जब आकाशबाट मन्दिर पुगे… – कथालिका

जब आकाशबाट मन्दिर पुगे…

  • कुनै कुनै ठाउँ त कस्तो ठाडै भिरालो ? मन सिरिङ्ग हुने । माथीबाटै तलतल सम्म देखियो । सेल्फी लिंदै झरें तलसम्म । प्रौढ जोडि कति खेर सेल्फी लिरहेको थियो भने कति बेला भिडियो ।

सामाजिकमा उहिल्यै हो पढेको नेपालको एकमात्र केवलकार, मनकामना केवलकार भनेर । चित्रमा देखेको केवलकार वास्तविक चरित्रमै उतार्दा कस्तो होला ? उत्सुकता भुकम्प बनेर उबेलै हल्लाएको थियो बालमस्तिष्कको गाउँलाई । पछिसम्म पनि पराकम्पहरू आईरहे ।

सपना छर्न, उमार्न, बढाउन र फक्राउन भनेर काठमाडौ शहर छिरेको पनि यतिका वर्ष भैसक्यो । त्रिशुली, मस्र्याङ्दी र कालीगण्डकीको किनारै किनार पृथ्वी राजमार्ग र भूपि राजमार्ग छिचोल्दै छिचोल्दै सयौं पटक बागलुङ काठमाडौ गरियो । कहिले दाहिने त कहिले देब्रे पारेर केवलकार र मनकामनालाई छोडियो । पटकपटक योजना बनाइयो तर तुहाइयो ।
हिजो अठोटनै गरें । केवलकार चढ्छु । मनकामना पुग्छु भनेर । हिजो सखेरै पुजा सामाग्री मेरी ८७ वर्षिय हजुरआमाले तयार गरिदिनु भयो । र निस्किएं घरबाट ।
करिब २० किमी पार गरेपछि बागलुङ सदरमुकाममा बाइक थन्काइदिएँ । सार्वजनिक यातायातको प्रयोग नगरेको पनि निकै भैसकेछ । बागलुङबाट सिंधै कुरिनटार पुग्ने जिप, बसको खोजिमा लागें ।

गगन अविदित

तिहारमा गाउँगाउँ पुगेका सहरवासीहरूको लामले होला गाडि पाउन मुस्किल भयो । निकै वेरको बागलुङ बसाई पछि उसैको समिक्षालय चोकबाट पोखराको लागि जीप चढें । ३ः३७ मा जिप चढेको म ५ः१३ मा नौडाँडा आइपुगें । चिसो बढिसकेछ । लुम्ले काँडेबाट नौंडाडा सम्म माछापुच्छ्रे, अन्नपूर्णलाई देख्छु कि कतै भनेर आँखालाई निगरानीमै खटाइरहें । बादल र कुहिरोको घुम्टो भित्र कता लुकेलुके हिमालहरू । घाम भने डाँडाबाट ओरालो लाग्दै थियो । झ्याउँकिरीहरू भाका हाल्न सुरु गरेका थिए ।
५ः४१ मा पोखराको जिरोमा ओराल्दियो जीपले । रौतहटमा रिकुटे जीवनको कार्यालय बनाएका जैमिनिबासी नरबहादुर पुन टिकटको लागि पृथ्वी चोक जाने भए ।

बस र पैतला चढेर पृथ्वी चोक पुग्यौं । समक्कै भैसक्यो साँझ । पृथ्वी चोकको किनार वरिपरि छरपस्ट थिए यात्रीहरू ।
हामी सिधै टिकट काउण्टर गयौं । दुई वटा टिकट काउण्टर बुझ्दा पनि मैले मुग्लिन वा कुरिनटारको टिकट पाइन । नर पुनको लागि टिकट त पाइने भयो तर भोलि विहानै ६ बजे हिँडिसक्छ ५ः३० मा आईसक्नु भन्ने भनाईले उनी झस्के । उनी टिकट काटेर हेम्जा तिर फर्कदै थिए । हेम्जाबाट सबेरै फर्किन कठिन हुने मानेर, अहिले राती रमाइलो गर्दागर्दै अवेर हुने ठानेर सायद झस्के होलान् ।

काउण्टरबाट टिकट नहुने भएपछि एकमनले भन्यो लेकसाइड तिर चल्दिन्छस् र केटा ? र तत्कालै अर्को मनको जवाफ आयो कति बस्नु लेकसाइड ? कति बस्नु पोखरा । नयाँ ठाउँ बस्, कोत्रे बस्, दुलेगौंडा बस्, दमौली बस्, डुम्रे बस् तर यहाँ बस्दै नबस् । मैले अर्को मनको कुरा मान्ने भएँ ।
मैले सडक किनारमा चिहाउन थालेँ । मैले आकाश पनि चिहाएँ । हसिँया आकारको जुन उदाईरहेको थियो । सडकमा सवारीको चाप र बत्तिको झिलिमिलि थियो । निस्किएं किनारमा । मेरो ब्यागप्याक देखेर कहाँ जाने दाई ?
कुरिनटार ।
यसमा सिट छ दाइ, आइ हाल्नुस् बोलावट भयो ।
स्याल्ला यो कुरिनटार जान्छ ? झुट बोल्छस् । विरगन्ज जानेलाई कुरिन्टार भन्छस् ? झपा¥र्यो अर्को खलासीले ।
झुट बोल्न त भएन नी, मैले भनें ।
हैन दाइ, मुग्लिनबाट अर्को गाडिमा चढाईदिन्छु ।
मैले नर जीलाई खोजेँ । उनी विहानै जाने भएछन् । म यहीँ गाडीमा जान्छु । तपाईलाई भेटेर खुशी लाग्यो भन्दै विदा भएँ ।
सिट प्याक भैहाल्छ सिटमै गैहाल्नुस् । खलासीले भने ।
कति बजे हिँड्छ ?
६ः४५ ।
अझै ४० मिनेट ? हिड्न त ६ः४५ मा स्योर हो नि ?
छुट्छ दाइ छुट्छ, ढुक्क हुनुस् ।

गाडि भित्र चढ्दै गर्दा अर्को मोटे मान्छे बोल्यो पछाडी बस्ने कि क्याबिन ? यस्सो पछाडि नियालें । क्याविन रोजें ।
म भन्दा अगाडिनै दुई जना मान्छेहरू बसिसकेका रहेछन्, लेफ्ट साइडमा । मैले मेरो झोलाहरू कहाँ राखौं सोधें । यही राख्नु, गेयर एरियामा इसारा गर्यो अर्को मोटे मान्छेले । त्यहीँ राखेर म सर्टको लागि बाहिरिएँ ।

पेय पदार्थमा कोकसँगको साईनो मजबुत छ मेरो । कोक किनेर घुट्काउंदै बस छिरे केही बेर पछि । भर्खरै सार्वजनिक शौचालय खोज्नूको सकस पार गरेर क्याविनको सिटमा गै बसें । दुई जना योङ केटाहरू मोबाइल चलाईरहेका थिए । बोल्न खोजे ।
कहाँ पुग्ने दाइ ?
कुरिनटार जाने । तपाईहरू ?
रामनगर । घर कहाँ दाईको ?
बागलुङ । तपाईहरूको ?
घर त दमौली हो दाइ । अहिले बस्ने रामनगर ।
ओके ।

त्यो अगाडीको गाडिमा चढेको । पहिले सिट छ भन्यो, बस्यौं । पछि निकाल्दियो । एउटा बोल्यो । लास्टै ल्याङ हान्छन् यस्तो बेला यिनिहरू । अर्को बोल्यो ।
सार्वजनिक यातायात मैले जान्दा देखि यस्तै छ । मैले भनें । भाइहरूको नाम ?
मेरो सुरेश सुनार । मेरो रमेश सुनार ।
यता कता आएको ?
दिदि यतै हुनुहुन्छ । तिहारको टीका लाउन आएको दिदिको घरमा दाजु । हिजो जाने भनेको नि टाइममा गाडि पाइएन । आज नि दिउँसै देखि बुझिराको हो । यतिखेर भो । नगै भाछैन ।

पढाई ? काम ?
पढाई त छोडेको दाइ । एसएलसी पनि दिइएन ।
दुबैले ?
हजुर दाइ । घरको स्थिति, यता उति सबै हेर्न पर्ने दाइ ।
ओके । काम ?
सानो सानो छ ।
ओके । जीविकोपार्जन ठुलै कुरा हो ।

  • भेटिनु छुटिनु त जिन्दगीको रित न हो । गाडी जस्तो जिन्दगी स्टेसन स्टेसनमा छुटिन्छ, भेटिन्छ । त्यस्तो कुनै संयोग मिलेछ भने फेरि भेटौंला । राष्ट्रिय बाहरूका कुरा गरौंला । बालेनका कुरा गरौंला । रविका कुरा गरौंला । सार्वजनिक यातायातका कुरा गरौंला ।

सुरेश र रमेशका औलाहरू मोबाइलको किप्याडमा दौडिरहेका हुन्थे बेलाबेला । मुखहरू भने मसँग सवाल जवाफ गर्न तल्लीन थिए ।
हामी गफिइरहेका थियौं । क्याबिनमा दमौली झर्ने दिदिको इन्ट्री भयो । दिदि ड्राईभरको सिट पछाडि बसिन् । एक जना बाको इन्ट्री भयो । गेयर वरपर मेरो ब्यागप्याकको साथी बने । अर्को एक जना योङ्ग केटीको इन्ट्री भयो । मेरो साइडमा लिफ्ट मागिन् । म थोरै सरिदिएँ भाइहरू तिर ।

केटाहरूको मोबाइलबाट ध्यान एकाएक विकेन्द्रित भयो योङ्ग केटी तिर । केही निमेष मौनता छायो । अर्को एक जना कान्छा बाको इन्ट्री भयो । बासंगै मिलेर बसे ।
७ बजिसक्यो गाडी चल्दैन । जाऔं न हो दादा जाऔं । ठूलो स्वर गरें । पछाडी यात्रुहरूको आगमन भैरहेकै थियो बोलाए मुताविक । कोही आउथे । चिहाउँथे सिट र खचाखच देखेसी झर्थे । कोही सिट जुध्यो भनेर कराउँदै थिए ।

गाडि चल्यो । अगाडिको अर्को मोटे मान्छेनै ड्राइभर रहेछ । लेखनाथ आईपुग्दा ३ ठाउँमा रोक्यो ।
योङ केटीले सिटमा बसेदेखि मोबाइल मात्र चलाइरहेको देखिरहेको थिए । भाइहरू पनि मोबाइलमा ब्यस्त । उनीहरू सबै च्याटमा ब्यस्त थिए ।
कोत्रे देखि डुम्रे सम्मको बाटो बिजोग छ । यो बाटो हिड्दा अत्यास लाग्छ । पृथ्वी राजमार्गनै बिग्रेको छ । बिगारिएको छ । मुग्लिङ पोखरा त के कुरा गर्ने ? सडक विस्तारको नाममा मनपरीले धेरैलाई अस्पतालको विस्तारामा पु¥याउने अवस्था बनेको छ ।

दमौली आउने बेलासम्म सुरेश, रमेश र रेश्मा फोनमै बिजि थिए । अनुमान लगाए अनुसार सबैको उमेर समुह पनि उस्तै उस्तै रहेछ । सबै पहिलो पहिलो प्रेममा चुर्लुम्म डुबे जस्तो ।
रेश्मा बागलुङको दक्षिण भेगकि रहिछन् । चितवन बसेर कलेज पढ्ने उनको काम रहेछ । बाटो, बागलुङ, वैदेशिक रोजगारि र बसाइँसराइ बारे केही कुराहरू शेयर गरें । उनको सुन्ने धैर्यतामा उनकै फोनले डिस्टर्ब गरिरहेको थियो ।

दमौलीमा दिदि झरिन् । दिदिको ठाउँ नयाँ दाजूले लिए । आर्मी कट बाल हानेका दाजु हामी तिर हेरेर कुरा गरिरहन खोजे । उनको फोकल पोइन्ट रेश्मा थिइन् भनेर सजिलै अनुमान लगाउन सकिन्छ ।
दमौलीबाट अगाडी बढिरहेकै थियो गाडि । दाहिने काँध तिर ढल्केको रेश्माको टाउको मेरो दाहिने काँध खोज्दै आइपुग्यो । केटीलाई निद्रा लागेछ । मनमनै भने । उनको टाउको मेरो काँधले अड्याईरह्यो ।
भाइहरूले झ्याल खोलेका रहेछन् । ड्राइभरको पनि खुल्लै थियो । सिरेटो आयो । सिरेटो एक्लै आएन धुलोसँगै आयो । मैले मेरो कान्छो प्यागप्याक खोलें । क्यापलाई झोलामा राखेर मंकि क्याप निकाले र लगाए । मास्क लगाएं । मुख र टाउकोलाई आनन्द भयो ।

उठेकी रेश्मा हाई काढ्दै थिइन् । आर्मीकट वाला हेरिरहेको थियो । भाइहरू कतिखेर मसंग कुरा गर्थे कति खेर फोनसँग ।
रेश्माले सोधिन् सर, तपाईंको काँधमा सुत्छु है ?
अगाडी नसोधी सुत्यौ त ।
मन्द मुस्कान फिजाइन् ।
सुत सुत । अफ्ट्यारो भयो भने म भन्छु । उनको टाउकोको टेको फेरि मेरो काँध बन्यो ।

सुरेश साउथ इन्डियन मुभि हेरिरहेका थिए । रमेश युट्युबका सर्टस् हेर्दै खित्का छोड्थे । आर्मी कट, ड्राइभरको सिट अढेसमा पाखुराको अढेस लगाएर घोप्टो परिरहेको थियो । बा र कान्छा बाका नयनहरू घरि दायाँ घरी बायाँ गरिरहन्थे । ड्राईभरका आँखा चनाखो बनिरहेका थिए । सडकलाई हुस्सुले आफ्नो अंगालोमा लुकाईसकेको थियो ।

मलाई रेश्माको टाउकोको प्रेसरले असहज भयो । मैले दाहिने र देब्रे हातलाई साइड अप पोजिसनमा, १८० डिग्रीमा सिटको अढेस सँगै रिफ्रेसमेन्टको लागि राखे । रेश्माको टाउकोले काँध भेटेन । मेरो छाति हुँदै तलमाथि उँघ्न थाल्यो । अर्धनिद्राकि उनी बिउँझिन् । काँधको खोजिमा लागिन् । ठिकै छन्त ल भनेर पुर्वावस्थामै फर्किएं ।

मुग्लिङ पुग्नु भन्दा २० मिनेट अगाडिनै भोजनको निम्ति रोक्यो । १० बजिसकेको थियो । मलाई छिटो मुग्लिङ पुगु र होटेल खोजेर बसु भैसकेको थियो । गाडिको टाएर फेरियो । साउण्ड सिस्टम सन्जालमा खराबी रैछ, बनाइयो । १ घन्टा बिति गयो ।

मस्याङ्दि हाईड्रोपावर हुदै मुग्लिन पूल आईसक्यो । रेश्मा पुन निदाएकि थिइन् । उनलाई म झर्ने ठाउँ आईसक्यो भनेर उठाएँ । मुग्लिङको त्रिकोण चोकमा मलाई उतारिदिने भयो । मैले खलासी कुरिनटारको गाडिमा पठाईदिन्छु भनेको हैन ? कुरिनटार नपु¥याइदिने ? भनेर अन्तिम पटक सोधे । पाईहाल्छ नि दादा यतै झरेर खोज्नू न भन्यो ।
ओके भने । भाडा त मैले नारायणगढ सम्म पुग्नेनै तिरेको थिएं ।

रेश्मालाई पुग्न अब डेढ घन्टा बाँकी थियो । सुरेश र रमेशलाई एक घन्टा । रेश्मा र मेरो घर एउटै जिल्ला हो भन्ने उनीहरूलाई थाहा भैसकेको थियो । खलासीलाई भनें, रेश्मा बहिनि मेरो गाउँको हो । राम्ररी पु¥याईदिनु । अर्धनिद्रामै रहेकि रेश्मालाई होसियारपूर्वक जाउ भनें ।

भेटिनु छुटिनु त जिन्दगीको रित न हो । गाडी जस्तो जिन्दगी स्टेसन स्टेसनमा छुटिन्छ, भेटिन्छ । त्यस्तो कुनै संयोग मिलेछ भने फेरि भेटौंला । राष्ट्रिय बाहरूका कुरा गरौंला । बालेनका कुरा गरौंला । रविका कुरा गरौंला । सार्वजनिक यातायातका कुरा गरौंला । जीविकाका कुरा गरौंला । पिरति र पिर अतितका कुरा गरौंला । तपाईहरूलाई भेटेर खुशी लाग्यो । सुरेश र रमेशसँग हात मिलाएं । ड्राईभरलाई धन्यवाद भनें । बा र कान्छा बालाई राम्ररी जानू भने, खलासीलाई धन्यवाद भने । रेश्मालाई राम्ररी जाउँ भने । विदाईको हात हल्लाउँदै म सडकमा झरें ।

सडकमा परेका पाइला एकपल पनि रोकिएनन् । सरासर किनारकिनार हिंडे । पोखरेल दादासंग कुरा भए अनुसारको होटेल खोज्न थालेँ । न नाम न एक्ज्याक्ट लोकेसन ? कसरी भेट्नु ?
होटेलहरू नियाल्दै अगाडी बढिरहेको थिए । सडकमा सवारी यताउता गरिरहेकै थिए । मुग्लिङ बजार झिलिमिलिनै थियो । कुनै कुनै सटरहरू बन्द थिए । सडक किनारमा कुकुरहरू थिए । पोका पुन्तुरा बोकेका यात्रीहरू पनि देखिन्थे । मेरा गोडाहरू मुग्लान होटल अगाडि रोकिए । म सरासर काउन्टरमा गएर सोधें । दाइ रूम छ ?
सवै प्याक भैसक्यो । सिजनको बेला पर्यो ।
अन्त कता होला त दाइ ?
त्यो अगाडिको चितवनमा जानु न ।
ओके धन्यवाद ।

म चितवन गेस्टहाउस पुगें । रूम हेरें । मन उति नपरी नपरी बसें ।
एडजस्ट गरेर बसौं सर । हिजो धेरै खालि थियो । आज अन्तिम त्यही रूम हो । होटल सञ्चालक राजन बुढाथोकी मितव्ययी रहेछन् । हजुरबाले सुरु गरेको होटेल बा हुदै अहिले आँफूले चलाईरहेको बताए । दुई रुपियाँमा खाना खुवाउथे रे उनका हजुरबा । उनीसम्म आईपुग्दा सादा खानाको २ सय भएको छ । जन्मजात पार्सिएल ब्लाईन्ड उनी क्रिकेटर पनि रहेछन् । फुटबलका उम्दा फ्यान पनि रहेछन् । इपिएल हेरिरहेका थिए । उनी क्रिकेट खेल्न विदेश पनि पुगेका रहेछन् ।

विवाह गरेपछि प्यासनलाई एकतिर छोडेर यो ब्यवसाय गरेको छु सर । खाना खाइरहेको मसंग उनी गफिन खोजे । छोरो छ, बुढी छ । यो व्यवसाय भए पछि छोड्न नमिल्ने । बाहिर कतै निस्कन पाईदैन । बिहान ६ बजे उठिसक्नु पर्छ । ४,५ घण्टा हो सर सुत्ने । बानी भैसक्यो । विभिन्न संघसंस्थामा काम गरें । पोखरामा १५,१६ वर्ष बसें । उतै हो सर मैले पढेको । विवाह गरेपछि धेरै कुरा सोच्नु पर्ने रैछ । अहिले यतै थन्केको छु । केही गर्ने इच्छा हुँदाहुँदै पनि यसरी खुम्चेको छु ।

तपाईंको प्यासन र बिजनेसलाई पनि संगसंगै लान सकिन्छ । धैर्य गर्नुस् । मैले भनें । सगरमाथा देखि मनाङ मुस्ताङको कुरा, यात्राका कुरा भए । राजनीतिका कुरा नि भैहाले । पुरानालाई त भोट दिदै दिन्न । नयाँलाई दिने हो । बालेन जस्तो चाहियो देशभरि । रविहरू आउनुप¥यो । संधै उनै गएगुज्रेका देश बिगार्ने नेतालाई कति भोट गर्नु ? उनले एकै श्वासमा भने । अगाडि गाडिमा रमेश र सुरेश पनि स्वतन्त्र भन्दै थिए । रेश्माले पनि हाम्रोमा स्वतन्त्र उम्मेदवार को छ सोध्दै थिइन् ।

घडीले साढे १२ बजाईसक्यो । म बिहान छिट्टै निस्कन्छु । मैले बिल पे गरें । पानीको बोतल च्यापेर गुड नाइट भन्दै कोठातिर लम्किएं ।
कोठामा गएपछि केहिबेर नेट सर्फ गरें । अब त सुत्नुपर्छ । सिरक भित्र शरीरलाई लडाएँ । बिउझिंदा ५ः५३ भएको थियो । जुरुक्क उठ्दा ६ बजिसक्यो । ब्रस, मन्जन, टावेल र भित्री बस्त्र बोकेर बाथरूम छिरें । फ्रेस भैसक्दा, ब्यागप्याक मिलाउँदा सभा ७ भैसक्यो ।

कोठाबाट २ तला झरेर काउटर पुगेँ । काउण्टर छेउमै व्लान्केट ओढेर सुतिरहेका राजनलाई म हिंडेको भनें । खुत्रुकेबाट मेरो लाइसेन्स झिकेर दिए । एउटा भिजिटिङ कार्ड पनि हातमा थमाईदिए । फेरि फेरि आउदै गर्नु भने ।
ह्वाई नट ? आउनेछु । थ्याङ्क्यू फर योर हस्पिटालिटि । सि यू भन्दै निस्के होटेलबाट । त्रिवेणी चोकमा पुगेर म्याजिक खोजें । उताबाट काठमाडौ हो ? भन्दै गाडिहरू आईरहे । गाडिहरू भरिभराउ देखिन्थे । फाईनल्लि म एउटा बसमा चढें । उभिएरै कुरिनटार झरें ।

घटनापछि गोरखाका राजाले मनकामना देविको सेवा गर्न लखन थापा र उनका दरसन्तानलाई पुजारी नियुक्ति गरि पूजा चलाउन जग्गा गुठी र विर्ता लालमोहर लगाई दिए ।  पवित्र मनले कामना गरेर यहाँ पुजा गरे कामना पुरा हुने जनविश्वास छ ।

केवलकारको गेटसम्मै सडक किनारमा फूल बेच्नेहरूको लस्कर थियो । सबैले यात्रीलाई आँफैतिर आकर्षित गर्न खोजिरहेका थिए ।
मेरो दुइटा झोला थियो । एउटा बढी आंतिलो । ठेलामा फूल बेचिरहेका सोनाम तामाङलाई आग्रह गरें मेरो झोला राखिदिनु पर्यो । म मनकामना दर्शन गरेर फर्किहाल्छु । धेरै समय भुल्दिन । राख्दिनु ल । उनले ५० रुपैयाँ दिने सहमतिमा झोला राखिदिए । म सरासर केवलकार तिर झरें ।

पैदल मार्ग हुँदै हुँदै केवलकारको टिकट लिने लाइनमा लामवद्ध भएं । रु.७०० को टिकट लिए पछि डिपार्चर हल तिर छिर्ने लाइनमा गएँ । लाइन यू आकारको देखें ।
यो सबै भित्र छिर्ने लाइन हो ? किनारमा उभिएको इन्डियन जोडिलाई सोधें । उनीहरूले रेलिङ भित्रको पैदल मार्गमा तेर्सिएको लाइनलाई देखाए । म त्यस्तै जान मोडिएँ । म हातमा टिकट लिएर अगाडि बढेको थिएं, भित्र छिर्ने यहाँबाट हो यता आउनुस्, भित्र छिर्न चेकजाँच गर्ने स्टाफले भने पछि म सरासर गएं ।

टिकट हेरे र अगाडि जान इसारा गरे । म सिढीहरू उक्लें । अगाडि ड्याम्म अर्धकदको एउटा शालिक उभियो । नमस्कार गरिरहेको ब्यक्ति को हो ? शिलापत्रमा नयनहरू दौडिए । गोरखा चौबीस कोठिका प्रेमनारायण श्रेष्ठ तथा देवकुमारी श्रेष्ठका काहींला सुपुत्र लक्ष्मण बाबु श्रेस्ठ । वि.सं. १९९२–२०७० । नेपालको विकासका स्वप्नद्रष्टा, मनकामना केवुलकार निर्माता तथा संस्थापक अध्यक्ष (कोई समुह) । एक श्वासमै पढें । एउटा तस्वीर पनि लिएं ।

डिपार्चर हल भित्र मान्छेहरू खचाखच देखेर अत्तालिएं । समालिनु थियो । मनकामना पो आको । समालिएं । टिकेट चेकर मेसिनले टिकट चेक गरेपछि डिपार्चर हलभित्र लामबद्द भएं । लाईन शिकारलाई कभर अप गरेको पाईथन जस्तो गुजुमुज्ज घुमेको थियो ।
३२ मिनेटको पर्खाइ पछि म सिंङ्गल भएको कारण छिटोनै केवलकार भित्र छिर्ने मौका पाएँ । एकपटकमा ६ जनासम्म पठाईदो रहेंछ । कुनै समुहमा ४,५ जना भए भने सिंगल र डबल खोजिने रहेछ । यसरीनै मैले मौका पाएको थिएं ।

जिन्दगीमा पहिलो पटक मनकामना केवलकार चढिरहेको थिएं । स्कुलमा किताबमा पढेको कुरा यथार्थमा भोगिरहेको थिएँ । केवलकार उकालै उकालो लाग्यो । केवलकार अफिस, त्रिशुली, कुरिनटार तलतल छोडिदै गए । तलतल गाउँ देखियो । जंगल देखियो । पोलहरू देखिए । तारहरू देखिए । मोटरबाटो र गोरेटो पनि देखियो ।
जता हेरेपनि सेतै, केही नदेखिने भयो । विस्तारै हुस्सु र कुहिरोको साम्राज्य भित्र केवलकार छिर्यो । मनको रंगमञ्चमा रमाइलो अनुभुति छमछमि नाँच्न थाल्यो । केवलकार भित्रको स्पिकरले सतर्कता सन्देश भनिरहेको थियो ।

मनकामना मन्दिर परिसरबाट देखिएको हुस्सुले बनेको उपत्यकाको पृष्ठभूमिमा पुस्तक

हुस्सुको साम्राज्यबाट केवलकार फुत्त निस्कियो । माथि डाँडा देखियो । तल त्रिशुलीको माथि वारपारसम्मै फैलिएको थियो हुस्सु । कुरिनटारको माथिल्लो भाग हुस्सुको सतहमा ठिंङ्ग उभिए जस्तो देखियो । ठाडै उकालो, तेस्रै उकालो गर्दैगर्दै केवलकारले करिब १२ मिनेटमा माथिल्लो स्टेसनमा झारिदियो । साइनबोर्डको संकेतलाई ध्यानमा राख्दै अरू यात्रीलाई फलो गर्दै म अराइभल वार्डबाट बाहिर निस्कें । त्यहाँ पनि उनै लक्ष्मणको शालिकसँग साक्षात्कार भयो । गोर्खाको पर्यटन विकासको एउटा पायोनियर नाम रहेछ लक्ष्मण बाबु श्रेष्ठ ।

नोभेम्बर २४, १९९८ बाट संचालनमा आएको केवलकार करिब ३ किलोमिटर लामो रहेछ । २१.६ किमी प्रति घन्टाको दरले हुईँकिदो रहेछ । इच्छामनकामना गापा, कुरिनटार चितवनमा पर्ने, समुन्द्र सतह देखि २५८ मिटर उचाईमा रहेको त्रिशुली किनारमा पहिलो स्टेसन छ । शहिद लखन गापा २ मा पर्ने मनकामना नजिकको १३०२ मिटर उचाईको अग्लो डाँडामा दोस्रो स्टेसन रहेछ । पहिलो स्टेसनबाट दोस्रोमा करिब १२ मिनेटमा उत्रीसकिने रहेछ ।

  • हजुरआमाले पठाएको पूजा सामाग्रीमा खुद्रा पैसाको सानो मुठा थियो । पूजा सामाग्री चढाए पछि फिर्ता दिने चलन रहेछ । तर, खुद्रा फिर्ता दिईंदो रहेनछ । मैले पूजारीलाई मेरो ८७ वर्षिय हजुरआमाले पठाएको पूजा सामाग्री ल्याएर आएको हूँ । त्यो खुद्राको मुट्ठाबाट एउटा नोट मलाई दिनुहोस् । पूजारीले त्यही मुठ्ठाको एउटा नोट मेरो हातमा थमाई दिए ।

अराईभल वार्डबाट बाहिर निस्के पछि राईट साईड छिर्नु पर्ने रहेछ । बाटोको दायाँबायाँ होटलनै होटल । होटेल रेस्टुरेन्ट ब्यापारि, किनारका फूलका ब्यापारी, बास्तुकलाका ब्यापारी, फोटोग्राफरहरू अचम्म लाग्दो गरि भक्तालुलाई आकर्षित गर्न खोज्दा रहेछन् । उनिहरूका आ(आफ्नै शैली थिए ब्यापारमा आकर्षण गर्ने । कोहिकोहिको आकर्षण कला निकै रमाईलो लाग्यो ।

तेस्रो हिंड्दै र केही स्टेप उक्लदै गर्दा अगाडि मनकामना उभियो । टाढैबाट ३ पटक छाति र निधारमा हात लगें । मन्दिरको मुल द्वारबाट सुरु लाइन मन्दिर परिक्रमा गर्दै गर्दै विशाल चाँपको रुख भन्दा निकै माथि सम्म पुगेको देखेर मनमा कता कता डर जस्तो लाग्यो ।

जुत्ता पार्किङमा जुत्ता काडेर चाँपलाई दाहिने पारेर लामो लाइनको पछाडी गएर उभिएँ । भक्तालुहरू आउँथे बाबा लाईन भन्थे, जिब्रो काढ्थे । निकै पर, माथि पुगिसकेको थियो लाइन ।
लगभग १ घण्टाको प्रतिक्षामा म मन्दिरको बलेनि भित्र पुगें । मन्दिरको झ्याल ढोका र टुंडालमै हराउन थाले । विभिन्न देवि देवता र उनका बहानका आकृतिले सजिसजाउ थिए सबै । अहो कला ! मननै प्रफुल्ल बनाई दिने ।

मन्दिरको मुलद्वार छिर्न मन्दिरको पिढिं वरिपरि एक फन्को लाइन थियो । म त्यहीँ लाइनमा थिएं ।
मेरा नयनहरू एकलास मन्दिरका कलामा विचरणरत थिए । मेरो टाउकोमा फडफडाउँदै केहि अवतरण गर्यो । टाउकोको सतहमा भएको स्पर्शले म अनुमान लगाउन सक्थे । परेवा हो । लाइनभरिका सबैले मैतिर हेरे । ओहो परेवा टाउकोमा बस्यो, आवाज आईरहेको थियो ।

मैले केही समय परेवालाई टाउकोमै बस्न दिएँ । उ चलमलाउन थाल्यो । नङ्ग्रा बिजाए जस्तो भयो । टाउको हल्लाएँ । ऊ भुर्र.. उडेर अगाडिको रेलिङमा गएर बस्यो ।
मन्दिर भित्रै परेवा टाउकोमा बस्यो । मलाई रमाईलो लाग्यो । परेवा टाउकोमा अवतरण गर्नु राम्रो हो । त्यो पनि मनकामनामा झनै राम्रो, मेरो अगाडिको दाईले भन्यो । सबैको हंसिलो अनुहार मैतिर चिहाईरहेको देखिन्थ्यो ।

मनकामना पुग्नु मेरो त्यस्तो ठूलो कुनै विशेष कारण थिएन । धार्मिक पर्यटकिय ठाउँ हो जानुपर्छ भन्ने मात्रै थियो । उहिले किताबमा पढे देखिनै कुनै दिन पुग्छु भन्ने थियो । पुग्नलाई यतिका बर्ष लाग्यो । म मन्दिरहरू पनि जान्छु । स्कुल पढ्दा आमा र हजुरआमाको पछि लागेर वर्षको दुई पटक बागलुङ कालिका गैन्थ्यो । राम्रो पढ्न आओस् भन् भन्थे । म त्यहीँ भन्थें ।
आफैंले केहि बुझ्ने भएपछि म आफ्नो लागि मन्दिर अगाडि शिर निहुराएर केही मागेको छैन । मागेर पाइन्छ भन्ने विश्वास पनि छैन ।

पछिल्लो एकदशक मन्दिर अगाडि झुक्छु । मे अल विइन्ङ्स बि ह्यापि एण्ड पिसफूल भन्छु । केही बन्दना छ भने यही छ मेरो ।
मन्दिर भित्र छिर्ने पालो आयो । ब्यागबाट हजुरआमाले पठाएको अर्गानिक पूजा सामाग्री निकालें । त्यहि चढाएँ । म भाग्यमानि मुख्य पुजारि इन्सान थापा बाट टिका र आशिर्वाद ग्रहण गरें । केहि कामना भाकल छ कि सोधे पूजारीले । मैले छैन भनें ।

हजुरआमाले पठाएको पूजा सामाग्रीमा खुद्रा पैसाको सानो मुठा थियो । पूजा सामाग्री चढाए पछि फिर्ता दिने चलन रहेछ । तर, खुद्रा फिर्ता दिईंदो रहेनछ । घरकै घिउ र ज्योति थियो । बाहिर बाल्ने आह्वान भयो । मैले पूजारीलाई मेरो ८७ वर्षिय हजुरआमाले पठाएको पूजा सामाग्री ल्याएर आएको हूँ । त्यो खुद्राको मुट्ठाबाट एउटा नोट मलाई दिनुहोस् । म जिन्दगीभर जतन गरेर राख्न चाहान्छु । पूजारीले त्यही मुठ्ठाको एउटा नोट मेरो हातमा थमाई दिए । नेपाल राष्ट्र बैंकबाट इस्स्यू भएको ज १६ ४०८४८० नम्बरको रू.२० को नोट मलाई प्राप्त भयो । जसलाई म जतन गरेर जिन्दगीभर राख्ने छु ।

म मन्दिर वाहिर आएं । मुल द्वार अगाडि उभिएर हात जोड्दै केहि बेर निहुरिएँ । सबैको भलो होस् । सवैलाई शान्ति मिलोस् । मेरो बन्दना यहि थियो । आँखा खोल्दा बाहिरी दृश्यनै पूरा नयाँ लाग्दै थियो । दिल चङ्गा थियो । दिमाख मख्ख । काया हलुको र शान्त थियो ।

ज्योतिलाई घिउसँग राम्ररी मोलेँ । हजुरआमाले बुनेको कटुसको पातको दुनोमा थोरै घिउ पनि राखें । र ज्योतिलाई त्यहि दुनोमा राखेर बालेँ । निकै बेर बलिरह्यो । हेरिरहेँ ।
हेर्दाहेर्दै बलिरहेको ज्योतिले अरु भक्तालूको ज्योतिलाई पनि बाल्न सहयोग गर्यो । म खुशी खुशी भएँ । खुशी हुनलाई के चाहियो र ? स–साना खुशीहरूको श्रृंखलामा अर्को खुशीको एक नयाँ एपिसोड अपलोड गरें ।

म जुत्ता पार्किङ तिर लागें । आफ्नै हत्केलाले नाङ्गा पैतालामा डिपोजिट भएका धुलोहरू डेबिट गरें । मोजा लगाएँ । जुत्ता लगाएँ ।
गोर्खा जिल्लाको क्षेत्र नम्बर २ सहिद लखन गापा दुईमा पर्ने मनकामनाबारे अझै केही बुझ्न मन लाग्यो ।
मनकामना क्षेत्र विकास समितिका स्टाफ लि प्रसाद श्रेष्ठ संग केही बेर गफिने सुरसार कसें ।

उनका अनुसार लखन थापाका दरसन्तानहरू मन्दिरका पुजारीहरू हुन् । इन्सान थापा मन्दिरका मुख्य पुजारी । नरे थापा, रमेश थापा र अचल थापा सहायक पुजारी ।
गोरखा राजदरबारका सेवक थिए लखन थापा । राजा राम शाहकि पत्नि लिलावति लखन थापाको सेवाबाट प्रभावित थिईन । लखन थापा लिलावतिको प्रेम र स्नेहबाट । यो चाल पाएका राजाले एकदिन लिलावति र लखनलाई आफ्नै सिंहासनमा संगै देखे ।

शोकमग्न राजाको केहि समय पछि मृत्यु भयो । उनलाई मस्र्याङ्दीको किनारमा रहेको दरौदि दोभान घाटमा जलाईने भयो । लिलावति सति जान राजि बनिन् । लखन भावविह्वल बने ।
लखन थापा भावविह्वल भई विलाप गर्दा रानीले, “तिम्रो ईच्छा पूरा गर्न तिम्रै गाउँमा फेरी प्रकट हुनेछु,” भनेर भनिन् । त्यसको सात महिना पछि हाल मनकामना रहेको ठाउँमा त्यहाँका एक व्यक्तिले जोत्ने क्रममा हलो अड्क्यो । त्यसबाट दुध र रगत बग्न थाल्यो । दृव्यदृष्टि भएका लखन थापाले तान्त्रिक विधिद्धारा पूजा गरेपछि रगत बग्न रोकियो । सोही थलोमा देवीको मन्दिर स्थापना गरियो ।

सो घटनापछि गोरखाका राजाले मनकामना देविको सेवा गर्न लखन थापा र उनका दरसन्तानलाई पुजारी नियुक्ति गरि पूजा चलाउन जग्गा गुठी र विर्ता लालमोहर लगाई दिए । इन्सान थापा लखन थापाका सत्रौ दर सन्तान हुन् ।

पवित्र मनले कामना गरेर यहाँ पुजा गरे कामना पुरा हुने जनविश्वास छ । मनकामना मन्दिरमा बलि चल्छ । परेवा उडाउने हो । हाँस, कुखुरा, राँगा बलि दिईन्छ । जनावरको बलि नदिनेले नरिवलको दिन्छन् ।

लि भन्छन् हरेक दिन ३ हजार मान्छेले दर्शन गर्छन् मनकामना । असार, साउन र भदौ मनसुनको सिजन हो । यो बेला भक्तजनको चाप घट्छ । सिजनमा अधिकतम १२ हजार सम्मले दिनमै दर्शन गर्छन् मन्दिर । सुन्तलाको पकेट क्षेत्र मनकामना पछिल्लो समय अकबरे खुर्सानीमा पनि फड्को मार्दै छ । मगर बाहुल्यता रहेको यस समाजमा विभिन्न जातिको मिश्रण पाइन्छ । नेवार, बाहुन, क्षेत्री, गुरुङ र दलितहरूको बसोबास छ ।

कंक्रिटका ठूलाठूला संरचनाले छोपे जस्तो लाग्दैन मनकामनालाई । नजिक नजिक ठूला ठूला संरचना नबनाईदिएको भए कस्तो राम्रो हुँदो हो ? जसरी यसको विकास गरिनुपर्ने हो त्यसरी नभएको लाग्दैन हजुरलाई ? धेरैनै ब्यापारिकरण भएछ यहाँको ।

हो । मलाई पनि त्यस्तै लाग्छ । कंक्रिट नहोस्, प्रकृतिमैत्री होस् । स्थानीय कला, बास्तुकलाले सिंगारिएको होस् । तर, अब त असम्भव प्रायः छ ।
यहाँ आइपुग्नलाई केवलकारको अलवा गोरेटो, मोटरबाटोको कस्तो व्यवस्था छ ?

कुरिनटार देखि हिँड्दै आउन सकिन्छ । हिँड्न सक्ने २ घण्टामा आइपुग्छन् । त्रिशुली माथि झोलुङ्गे पुल छ । झोलुङ्गे पुल तरेर जीप चढेर पनि यहा आउन सकिन्छ । बाइकमा आउनेहरू सजिलै आउन सक्छन् । आँबुखैरेनि देखि पनि गोरेटो र मोटरबाटो दुबै छ । हिडेर आउनलाई खैरेनी देखि ३ घण्टा लाग्छ । गाडिमा डेढ घन्टा । सेक्युरिटी गार्ड सरिता गुरुङले बताइन् ।
उत्तरपट्टि क्षितिजमा खुलेको मनास्लु र अन्नपूर्णले मलाई तानिरहेको थियो । त्रिशुली माथि वारपार सेतो बादलले लपक्कै ढाकेको थियो । माथि अग्ला डाँडा, हिमाल र गाउँ देखिन्थ्यो । मानुङकोटको जस्तै बादल भन्दा माथि बस्ती भएको आभास मिल्थ्यो । जानकारीको लागि धन्यवाद भन्दै उनीहरूसंग विदा भएं ।

  • उसले बाचा पूरा गरेन । निकै आग्रह गर्दा पनि गरेन । उसो त यो देश बाचा कसमहरू तोडिदै तोडिदै चलेर यहाँसम्म आईपुगेको छ । देशको बागडोर सम्हाल्नेले आफ्नो बाँचा कहाँ पूरा गरेका छन् र अहिले सम्म ? यस्तो सरकार र संस्कारको छायाँ सार्वजनिक यातायातमा नपरोस् पनि कसरी ?

बादलमाथिको डाँडा, गाउँ र हिमाल हेर्दै केही बेर टहलिएँ । झोलाबाट इजोरिया, बाआमा र पन्धौ चुली निकालेर फोटोहरू खिंचे । मन्दिर परिसरमा पनि सेल्फीहरू हाने । भक्तालूको घुईंचो घट्ने क्रममा थिएन । अन्तिम पटकको लागि मन्दिर पट्टि शिर निहुराएर फर्कें । जाँदा फोटोग्राफरले एक होटेलमा हातै समाएर लगेर फोटो खिचिदिएको थियो । त्यो होटेल खोज्दै गएँ । त्यहीँ भात खाएं । थकाली खाना रे । मिठै थियो । १२ बजे पछाडि १ घन्टा केवलकार बन्द हुन्छ आज । होटेल मालिकले भने । म फर्किनु छ भन्दै त्यहाँबाट हतार हतार विदा भएँ ।
स्टेसन वार्ड भित्र मान्छेको लामो लाइन थियो । लामबद्द बनें । लामबद्द दौरान टिकेट चेकर दिदिसँग सानो भलाकुसारी गरें । दिनमा कति जना केवलकार भएर आउँछ ? २५ सय देखि ३ हजार हरेक दिन हुन्छन् ।
सिजनको बेला ?
९, १० हजार ।
उसो भए राम्रै फाईदा छ कम्पनीलाई । स्टाफलाई पनि राम्रै पालेको होला ।
उनी मुस्कुराईन् ।
धन्यवाद जानकारिको लागि । विदाईका हात हल्लाएँ ।

म एकल यात्री थिएं । भारतिय मुलका २ आफ्नो समुहबाट छुट्टिन प¥यो । उनको समुहका सदस्यहरू बाँकी अर्को समुहका २ जना संगै केवलकार चढे । हामी केवलकारमा ३ जना भयौं । मेरो पछाडिको समुह पनि ठूलै रहेछ । स्वाट्ट डाँडाबाट झर्यो केवलकार । हुस्सु, बादल, तुंवालो जे भए नि हटिसकेछ । कुनै कुनै ठाउँ त कस्तो ठाडै भिरालो ? मन सिरिङ्ग हुने । माथीबाटै तलतल सम्म देखियो । सेल्फी लिंदै झरें तलसम्म । प्रौढ जोडि कति खेर सेल्फी लिरहेको थियो भने कति बेला भिडियो ।

पहिलो स्टेसनबाट बाहिर निस्कें । पृथ्वी राजमार्गको सडक किनारमै रहेको मनकामना गेट सम्म ठाडै उक्लें । उक्लिंदा म एक्लै थिएं । झर्नेहरूको लर्को थियो । झोला छोडेको ठेला पुगेँ । कोही थिएन । अर्को ठेलाको दिदिलाई सोधें । अल्लि पर सानो खाजाको ठेला पनि रहेछ सोनामको । पानी किनें । पैसा लिएर झोला लिएं ।

सडकभर गाडीहरूको ताँती थियो । गाडिहरू खचाखच भरिएका थिए । उभिएरै यात्रा गरिरहेका थिए । काठमाडौ फर्किनेहरूलाई सकस् थियो । तैपनि खलासिहरू काठमाडौ काठमाडौ भन्न छोडेका थिएनन् । म संगै काठमाडौ जानेहरू १५,१६ जना भयौं । एउटा बस व्यवसायीले हाम्रो गन्ती गरेर गाडि बोलाए । केही बेरमा मिनिबस आयो दुई वटा ब्यागप्याक बोकेर जान ढिला गरें । अन्तिममा सिट मिल्यो । केही यात्रुहरूले सिट रोकाएका थिए । सबैलाई सजिलो चाहिने । सबैलाई अगाडि चाहिने । आफ्नोलाई चाहिने । मानविय स्वभाब होला ।
चढिसकेपछि गाडि बोलाउनेले ८ सय भाडा लाग्छ भन्यो । अचम्म लाग्यो, बढी होइन र भाडा ?

गाडि बोलाको दाइ । फर्किदा रित्तै फर्किन पर्छ । भाडा त ८ सयनै हो । जवाफ यस्तै आयो । अरू यात्रुहरू आनाकानी गरिरहेका थिए । गाडी मुग्लिङ पुग्यो । त्यहाँ केही यात्रुलाई चढाएर काठमाडौ तिर मोडियो । ठाउँठाउँमा रोकियो । रिजर्भ हो भन्न नि छोडेन । यात्रु चढाउन पनि छोडेन । ठाउँठाउँमा ओर्लनेहरू उभिएरै यात्रा गरे । बल्ल तल्ल ६ बजे कलंकीमा झारिदियो ।

उस्को बाचा त नयाँ बसपार्कसम्म छोडिदिन्छु भन्ने थियो । उसले बाचा पूरा गरेन । निकै आग्रह गर्दा पनि गरेन । उसो त यो देश बाचा कसमहरू तोडिदै तोडिदै चलेर यहाँसम्म आईपुगेको छ । देशको बागडोर सम्हाल्नेले आफ्नो बाँचा कहाँ पूरा गरेका छन् र अहिले सम्म ? यस्तो सरकार र संस्कारको छायाँ सार्वजनिक यातायातमा नपरोस् पनि कसरी ?

 

२०७९, १५ कार्तिक मंगलवार १३:१२
कथालिका नयाँ कथा
कथालिका