‘पिर’ पछिको ‘प्रकाश’ : युद्ध कथा, उम्दा अभिनय – कथालिका

‘पिर’ पछिको ‘प्रकाश’ : युद्ध कथा, उम्दा अभिनय

  • फिल्मको तीन दृश्य मलाई बिर्सिनसक्नु लाग्छ । मान्छेले आफ्नो पिर सुनाउने कोही मान्छे नपाउँदा ऊ चौपाया र रुखपातसँग कुरा गर्न थाल्छ । भोज पकाइरहेका प्रकाश प्रेमिकालाई भोज खान आउन निम्ता दिन्छ तर दुई पर्खालभित्र र पर्खालबाहिर बसेर कुरा गर्छन् । अर्को हेडसरलाई बिदा गर्न गएका प्रकाश एक जीर्ण पुलसामु उभिएर पुल तरेपछि जनयुद्धमा लड्न हिँडेका बा नफर्केको सम्झिन्छन् ।

जतिबेला माओवादी ‘जनयुद्ध’ को कथामा केन्द्रित ‘पिर’ नामक गीत सर्वत्र चर्चा र आलोचनाको उत्कर्षमा थियो । त्यसबेला आफ्ना नेता, कार्यकर्ताले गीत बन्द गर्न चेतावनी दिए पछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रतिक्रिया दिँदै भनेका थिए–‘माओवादी जनयुद्धका बारेमा कैयन कथा, गीत, उपन्यास लेखिए, चलचित्र बनिरहेका छन्, बनिरहने छन् । यसमा कोही उत्तेजित हुन जरुरी छैन ।’

जनयुद्धमा आफ्नो ज्यानको प्रवाह नगरी होमिएका दर्जनौ लडाकुहरु अहिले कठिन जीवन दैनिकी बिताउन बाध्य भएको कथा पिरमा उजागर गरिएको थियो । प्रचण्डले गायक प्रकाश सपुतले ल्याएको ‘पिर’ गीतबारे कोही उत्तेजित हुन जरूरी नभएको बताए पछि गीतको बहसले नयाँ मोड लियो । गीत युट्युवबाट २४ घण्टा भित्र नहटाए जस्तोसुकै ‘कारबाही’ गर्ने धम्कीबाट हच्किए नेता, कार्यकर्ता । ‘जनयुद्धबाट शान्ति प्रक्रिया र संविधानसभामा ल्याएको भन्नेमा पनि पक्ष र विपक्षमा बहस हुने गरेको छ । शान्ति प्रक्रियामा आएकोमा गर्व गर्ने पक्ष पनि छ । शान्ति प्रक्रियामा ल्याएर माओवादीले बर्बाद ग¥यो भन्ने पनि छ,’ प्रचण्डले भनेका थिए, ‘यस्ता विषयमा हामी उत्तेजित हुनुपर्ने छैन । जनयुद्ध र यसका आयामकाबारे हामी गइसकेपछि पनि सयौं वर्षसम्म बहस भइरहनेछ ।’

प्रचण्डले भने जस्तै जनयुद्धका अनेकन पाटोमा गीत, कथा, उपन्यास लेखिने र चलचित्र बन्ने बनाउने क्रम जारी छ । यसको एक अर्को उदाहरण हो चलचित्र ‘प्रकाश’ । माओवादी जनयुद्धले नेपालमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी लगायतका ऐतिहासिक उपलब्धि भए । तर, यस पश्चात पनि व्यवस्था अनुसार अपेक्षित परिवर्तन र सुधार आउन सकिरहेको छैन । यही विषयलाई लिएर गीत, उपन्यास, नाटक, चलचित्रहरु बन्ने बनाउने क्रम जारी छ । जनयुद्धको नेपाली समाजमा अनेकन बाछिटा छ । जसका बारेमा केही महिना पहिले पिर बन्यो, अहिले चलचित्र प्रकाश बनेको छ । यसमा कला, बिम्बका रुपमा समावेश गरिएको विषय, दृश्यलाई लिएर आक्रोश व्यक्त गर्ने कि कथामा देखाइएको समस्याको समाधानमा अझ गम्भिर र एकतावद्ध रुपमा लाग्ने ? यो त कमरेडहरुकै हातमा छ ।

पिर गीतबाट तरंगित नेपाली राजनीति र समाजमा अहिले फेरि जनयुद्धकै विषय समेटिएको प्रकाश चलचित्रले धेरैको ध्यान तानिरहेको छ । प्रकाश चलचित्र व्यवस्था फेरिए पनि अवस्था नफेरिएको, पात्र परिवर्तन भए पनि प्रवृत्ति नबदलिएको कथामा केन्द्रित छ । यसका दुर्गम जुम्लाका अभावले जेलिएका गाउँ, गाउँ देश बदल्छु भनेर गएकाहरु आफै मात्र बदलिएको कथा, शिक्षा चेतना अभावमा सोझा साझा निर्दोष गाउँले माथि भएको शोषण, त्यसमा कलाकारहरुको उत्कृष्ट अभिनयले फिल्म जिवन्त बनेको धेरैको प्रतिक्रिया छ ।

जुम्लाको शिक्षासँग सँग जोडिएको कथामा आधारित चलचित्र हेरेर शिक्षामन्त्री तथा माओवादी नेता देवेन्द्र पौडेलले भने आपत्ति जनाएका छन् । विश्वज्योति हलमा फिल्म हेरेपछि प्रतिक्रिया दिँदै उनले फिल्ममा प्रयोग भएका कतिपय दृश्य र विम्व राजनीतिक पूर्वाग्रहसहित राखिएको आफूले बुझेको बताए । जनयुद्ध लडेर आएको पार्टीप्रति फिल्म लक्षित गरिएको भन्दै फिल्मले देखाएका केही दृश्यमा उनको आपत्ति थियो । फिल्ममा कम्युनिस्ट पार्टीको झण्डा देखाइएको छ भने माओवादी युद्धको पृष्ठभूमि र बेपत्ता परिवारको प्रसंगपनि छ ।

माओवादी आन्दोलनमा होमिएका नेता पौडेलले फिल्ममा जुन स्थानको कथा देखाइएको हो त्यहीँका जनताले यो कति यथार्थ हो भनेर फैसला गर्ने जनाए । नेपालमा शिक्षाको स्तर फिल्ममा प्रस्तुत भएको भन्दा धेरै अघि बढेको बताउँदै मन्त्री पौडेलले सामुदायिक विद्यालयको अवस्था पनि सुधारिएको बताए । तर, फिल्ममा देखाइएजस्तो समावेशीता र गरिबीको कुराप्रति आफ्नो ऐक्यबद्धता रहेको बताएका छन्।

लेखक, साहित्यकार नयनराज पाण्डे जनयुद्धका क्रममा जनतालाई अनेक सपनाहरू बाँडेको माओवादी पार्टी सत्तासीन भएपछि आएको शोषणको अर्को आयामका बारेमा ’प्रकाश’ ले धेरै कुरा बोलेको बताउँछन् । ‘सुन्दर कर्णालीको मटमैलो अनुहार देखिन्छ यो सिनेमामा । गरिबीको मार झेलिरहेका भुइँमान्छेहरूलाई नेपालको राजनीति÷सत्ताले विगतदेखि अहिलेसम्मै गरिरहेको उपेक्षाको कथा हो,’ उनले भने, ‘एक युवाको शिक्षक बन्ने सपनालाई आफ्नो कमाइको साधन बनाउने राजनीतिज्ञ र सरकारी नीतिको अनेक तरहले प्रहार गर्छ । त्यसमाथि समाजमा गडेर बसेको जातीय विभेदले प्रकाशको प्रेममा पनि हस्तक्षेप गर्छ ।’ सिनेमाको शीर्षक ’प्रकाश’ । तर, प्रकाशको घरभित्र बलिरहने टुकीले प्रकाश र उनकी आमा सीताको जीवनको अँध्यारोलाई गजब विम्ब दिएको पाण्डेको कथन छ । कर्णालीका घरका भित्ताहरूमा समाज रूपान्तरणका अनेक नाराहरू लगातार देखिन्छन् । ती नाराले नेपालको राजनीतिको कुरूप चित्रलाई अझै टड्कारो रूपमा चित्रण गरेको उनी बताउँछन् ।

कलाका हिसाबले नेपाली चलचित्रमा प्रकाश जस्तो चलचित्र बन्नु एक असाधारण घटना मान्ने धेरै छन् । यद्यपि, राजनीतिप्रति घृणा गर्ने तर सारा समस्या र समाधानको जड पनि राजनीति नै हो भन्ने नबुझ्ने पछिल्लो पुस्ताकै आवाजलाई यसले बल दिन्छ ।

प्रकाशका सबै पात्रहरूको उम्दा अभिनयले कथा र सिनेमालाई सार्थक तुल्याएको छ । प्रकाश र उनकी आमाको भूमिका निर्वाह गरिरहेका प्रदीप खड्का र दीया मास्केले अभिनयको मानक खडा गरेको पाण्डेको दाबी छ । ‘अभिनयमा रुचि राख्नेहरूका लागि उनीहरूको अभिनय एउटा गजबको पाठ्यक्रम हो । प्रकाश हेरिरहँदा मैले आफ्नै ’उलार’ र उलारका ’प्रेमललवा’ र ’द्रौपदी’लाई पनि सम्झिरहेँ । गरिबका सपना र संघर्ष उस्तै । उनीहरूमाथि गरिने शोषण र दमनको स्वरूप उस्तै । उनीहरूको जीवनमा जमेको ’अँध्यारो’को दह उस्तै । अनि जीवन परिवर्तन गर्ने उज्यालो अर्थात् ’प्रकाश’ को चाहना उस्तै,’ उनले लेखेका छन्, ‘’प्रकाश’को अँध्यारो मनभित्रै पसेको छ । पछिल्लो समय ’दोख’, ’पानीफोटो’, ’राधा’ पनि हेरियो । यी सबै निकै राम्रा सिनेमा हुन् । ’प्रकाश’ यी मध्ये अझै राम्रो बनेको छ ।’

सविता डंगोल प्रकाश जस्तो चलचित्र बन्नु नेपाली चलचित्र क्षेत्रका लागि एक असाधारण घटनाको रुपमा टिप्पणी गर्छन् । उनी ‘प्रकाश’ फिल्म हेर्नैपर्ने केही कारण यसरी राख्छन्,–‘पहिलो यसमा प्रयुक्त रूपकहरूले दर्शकको हृदयसँग सिधै संवाद गर्छन् । तीमध्ये पनि तीन दृश्य मलाई बिर्सिनसक्नु लाग्छ । मान्छेले आफ्नो पीर सुनाउने कोही मान्छे नपाउँदा ऊ चौपाया र रुखपातसँग कुरा गर्न थाल्छ । दिया मास्केले छोरा आफूसँग बोल्न छाडेपछि गाईसँग गरेको गुनासोले भक्कानो फुटाउँछ । भोज पकाइरहेको प्रकाश रोकाया आफ्नी दलित प्रेमिकालाई भोज खान आउन निम्ता दिन्छ । यी दुई पर्खालभित्र र पर्खालबाहिर बसेर कुरा गर्छन् । प्रेमिका दुईबीचको सम्बन्धमा उभिएको त्यही पर्खाल देखाउँछे । प्रेमी आफ्नो तर्फबाट त्यो पर्खाल भत्काइदिएको प्रतीक स्वरूप पर्खालको एउटा ढुंगा प्रेमिकालाई थमाउँछ । प्रेमिका खुसीसाथ त्यो लिएर पनि जान्छे । तर त्यसलाई बोकिरहन ऊ समर्थ हुँदिन अर्थात् ऊ आफ्नै समुदायमा बिहे गर्न बाध्य हुन्छे । आफ्नो प्रिय हेडसरलाई बिदा गर्न जाँदा प्रकाश एउटा जीर्ण पुलसामु उभिएर भन्छ, यो पुल तरेपछि जनयुद्धमा लड्न हिँडेका मेरा बा फर्केनन्, म पनि फर्किन्न कि जस्तो लाग्छ । यसले मान्छेको भोगाइले बन्ने नमेटिने गरी बसेको धारणालाई राम्ररी उजागर गर्छ ।’

मिहिनेती, परिश्रमी र सोझा मान्छेले भोग्नुपरेको मुटु चिराउने जुम्लाको खलंगा वरिपरिको स्थलगत कथाले भूइँमान्छेहरुलाई बिर्सेको राजनीति र सत्ता प्रति कडा कटाक्ष गरेको उनको कथन छ ।
यस चलचित्र राम्रो हुँदा हुँदै पनि फिल्ममा केही पक्ष टड्कारो रुपमा खड्किएको उनी बताउँछन् । यस फिल्मको स्वर अराजनीतिक (अपलिटिकल) छ । यसले राजनीतिप्रति घृणा गर्ने तर सारा समस्या र समाधानको जड पनि राजनीति नै हो भन्ने नबुझ्ने पछिल्लो पुस्ताकै आवाजलाई बल दिने डंगोल बताउँछिन् ।

‘सही मान्छेलाई कति निराश बनाउँछ भने यो देशमा कुनै भविष्य छैन भन्ने युवाहरूकै स्वरलाई बल दिन्छ,’ उनी भन्छन् ‘हरेक कुराको विकल्प हुन्छ । अन्तिम भन्ने केही हुँदैन । हामी स्वयं बेरोजगारी र निराशासँग सानो लडाइँ लडेर आएका यहाँसम्म आएका होइनौँ । यो गहिरो सत्यलाई फिल्मले सम्बोधन गर्दैन । दिनेश राउतले ‘प्रसाद’ फिल्ममा गरेको वैचारिक गडबडी यस फिल्ममा पनि दोहो¥याएका छन् । तर, कलाप्रेमी सबैले कम्तीमा एकपल्ट यो फिल्म हेनैपर्छ । ’

प्रकाशको कथा नौलो त पटक्कै लाग्दैन । यो हामीले देखिरहेकै, सुनिरहेकै, भोगिरहेकै कथा हो । तर पनि कथाको परिणति के होला भनेर दर्शक अन्त्यसम्मै भारी मनले उत्सुक भैरहन्छन् । प्रकाशको कथा प्रस्तुतिको यही विशेषता हो ।

अर्जुन काफ्ले माओवादी जनयुद्धले थिलथिलो पारेको जुम्ला र त्यहाँको राजनितिक चरित्र चलचित्रमा टप्पक टिपेर गहन ढंगले भन्न सक्नु नै चलचित्र प्रकाशको सफलता भएको बताउँछन् । दिनेश राउत निर्देशित अघिल्लो चलचित्र प्रसाद भन्दा ज्यादा राम्रो लागेको उनी बताउँछन् । ‘रंग बदल्नेहरु महल तिर, रगत बगाउनेहरु माटो तिर भन्ने चलचित्रको संवादले निकै बेर सोच्न बाध्य पा¥यो । कोटा प्रणालीले शिक्षक बन्ने हुटहुटि हुने र मेहनत गर्नेलाई भन्दा जबरजस्ती बाबुका करले परीक्षा दिनेहरु शिक्षा सेवा आयोग पास गरेको दृश्य होस् वा शिक्षा सेवा आयोगको मौखिक पास गराउन घुस खान खोज्ने ज्वाइ राजा प्रवृत्ति होस्, यसको कमी छैन,’ काफ्ले भन्छन्, ‘दिया मास्केले गाई बस्तु संग गरेको बिलाप, प्रकाशको नाम ननिस्किदाको पीडा । पिडै पिडाको कथा तर, कलाकारको उत्कृष्ट अभिनयले फिल्म हेर्नलायक बनेको छ ।’

चलचित्र हेरे पछि राजन सिलवालले दुखान्त फिल्म भए पनि हेर्नै पर्ने रहेको बताए । ‘अक्सर सिनेमामा मलाई दुखान्त अन्त्य मन पर्दैन । तर, प्रकाश अपवाद रह्यो,’ उनले भने, ‘सीताको जीवन संघर्ष, प्रकाशको विरोधाभासपूर्ण जीवनपद्दती, इन्द्रप्रसादको बाघको बर्को ओढेको मुसे रवाफ, ज्वाइँराजाको फट्याइँ, सबै आफ्नै गाउँका व्यक्तिमा पाइने चरित्र । यसले प्रकाश आहा भन्ने बनेको रहेछ ।’

चलचित्रका नायक प्रदिप खड्काले फिल्म गर्ने निर्णय गर्दा देखि नै यो सबै नेपालीले हेर्नुपर्ने फिल्म लागेको बताउँछन् । उनले नेता, कार्यकर्तादेखि सर्वसाधारण सबैलाई एकपटक चलचित्र हेर्न आग्रह गर्छन् ।

दर्शकहरुको अधिक मात्रामा सकारात्मक प्रतिक्रिया पाए पनि चलचित्र प्रकाशले सो भने यथेष्ट पाउन सकिरहेको छैन । गत शुक्रबारदेखि तीजको छेको समेत परेकाले अहिले दिइएको सो हरु सबैजसो हाउस फुल छन् । विषयवस्तु उठान, प्रस्तुति, अभिनयको हिसाबले अब्बल रहे पनि व्यावसायिक रुपमा के कति सफलता हासिल गर्छ प्रकाशले ? यो भने हेर्नका लागि केही समय प्रतिक्षा जरुर प्रतिक्षा गर्नै पर्नेछ ।

२०७९, १६ भाद्र बिहीबार ०७:३०
कथालिका नयाँ कथा
कथालिका