राजकुमारीको दुःखान्त कथा – कथालिका

राजकुमारीको दुःखान्त कथा

खोटाङ घर भई हाल म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाट नजिकै रहेको बंगुर फार्मभित्र साँघुरो कोठामा बस्ने राजकुमारी राइ ।
  • नेपाली समाजमा राजकुमारीबारे जबरजस्त एउटा भाष्य स्थापित छ कि उनीहरुको जीवन त कथा, चलचित्र र नाटकहरुमा जस्तै बिलासी र लोभलाग्दो हुन्छ । तर, नामले राजकुमारी भए पनि गरिबी र नियतिको भूमरीमा परेकी खोटाङकी एक राजकुमारीको भने दुखान्त कथा छ ।

नाम राजकुमारी (४५) । यो नामसँग नेपाली समाजमा यस्तो एउटा जबरजस्त भाष्य स्थापित छ कि राजकुमारीहरुको जीवन त कथा, चलचित्र र नाटकहरुमा जस्तै बिलासी र लोभलाग्दो हुन्छ । अक्सर राजकुमारीहरु दरवार, महलमा बस्छन्, सुख सयलमा रमाउँछन् पनि। तर, नामले राजकुमारी भए पनि गरिबी र नियतिको भूमरीमा परेकी खोटाङकी एक राजकुमारीको भने दुखान्त कथा छ ।

बेनी नगरपालिका–७, मंगलाघाट बजार नजिकै रहेको एउटा बंगुर फार्म भित्र चारैतिर चर्किएको साँघुरो कोठा । केही थान जस्तापाताले भत्किएको भाग छोपिएको छ । रित्तो ग्याँसको सिलिण्डर, सानो चुल्हो छ । भाँच्चिन लागेको एउटा सुत्ने खाट छ । नजिकै रहेको म्याग्दी खोलाबाट चलेको सिरेटोले मुटु नै कमाउने गरी हावा कोठाभित्र छिर्छ । कोठासँगै जोडिएको बंगुरको खोर छ । बर्खाको समयमा टिनको छानोले पानी ओत्दैन । चर्को घाममा टिन तातेर र हावाहुरी चल्दा भत्किएर अप्रिय दुर्घटना हुन सक्ने खतरा उत्तिकै छ । झट्ट सुन्दा र प्रत्यक्ष गएर हेर्दा यो सुत्ने कोठा जस्तो नै लाग्दैन । तर, ४५ वर्षीया राजकुमारी राई छोरीसँग यही कोठामा दिन रात बिताउन बाध्य छिन् । खोलाको छेउमा भएकाले कठ्याङ्ग्रिने जाडोमा सुत्न समेत कठिन छ ।

साहु पनि सम्पर्कविहीन
विगत चार वर्ष भन्दा लामो समयदेखि यही छाप्रोमा राजकुमारी छोरी पुष्पा राइसँग बस्छिन् । श्रीमानले दोस्रो विहे गरी चरम यातना दिएपछि खोटाङ जिल्लाबाट ६ वर्ष पहिले राजकुमारी म्याग्दी आएको बताउँछिन् । बंगुरको खोरमा काम गर्ने राजकुमारीले महामारीजन्य ‘अफ्रिकन स्वाइन फिवर’को संक्रमणले बंगुर रित्तिए पछि बंगुरका मालिक समेत सम्पर्कमा छैनन् । खाने,बस्ने र छोरीको शिक्षादिक्षाका लागि मासिक ५ हजार तलब दिने सहमति भए पनि साहुले तलब नदिए पछिको तनाब उस्तै छ । अहिले सबै बंगुर मरेपछि साहु फोन समेत नलाग्ने गरी सम्पर्कविहिन भएको राजकुमारीले बताइन् । ‘पेटभरी खाने अन्न छैन्,‘मागेर खानुपर्ने बाध्यतालाई लुकाउने कैयौँ रात भोकै सुत्नु परेको छ’ राजकुमारी भन्छिन् । छोरीलाई मागे जति खान दिन नसकेको पीडाले रातभरी निन्द्रा समेत नलाग्ने उनले सुनाइन् ।

एक छाक खाएर गर्जो
‘चिसो भुइँमै रात काट्ने गरेको छु,‘विहान–बेलुकी हातमुख जोड्न समेत ठुलै यूद्ध जिते जस्तै भएको छ’ राजकुमारीले भनिन् । उनले पछिल्लो समय धेरै रात एक छाक खाएर भोकै सुत्ने गरेको दर्दनाक कथा सुनाइन् । सुत्ने र खाना पकाउने कोठामा पुगेपछि राजुकमारीले आँखाभरी आँसु निकाल्दै भनिन्, ‘जिवितै भए पनि नर्कमा छु जस्तै लाग्छ, ‘तपाईले यहाँ क्यामेराले के खिच्नुहुन्छ ?’ उनले दैनिक ज्याला मजदुरी गरी कमाएको २ हजार समेत केही दिन अगाडि दिउँसो आएका व्यक्तिले चोरी गरिदिएको बताइन् । दुःखजिलो गरेर कमाएको पैसा चोरले लगेपछि खाना पकाउने चामल सकिए पनि किन्ने उपाय र सामथ्र्य छैन । अनि भोकभोकै रात काट्नुपर्ने बाध्यता रहेको उनी बताउँछिन् । तर, छोरीलाई राम्रो शिक्षादिक्षा दिएर श्रीमानलाई देखाउने हुटहुटी भने मनमा रहेको उनको कथन छ । अहिले बेनीबजारमा होटलमा काम खोजिरहेकी छिन् । राजकुमारी छोरीलाई उच्च शिक्षासम्मको पढाइका लागि कसैले सहयोग गरिदिए केही सहज हुने आशामा छिन् ।

पढाइमा अब्बल छोरीको डाक्टर बन्ने सपना र सकस
चरम गरिबीसँग जुधेर पनि पढाइमा अब्बल छिन् १५ वर्षीया पुष्पा राई । बेनी नगरपालिका–२, बगरफाँट स्थित सरस्वती आधारभुत विद्यालयमा कक्षा ७ मा अध्ययनरत राई गएको आन्तरिक परीक्षामा कक्षा प्रथम भइन् । उनी विद्यालयका उत्कृष्ट विद्यार्थीमध्ये एक हुन् । आमाले काम गर्ने बंगुर फार्मभित्र बसेर आमाको काममा समेत सहयोग गदैं पढाइमा मेहनत गरी पुष्पाले आफूलाई पढाइमा अब्बल दर्जामा उभ्याएकी छिन् ।

जेहन्दार,अध्ययनशील र अनुशासित पुष्पा बस्ने ठाउँमा पढ्ने उचित वातावरण नै छैन । चरम गरिबीसँग जुधेर भए पनि डाक्टर बन्ने सपनालाई पूरा गर्ने मेहनत गरेको बताउँछिन् । ‘बुबालाई देखेको पनि छैन,‘मलाई छोरी भनेर कहिल्यै फोन आउँदैन, पढाईमा मेहनत गरेको छु्,‘ठूलो भएपछि डाक्टर बन्ने हो’ पुष्पाले आफ्नो भविष्य र सपनाबारे भन्छिन् । किताब लिएर केही पढ्दै गरेकी पुष्पाले डाक्टरले बिरामीको उपचार गरेको देखेकाले डाक्टर बन्ने सपना साँचेको उनी बताउँछिन् ।

खोटाङ घर भई हाल म्याग्दीको बेनी नगरपालिका–७, मंगलाघाट नजिकै रहेको बंगुर फार्मभित्र साँघुरो कोठामा बस्ने राजकुमारी राइकी छोरी पुष्पा पढ्दै । तस्वीरः हरिकृष्ण गौतम

आमासँग पैसा नभएपछि विद्यालयबाट उनलाई केही स्टेशनरी, पोशाक सहयोग मिलेको छ । विद्यालयकी शिक्षक घनदेवी घर्ती मगरले प्रथम त्रैमासिक परीक्षामा पूष्पाले उत्कृष्ट नतिजा ल्याएको बताइन्। दुई छाक पेटभरी खान नपाउने, विद्यालय जाने कपी कलम, पोशाकको अभावले निराश पुष्पालाई शिक्षकहरुले बिभिन्न सहयोग गर्ने गरेको जानकारी दिइन् ।

‘पढ्ने वातावरण पाएपछि पढाइ अझै राम्रो हुन्छ,‘पढाईमा मात्रै ध्यान छ, अतिरिक्त कक्षा सहित उपर्युक्त रेखदेख भएमा उनको सपना पूरा हुन्छ’ शिक्षक घर्तीमगरले भनिन् । भविष्यमा डाक्टर बन्छु भन्दा उनको अनुहारमा खुसी देखिने गरेको बताइन् । उनले विद्यालयमा आयोजना गरिने अतिरिक्त क्रियाकलापमा समेत निर्धक्क भविष्यमा डाक्टर बन्ने सपना रहेको बताउने गरेकी छिन् । ‘पुष्पाको डाक्टर बन्ने सपना पुरा गर्न सबैको साथ र सहयोग आवश्यक छ,‘बंगुर फार्ममा बसेर पढाईलाई निरन्तरता दिन समस्या देखेको छु, खुल्ला ठाउँ भएकाले उनी असुरक्षित हुन सक्छिन्’ उनले भनिन् ।

पढाइ खर्च र केही आर्थिक सहयोग भएमा विद्यालय नजिकै कोठा खोजेर पठनपाठनमा सहज बनाउने राजकुमारी र विद्यालयका शिक्षकहरुको समेत योजना छ ।

२०७९, ३ फाल्गुन बुधबार ०७:२७
कथालिका नयाँ कथा
कथालिका