- जगन्नाथ जति साधारण थिए, उनको कर्म, आदर्श र व्यवहारका हिसाबले उति नै असाधारण । उनी दैनिक भारी बोकेर जीविका चलाउँथे तर, सरकारी सामाजिक भत्ताका लागि अनुरोध गर्दा उनले सरकारी पैसा सित्तैमा नखाने भन्दै सिधै अस्वीकार गरिरहे ।
समय र समाज गतिशील छ । यही गतिशील समय र समाजमा केही कुरा चाहीँ यसरी परिवर्तन भएका छन् कि जुन कुराले समाजको सुन्दर संस्कार, संस्कृति, अभ्यासहरुलाई जबरजस्त भत्काइदिएको छ र आर्थिक हैसियत अनुसारको मान, सम्मान र प्रतिष्ठा आदान प्रदानको होड चलिरहेको छ । यस्तो बेलामा सामान्य भूइँमान्छेहरुको दुःख, संघर्ष, इमान, निष्ठा, त्याग, समर्पणको के अर्थ र ? जस्तो स्वभाविक लाग्छ । तर, समाजमा अझै पनि संघर्ष, इमान, निष्ठामा बाँच्नेहरु प्रतिको सम्मान कायमै छ ।
हुन त हरेक मान्छेहरुको मृत्यु पछि चर्चा, परिचर्चा हुन्छ । बाँच्दा सम्म उसले जतिसुकै त्याग, समर्पण, योगदान गरे पनि उति धेरै वास्ता र स्थान दिइँदैन । यो कटु यथार्थका बिच जीवनमा आफ्नो इमान, निष्ठा र संघर्षको बलमा बाँचेर मृत्यु पछ्याएकाहरु प्रति गरिने सम्मानको भने खास अर्थ अवश्य हुन्छ । अछामको मंगलसेन बजारमा वर्षौदेखि भरिया गरेर जीविका चलाइरहेका ६५ वर्षिय जगन्नाथ खनालको जीवन र मृत्युले यही भन्छ ।
जगन्नाथको न कुनै ठुलो महत्वकांक्षी सपना थियो, न कुनै भौतिक सुख सुविधा र बिलासिताको मोह, न त कुनै गुनासो । बस्, जीवनको एउटा सुन्दर आदर्शमा आफ्नो जीवन कर्म समर्पित गरिरहे । उनले आफ्नो पसिना र कर्ममा मात्र विश्वास गरे । अनि त्यही कर्मले दिएको गास, बास र कपासमा सन्तुष्टि खोजे । यही अनुक्रममा उनको दुःखद निधन भयो ।
स्थानीय स्तब्ध, शोकमा बजार बन्द
पञ्चदेवल विनायक नगरपालिका–७ का बासिन्दा हुन् जगन्नाथ । दिनभरि बजारमा भारी बोकेर, ग्यास सिलिन्डर ओसारेर आफ्नो गुजारा चलाउनु उनको दैनिकी थियो । अनि पुरानो खाली घरमा बसेर रात कटाउनु उनको बिबशता । बिहीबार साँझ घरभित्रै उनी जीवनमरणको अन्तिम दोसाधमा थिए । दिनभरि काममा नदेखिए पछि स्थानीय र बजारबासीले सोधखोज गर्ने क्रममा घरमा पुग्दा उनी अन्तिम सास फेर्दै थिए । स्थानीयले उद्धार गरेर अस्पताल पु¥याउने तयारीकै क्रममा उनको दुःखद मृत्यु भयो ।
उनको निधनबाट सिंगो मंगलसेन बजार स्तब्ध बन्यो । जुन बजारमा दुःख, संघर्ष र पसिनाको साइनो छ, हरेकजसो सँग उनले कर्म गरेर सघाएका छन्, जीविका चलाएका छन्, जसको आँगनमा उनी भारी पु¥याउँथे, बिसाउँथे, ती सबैका आँखा रसाए । शोकमा मंगलसेन बजार बन्द गरियो ।
जगन्नाथको मृत्युपछि उनको सम्मानमा बजारका व्यवसायीले स्वतःस्फूर्त रूपमा पसल बन्द गर्ने निर्णय गरेको व्यवसायी लक्ष्मीप्रसाद भाटले बताए ।
एउटा भुइँमान्छेको मृत्युमा सिङ्गो बजार शोकाकुल भएको यो सम्भवतः पहिलो भएको उनको भनाई छ । आफ्नो सरलता र इमानदारीले सबैको मन जितेका जगन्नाथको अन्त्येष्टि र काजकिरियाका लागि बजारवासीले ५० हजार भन्दा बढी रकम संकलन समेत गरेका छन् ।
सानैमा आमाको मृत्युले विरक्तिएका जगन्नाथ
जगन्नाथको दुःख सानैमा आमाको मृत्यु भए पश्चात सुरु भयो । करिब १२–१३ वर्षको उमेरमै उनले आफ्नी आमा गुमाए । आमाको मृत्युपछि उनी यति विरक्तिए कि, आफ्नो गाउँ, घर र परिवार सबै त्यागेर मंगलसेन बजारतिर हानिए ।
‘आमा बितेपछि उहाँ घरबाट निस्किनु भएको हो । त्यसपछि कहिल्यै गाउँ फर्किनुभएन । गत वर्ष मेरो बुबा (उहाँको दाइ) बित्नुभयो । खबर गर्दा पनि आउनु भएन । एउटा भाइ बित्दा पनि आउनुभएन । उहाँलाई संसार र पारिवारिक मोहले कहिल्यै तानेन,’ उनका भतिजा ताराप्रसादले भन्छन् ।
उनै जगन्नाथको यो भौतिक बिदाइ एक मजदुरको मृत्यु मात्र थिएन, यो त एउटा निःस्वार्थ जीवन दर्शनको अन्त्य पनि भएको स्थानीय शिक्षक तथा व्यवसायी लक्ष्मीप्रसाद भाट बताउँछन् ।
सरकारी भत्ता अस्वीकार
जगन्नाथ जति साधारण थिए, कर्म, आदर्श र व्यवहारका हिसाबले उति नै असाधारण । उनी दैनिक भारी बोकेर जीविका चलाउँथे तर, सरकारी सामाजिक भत्ताका लागि अनुरोध गर्दा पनि उनले त्यसलाई सिधै अस्वीकार गरिरहे ।
अहिलेको समयमा मानिसहरू सामाजिक सुरक्षा भत्ता पाउन अनेक तिकडम गर्छन्, तर जगन्नाथले नागरिकता बनाउन र त्यसबाट पाइने सरकारी सुविधा लिन नचाहेको पूर्व वडा अध्यक्ष समेत रहेका भतिजा ताराप्रसाद खनाल बताउँछन् । ‘मैले धेरै पटक नागरिकता बनाइदिन्छु, वडाबाट सिफारिस गरेर भत्ता मिलाइदिन्छु भन्दा उहाँले मान्नुभएन,’ उनले भने, ‘सरकारको पैसा मैले सित्तैमा किन खाने ? म आफ्नो पसिनाले कमाएर खान्छु । त्यो कागज (नागरिकता) मा मेरो बुवा, आमाको नाम आउँछ । त्यो देखे पछि मलाई दुःख लाग्छ, मलाई त्यो चाहिँदैन भनिरहनु भयो ।’
केही वर्ष पहिले सार्वजनिक सञ्चार माध्यममा उनका बारेमा समाचार सार्वजनिक भए पछि धेरैले नागरिकता बनाइदिन चासो देखाएका थिए । तर, उनले भत्ताकै लागि नागरिकता समेत बनाउन चाहेनन् । उनले अभिव्यक्त नगरे पनि उनले बाचेको जीवनले आत्मसम्मान भन्दा ठुलो अरू केही थिएन र त्यो आत्मसम्मान उनले आफ्नो पसिनाले स्थापित गर्छ भन्ने देखाउँछ ।
‘मृत्यु पछि मात्र होइन, बाँच्दा पनि भूइँमान्छेलाई सम्मान’
जगन्नाथको मृत्युले जो कोहीले जीवन आर्दश, इमान, निष्ठा र संघर्षमा बाँच्दाको आनन्द, सन्तृष्टि त छँदैछ, सामाजिक श्रद्धा र सम्मान पनि देखाउँछ । तर, सोचनीय र मननीय पाटो के छ भने नेपाली समाजमा बाँच्दा सम्म घृणा, उपेक्षा, बेवास्ता गर्ने तर उसको मृत्यु भए पछि भने भावुक मुद्रामा प्रंशसा, गुणगान गाउने प्रचलन व्याप्त छ ।
जगन्नाथले त सानैमा आमाको मृत्यु पश्चात आफूलाई शुन्यतामा पाए, विरक्तिए । घर छोडेर भरियाको दैनिकी रोजे । यसमा धेरैले उनको कर्म प्रति सम्मानभाव नै दर्शाए । तर, कतिपयले उनी र उनको कर्मलाई हासोको पात्र बनाइरहे । यदि साँच्चिकै हामीले हाम्रो समाजलाई सभ्य, सुसंस्कृत, समृद्ध भएको देख्न या बनाउन चाहन्छौ भने जगन्नाथ खनाल जस्ता भरिया, भूइँमान्छे, श्रमजीवि कर्मठ व्यक्तिहरुलाई मृत्यु पछि मात्र होइन, बाँच्दा नै उनीहरु र उनीहरुले गर्ने कर्म, आदर्श, निष्ठा र इमान प्रति उच्च सम्मान गर्ने संस्कार जरुर बनाउनु पर्छ ।