दुर्घटनामा गुमाएको संवेदना – कथालिका

दुर्घटनामा गुमाएको संवेदना

  • सामाजिक सञ्जालमा केही भ्युज, लाइक र कमेण्ट पाउने होडमा मान्छेहरुमा मानवता हराइसकेको रहेछ । पोखराको दुर्घटनास्थल पुग्दा मानिस यतिका संवेदनाहीन भइसकेका रहेछौं भन्ने प्रष्ट परिदृश्य आँखै अघि देखियो ।

रिपोर्टरको डायरी:
माघे सक्रान्ति, माघी पर्वको दिन । पोखरासहित नेपालभरी यो दिन उत्सव र उत्साहको होइन, कालो दिन बनेर आयो । पोखरामा महोत्सव लागिरहेकाले छुट्टै रौनक थियो । एकाएक सामाजिक सञ्जाल तथा विभिन्न अनलाइन पोर्टलमा पोखरामा यति एयरलायन्सको जहाज दुर्घटना भएको समाचार सनसनीपूर्ण बन्यो ।

आजभोलि समाचार थाहा पाउन पहिलेको जस्तो रेडियो सुन्नु पर्दैन, पत्रिका कहिले आउँछ भनि कुरिरहनु पर्दैन । डिजिटल माध्यम, सामाजिक सञ्जालमा छिट्टै प्रवाह हुन्छ । समाचार कुनै आधिकारिक मिडियामा प्रकाशन र प्रसारण हुनुभन्दा अगाडि नै भाइरल भइहाल्छ । पोखरामा भएको यो दुखद् दुर्घटना पनि सामाजिक सञ्जालमा भाइरल भइसकेको थियो ।

म आफैं पनि आइतबार विमान दुर्घटना भएको समाचार आउँदा फेसबुक चलाइरहेको थिएँ । पोखरामा विमान दुर्घटना भएको खबर देख्न साथ स्तब्ध बने । फेसबुक ग्रुप च्याटमा विभिन्न कुरा आइरहेका थिए । विमानमा सवार यात्रुको नामको सूचि आइसकेको रहेछ । ग्रुप च्याटमा केही पत्रकारले त्रिभुवन पौडेल दाइको नाम यात्रुको सूचिमा रहेको र सोधखोज गर्न भनिरहेका थिए । सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी भइरहेको थियो । उहाँको फोन लागेन, व्यस्त छ भनिरहेको छ भन्ने सूचना अन्य पत्रकारले दिइरहेका थिए । उहाँको अवस्था अज्ञात हुँदा विशेष गरेर पोखराका पत्रकारको मनमा प्रश्न उठिरहेको थियो । म आफैंलाई नाम एउटै प¥यो होला भन्ने भइरहेको थियो । दिनभर दिमागले काम गरिरहेको थिएन । के गर्ने के नगर्ने भन्ने भइरहेको थियो । पक्कै नाम एउटै होला भन्ने आशा थियो । तर, भगवान्को लीला जे नहोस् भन्ने थियो त्यही भयो । एउटा होनहार पत्रकारलाई हामीले गुमाएछौं सोही विमान दुर्घटनामा ।

दाइको पनि सोही विमान दुर्घटनामा ज्यान गएको पुष्टि भएपछि उहाँको हंसिलो मुहार आँखामा झलझली आइरह्यो । बहिनी सञ्चै छौ भन्दै हाँस्दै आउनु हुने त्यो मुहार दिमागमा खेल्न थाल्यो । गएको वर्ष जब मैले यौन दुव्र्यहारको विषयमा लेख लेखेको थिएँ, साथ दिने केही व्यक्तिमा उहाँ पनि हुनुहुन्थ्यो । लेख प्रकाशित भइसके पछि न्युरोडको एउटा कफी सपमा हाम्रो भेट भएको थियो । त्यो समयमा दाइले बहिनी तिमीलाई साथ दिन्छु भन्नुभएको अझै सम्म कानमा गुञ्जिरहेको छ । बहिनी चिन्ता मान्नुपर्दैन, यहाँबाट केही सहयोग पाएको छैनौ भने म केन्द्रमा कुरा गर्छु, तिमी हुन्छ मात्रै भन, केही न केही उपाय आउँछ भन्नुभएको झलझली याद आइरह्यो । सत्यतालाई स्वीकार गर्दै याद गर्नुको विकल्प थिएन । आफैंले चिनेको व्यक्तिको दुर्घटनामा ज्यान गुमाएपछि धेरै पोल्ने रहेछ । हातखुट्टा कापिरहेको थियो । दुर्घटनाको दिन दिमागले केही सोच्नै सकेन, काम गर्ने जाँगर आएन ।

लगातार विमान दुर्घटनाको फोटो र भिडियो सार्वजनिक भइरहेको थियो । अलि बढी नै एन्जाइटी भए पछि सामाजिक सञ्जाल चलाउँदिन भन्ने मनले भनिरहेको थियो, तर नसकिने रहेछ । के भयो, कस्तो भयो होला भन्ने उत्सुकताले लगातार फेसबुक स्क्रोल गरिरहेको थिएँ । आधिकारिक सञ्चार माध्यममा आएका बाहेक अन्यले समेत फोटो र भिडियो सार्वजनिक गरेका थिए । सामाजिक सञ्जालमा दुर्घटना भएको स्थानमा अवस्था के छ भन्ने उत्सुकताका साथ हेर्न जानेको जमात थियो । प्रहरी र सेनालाई उद्धारमा समेत कठिनाई भइरहेको अवस्था थियो । मोटरसाइकल र गाडीले जाम भएपछि एम्बुलेन्स र दमकल समेत घटनास्थलमा जान समस्या भइरहेको गुनासो सामाजिक सञ्जालमा आएका थिए । आफ्नै सहरमा भएको दर्दनाक घटनाको अवस्था कस्तो छ र उद्धार कार्य कसरी भइरहेको छ भन्ने उत्सुकता हुनु स्वभाविक हो । तर, त्यहाँ रमिता हेर्ने, सहयोग गर्ने भन्दा भिडियो र फोटो त्यो पनि सेल्फी खिच्नेको जमात बढी थियो । केहीले जलिरहेको जहाज दखिने गरेर फोटो खिचिरहेको सार्वजनिक भयो । कोही सकड नै जाम गरेर उद्धार कार्यलाई असहज बनाउँदै हेरिरहेका थिए ।

यो सबै देख्दा लाग्यो, हामी मानवीय संवेदनाहीन बनिसकेका रहेछौं । फोटो र भिडियो क्लिप खिचेर सामाजिक सञ्जाल पोस्ट गर्नु मात्रै हाम्रो दायित्व होइन । उद्धार कार्यमा ढिलाई हुँदा दुर्घटनामा ज्यान गुमाएका परिवारका सदस्य र उनीहरुको आफन्तको अवस्था कस्तो होला भन्ने सोचेको देखिएन । सामाजिक सञ्जालमा केही भ्युज, लाइक र कमेण्ट कमाइने आशामा हामीमा कतिसम्म मानवता हराइसकेको रहेछ र संवेदनाहीन भइसकेका रहेछौं भन्ने प्रष्ट परिदृश्य आँखै अघि देखियो । त्यसरी फोटो र भिडियो बनाएर बस्नु भन्दा जिम्मेवार नागरिक बन्दै उद्धार कार्यमा प्रहरी र सेनालाई केही भए पनि सहयोग गरेको भए के नै जान्थ्यो र आखिर ? या त फेरी दुर्घटनास्थलमा सडक जाम हुन सक्ने सम्भावनालाई मध्ये नजर गर्दै त्यहाँ नगएको भए पनि राम्रो हुँदैनथ्यो र ? समाचार र दुर्घटनाको पछिल्लो अवस्थाका विषयमा जानकारी दिन सञ्चारमाध्यम थिए । हुन त सबै जना एउटै हुन्छन् भन्ने होइन । केहीले सहयोग गरेका पनि थिए । सञ्चारमाध्यममै कभरेज समेत भयो । धेरै भने सडक अवरुद्ध हुने गरेर रमिता हरिरहेको देखियो । फोटो र सानो भिडियो क्लिप खिचेर सामाजिक सञ्जालमा तपाईले सार्वजनिक त गर्नुभयो । केही समय पछि त्यस्तो विभत्स तस्वीर र भिडियो दुर्घटनामा ज्यान गुमाएका परिवारका सदस्यले देख्दा उनीहरुको मानसिक अवस्था कस्तो होला भन्ने तपाईंहरुले कहिले सोच्नुभएको छ ? अहँ, सोच्नुभएको छैन ।

होला, तपाईले आफ्नै लागि फोटो र भिडियो मोबाइलमा कैद गर्नुभएको थियो । तर, सामाजिक सञ्जालमा राखेर भ्युज र लाइक अनि कमेण्ट कमाउने ध्याउन्नमा नलागेको भए राम्रो हुने थियो । विभत्स विमान दुर्घटनामा आफन्त गुम्यो, परिवारका सदस्यले अकालमा मृत्युवरण गुर्नप¥यो, साथीभाई गुमाउनुप¥यो । प्रविधिको दुनियाँमा बाँचिरहेका हामीले सोंचेनौं, प्रविधि र सामाजिक सञ्जाल भन्दा बाहिर एउटा दुनियाँ छ भन्ने । जसले परिवारका सदस्य र आफन्त गुमाएका छन्, उनीहरुको लागि जीवन रहेसम्मका लागि यो दुर्घटना काँडा जस्तै बनेर घोचिरहने छ, बिझाइरहने छ । अहिले फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जाल नियाल्ने हो भने दुर्घटनाका विभत्स तस्वीर र भिडियोले भरिएका छन् । मानौं, उनीहरुले उत्कृष्ट कार्य गरेर ठूलै योगदान दिएका छन् विभत्स फोटो र भिडियोको क्लिप सार्वजनिक गरेर । सामाजिक सञ्जालमा सबै नकारात्मक विषय हुन्छन् भन्ने यो लेखको उद्देश्य होइन । सामाजिक सञ्जालका धेरै सकारात्मक विषय छन् । तर, त्यसलाई हामी मध्ये धेरैले नकारात्मक काममा प्रयोग गरेका हौं कि जस्तो लाग्न थालेको छ आजभोलि ।
अहिले फेसबुक हेर्ने हो भने श्रद्धाञ्जली दिनेको भीड छ । मानौं उनीहरुले मृत्तकको फोटो सामाजिक सञ्जालमा नराखेमा पछि पर्छन् । हुन त दुःख र पीडा परेको समयमा कहाँ र को सँग गएर दुःख पोखौं भन्ने हुन्छ नै । अहिले त्यसको अभाव छैन । कसैसंग पोख्न नसकिएको भावना सामाजिक सञ्जालमा पोख्न पाइन्छ, प्रायले दुःख, पीडा, माया प्रेम लगायतका भावना सामाजिक सञ्जालमा व्यक्त गर्छन् आजभोलि । तर, सामाजिक सञ्जाल भन्दा बाहिर एउटा वास्तविक दुनियाँ छ नि । जहाँ मृतकका परिवार, आफन्त र साथीभाइ पनि बाँचिरहेका छन् । धेरैले मृतकले चलाउने सामाजिक सञ्जालमा नै ट्याग गरिदिएका छन् । मानौं उनीहरुले आफ्नो लागि सामाजिक सञ्जालमा आएका श्रद्धाञ्जली पढ्छन् । हो, श्रद्धाञ्जली दिने आ–आफ्नै तरिका हुन्छन्, कसैले सामाजिक सञ्जालमा राख्छन् त कसैले राख्दैनन् । तर, मृतकको सामाजिक सञ्जालमा ट्याग गर्नुको कारण के हो, अहिलेसम्म बुझ्न सकिएको छैन । श्रद्धाञ्जली लेखेर मृतकको दिवंगत आत्माको शान्तिको कामना गर्नुस् । त्यो पाइन्छ, किनकि भावना कसरी व्यक्त गर्ने भन्ने आफैंमा निर्भर हुने हो । तर, मृतककै सामाजिक सञ्जालमा ट्याग गर्दा पछि उनीहरुको परिवारको सदस्यले सोही फोटो र भिडियो देखेपछि उनीहरुको पीडा झन् बढ्न सक्छ भन्ने तर्फ हामीले कहिले बुझ्ने ?

छोडेर जानेहरुसंग जान सकिदैन, जीवन कटाउनै पर्छ यादहरुसंगै । यस्ता घटनामा ज्यान गुमाएकाको परिवार, आफन्त र साथीभाइलाई सबैभन्दा दुखद क्षण हुन्छ । उनीहरुले यो घटनालाई जीवन रहेसम्म भुल्न सक्दैनन् । अन्यलाई त यो ठाउँमा भएको यस्तो दुर्घटनामा त्यो व्यक्तिले ज्यान गुमायो रे भन्ने हुन्छ । केही दिन याद गर्छौं अनि बेला मौका पर्दा बाहेक खासै याद गरिदैन । तर, ती परिवार, आफन्त र साथीभाइले कसरी त्यो सबै यादलाई भुलाउने त्यो कसैले सोच्नुभएको छ ? अहँ, सायद कसैले सोच्नुभएको छैन । त्यसैले बिना हिच्किचाहट त्यस्तो विभत्स तस्वीर र भिडियो सार्वजनिक गर्ने आँट गर्नुभयो । त्यही फोटो र भिडियोले ती व्यक्तिका परिवारका सदस्य, आफन्त र साथीभाइलाई कति पीडा दिन्छ भन्ने हेक्का अधिकले राखेको पाइएन । आजको समयमा कुनै पनि व्यक्ति सामाजिक सञ्जालभन्दा टाढा बस्न सक्दैनन् । मृतकका परिवार, आफन्तले त्यही फोटो र भिडियो एकदिन देख्नेछन् । अनि उनीहरुको मानसिक अवस्था कस्तो हुन्छ, भन्ने कसले सोच्ने ? घटनामा यसरी सामाजिक सञ्जालभरी छरपस्ट रुपमा फोटो र भिडियो सार्वजनिक गरेर लाइक र कमेण्ट बटुल्नेहरुले त्यहाँ उनीहरुको आफन्त पनि पर्न सक्थे, त्यो अवस्थामा हाम्रो अवस्था कस्तो हुन्थ्यो होला भन्ने सोच्नु पर्दैनथ्यो ?

अहिले विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको परिवार, आफन्त, साथीभाइ लगायत सारा नेपाली शोकमग्न छन् । पोखरा झन् स्तब्ध छ । तर, मानवीयता भन्ने यो पीडाको समयमा केही जिम्मेवार व्यक्ति बाहेक देखिएनन् । नेपालमा प्रायः एउटा भनाई प्रचलित छ, सहर कंक्रिटले बनेको हो, यहाँ बस्ने व्यक्तिको मन हुँदैन, मानवता कमै हुन्छ । विमान दुर्घटनाको घटना र सोही घटनासंग जोडिएर आइरहेका विभत्स तस्वीर र भिडियोले यो कुरालाई यथार्थ नजिक पु¥याइदिएको छ । सामाजिक सञ्जालको दुनियाँमा भुलिरहँदा मानवीयता भन्ने विषयलाई समेत ध्यान दिउँ । केही व्यक्ति जसले दुर्घटनामा ज्यान गुमाएकाको विभत्स तस्वीर र भिडियो फेसबुक, टिकटकमा सार्वजनिक गरेका छन्, त्यस्ता भावशुन्य व्यक्तिले गर्दा सामाजिक सञ्जालको प्रयोगबाटै उत्कृष्ट काम गर्ने व्यक्तिले समेत लाजले शिर निहुराउने अवस्था आउने अवस्था सिर्जना भएको छ ।

घटना र दुर्घटना बाजा बजाएर आउँदैन, टारेर टार्न सकिदैन । तर, उद्धार सहयोग गर्नुपर्नेमा दुर्घटना भएको स्थानको विभत्स तस्वीर र भिडियो छरपस्ट रुपमा सामाजिक सञ्जालमा राख्ने होडले बेथितिग्रस्त समाजको संकेत गर्छ । यो अलि फरक शब्दमा भन्दा एउटा अपराध नै हो । सामाजिक सञ्जाल नै दुनियाँ हो भन्ने सोंच राख्दै हरेक विषयलाई यसबाट सार्वजनिक नगरौं । यति बेला शोकको घडी छ, सक्नुहुन्छ मृतकको आत्माको शान्तिको लागि भित्री मनैबाट कामना गर्नुस् । सकिदैन भने सामाजिक सञ्जालभरी भविष्यमा मृतकका परिवार, आफन्त र साथीभाइलाई पछिसम्म असर गर्ने गरेर त्यस्ता विभत्स तस्वीर र भिडियो छरपस्ट नपारिदिनुस् । एउटा जिम्मेवार नागरिकको परिचय बनाउँदै यस्ता क्रियाकलाप बन्द गर्नु जरुरी छ । अहिललेका दुर्घटनाका पीडित परिवार र आफन्तको ठाउँमा आफुलाई राखेर हेर्नुस् त । सामाजिक सञ्जाल भन्दा बाहिर एउटा वास्तविक दुनियाँ छ, जहाँ मृतकका परिवार, आफन्त र साथीभाइलाई उनीहरुसंग बिताएका हरेक पललाई मनभरी सजाएर बाँच्नु छ, अगाडि बढ्नु छ । यस्ता घटना, दुर्घटना, त्यसबाट हामीले राख्ने भिडियो, तस्वीरले गम्भिर असरमा संवेदनशील बनौं र मानवीयता नभुलौं ।

२०७९, ३ माघ मंगलवार ०५:०९
कथालिका नयाँ कथा
कथालिका