‘भात खाने डाँडा’को फेरिएको कथा – कथालिका

‘भात खाने डाँडा’को फेरिएको कथा

  • मौलिक पर्व श्रावण संक्रान्ति, भूस पोल्ने पर्व, माघे संक्रान्ति र श्रीपञ्चमीमा मात्रै भात खाने चलन थियो, अहिले पहिले जस्तो भातको दुःख छैन । धान गाउँमा उत्पादन नभए पनि अहिले स्थानीय उत्पादनसँग साट्न चामल गाउँमै व्यापारीहरु पुग्छन् । अर्को तर्फ स्थानीय उत्पादनको बिक्री बितरण र अन्य आयआर्जनबाट गाउँका जो कसैले चामलको सहजै जोहो गर्ने हैसियत राख्न थालेका छन् ।

करिब एक दशक अगाडिसम्म भातखानेडाँडा विकट गाउँ थियो। अहिले बजार बनेको छ। अग्लो डाँडैभरि ठूला–ठूला घर भवन बनेका छन् भने वरपर भिराला जमिन छन्।

यी जमिनमा अहिले गहुँ, मकै, फापर र कोदो फल्छन्। यहीँ उत्पादन भएका खाद्यबालीबाट स्थानीयवासी जीवन निर्वाह गर्छन्। खाद्यान्न अपुग भए नजिकैको पसलबाट किन्छन्। भातखानेडाँडामा पहिले खेतीपाती राम्रो नहुँदा खाद्य सङ्कट पर्थ्यो।

खाद्य सङ्कट पर्दै जाँदा स्थानीय बजार झरेर खाद्यान्न जोहो गर्नुपर्थ्यो। पहिले विकट भातखानेडाँडा अहिले पूरै बदलिएर सुगम बनेको छ। पहिलेको जस्तो अहिले खाद्य सङ्कटसमेत नपर्ने स्थानीय सङ्गम घर्तीमगर बताउँछन्।

पहिले मुलाको धजरा, घ्यूलगायतका स्थानीय उत्पादन लिएर गाउँलेहरू पाङ, बलेवालगायतका ठाउँमा गएर धान साटेर ल्याई उपभोग गर्ने गरेको उनको भनाइ छ। तर, अहिले लेकाली धान लगाए गाउँमै चामल उत्पादन गर्न सकिने उनी बताउँछन्।

बाली राम्रो उत्पादन नहुँदा स्थानीयवासीले ‘वाली पूजा’ गर्ने गर्थे। जुन दिन तीन वटा देवता शिद्ध,बराह र देउरालीको पूजा गरिन्छ।त्यो चलन अहिले पनि छ। यहाँ हरेक वर्ष चैत महिनामा बाली सप्रियोस् भन्दै ‘वाली पूजा’ गर्दै आएको उनको भनाइ छ।

अनिकालको अन्त्य होस् र सहकालको सुरुआत होस् भनी गाउँलेले ‘वाली पूजा’ गर्ने गरेको स्थानीय घर्तीले बताए। यो पूजा परापूर्वकालदेखि चल्दै आएको उनी बताउँछन्। गाउँमा उत्पादन राम्रो हुँदै गएपछि अहिले भातखानेडाँडामा भातको खासै चाख नभएको उनको भनाइ छ।

उनी भन्छन्, ‘पहिले स्थानीयले आफ्ना मौलिक पर्वहरू श्रावण संक्रान्ति, भूस पोल्ने पर्व कार्तिक २५ गते बेलुकी, माघे संक्रान्ति र श्रीपञ्चमीमा मात्रै भात खाने चलन थियो, यहाँ धान उत्पादन हुँदैनथ्यो, चामल ल्याउन टाढा–टाढा जानुपर्थ्यो, अरु बाली पनि राम्रो उत्पादन नभएपछि स्थानीयले ‘वाली पूजा’ गर्थे, जो अहिले पनि गरिन्छ, स्थानीयमा आएको जागरणले अहिले पहिले जस्तो भातको दुःख छैन । अहिले धान गाउँमा उत्पादन नभए पनि स्थानीय उत्पादनसँग साट्न चामल गाउँमै व्यापारीहरु पुग्छन् । अर्को तर्फ स्थानीय उत्पादनको बिक्री बितरणबाट र अन्य आयआर्जनबाट गाउँका जो कसैले चामलको सहजै जोहो गर्ने हैसियत राख्न थालेका छन् । ’

स्थानीय ६२ वर्षीय डिलबहादुर घर्तीले यहाँ गाउँले जम्मा भएर बाली पूजा गरी भात खाने हुँदा यो ठाउँलाई ‘भातखाने डाँडा’ भनिएको बताउँछन्। अहिले पनि अर्गलगाउँका गाउँले वाली पूजाका लागि चामल उठाउने र उपयुक्त दिन पारेर पूजा गरी सामूहिकरूपमा भात खाने चलन रहेको उनको भनाइ छ। स्थानीय बाली पूजा गरेर मात्रै नयाँ बाली भित्र्याउने गर्छन्।

‘यो चलन त धेरै सयौँ वर्ष पहिलेदेखि चल्दै आएको हो, हाम्रो पुर्खाले मनाउँदै आएको परम्परा अहिले हामी पनि मनाउँछौँ, पहिले चामलको खाँचो निकै हुन्थ्यो, नजिक पाइँदैनथ्यो, गहुँ, जौँ पनि राम्रो नहुँदा समस्या हुन्थ्यो’, घर्तीमगरले भने, ‘वाली पूजा नगरेसम्म नयाँ बाली भित्र्याउँदैनौँ, हिउँदे बाली भित्र्याउनु भन्दा पहिले वाली पूजा गर्नुपर्छ।’

गाउँपालिकाका उपाध्यक्ष भीमबहादुर रोकाले पहिले यस ठाउँ निकै विकट रहेको र यहाँ चामल ल्याउन नसक्दा स्थानीयवासीले गाउँमै उत्पादन भएका खाद्यान्नबाट जीवन चलाएको बताए। गाउँमा चामल नआउँदा भातखाने डाँडामा वाली पूजा हुने र त्यहाँ गाउँलेहरू जम्मा भएर भात पकाएर खाने गरेको हुँदा यस ठाउँको नाम भातखाने डाँडा हुन गएको उनको भनाइ छ।

उनले भातखाने डाँडासँग परम्परा र संस्कृति समेत जोडिएको बताए। यहाँ अन्य बेला पनि विभिन्न मेला महोत्सव र धार्मिक क्रियाकलाप अहिले पनि हुने गरेको उनी बताउँछन्।भातखाने डाँडासँगै स्थानीयको जीवन स्तर समेत परिवर्तन हुँदै गएको उनले बताए। उनले परम्परागत पेसालाई परिवर्तन गरेर स्थानीयवासी नयाँ प्रविधिसँग जोडिएर पेसा–व्यवसाय गर्न थालेको र उनीहरूको आर्थिक अवस्था पनि सुदृढ बन्दै गएको बताए।

उपाध्यक्ष रोका भन्छन्, ‘भातखाने डाँडा मात्रै फेरिएको छैन, यहाँका मदजुर, किसान तथा सबै वर्गको जीवनस्तर पनि फेरिएको छ, पहिले यो ठाउँ जङ्गल नै थियो, पछिपछि विकास हुँदै गयो, अहिले एउटा बजारको स्वरुप लिएको छ, सडक सञ्जालले जोडिएपछि विकासका थुप्रै ढोका खुलेका छन्, हामीले पनि जनताका आवश्यकतालाई प्राथमिकतामा राखेर विकास गरिरहेका छौँ।’

अहिले ताराखोला गाउँपालिकाको केन्द्र पनि भातखानेडाँडामै छ। त्यसले गर्दा यहाँ ठूलो परिवर्तन आएको छ। ठाउँले मुहार फेरेपछि स्थानीयसमेत खुसी छन्।स्थानीय देवबहादुर खत्री भन्छन्, ‘भातखाने डाँडा सुनसान थियो, पहिले यहाँ घर पनि थिएनन्, मान्छेको आवतजावत निकै कम थियो, अहिलेको जस्तो मोटरगाडी चल्दैनथे, सरकारी अफिसमा काम परे दिनभर लगाएर बागलुङ पुग्नुपर्थ्यो।’

उनले घर जग्गाको तिरो तिर्न र सामान्य प्रशासनिक कामका लागि आफूहरू घण्टौँ लगाएर बागलुङ बजार पुग्न बाध्य भएको स्मरण गर्दै दैनिक उपभोग्य सामानको जोहो गर्न पनि गलकोट झर्नुपरेको बताउँछन्। घर्तीले अहिले भातखानेडाँडाको मुहार पूरै फेरिएको भन्दै डाँडैभरि घर बनेको बताए। गाउँपालिकाको केन्द्र नै भातखाने डाँडामा बनेपछि विकासले गति लिएको उनको भनाइ छ।

स्थानीय तलिकुमारी रोकाले भातखाने डाँडा सडकले जोडिएपछि गाउँ बजार हुनुका साथै सहरका धेरै सुविधा गाउँमै आउन थालेको सुनाइन्। उनी पहिले खानेपानीको निकै समस्या भोग्नुपरेको स्मरण गर्दै अहिले घर–घरमा धारा बनेको बताउँछिन्। उतिबेला गाउँमा कोही बिरामी परे डोकोमा बोकेर अस्पताल पु¥याउने गरेको जनाउँदै अहिले गाडीमा हालेर समयमै उपचार गर्न लैजान सकिने उनको भनाइ छ।

उनी भन्छिन्, ‘सेवा–सुविधा लिन लागेको त बल्लै त हो नि, नत्र त कयौँ वर्ष यहाँका मान्छेले दुःख भोग, घाँस दाउरा, मेलापात गरेरै जिन्दगी चलाए, हामी भन्दा अगाडिका पुर्खाले त झन् कति दुःख पाए होलान् ? ’

२०७९, ९ फाल्गुन मंगलवार ०६:१६
कथालिका नयाँ कथा
कथालिका