मनोविदहरुले भने जस्तै अहिले बढ्दो अपराधको मनोविज्ञान नीति, निर्माण गर्ने सरकार, यसका निकायमा बस्नेहरुले कहिले पढ्लान् र नागरिकलाई पढाउलान्, विद्यालय, विश्वविद्यालयहरुमा पनि योन, अपराधको मनोविज्ञानबारे कहिले खुलेर पढाई होला ? यो त सार्वजनिक बहसको विषय भयो नै, स्वंयम् नागरिकले पनि बढ्दो अनैतिक सम्बन्ध र अपराधको मनोविज्ञान पढेर त्यसबाट पाठ सिक्दै पो गर्ने हो कि ?
समाजमा चेतना र जागरण जुन रफ्तारमा बढ्दैछ । त्यस अनुपातमा हत्या, हिसां जस्ता जघन्य अपराधमा कमी आउन सकिरहेको छैन । बरु अझ बिभत्स तबरका हत्या, आत्महत्याका घटनाले सिंगो मानव समुदायलाई भयभित बनाउने गरेको छ ।
हत्या पछि आत्महत्याः विभत्स ६ घटना
यसै साता काठमाडौंको तारकेश्वर नगरपालिका–२,पदमचालमा बस्दै आएका गोरखा भीमसेन थापा गाउँपालिका–६ का एकै परिवारका चार जना घरमा मृत भेटिए । स्कुलको गाडी बच्चा लिन गएको तर, बच्चा नआए पछि घरमा बोलाउन जाँदा छिमेकीले विभत्स दृश्य देखे । बिहान परिवारका कोही पनि बाहिर ननिस्केको र घरमा भित्रबाट चुकुल लगाएको पाइएपछि छिमेकीले प्रहरीलाई खबर गरे । प्रहरी ढोका फोडेर भित्र जाँदा ४१ वर्षीय दिनेश पाण्डे, उनकी पत्नी ३९ वर्षीया सुनीता, १३ वर्षकी छोरी आशिका र ८ वर्षीय छोरा आशिकको शव बीभत्स अवस्थामा भेटियो । घटनास्थलमा फेला परेको सुसाइड नोटमा दिनेशले ‘श्रीमती र छोराछोरीको पेट, छाती र टाउकामा धारिलो हतियार प्रहार गरेर आफूले आत्महत्या गर्न बाध्य भएको’ उल्लेख गरेका छन् । १२ वर्ष कुवेत बसेर केही वर्षअघि मात्रै फर्किएका दिनेश र श्रीमती सुनीताको केही वर्षयता पारिवारिक सम्बन्ध राम्रो नभएको र त्यसबाटै उत्पन्न विवादले बीभत्स हत्याको रूप लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । उनले छोराछोरीलाई एक्लै राख्न नसकेर सँगै लानुपरेको उल्लेख गरेका छन् ।
२०७९ साउन ९ गते चितवनमा श्रीमतीको हत्या गरि श्रीमानले आत्महत्या गरे । जिल्लाको भरतपुर महानगरपालिका वडा नं. १० रमाइलो चोकमा ३५ वर्षीया रुस्मा आचार्यका श्रीमान ४३ वर्षका कृष्णप्रसादले घाँटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । राति घरमा बसेर मोबाइल हेरिरहेको समयमा पछाडिबाट धारिलो हतियार प्रहार गरि कृष्णप्रसादले रुस्माको हत्या गरेको प्रहरी भनाई छ । श्रीमतीको हत्या लगत्तै घरको छतबाट श्रीमान् कृष्णप्रसादले हाम फालेर आत्महत्या गरेका थिए ।
२०७८ साउन १९ गते दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरे । बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका ४५ वर्षीय तीर्थबहादुर विकले खेतमा काम गर्न जाँदै गरेकी ४२ वर्षीया श्रीमती भीममायाको हत्या गरेका थिए । खेतमा काम गर्न जाँदै गरेकी श्रीमतीको विकले कोदालो र हसियाँले हानेर हत्या गरेपछि आफूले डोरीको पासो लगाई रुखमा झुण्डिएर आत्महत्या गरेका हुन् । छिमेकीहरुका अनुसार उनीहरुले बिहान घरमा सँगै रक्सी खाएका थिए । खेतमा काम छ भनेर गएपछि बाटोमा आपसी विवादका कारण श्रीमतीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
२०७७ भाद्र २३ गते भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९, निकोसेरामा एउटा घरभित्र एकै परिवारका तीन जना मृत भेटिए । महानगरीय अपराध महाशाखाका अनुसार ३६ वर्षीय सुदीप अधिकारी, उनकी ३४ वर्षीया श्रीमती सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारीको मृत भेटिए । शव दुर्गन्धित हुन थालेका थिए । उनीहरुसँगै घरमा पालेको कुकुर पनि मृत फेला प¥यो । प्रहरीको महानगरीय अपराध महाशाखा, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र महनगरीय प्रहरी परिसर भक्तपुरको टोलीले गरेको अनुसन्धानबाट ३६ वर्षीय सुदीप अधिकारीले पत्नी र छोराको हत्या गरी आत्महत्या गरेको खुल्यो । आर्थिक अवस्था बिग्रिँदै गएपछि पारिवारिक तनावमा बढ्यो । यसको यथोचित तवरमा व्यवस्थापन गर्न नसक्दा परिवार नै सखाप बनाएर सुदीपले आत्महत्याको बाटो रोजेको देखियो ।
२०७७ पुस २४ गते राति काठमाडौंको टोखामा एक दम्पती मृत फेला परे । सुर्खेत पुख्यौली घर भएका उमेश केसी ओछ्यानमा र पत्नी सदीक्षा नजिकै भ¥याङमा झुन्डिएको अवस्थामा भेटिएका थिए । अनुसन्धानमा उमेशको हत्या गरी सदीक्षाले झुन्डिएर आत्महत्या गरेको प्रहरी आँकलन थियो । यद्यपि, यसको तथ्य खुल्ने महत्वपूर्ण प्रमाण मानिएको आइफोन अनलक गरेर अनुसन्धान अघि बढाउन नसकेपछि यो अधुरै रह्यो ।
२०७८ असोज २२ मा धनुषाको नगराइन नगरपालिका–७ फूलगामाकी २४ वर्षीया गुडिया साहले २ छोरा ५ वर्षीय अभिषेक र ३ वर्षीय आदित्यको हत्यापछि आत्महत्या गरेकी थिइन् ।
दैनिक १७ जनाले गर्छन् आत्महत्या
पछिल्लो ५ वर्षमा ३१ हजार २ सय २१ ले आत्महत्या गरेका छन् । जसमा ठुलै संख्यामा परिवार तथा नातागोताको हत्या गरी आत्महत्या गरेको पाइएको छ ।
पाँच वर्षको अवधिमा दैनिक आत्महत्या गर्नेको संख्या मात्रै १७ जनाभन्दा बढी हुन आउँछ । ताजा तथ्यांक अनुसार ०७८÷७९ मा त हरेक दिन करिब १९ जनाले आत्महत्या गर्ने गरेको देखिन्छ ।
प्रहरीका अनुसार आव ०७४/७५ मा ५ हजार ३ सय १७, ०७५/७६ मा ५ हजार ७ सय ५४, ०७६/७७ मा ६ हजार २ सय ४१, ०७७/७८ मा ७ हजार १ सय १७ र गएको ०७८/७९ मा ६ हजार ७ सय ९२ छ । गएको आवमा आत्महत्याको संख्यामा सामान्य कमी आए पनि त्यसअघिका ४ वर्ष आत्महत्याबाट ज्यान गुमाउनेको संख्या निरन्तर बढ्दो छ ।
घटना प्रकृति एक, कारण अनेक
अनैतिक सम्बन्ध, पारिवारिक बेमेल र झगडा अनि सम्पत्तिसँग जोडिएको यी बीभत्स घटनाको झगडा वादविवादले चरम उत्कर्षको रुप लिदाँ घटना हुने गरेको प्रहरी अपराध महाशाखा बताउँछ । श्रीमान श्रीमतिको आपसी विवाद, वैमनश्यताको यथोचित व्यवस्थापन र समाधान समयमै नखोज्दा क्रुर अपराधमा पुगेर जीवन नै अन्त्य हुने गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइराला अनैतिक, अवैध सम्बन्ध, त्यसले परिवारमा निम्त्याउने विवाद÷बेमेल, आवेग र प्रतिशोधले नै मुख्यतः यस्ता अप्रिय घटना हुने गरेको बताउँछन् । यसका लागि देश भित्र होस् या परदेश, भौतिक दुरीका बाबजुद पनि आपसी विश्वास, बुझाई, सम्बन्ध, सम्पर्क, समन्वयमा सबैले सकारात्मक भूमिका खेल्नुपर्ने उनको सुझाव छ । ‘कतिपय अवस्थामा शंकै शंकामा पनि अप्रिय घटना हुने गरेकाले परिवार, साथीसंगीले पनि सकारात्मक भूमिका खेलिदिनु पर्छ’, एसपी कोइराला भन्छन्, ‘कहिलेकाहीँ परिवारमा असमझदारी उत्पन्न हुन सक्छ, यसमा सम्झाई बुझाई गर्ने, कमजोरी सच्याउने तत्परता, सकारात्मक सोचको अपरिहार्यता देखिन्छ ।’
‘परिस्थिति र यौन मनोविज्ञान बुझ्न बुझाउन अपरिहार्य’
मनोविद्हरु नेपालमा आत्महत्या, हत्या जस्ता जघन्य अपराध बढ्दै जानुको पछाडि यौन मनोविज्ञान कारक रहेको बताउँछन । यद्यपि, नेपाली समाजमा अझै पनि यसबारे खुलेर छलफल, बहस नहुने गरेको उनीहरुको गुनासो छ । दम्पतिमा समेत यौनका बारेमा खुलेर कुरा नहुनु, यही विषयलाई लिएर शंका, उपशंका, अनैतिक सम्बन्ध विकास हुनुकै कारणबाट कैयन डरलाग्दा घटना भएको मनोविदको निश्कर्ष छ ।
मनोविद् गोपाल ढकाल आत्महत्याको मूल कारण मानसिक समस्या भए पनि यसको पछाडि यौन मनोविज्ञान र अरु परिस्थितिजन्य कुरा जोडिएर आउने गरेको बताउछन् । परिवार, नातागोता तथा साथीभाइ र चिनेजानेका बीच जति पनि आपसी कलह÷बेमेल, मनमुटाव, आर्थिक अभाव, बेरोजगारी, व्यवसायमा नोक्सानी, अविश्वासजस्ता समस्याबाट हत्या, आत्महत्या हुने गरेको उनको भनाई छ । वैदेशिक रोजगारी र यसका कारण समाजमा सिर्जित समस्या, अपराधबारे व्यवस्थित अध्ययन नभए पनि मनोपरामर्शका लागि आउने बिरामीको संख्या र मनोविज्ञान अध्ययन गर्दा असामाजिक गतिविधिमा यौन मनोविज्ञान मुख्य कारण देखिएको ढकाल बताउछन् ।
कुनै पनि महिला र पुरुषलाई भावनात्मक रुपमा जोडिराख्ने सशक्त आधार भने यौनसम्बन्ध भएको उनको कथन छ । ‘नीति शास्त्रले पनि सरकारी जागिर खानेको हकमा समेत यदि श्रीमान् श्रीमती टाढा छन् भने छुट्टि दिएर पनि उनीहरुलाई सँगै राख्नुपर्छ भन्ने गर्छ । तर, वैदेशिक रोजगारीमा जानेहरुमा बिहे गरेर केही दिन, महिनामा घर छाड्ने प्रवृत्ति बढेकाले पनि यसबाट गम्भिर समस्या, अपराधहरु निम्तिएका छन्,’ उनले भने, ‘अब यौन मनोविज्ञानका बारेमा खुल्ला छलफल, बहस हुन आवश्यक छ ।’
अर्का मनोविद् डा.बिजय ज्ञवाली पछिल्लो समय सामाजिक मनोविज्ञान तथा आर्थिक मनोविज्ञानले अपराधजन्य घटना निम्तिएको बताउछन् । यसमा दुई कारण मुख्य रुपमा देखिएको उनले बताए । पहिलो त एकअर्कामा कुराकानी गर्ने संस्कृतिको विकास भएन भने श्रीमान् होस् वा श्रीमतीले आफ्नो समस्या सुनाउनको लागि गलत मान्छेको सहारा खोज्न सक्छ । समस्या शुरु भएको सम्बन्ध बिस्तारै यौनसम्म पुग्छ । यसरी परपुरुष र परस्त्रीको पछि लाग्ने चलन शुरु हुन्छ । दोस्रो भनेको चाहिं यौन विचलनले पनि मान्छे परपुरुष वा परस्त्रीमा लाग्ने गर्दा आत्महत्या र हत्या सम्मका घटना भएको उनको ठम्याई छ । आवेग र उत्तेजनाको सहज व्यवस्थापन गर्ने वातावरण, क्षमताका लागि परिवार र सम्बन्धित व्यक्तिहरु नै बढी जिम्मेवार र संवेदनशील हुनुपर्ने ज्ञवाली बताउँछन् ।
मनोविदहरुले भने जस्तै अहिले बढ्दो अपराधको मनोविज्ञान नीति, निर्माण गर्ने सरकार, यसका निकायमा बस्नेहरुले कहिले पढ्लान् र नागरिकलाई पढाउलान्, विद्यालय, विश्वविद्यालयहरुमा पनि योन, अपराधको मनोविज्ञानबारे कहिले खुलेर पढाई होला ? यो त सार्वजनिक बहसको विषय भयो नै, स्वंयम् नागरिकले पनि बढ्दो अनैतिक सम्बन्ध र अपराधको मनोविज्ञान पढेर त्यसबाट पाठ सिक्दै पो गर्ने हो कि ?