तिहार भाइव्सः गलामा सजिन तयार फूलहरु – कथालिका

तिहार भाइव्सः गलामा सजिन तयार फूलहरु

निधारमा लर्काएर सप्तरंगी टीको, हिँडिरहनु सधैं तिमी शिखरको बाटो
ओखरमा फोडिदिएँ बाधाहरु मैले, जता पनि पुग दाजै घाम भन्दा पैले
हो……………जता पनि पुग दाजै ,घाम भन्दा पैले

जब यो गीत गुञ्जिन थाल्छ । हर नेपालीलाई आफ्नो घर आँगनमा बडादशैं पछिको दोस्रो ठूलो पर्व तिहार भित्रिएको आभास हुन्छ । यतिबेला घरमा दियो सहित झिलिमिली बत्ती बलिसकेका छन् । उज्यालो पर्वका रुपमा मनाइने तिहारमा घरहरु झिलिमिली र फूलहरुले चिरिचट्ट सजाइएका छन् ।

५ दिनसम्म मनाइने तिहारको हरेक दिनको फरक–फरक महत्व छ । विशेष गरी तिहारको अन्तिम दिन भाइटीकालाई धुमधामका साथ मनाइन्छ । हरेक दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायूको कामना गरेर सप्तरंगी टीकासहित सयपत्री र कहिले नओइल्याउने फूलका रुपमा चिनिने सयपत्री मखमली फूलको माला लगाएर मनाउने गरिन्छ । तिहारमा फूलहरुको किनबेच अधिक हुने गर्छ । सुन्दर शहर पोखरामा पनि अहिले तिहारका लागि किनमेल गर्नेको भिड छ । पुष्प व्यवसायीलाई सयपत्री, मखमली फूलको व्यापार गर्न भ्याइनभ्याई छ । तिहार लक्षित गर्दै फूलको व्यवसाय गर्ने व्यवसायी यही बेला मनग्य आम्दानी गरेर आत्मनिर्भर बन्ने गरेका छन् ।

पोखरामा हुने माग अनुसार रहेका यहाँका पुष्प व्यवसायीले फूलको बजार धानेका छन् । तिहारका लागि पोखरा ५ देखि १० प्रतिशत मात्रै फूल आयात हुने गरेको फ्लोरिकल्चर एशोसियसन कास्कीका अध्यक्ष दिलबहादुर गुरुङ बताउँछन् । पोखरामा आयोजना गरिएको ‘छैठौं गोदावरी तथा तेस्रो प्रादेशिक पुष्प व्यापार मेला’ मा भेटिएका अध्यक्ष गुरुङले भने, ‘साँच्चै भन्ने हो भने दाजुभाइको गलामा पुग्ने फूलमाला हाम्रै व्यवसायीले तयार पारेको फूलले पुग्छ, बाँकी ५/१० प्रतिशत मात्र आयात हुने गरेको अवस्था छ ।’ पोखरासहित नेपाल नै फूलमा आत्मनिर्भर हुने सम्भावनालाई गुरुङ नर्कादैनन् । उनी आफैले पनि विगत १६ वर्षदेखि पोखराको विरौटाको पावरहाउसमा सिजनल मनकामना नर्सरी चलाउँदै आइरहेका छन् । सबैभन्दा ठूलो समस्या भनेको पुष्प व्यवसायीलाई जग्गा अभाव भएको उनको भनाई छ । ‘सरकारी निकायले हामीलाई लामो समयका लागि काम गर्न सक्ने वातावरण तयार गरिदिए फूलमा हामी पूर्ण रुपमा आत्मनिर्भर हुन सक्छौं,’ अध्यक्ष गुरुङ भन्छन्, ‘ त्यस्तो व्यवस्था भएमात्र बाहिरबाट आयात गर्ने कार्य सम्पूर्ण रुपमा रोक्न सक्छौं ।’ अध्यक्ष गुरुङका अनुसार फूल व्यवसायी मल लगायत व्यवसायका लागि अत्यावश्यक सामानका लागि बाहिरी देशको भर पर्नुपर्छ । सरकारले यो विषयमा ध्यान दिन नसकेको उनको गुनासो छ ।

पोखरा रंगशालामा आयोजना भएको ३ दिने मेलामा हाल २५ वटा पुष्प व्यवसायीको स्टल छ । मेला आइतबारसम्म चल्ने छ । मेलामा व्यापारभन्दा पनि आफूहरुको व्यवसायको विषयमा जानकारी दिने मुख्य उद्देश्य व्यवसायीले राखेका रहेछन् । मेलामा खासै फूलका पारखी देखिएनन् नि भन्ने प्रश्नमा व्यवसायीको एउटै आवाज थियो, ‘प्रचार पनि पुगेन होला तर, व्यापारभन्दा हामीले आफ्नो व्यवसायका विषयमा फूलका पारखीलाई जानकारी गराउने उद्देश्यले फूलको प्रर्दशनी गरेका हौं ।’ साँझपख भने मेलामा फूल किन्न आउनेको संख्यामा केही वृद्धि भयो । फूल पारखीको उपस्थिति जस्तै भए पनि आयोजक भने सन्तुष्ट देखिए ।

पुष्प व्यवसायी सूर्यबहादुर गुरुङले यही पुष्प व्यापार मेलामा स्टल राखेका छन् । उनी आरजे फ्लावर नर्सरीका सञ्चालक हुन्, जुन लेखनाथको अर्घौंचोकमा छ । उनले स्टलमा करिब १५÷२० वटा प्रजातिका फूल प्रदर्शनीमा राखेका छन् । ‘नर्सरीमा अन्य प्रकारका फूलका प्रजाति पनि छन्, ३ दिनको प्रदर्शनीमा टाढाबाट ल्याउन, लैजान नै गाह्रो हुने भयो, त्यसैले थोरै मात्रामा ल्याएको हुँ,’ उनले भने, ‘मेलाको विषयमा जानकारी पाएर फूलका पारखी आउने क्रम जारी छ, फाट्टफुट्ट ग्राहक आउने क्रम जारी छ र बिक्री आशातित रुपमा भइरहेको छ ।’ उनको अनुभवमा मेलामा महिलाको सहभागिता बढी छ । ‘तिहारका लागि हुने फूल र अन्य फूलका पारखी महिलाको सहभागिता बढी देखिरहेको छु,’ उनी भन्छन् ।

पोखरा १४ काजीपोखरीका तिरञ्जन गुरुङ मेलामा भेटिए । उनी तिहारका लागि केही फूल मेलामा उपलब्ध छन् कि भन्ने आशासहित आएका रहेछन् । गुरुङलाई मेला रमाइलो लागेछ । ‘मेलामा फूलैफूल देख्न पाउँदा राम्रो लाग्यो, विस्तारै फूलका पारखी पनि बढ्दै जालान्,’ उनले भने । घरमा अन्य फूल भए पनि सयपत्रीको अभाव भएकाले उनले सयपत्री फूलको केही बिरुवा किनेका रहेछन् । दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीकासहित लगाएदिने फूल उनले थोरै किनेका थिए । किन थोरै फूल लिनुभयो भन्ने प्रश्नमा उनले भने, ‘घरमा पनि फूल छन्, केही अपुग होला जस्तो लागेर त्यसलाई पूर्ति गरौं कि भन्ने भएर थोरै फूल किनेको ।’

बृद्ध अवस्थामा समेत पोखराकै आइपी शर्मा फूलका पारखी रहेछन् । मेला लागेको थाहा पाएपछि उनी फूल खरिद गर्न र अवलोकन गर्न मेलामा पुगे । उनले आफूलाई आवश्यक पर्ने र राम्रो लागेको फूलको बेर्ना किन्न करिब ३ हजार खर्च गरेछन् । उनी आउँदा मेला अवलोकन गर्ने केही कम थिए । त्यसैले उनलाई पोखरामा फूलका पारखीहरु केही कम पो रहेछन् कि भन्ने लागेछ । ‘मलाई त फूल एकदम मन पर्छ,’ उनले हाँस्दै भने, ‘अहिले त पोखरामा फूलका पारखी घटेछन् कि क्या हो ।’

फूलका पारखीले आफ्नो रोजाईका फूलहरु नियालिरहँदा फूलबारी ११ पोखरामा नर्सरी सञ्चालन गरिरहेकी अनु गुरुङ आफ्नो स्टलमा बसिरहेकी थिइन् । व्यापार नै गर्छु भन्ने हिसावले अनुले मेलामा फूलको स्टल राखेकी भने होइनन् । आफ्नो व्यवसायको विषयमा ग्राहकलाई जानकारी होस् भन्ने उनको उद्देश्य थियो । अन्य समयभन्दा दसैं र तिहारको समयमा राम्रो व्यापार हुने अनुको अनुभव छ । ‘दसैं तिहारमा सयपत्री लगायतका फूलको व्यापार राम्रो हुन्छ,’ उनले भनिन्, ‘अरु बेलामा त खाने बाटो मात्रै हो ।’ अनुको नर्सरीमा सयपत्री र मखमली फूल सकिएपछि उनले आफ्नो स्टलमा प्रदर्शनीका लागि राखेकी रहेनछिन् । अनुका अनुसार फूलको व्यवसाय गर्न निकै अप्ठ्यारो छ । ‘फूल हुर्काउन निकै गाह्रो हुन्छ, आफ्नै सन्तानलाई जस्तो हुर्काउनुपर्छ, फूलको बिरुवा बिग्रिएपछि ग्राहकले लाँदैनन्, बिक्री भएन भने कतिपय बिरुवा खेर जान्छ,’ उनले भनिन् । अनुको बुझाइमा फूलको व्यापारबाट आत्मनिर्भर बन्न सकिन्छ, बरु मेहनत गर्न छोड्नु भएन । उनले महिनामा ५० देखि ६० हजारसम्म कमाई गरेकी छिन् भने कोही बेला महिनामा २० हजार मात्रै समेत कमाएकी छिन् ।

फ्लोरिकल्चर एशोसिएसन कास्कीका अध्यक्ष गुरुङका अनुसार हाल पोखरामा ३२ देखि ४० जना पुष्प व्यवसायी छन् । पोखरासहित नेपाल नै फूलमा आत्मनिर्भर हुन सक्छ । तर, गुरुङको विचारमा यो विषयमा सम्बन्धित निकायले ध्यान दिनुपर्छ । सही स्थान र जग्गा प्राप्त गर्न सकेमा बाहिरी देशमा निर्यात गर्न सक्ने अध्यक्ष गुरुङले दाबी गरे । ‘९८ प्रतिशत फूल व्यवसायीले अर्काको जग्गा भाडामा लिएर काम गरिरहेका छन् । जग्गा धनीले ५÷६ वर्षको समय दिन्छ, त्यसपछि हामीलाई त्रास उत्पन्न हुन्छ,’ अध्यक्ष गुरुङले भने, ‘व्यवसाय फेरी गर्न पाइन्छ कि पाइन्न भन्ने डरैडरले बाँच्नुपर्छ, यो हामी पुष्प व्यवसायीको सबैभन्दा ठूलो चुनौती हो ।’ यस्ता चुनौती निराकण गर्न सके फूल आयातलाई पूर्ण रुपमा हटाउन सकिने उनको विश्वास छ । गुरुङलाई दुःख लाग्छ, किनकि आफू्हरुले दुःख गरेर आम्दानी गरेको पैसालाई विदेश पठाउनुपर्छ । फूलको बिउबिजनदेखि मलसम्म विदेशबाट आयात गर्नुपर्छ, अरुकै देशको भर पर्नुपर्छ । ‘सम्बन्धित सरकारी निकायले हरेक कुरा विदेशबाट आयात गर्नुपर्ने बाध्यता हटाउन सकेन नेपाली पसिनाबाट आर्जित रकम विदेश जानबाट रोकिने उनको कथन छ ।

२०७९, ६ कार्तिक आईतवार ०५:०१
कथालिका नयाँ कथा
कथालिका