सर्वोच्चको संवैधानिक त्रुटिः फैसला नेपालीमा,नम्बर प्लेट अंग्रेजीमा – कथालिका

सर्वोच्चको संवैधानिक त्रुटिः फैसला नेपालीमा,नम्बर प्लेट अंग्रेजीमा

नेपालमा गुड्ने सवारी साधनमा राखिने सङ्ख्या पाटी (नम्बर प्लेट)मा अङ्ग्रेजी भाषाको प्रयोगलाई बाटो खुला गरेर सर्वोच्च अदालतले गम्भीर संवैधानिक त्रुटि गरेको छ ।

नेपालको संविधानको धारा १ र धारा ७ मा स्पष्ट व्यवस्था हुँदाहुँदै त्यसलाई नजरअन्दाज गरी कानूनी सिद्धान्त विपरीत गएर सर्वोच्च अदालतको संवैधानिक इजलासले गाडीमा प्रयोग हुने नम्बर प्लेटमा देवनागरी लिपिको साटो अङ्ग्रेजी भाषाको इम्बोस्ड नम्बर प्लेट प्रयोगलाई अनुमति दिएर गम्भीर संवैधानिक त्रुटि गरेको हो ।

नेपालको संविधान २०७२ को धारा १ मा ‘यो संविधान नेपालको मूल कानून हो र यससँग बाझिने कानून बाझिएको हदसम्म अमान्य हुनेछ, यस संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हुनेछ’ भनी उल्लेख छ । संविधानको धारा ७ मा ‘देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ’ भनी उल्लेख रहेकोमा त्यसलाई बेवास्ता गर्दै मूल कानूनको मर्म विपरीत संवैधानिक इजलासले निर्णय सुनाएको पाइन्छ ।

विसं २०७६ मा संवैधानिक इजलासले गाडीको नम्बर प्लेटमा नेपाली देवनागरी लिपिको प्रयोगलाई बेवास्ता गर्दै अङ्ग्रेजी रोमन लिपिको प्रयोग गर्न पाउने गरी फैसला सुनाएको थियो । संवैधानिक इजलासको निर्णय पुनरावलोकनसमेत हुँदैन । नेपाल प्रज्ञा प्रतिष्ठान भाषा (नेपाली भाषा, कोश र व्याकरण) विभागद्वारा ‘सवारी साधनमा राखिने सङ्ख्या पाटी (नम्बर प्लेट) मा देवनागरी लिपिको प्रयोग: आवश्यकता र औचित्य’ विषयमा बहस नै आरम्भ गरेको छ । कानूनविद्हरुले नेपाली पहिचानलाई नै समाप्त हुने गरी कानून र विधिशास्त्रीय आधारविना नै सर्वोच्चले फैसला गरेको भन्दै आपत्ति जनाएका छन् ।

नेपाल सरकारले विसं २०७४ मा मन्त्रिपरिषद्को निर्णयमार्फत नेपालमा इम्बोस्ड नम्बर प्लेट लागू गर्ने निर्णय गरेको थियो । त्यसलाई कार्यान्वयन नगर्न भन्दै सर्वोच्च अदालतमा विसं २०७४ फागुन ९ गते निषेधाज्ञा लगायतको परमादेश जारी गरी इम्बोस्ड नम्बर प्लेट बन्द गर्न मागसहित रिट दायर भएको थियो । उक्त रिटमाथि सुनुवाइ गर्दै तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको इजलासबाट उक्त निर्णय संविधान विपरीत भएको हुँदा लागू नगर्नु, नगराउनु र लागू गरिसकेको भए रद्द गर्नु भनी अन्तरिम आदेश भएको थियो ।

पछि तत्कालीन प्रधानन्यायाधीश (हाल निलम्बित) चोलेम्द्रशमशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशमान सिंह राउतसमेतको संवैधानिक इजलासले विसं २०७६ मङ्सिर २७ मा उक्त रिट निवेदन खारेज गरी विगतको अन्तरिम आदेशलाई निष्प्रयोजित हुने गरी पुनः इम्बोस्ड नम्बर प्लेट प्रयोगलाई बाटो खुला गरिदिएको थियो । सर्वोच्चको उक्त निर्णयका सम्बन्धमा एक जना अधिवक्ता रामेश्वर राउत ‘मातृदास’ संविधानसँग विवाद र विमति नै नभएको रिटलाई संवैधानिक इजलासमा लगेर संविधानको धारा १, धारा ७, धारा २८, धारा ३२, धारा १३३ र धारा २७४ का विभिन्न प्रावधान नै उल्लङ्घन गरेको दाबी गर्छन् ।

“कुनै पनि सार्वभौम सम्पन्न मुलुकले आफ्नो भाषाको लिपि र अङ्क हुँदाहुँदै विस्थापित गरेर वैकल्पिक बाटो अपनाएको पाइँदैन, भाषिक र गोपनीयताको हकलाई निष्प्रयोजित हुने गरी वैकल्पिक मार्गका रूपमा संविधान विपरीत हुने गरी इम्बोस्ड नम्बर प्लेट जबरजस्ती रूपमा लाद्नुपर्ने उपयुक्त कारण कतै देखिँदैन”, राउत भन्छन्। उनले नेपाली भाषाको महत्व र अस्तित्वलाई बचाउनका लागि पनि सवारी साधानमा आफ्नै भाषाको प्रयोग अनिवार्य रहेको दाबी गरे । यस विषयमा नेपाल प्रज्ञा प्रतिष्ठानले पटकपटक सरकार तथा विभागीय मन्त्रालयमा ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ हुन सकेको छैन ।

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती अदालतको आदेश सहजै पचाउन सक्ने खालको नरहेको बताउछन् । समग्र पहिचान नै भाषा र संस्कृति भएको उल्लेख गर्दै उनले भने, “भाषाप्रति सरकार र संविधानका पालक सर्वोच्चका न्यायाधीशले पनि ख्याल गरेको देखिएन, त्यसप्रति जनमत बनाउन आवश्यक छ भनेर छलफल चलाउँदै आएका हौँ ।”

नेपाल प्रज्ञा प्रतिष्ठानबाट विसं २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीलाई भेटेर उक्त विषयमा ध्यानाकर्षण गराएको थियो । प्रतिष्ठानले पछिल्लो समयमा गत भदौ ३० मा पनि प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आठ बुँदामा उल्लेख गरी गाडीको सङ्ख्या पाटीमा देवनागरी लिपिको प्रयोग गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको थियो । प्रतिष्ठानलगायत विभिन्न सङ्घसंस्थाले महान्यायाधिवक्ता कार्यालयदेखि कानून मन्त्रालय हुँदै सरोकारवाला विभिन्न निकायमा ज्ञापनपत्र बुझाए पनि अहिलेसम्म कुनै सुनुवाइ हुन सकेको छैन ।

वरिष्ठ भाषाविद् प्राडा कृष्णप्रसाद घिमिरे देवनागरी लिपि यसैगरी हराउँदै जाने हो भने मुलुक अन्धकारमा जाने बताउछन् । “भाषा नै नरहे हाम्रो इतिहास रहँदैनन्, एक ढिक्का भएर भाषा संस्कृति र पहिचान जोगाउन लाग्नुपर्छ”, उनले भने ।
भाषा आयोगका सदस्य ऊषा हमाल आयोग स्थापनादेखिनै यो विषयलाई उठाउँदै आएको र सरकारलाई यातायातका साधनमा संकेत पाटी राख्दा देवनागरी लिपिमै राख्न सिफारिस गरिएको बताउछन् ।

वरिष्ठ भाषाविद् प्राडा माधवप्रसाद पोखरेल संविधानमा लेखिएको कुरा अदालतले खण्डन गर्नै नसक्ने बताउछन् । इसाई पूर्व तेस्रो शताब्दीदेखि विकास हुँदै यहाँसम्म आएको लिपिलाई एउटा फैसलाले कसरी उल्ट्याउन सक्छ ? रातारात उल्ट्याउने काम कसरी भयो ? उनी प्रश्न गर्छन् । विदेशीका लागि बनाएको प्रविधि ल्याएर संकृति मास्न नहुनेमा उनको जोड छ ।

वरिष्ठ अधिवक्ता नरेन्द्रप्रसाद पाठकको विकासका नाममा पहिचान समाप्त पार्न खोज्नु गम्भीर गल्ती भएको औँल्याउँदै प्रशासन, राजनीतिकर्मी र न्यायाधीश संवेदनशील नबनेको आरोप छ । उनले भने, “यसलाई संशोधन गर्न कुनै कानूनले रोकेको छैन यो कार्यकारीको काम हो, अदालतको फैसला भए पनि कानून संशोधन गरेर ल्याउन सकिन्छ ।”

वरिष्ठ अधिवक्ता हरि उप्रेती सामान्य इजलासमा हेर्ने भनेर नम्बर कोड गरिएको मुद्दा कसरी संवैधानिक इजलासमा गयो भनी आश्चर्य प्रकट गर्छन् । “अदालतले अङ्ग्रेजी प्रविधिमैत्री भयो भनेर व्याख्या गरेको देखिन्छ, अक्षरको मात्रा देखाएर विवेचना भएको छ, यसमा व्याख्या गर्नेको ज्ञानको सीमितता हो भन्ने लाग्छ”, उनले भने। उक्त निर्णयमा गम्भीर संवैधानिक त्रुटि रहेको र संविधानको धारा ७ को निरपेक्ष व्यवस्थालाई अन्यथा गरेर फैसला भएको उनको जिकिर छ ।

वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ फैसलामा कानूनको विधिशास्त्रीय आधार उल्लङ्घन भएको र फैसलामा संवैधानिक आधार नै नरहेको बताउछन् । फैसला गर्ने न्यायमूर्तिको योग्यता र आचरणमाथि यस्ता सभाले प्रश्न गर्नुपर्ने उनको सुझाव छ । “विदेशीले सजिलोसँग पढ्न सक्छन्, सवारी चोरी गर्नेलाई पक्राउ गर्न सजिलो हुन्छ भन्ने जस्ता निर्णयाधार दिनु न्यायमूर्तिमाथि कै प्रश्न हो, त्यस्ता न्यायाधीशलाई त्यो कुर्सीमा बस्ने अधिकार दिँदैन”, उनले भने। वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल सवारी साधानमा अङ्गेजी भाषाको प्रयोग गर्नु चिन्ताको विषय हो र यसले मौलिकता समाप्त पार्ने बताउछन्।

वरिष्ठ अधिवक्ता शम्भु थापाले उक्त मुद्दामा आर्थिक चलखेल भएको आरोप लगाए । “इम्बोस्ड भनेको कुनै वस्तुमा उक्सिएको नम्बर भनेको हो, नेपाली अक्षरलाई त्यसरी उक्साउन सकिँदैन, नेपाली नम्बर पनि राख्न सकिन्थ्यो नि,” उनले भने । त्यसमा ठेकेदारको पैसा जाने भो, बढी खर्च हुने भो भनेर उनीहरुलाई बचाउन निर्णय दिएको थापाको दाबी छ । फैसला चाहिँ नेपालीमा लेख्ने, अनि प्लेट चाहिँ अङ्ग्रेजीमा चाहिन्छ भनेर फैसला गर्ने, यो कस्तो निर्णय हो ? उनले प्रतिप्रश्न गर्दै भने ।

२०७८, १३ फाल्गुन शुक्रबार १४:४३
कथालिका नयाँ कथा
कथालिका