भयो मैले यो पेसा सुरु गरेको, अहिलेसम्म परिवार खुसी नै छ, सबै जना सन्तुष्टिनै छन्, जीविकापार्जन पनि राम्रै भएको छ,’ शाक्यले भन्नुभयो ‘परिवारलाई खुसी राख्नु नै मेरो दायित्व हो, अहिलेसम्म राम्रै चलिरहेको छ ।’

प्रबिधिको विकासले मौलिक कला संकटमा
बढ्दो प्रबिधिका कारण मौलिक कला संकटमा पर्दै गएको शाक्य बताउनुहुन्छ । उहाँले पहिले अत्याधिका रुपमा हुने भित्ते लेखन, ब्यानर, साइनबोर्ड लेखनहरु अहिले फ्लेक्स प्रिन्टले गर्दा निकै कम भएको बताउनुभयो । ‘पहिल–पहिले भित्ते लेखन, व्यवसायीक साइबोर्डहरु लेख्नका लागि निकै आउने गर्थे तर अहिले ह्वात्तै घटेको छ, व्यवसायीहरुले पनि फ्लेक्स प्रिन्ट गर्न तर्फ लागे त्यसले गर्दा यो काम निकै कम आउने गरेको छ,’ शाक्यले भने ‘केही वर्ष अगाडीसम्म त भ्याइनभ्याई हुन्थ्यो, हातले लेख्न कामहरु अहिले बिस्तारै घटि रहेको छ ।’

उनले आधुनिकताले कला क्षेत्रलाई प्रभाव पारे पनि आफूले यही रुपमै आफ्नो व्यवसायलाई निरन्तरता दिने बताए । शाक्यले पेन्टिङले नै आफूलाई चिनाएको भन्दै आफू फ्लेक्स तिर नलागेको बताए । ‘मलाई यही कलाले चिनाएको हो, यतिका वर्ष भयो मैले यसैलाई नै निरन्तरता दिएको छु, यो मेरो कला हो, मैला कला बेच्छु,’ उनले भने ‘डिजिटल त जसले पनि राख्न सक्छ, यस्तो कला सबैमा हुँदैन ।’
शाक्यले आफूलाई भगवानले नै गरि खान भनि यो कला दिएको बताउँछन् । आफूले बायाँ हातले नै सबै चित्रहरु कोर्ने र लेख्ने गरेको भन्दै कलाको संरक्षण सबैले गर्नु पर्ने शाक्यको भनाई छ ।

व्यवसायबाट राम्रो आम्दानी
९०० रुपैयाँबाट कला व्यवसाय सुरु गरेका शाक्यले अहिले वार्षिक १५ लाख बढी आम्दानी गर्दै आएको बताउँछन् । शाक्यको पसलमा अहिले पनि सयौँ नागरिकहरु चित्र कोर्न र कला सम्बन्धी कामहरु लिएर आउने गर्छन् ।

‘डिजिटलाटले केही प्रभाव त पारेकै छ तर अझै पनि धेरै नागरिकहरु विभिन्न काम लिएर आउने गर्नुहुन्छ, कहिले काहीँ भित्ते लेखनको काम पनि हुन्छ, यो व्यवसाय निकै राम्रो छ,’ शाक्यले भने ‘कहिले दिन मै २० हजार पनि हुन्छ कहिले आम्दानी निकै कम हुन्छ तर कमाई भएन भने र निरास हुनु पर्ने अवस्था भने छैन, पहिलेको तुलनामा केही कम भएकै छ, त्यस्तो ठप्पै चाहीँ भएको छैन ।’

शाक्यको रन्तल आर्ट पुग्यो भने सयौँ प्रकारका चित्रहरु देख्न सक्निछ । उनले आफ्नो कार्यकक्षदेखि घरका भित्ताहरु पनि आफैले कोरेका आकर्षक चित्रहरु राखेका छन् । जसले उनको घरको स्वभानै बढाई दिएको छ । पछिल्लो समय कला व्यवसाय गर्नेहरु समेत घट्दै गएको शाक्य बताउँछन् । उनले अधिकांशले डिजिटल प्रबिधिको प्रयोग गर्ने हुँदा मौलिक कला ओझेलमा पर्न थालेको बताए ।

२०७८, १३ मंसिर सोमबार १६:४४
कथालिका नयाँ कथा
कथालिका