नेपालको विश्वकप क्रिकेट सपना अधुरै – कथालिका

नेपालको विश्वकप क्रिकेट सपना अधुरै

नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै भएको छ ।

आइसीसी टी–ट्वान्टी विश्वकप छनोटअन्तर्गतको ग्लोबल छनोटको सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेटस ९युएई०सित पराजित भएसँगै नेपाल विश्वकप खेल्नबाट चुकेको हो । नेपाल युएईसँग ६८ रनले पराजित भएको छ ।

ओमानको मस्कटस्थित क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा टस जितेर ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनायो । एक सय ७६ रनको विजय लक्ष्य पछ्याएको नेपालले १८ दशमलव चार ओभरमा सवै विकेट गुमाउँदै एक सय सात रन मात्र बनाउन सक्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्लले २०, आरिफ शेखले ११, विवेक यादवले ८, कुशल भुर्तेलले ७, जीतेन्द्र मुखियाले ५, कमलसिंह ऐरीले ४ र कप्तान सन्दीप लामिछानेले ४ रन बनाए । बलिङतर्फ युएईका अहमद राजाले ५, जुनैद सिद्दिकीले ३ तथा कशिफ दाउद र रोहन मुस्तफाले एक एक विकेट लिए ।

यसअघि युएईका लागि मुहमद वासिमले ७० रनको अर्धशतकीय पारी खेलेका थिए । उनले ४८ बल खेल्ने क्रममा चार चौका र चार छक्का हाने । यस्तै भृत्य अरविन्दले ४६, मुहमद उस्मानले १७, जवार फारिदले ११, रोहन मुस्तफाले ९ रन र अहमद राजाले ६ रन बनाए । बलिङतर्फ नेपालका जीतेन्द्र मुखिया र अविनाश बोहराले तीन तीन तथा सन्दीप लामिछानेले एक विकेट लिए ।

समूह चरणमा उत्कृष्ट प्रदर्शन

समूह चरणको तीनै खेलमा नेपालले उत्कृष्ट खेल पस्कियो । र प्रतिस्पर्धी टिमलाई सहजै पराजित गर्न सफल रह्यो । पहिलो खेलमा ओमानलाई ३९ रन, दोस्रो खेलमा फिलिपिन्सलाई १ सय ३६ रन र तेस्रो खेलमा क्यानडालाई ८ विकेटले पराजित गरेको थियो । तर, नेपालले महत्वपूर्ण सेमिफाइनल खेलमा युएईविरुद्ध प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिन सकेन । र सेमिफाइनको हारसँगै विश्वकप सपना समाप्त भएकोछ ।

अब तेस्रो स्थानको आशा

आइसीसी टी-२० विश्वकप छनोट प्रतियोगिताबाट युएई र आयरलेण्ड अष्ट्रेलियामा आयोजना हुने विश्वकप क्रिकेटका लागि छनोट भएका छन् । र आफ्नो गर्विलो उपस्थिति जनाएका छन् । तर, नेपालले भने अब तेस्रो स्थानका लागि बिहीबार ओमानसँग खेल्नेछ । आयरलेण्डले मंगलबार सम्पन्न दोस्रो सेमिफाइनलमा ओमानलाई ५६ रनले पराजित गरेको थियो । 

२०७८, १० फाल्गुन मंगलवार १४:४५
कथालिका नयाँ कथा
कथालिका