एथलेटिक्सकी चर्चित धाविका हुन् सन्तोषी श्रेष्ठ । तर, उनको खुट्टामा घाउ थियो । जसले अहिले पोखरामा जारी नवौं खेलकुदमा भाग लिने र स्वर्ण जित्ने सपना धर्मराउने भयबाट उनी मात्र होइन, प्रशिक्षक, खेल शुभचिन्तक, शुभेच्छुक पनि ग्रसित थिए । यद्यपी, बागमती प्रदेशकी सन्तोषीको दृढता र आत्मविश्वासले उनी नवौं राष्ट्रिय खेलकुदमा भाग मात्र लिइनन्, शानदार दुई स्वर्ण समेत जितिन् ।
बुधबार भएको प्रतियोगितामा ५ हजार मिटर महिला दौडमा स्वर्ण जितिन् । यसअघि १० हजार मिटर दौडमा पनि उनले स्वर्ण जितेकी थिइन् । दुवै प्रतिस्पर्धामा नेपाल पुलिसकी राजपुरा पछाईले कडा टक्कर दिए पनि अन्ततः सन्तोषीले नै स्वर्ण चुम्न सफल रहिन् ।
स्वर्णमा सफल, कीर्तिमानमा बिफल
यसपटकको प्रतियोगितामा कीर्तिमानी लक्ष्य थियो सन्तोषीको । त्यो भने सफलतामा अनुवाद हुन सकेन । ५ हजार मिटरमा कीर्तिमानसहित स्वर्ण जित्ने लक्ष्य अधुरै रह्यो । चोटसँग जुध्दै दौडिएकी सन्तोषीले स्वर्ण जिते पनि कीर्तिमान बनाउने प्रयास भने बिफल भयो ।
‘म पुरानो कीर्तिमान तोडेर आफ्नै नाममा नयाँ कीर्तिमान कायम गर्ने संकल्पनका साथ दौडिएकी थिएँ । सफल हुन भने सकेन, र पनि चोटका बाबजुद दुई स्वर्ण जित्दा खुशी नै छु,’ सन्तोषीले भनिन् । सन्तोषीले १७ मिनेट ०५.२५ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् । यस स्पर्धामा कान्छीमाया कोजुको नाममा १६ मिनेट ४९.९८ सेकेण्डको कीर्तिमान छ ।
जित पछि सम्मानमा जुत्ता ढोगिन्
सन्तोषीले दौड जिते पछि जुत्ता ढोगेको दृश्यले धेरैको ध्यान आकर्षण मात्र गरेन, मन जित्यो । दौड सकाएर फिनिसिङ प्वाइन्ट अगाडि आएपछि उनले ट्रयाक छेउमा बसेर आफ्नो जुत्ता खोलेर ढोगेकी थिइन् । ‘खुट्टामा घाउ भएकाले जुत्ता लगाउने कि स्पाइक लगाउने भनेर केही समय द्धिविधामा परेकी थिए, स्पाइकले झन् दुख्ला भन्ने लागेको थियो । खुट्टा र स्पाइक दुवैले साथ दियो,’ उनले भनिन्, ‘दौड जिते पछि एकाएक आफुले लगाएको जुत्ता ढोग्न मन लाग्यो । खोई कहाँबाट कसरी यस्तो सोचे आयो ।’
दुखाईले बीचमै छाडु जस्तो लागेको थियो
सन्तोषी चोटकै कारण प्रतिस्पर्धाको मैदानमा त उत्रिइन् । तर, दौडको मध्यतिर करीब ३ किलोमिटर दौडिदा खुट्टाको दुखाई पीडाबोध भइरहेको थियो । उनी भन्छिन्, ‘पैतालामा घाउ छ । अलि गाह्रो भइरहेको थियो । दुखाइ बढ्न थाले पछि एक्कासी बीचमै छोडिदिउ जस्तो अवस्था र सोचमा पुगिसकेको थिए, फेरि गुरुको साहस र सन्देश सम्झेर पीडा बिर्सेर दौडिए र सफल पनि भए ।’
सन्तोषीलाई नेपाल प्रहरीकी राजपुरा पछाइँले उछिने रहेकी थिइन् । तर, अन्तिम ल्यापमा राजपुरालाई पछि छाड्दै सन्तोषीले एकल अग्रता बनाइन् । दुई ल्यापपछि नै लिड बनाउन खोजे पनि आफुले नसकेको तर अन्तिममा भने सफल भएको उनको कथन छ ।
अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने धोको
सन्तोषी खेलकुदले आफूलाई स्वस्थ बन्न मात्र होइन, छुट्टै नाम र पहिचान दिएकोमा गौरव गर्छिन् । खेलले दिने छुट्टै उर्जा, नाम र पहिचानले समाजमा बाँच्दा सबैको माया, आदर सम्मान पाएको उनी बताउँछिन् । उनी आगामी लक्ष्यबारे कथालिकासँग भन्छिन्, ‘अब देशको प्रतिनिधित्व गर्दै ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने सपना छ, मलाई विश्वास छ त्यो अवश्य एकदिन पुरा हुनेछ ।’