पोषणमा ध्यान नदिदाँ पशुमा बाँझोपन – कथालिका

पोषणमा ध्यान नदिदाँ पशुमा बाँझोपन

कैलालीका पशुपालक किसान पशुमा बाँझोपनको समस्या देखिन थालेपछि समस्यामा परेका छन् ।

कैलालीमा अधिकांश किसान गाई, भैँसी तथा बाख्रामा बाँझोपनको समस्या देखिन थालेको बताउँछन् । पशुमा बाँझोपनको समस्या देखिन थालेपछि किसानलाई पशुपालनबाट घाटा हुन थालेको छ ।

कैलालीको लम्कीचुहाकी मातुली भूलले गाई र बाख्रा पालन गरेका छन् । उनको गाईमा पटक–पटक बाली जाने तर गर्भाधारण नहुने समस्या छ । लामो समयसम्म गाई ब्याउने ९गर्भाधारण० नभएपछि तनावमा परेको उनको कथन छ । “गाई धेरैपटक बाली गएको छ, तर गर्भधारण गर्न सकेको छैन, भैँसी भए बेच्न हुन्थ्यो, बाख्रा भए पनि काटेर मासु खान सकिन्थ्यो”, मातुलीले भने, “गाई के गर्नु ? दूध नदिने गाई कसैले किन्ने कुरा पनि भएन, पाल्नमात्र दुःख भएको छ ।”

जानकी गाउँपालिकाका बालकृष्ण सार्कीले घरमा बाख्रा, भैँसी पालन गरेका छन् । उहाँको घरमा पालेको भैँसीमा लामो समयसम्म बाँझोपनको समस्या देखियो । उपचारपछि भैँसी ब्याएको उनी बताउछन्। “लामो समयसम्म भैँसीमा बाँझोपनको समस्या देखियो, एक लाखमा किनेको भैँसीमा बाँझोपनको समस्या देखिएपछि साह्रै पीर प¥यो”, उनले भने, “पछि पशु प्राविधिकको सल्लाह लिएँ, पशु प्राविधिकले उपचार गरेपछि भैँसी अहिले ब्याएको छ ।”

जानकी–५ की जुनादेवी रावतले बाख्रा पालन गरेका छन् । पालेको बाख्रा ब्याउने नभए पछि बाख्रा बेच्न बाध्य भइन् । त्यसपछि फेरि अर्को बाख्रा किनिन् । अहिले भने उनले बाख्राको नियमित उपचार, पोषण र सरसफाइमा ध्यान दिने गरेको बताउछिन् । त्यसले बाख्रा पनि राम्रो छ र उनलाई पनि पशुमा पनि बाँझोपनको समस्या हुनसक्छ भन्ने ज्ञान भएको छ । “बाख्रामा पनि बाँझोपनको समस्या हुने रहेछ भन्ने थाहा थिएन, अहिले बुझेकी छु, बाख्रालाई नियमित पोषण, उपचार गर्छु, जुकाको औषधि खुवाउँछु”, जुनादेवीले भनिन्, “बाख्रालाई बढी पोषण चाहिने रहेछ, घाँसमात्र खुवाएर हुने रहेनछ, दाना, पानीबारे पनि ध्यान दिनुपर्ने रहेछ ।”

पशुमा देखिने विभिन्न किसिमका यौनजन्य रोग र पशुको पोषणमा ध्यान नदिँदा बाँझोपनको समस्या हुने गरेको टीकापुर नगरपालिकाका पशु सेवा शाखा प्रमुख श्यामराज पाण्डे बताउँछन् । “पशुहरूमा विभिन्न किसिमका विकृत यौनजन्य रोग हुनसक्छन्, यी रोगले बाँझोपनको समस्या हुन्छ, यी रोगको उपचार गर्नुपर्छ”, पाण्डे भन्छन्, “पशुलाई पोषिलो खानेकुरा पनि चाहिन्छ, पोषणमा ध्यान दिएको पाइँदैन, घाँसको सिजनमा घाँसमात्र खुवाउने, परालको सिजनमा परालमात्र खुवाउनेजस्ता समस्या छन्, दाना खुवाउने किसान निकै कम छन् ।”

पशु प्राविधिक पाण्डे उन्नत पशुमा बढी बाँझोपनको समस्या देखिने भएकाले नियमित गोबर परीक्षण गरी जुकाको औषधि खुवाउने, आहारा तथा दानामा ध्यान दिनुपर्ने बताउछन् । “नियमिति उपचारमा पनि ध्यान दिनुपर्छ”, उनले भने, “आजभोलि दैनिक दुईदेखि चार जनासम्म किसान बाँझोपनको समस्या लिएर पशु सेवा शाखामा आउने गरेका छन्, उपचारमा आएका ८० प्रतिशत पशुको बाँझोपनको समस्या निराकरण भएको छ ।”

उनी किसानको लापरवाहीले २० प्रतिशत पशुमा बाँझोपनको समस्या रहेको बताउछन् । पशुलाई पेटभर खान, सोतरमा सुत्न र नियमितरूपमा नाम्ले तथा जुकाको औषधि नपाउँदा पशुमा बाँझोपनको समस्या बढेकाले किसानले पशुपालनबारे ज्ञान लिन आवश्यक रहेको उनको भनाइ छ ।

२०७९, ६ श्रावण शुक्रबार ०६:१४
कथालिका नयाँ कथा
कथालिका